नेपाल विकास बैंक खारेज

आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि राष्ट्र बैंकले नेपाल विकास बैंक बन्द गर्ने निर्णय गरेको छ । वित्तीय संस्थाको मुख्य नियामक निकाय राष्ट्र बैंकले मंगलबार सञ्चालक समिति बैठकबाट वित्तीय अवस्था सुध्रनुसट्टा बिग्रिएको र यसरी नै सञ्चालन हुन दिँदा बचतकर्ता र लगानीकर्ताको हित संरक्षण हुने नदेखिएपछि बैंक खारेज गर्ने प्रक्रियामा जाने निर्णय गरेको हो ।

'बैंकिङ क्षेत्रलाई स्वच्छ र सफा बनाउन यस्ता कारबाही गर्न अबेला भइसकेको थियो,' गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भने ।

सञ्चालक समिति बैठकले बुधबार कार्यालय समयअघि विकास बैंकको नगद राष्ट्र बैंकका कर्मचारीमार्फत नियन्त्रणमा लिई छुट्टै खाता खोलेर राख्ने निर्णय गरेको छ । विकास बैंकका विभिन्न वित्तीय संस्थामा रहेका खाता रोक्का गर्ने र अचल सम्पत्ति बिक्री गर्न नदिने निर्णय भएको छ । बचतकर्ताले बुधबारदेखि नगद झिक्न पाउने छैनन् । चल्ती खाता र परिपक्व बचतबाट रकम झिक्न बैंकमा निवेदन दिनुपर्ने छ । यस्तो रकम पाउन राष्ट्रबैंकले स्वीकृत गर्नुपर्छ । केही दिनमा बचतकर्ता हेरेर राष्ट्र बैंकले चल्तीखाता र परिपक्व बचतको रकम फिर्ता दिने/नदिने निर्णय गर्छ ।

यो बैंकमा संस्था र सर्वसाधारणको ७२ करोड रुपैयाँ बचत छ । 'खारेज हुँदा योमध्ये करिब आधामात्र फिर्ता हुन सक्छ,' राष्ट्र बैंक स्रोतले भन्यो । नेपाल सैनिक कल्याणकारी कोष र कर्मचारी संचयकोषको करिब २६ करोड रुपैंयाँ फिर्ता हुने छैन । यी दुई संस्थाको गत फागुन मसान्तसम्म ५३ करोड रुपैयाँ बैंकमा जम्मा छ । बाँकी बचत अन्य संस्था र सर्वसाधारणको छ ।

नोक्सान अत्याधिक बढेको र संस्था वित्तीय, व्यवस्थापकीय, आन्तरिक नियन्त्रण, संस्थागत सुशासकीय समस्याबाट गुजि्ररहेको आधारमा राष्ट्र बैंक सञ्चालक समितिले झण्डै साढे दुई घन्टाको छलफलपछि बैंक खारेज गर्ने प्रक्रियामा जाने निर्णय गरेको हो । राष्ट्र बैंक ऐनअनुसार सुरुमा स्पष्टीकरण माग्ने र यसपछि खारेज गर्न बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ७४ बमोजिम पाटन पुनरावेदन अदालतमा निवेदन दिन्छ । यसपछि खारेज गर्न लिक्विडेटर नियुक्त हुने छ ।

राष्ट्र बैंकले वित्तीय संस्था खारेज गर्ने निर्णय गरेको यो पहिलोपटक हो । यो निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो विकास बैंक हो । यो राष्ट्र बैंकले वित्तीय संस्थालाई गरेको अहिलेसम्मकै सवैभन्दा ठूलो कारबाही हो ।

नेपाल सेना कल्याणकारी कोषको भाखा नाघेको १८ करोड रुपैयाँ भुक्तानी दिनसक्ने अवस्था नरहेकाले यो रकमलाई ७ प्रतिशत ब्याजदरमा जुनसुकै बेला पनि दिनसक्ने कल डिपोजिटमा राखिएको राष्ट्र बैंकको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा सर्वसाधारण र संस्थापकको ३२ करोड रुपैयाँ लगानी छ । साधारण सेयर किन्नेले करिब १० करोड रुपैयाँ गुमाउने छन् । यो बैंकको सेयर मंगलबार १ सय २६ रुपैयाँमा कारोबार भएको थियो । लिक्विडेटरले बैंकको सम्पत्ति बेचबिखन गरी सुरुमा बचतकर्तालाई फिर्ता दिन्छ । बाँकी रहे सेयर लगानीकर्ताले रकम फिर्ता पाउने छन् ।

राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग नीति निर्देशन कार्यान्वयन समितिले गभर्नरलाई दिएको प्रतिवेदनमा संस्थाको पुाजीकोष अत्याधिक रूपमा ऋणात्मक रहेको र खुद नोक्सानी समेत क्रमश बढेको उल्लेख छ । यसैले निक्षेप तथा अन्य दायित्व पूरा गर्न नसक्ने अवस्थामा संस्था पुगी भाखा नाघेको मुद्दति बचत पनि फिर्ता गर्न नसकेको प्रतिवेदनमा छ । यथास्थितिमा सञ्चालन हुन दिंदा निक्षेपकर्ता र लगानीकर्ताको हितविपरित हुने पनि उल्लेख छ । यही आधारमा बैंक बन्दको निर्णय भएको हो ।

निरन्तर घाटामा सञ्चालित बैंकको गत फागुनसम्मको सञ्चिती नोक्सानी ६७ करोड ८६ लाख रुपैयाा पुगेको छ । यो बैंकमा सेयरधनीले लगानी गरेभन्दा बढी रकम हो । भाखा नाघेको कर्जा झण्डै ३० प्रतिशत छ । राष्ट्र बैंकका निर्देशनको पालना गर्न सञ्चालक समिति सजग र गम्भीर नरहेको तथा संस्थापकले समेत पुाजी थप गर्न सक्रिय र क्रियाशील नदेखिएको प्रतिवेदनमा छ ।

राष्ट्र बैंकले यो बैंकलाई २०६४ असोज २४ मा समस्याग्रस्त घोषणा गरेको थियो । यससागै बैंक सुधारका लागि १० वटा निर्देशन दिएको थियो । खराब कर्जा ९ प्रतिशत सिमाभित्र नल्याएको, निर्देशनअनुरूप सम्पूर्ण गैरबैंकिङ सम्पत्ति बिक्री नगरेको तथा बैंकको हित प्रतिकूल हुने गरी संस्थाको स्वामित्वमा रहेको चितवनस्थित होलिल्यान्ड इन्टरनेसनल स्कुल अन्य समूहलाई बिक्री गरेको आरोप बैंकलाई थियो ।

गोर्खा हाइड्रो पावर र नेपाल सहकारीमा बैंकले लगानी गरेको सेयर बिक्री गरी रकम फिर्ता नगरेको बैंकलाई आरोप छ । उक्त सहकारीमा निक्षेप राखेको रकममध्ये ९ करोड रुपैयाँ फिर्ता नगरी राष्ट्रबैंकको निर्देशन उल्लंघन गरेको प्रतिवेदनमा छ । नेपाल सहकारीमा पनि नेपाल विकास बैंकका संस्थापकको सेयर छ ।
यो बैंकको पुँजी बढाउन निकालेको हकप्रद सेयर पनि बिक्री हुन सकेको थिएन ।

प्रतिवेदनमा विकास बैंकको इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका निक्षेपलगायतका खाता लिक्विडेटर नियुक्ति नभएसम्म यथावत्रूपमा रोक्का राख्ने सिफारिस छ । कार्यालयको अत्यावश्यक कार्यमा खर्च गर्ने प्रयोजनका लागि मात्र राष्ट्र बैंकको स्वीकृतिमा निश्चित रकम मात्र उपलव्ध गराउने पनि सिफारिसमा छ ।

नेपाल सहकारी संस्थामा बैंकको ठूलो रकम निक्षेपका रूपमा रहेकाले उक्त सहकारी संस्थाको बिभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम रोक्का गर्न सहकारी विभाग तथा डिभिजन सहकारी कार्यालयसाग समन्वय गर्ने पनि सिफारिसमा छ । यसबाहेक बैंक अध्यक्षलगायत दोषीलाई कारबाही गर्ने समितिको प्रतिवेदनमा छ ।

वित्तीय संस्थाका तीन भ्रम र यथार्थ

१) पैसा डुब्दैन

नेपाल विकास बैंक बन्द गर्ने राष्ट्र बैंकको निर्णयले यो धारणा भ्रममात्र भएको पुष्टि गरेको छ । बैंक बन्द भएपछि बचत राख्नेले आधा मात्र फिर्ता पाउन सक्छन् । यो बैंकमा ७२ करोड रुपैयाँ बचत छ । बढी ब्याज पाइने लोभमा पैसा राख्नु हुदैंन भन्ने शिक्षा यसले दिएको छ । पैसा राख्दा वित्तीय अवस्था, संचालक र व्यवस्थापन हेर्नुपर्छ ।

२) बैंकमा साधै नाफा हुन्छ
अधिकांश वित्तीय संस्थाले करोडौं नाफा गरेका छन् । एक सय रुपैंयाको सेयर भाउ ५-६ गुना बढेको छ । यो बैंकमा लगानी गर्ने केही संस्थाले भने पुँजी डुबाएका छन् । पैसा भएपछि बैंक चलाउन सकिन्छ भन्ने मान्यता गलत भएको छ ।

३) सेयरबाट साधै फाइदा हुन्छ
हालै केही बैंकले निकालेको करिब ७० करोड रुपैयाँ सेयरका लागि २० अर्बभन्दा बढी रकम जम्मा भएको छ । तर, विकास बैंकको साधारण सेयर किन्नेले पुाजी गुमाएका छन् । यो बैंकमा सर्वसाधारणको करिव १० करोड लगानी छ ।

कसले कति गुमाउँछ ?

  • नेपाली सेना कल्याणकारी कोष- करिब १० करोड
  • कर्मचारी संचयकोष- करिब १६ करोड
  • अन्य बचतकर्ता- करिब ९ करोड
  • सर्वसाधारण सेयरधनी- करिब १० करोड

No comments:

Post a Comment

thanks for comment