सञ्चालन हुने भयो कपडा उद्योग


हेटौंडा कपडा उद्योग सञ्चालनको तयारी पूरा भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत छिट्टै सञ्चालन गर्ने भनी घोषणा गरिएको उद्योगले अबको दुई महिनाभित्र उत्पादन थाल्ने तयारी गरिरहेको हो ।

उद्योग अधिकृत प्रह्लाद पोखरेलका अनुसार, उद्योग मर्मतका लागि पौने दुई करोड रुपैयाँ खर्च भइसकेको छ । ८० प्रतिशत उद्योगको मर्मतसम्भार सकिएको अधिकृत पोखरेलले बताए । २०५७, १ फागुनदेखि चालू पुँजी नभएको भन्दै बन्द उद्योग अहिले सञ्चालनमा ल्याइने भएको हो ।
त्यतिखेर उद्योगमा ११ सय कामदार कार्यरत थिए । उद्योग सञ्चालनमा ल्याउन प्रशासनले ६० वरिष्ठ प्राविधिक नियुक्त गरेको महाप्रबन्धक विजयराज उपाध्यायले जानकारी दिए । उनका अनुसार, उद्योग बन्द भएदेखि नै उद्योग सुरक्षामा खटिएका ६ सुरक्षा गार्ड भने अहिले पनि काममै छन् ।

उद्योग सञ्चालनका लागि ३१ जेठमा नै कपासका लागि टेन्डर आह्वान गरिएको थियो । कपास आपूर्ति हुनेबित्तिकै कामदार कर्मचारी माग गरिने र त्यसपछि उद्योग सञ्चालनमा ल्याइने अधिकृत पोखरेलको भनाइ छ । उद्योग सञ्चालनमा आउन अझै कति खर्च लाग्छ भन्ने लगत तयार गरिएको छैन । काम गर्दै जाँदा कति खर्च हुन्छ अहिले भन्न सकिँदैन', पोखरेलले भने, 'अब छिट्टै सञ्चालनमा आउनेछ ।'

महाप्रबन्धक उपाध्याय कपास व्यवस्था पूरा हुनेबित्तिकै प्रक्रिया अगाडि बढ्ने बताए । असार महिनाभर कपासको टेन्डर दर्ताका लागि समय छ । यो अवधिभित्र टेन्डर परे कामदार माग गर्ने र लगत्तै उद्योग चलाउने महाप्रबन्धक उपाध्यायले जनाए । उनले उद्योग मर्मत-सम्भारको काम अझै बाँकी भएको र त्यसतर्फ पनि काम भइरहेको बताए ।

२ सय ३६ रोपनी क्षेत्रफलमा फैलिएको कपडा उद्योग सञ्चालनका लागि माओवादी निकट ट्रेड युनियन महासंघले तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए । भट्टराईले त्यतिखेर तीनवटा बन्द उद्योग सञ्चालनमा ल्याउन ३० करोड विनियोजन गरेका थिए । अहिले कपडा उद्योगका लागि अर्थ मन्त्रालयले आठ करोड २० लाख रुपैयाँ निकासा दिएको छ ।

कबाडी भाउमा लिलाम प्रक्रिया अघि बढाइसकिएको उद्योग अहिले पुनः सञ्चालनमा ल्याउने तयारी भएको हो । उद्योगका सामान कबाडी भाउमा बिक्री गर्न लागेपछि महासंघले विरोध गरेको थियो । यतिखेर उद्योगका पार्टपुर्जा मर्मतसम्भार भइरहेका छन् । केही मेसिन चलाएर हेरिएको उद्योगले जनायो । कपासको प्रक्रिया पूरा भए उद्योगले कामदार नियुक्तसँगै उत्पादन सुरु गर्नेछ ।

No comments:

Post a Comment

thanks for comment