मर्चेन्ट बैंकिङका सबै काम गर्ने कम्पनी खुल्यो

धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का चारवटै काम गर्ने गरी नयाँ कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) र सेयर अन्डराइटिङ गर्ने गरी इन्भेष्टमेन्ट मेनेजमेन्ट कम्पनीले अनुमति लिएको हो ।
सात करोड रुपैयाँ चुक्ता पुँजी भएको सो कम्पनी हाल मर्चेन्ट बैंकिङ मात्र गर्नेमध्ये पुँजी हिसाबले सबैभन्दा ठूलो हो । मर्चेन्ट बैंकरको पनि काम गर्दै आएका बैंक तथा वित्तीय संस्थाबाहेक छुट्टै कुनै पनि कम्पनीले हालसम्म यी चारवटै कामको अनुमति लिएका थिएनन् ।
अधिकांशले निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको मात्र अनुमति लिएका छन् । लगानी व्यवस्थापक र सेयर अन्डराइटिङको बजार नभएको भन्दै अनुमति लिने इच्छा यसअघि खुलेका कम्पनीहरूले देखाएका थिएनन् ।
हरेक कामपिच्छे छुट्टाछुट्टै चुक्ता पँुजी चाहिने भएकाले कम्पनीहरूले बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको अनुमति लिएका थिए । चारवटै काम गर्ने अनुमतिपत्र लिन सात करोड रुपैयाँ चुक्ता पुँजी चाहिन्छ । तर, बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारका लागि चार करोड पुँजी भए पुग्छ । बिक्री प्रबन्धकका लागि तीन करोड र सेयर रजिष्ट्रारलाई एक करोड चाहिन्छ ।
सबैभन्दा धेरै पुँजी सेयर अन्डराइटरलाई चार करोड चाहिन्छ भने पोर्टफोलियो म्यानेजर अनुमति लिन एक करोड रुपैयाँ भए पुग्छ । सबै कामको छुट्टाछुट्टै अनुमति लिंदा नौ करोड चाहिने भए पनि एकमुष्टलाई दुई करोड रुपैयाँ छुट दिइएको हो ।'हामी नयाँ बजार खोजीमा छौं,' इन्भेष्टमेन्ट मेनेजमेन्टका प्रबन्ध सञ्चालक मुकुन्दबहादुर प्रधानले भने,'लगानी व्यवस्थापनजस्तो महत्वपूर्ण कामबारे लगानीकर्तालाई सचेत गर्नु जरुरी छ ।'
'अहिले जस्तो कम्पनीले सेयर निकाले पनि लगानीकर्ताको चासो बढी रहेको छ तर नराम्राे कम्पनीमा लगानी गर्दा प्रतिफल उल्टो आउँछ त्यसैले राम्रो कम्पनी विश्लेषण गरी अन्डरराइटिङ गरिदिए जनतालाई पैसा हाल्न पनि डर हुँदैन ।'दुई वर्षअघि मर्चेन्ट बैंकर नियमावली आएपछि नौ कम्पनीले अनुमति लिइसकेका छन् ।
त्यसमा मर्चेन्ट बैंकरकै लागि खुलेका छुट्टै कम्पनी चार छन् भने पाँच बैंक तथा वित्तीय संस्था छन् । एलिट क्यापिटल, सिभिल क्यापिटल, इन्भेष्टमेन्ट मेनेजमेन्ट र बिड इन्भेष्ट छुट्टै खुलेका कम्पनी हुन् ।

No comments:

Post a Comment

thanks for comment