सिटिजन्स र बीओएको सेयर सूचिकरण

सिटिजन्स बैंक र बैंक अफ एसियाको सेयर नेपाल स्टक एक्स्चेन्जमा बुधबार सूचिकरण भएका छन्। स्टकको प्रावधान अनुसार एक सातापछि यी बैंकको साधारण सेयर किनबेच गर्न सकिने छ।

यी बैंकको एक सय दरको १ अर्ब बराबरको १ करोड कित्ता सेयर सूचिकरण भएको हो। बैंकको सूचिकरण सँगै स्टकमा सूचिकृत कम्पनीको संख्या १ सय ५८ पुगेको छ। वाणिज्य बैंक समूह अन्तर्गत सूचिकृत कम्पनीको संख्या २१ पुगेको छ। दुबै बैंकले एक दिनको फरकमा साधारण सेयर बिक्री गरेका थिए। यी दुई बैंकको सेयरका लागि करिब ११ अर्ब रुपैंया बराबरको निवेदन परेको थियो।

यी बैंकले गत फागुन अन्तिम साता साधारण सेयरको बिक्री खुल्ला गरेका थिए।

सिटिजन्सद्वारा बुधबार जारी प्रेस विज्ञप्ति अनुसार सर्वसाधारणमा जारी गरिएको ३० लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ७० लाख गरी एक करोड सेयर सूचिकरण भएको छ। बैंकमा हाल संस्थापक सेयरधनी ७० र सर्वसाधरण सेयरधनी ७१ हजार ७ सय ५० गरी कूल ७१ हजार ८ सय २० सेयरधनी पुगेका छन् ।

बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १० करोड २५ लाख संचालन मुनाफा गरेको जनाएको छ। बैंकले चैतसम्ममा ९ अर्ब २० करोड निक्षेप संकलन र कर्जा ६ अर्ब ९८ करोड गरेको जनाएको छ। बैंकको ९ शाखा संचालनमा रहेको छ। बैकले आगामी आर्थिक वर्षको तीन महिनामा थप ८ शाखा संचालनमा ल्याउने जनाएको छ।

No comments:

Post a Comment

thanks for comment