हजुरबाको कम्पनीमा नाति अध्यक्ष

साकिचि टोयोडाले ले सन् १९३४ मा स्थापना गरेको टोयटा कम्पनीको अध्यक्षका रुपमा उनका नाति अकियो टोयोडा नियुक्त भएका छन् ।
टोयोडा परिवारको थोरै हिस्सा भएको समयमा पनि संस्थापकको परिवारका सदस्य अध्यक्षमा छानिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आर्थिक मन्दीका कारण २००८ मा ४ अर्ब ४ करोड डलर बराबरको नोक्सानी व्यहोरेको कम्पनीलाई माथि उठाउने अपेक्षाका साथ उनलाई अध्यक्षमा नियुुक्त गरिएको हो ।

जनवरीमा नै उनलाई कम्पनीको अध्यक्ष घोषणा गरिएको थियो । उनले मंगलबारदेखि कार्यभार सम्हालेका छन् । ५३ वर्षीय टोयडाले जापानको केइयो विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् भने अमेरिकाको ब्याबसन कलेजबाट व्यावसायिक डिग्री हासिल गरेका छन् ।
अमेरिकी डिग्री हासिल गरेपछि टोयोडाले एक वर्ष अमेरिकी लगानी बैंकमा काम गरेपछि पुनः जापान नै फर्किएका थिए । जापान फर्किएपछि उनी हजुरबुबाकै कम्पनीमा जुनियर म्यानेजरका रुपमा प्रवेश गरेका हुन् ।

विश्व बजारमा प्रभुत्व जमाएको टोयोटा कम्पनीले अमेरिकामा आफ्नो व्यवसाय विस्तार गर्ने योजनासहित ९० दशक अन्त्यतिर उनलाई पुनः अमेरिका पठाएको थियो । अमेरिकामा उनलाई 'अमेरिकीका लागि अमेरिकी कार' भन्ने योजनाको जिम्मेवारी दिइएको थियो । अमेरिकामा अध्ययन गर्दाताक नै उनलाई व्यवस्थापकीय तालिम तथा सीपसम्बन्धी विशेष प्रशिक्षण दिइएको कम्पनीको वेभसाइटमा उल्लेख छ ।

टोयोटाको ऊर्जा कम खपत हुने प्रविधिको कार पि्रउस निर्माणमा संलग्न टोयोडालाई 'इन्नोभेटिभ' व्यवस्थापकका रुपमा लिइन्छ ।
टोयोडाको नियुक्तिले कम्पनीको व्यावसायिक दिशामा खासै परिवर्तन आउने अपेक्षा गरिएको छैन । कम्पनीका यसअघिका अध्यक्ष कात्सुयाकाई वातानाबेलाई टोयोटाको सस्तो गुणस्तरीय कार उत्पादन गर्ने पहिचान बिर्सिएर बिक्री संख्या र आय वृद्धिमा मात्रै ध्यान दिएको भन्दै आलोचना हुने गरेको थियो । नवनियुक्त अध्यक्ष टोयोडाले कम्पनीको पुरानो साख जोगाउँदै मन्दी प्रभावित कम्पनीको बिक्री बढाउने अपेक्षा गरिएको छ ।

विश्लेषक टोयडाका आगामी दिन सहज नहुने बताउँछन् । कम्पनीको पुरानो साख जोगाउँदै विश्व नम्बर एकको छवि कायम राख्न लागतमा कटौती, चीन तथा भारतका सस्ता कारसँग प्रतिस्पर्धालगायत चुनौती सामना गर्नुपर्ने उनीहरूको भनाइ छ । यसैगरी पछिल्लो समय अमेरिकी बजारमा टोयटाले आर्जन गरेको बजार हिस्सा गुम्न नदिनु उनको अर्का चुनौती हुनेछ ।
उनीहरूका अनुसार, उनले अमेरिकी बजारको १४ प्रतिशत हिस्सा बढाएर २० प्रतिशतभन्दा माथि पुर्‍याउनुपर्ने सुझाव दिएका छन् । त्यसका लागि नयाँ प्रविधिका कारको व्यावसायिकीकरण गर्न टोयोडालाई सुझाव दिएका छन् ।

'टोयोडाले कर्मचारीको मानसिकता र कल्पनाशीलतामा परिवर्तन ल्याउन सक्छन्/सक्दैनन् भन्ने कुरा पर्खाइको विषय भएको छ,' विश्लेषक इयान फ्लेचरले भने । उच्चस्तरीय प्रविधिकै कारण आफ्ना प्रतिस्पर्धीको हिस्सा आफ्नो पोल्टामा पारिरहेको टोयोटाको भविष्य प्रविधिमै निर्भर भएको उनको विश्लेषण छ ।
प्रविधि परिवर्तन गर्न नसकेकै कारण वातानावेको कार्यकालमा कम्पनीको प्रविधि तथा सुविधा मिश्रति गर्दै प्रतिस्पर्धी कम्पनीले हाइबि्रड कार बजारमा आएका थिए । यसले टोयोटाको बजार अंश घटेको थियो ।

No comments:

Post a Comment

thanks for comment