पछुताउँदैछन् विकास बैँकमा लगानी गर्नेहरु

कपडा व्यापार गर्ने रामेछापका उद्धव घिमिरे तीन वर्षअघि नेपाल विकास बैंकको खातामा दुई लाख ४० हजार रुपैयाँ राखेकामा अहिले पछुताएका छन्। बैंक पनि राम्रो नराम्रो हुन्छ भन्ने उनले सुनेका थिएनन्। एक्कासी बन्द गर्ने राष्ट्र बैंकको निर्णय सुनेपछि घिमिरे बुधबार हतारिँदै बैंक पुगे। बैंकको ढोका बन्द थियो। उनले यताउता साथीहरुलाई सोधे-खाताको पैसा फिर्ता आउँछ कि आउँदैन ? उनले जवाफ पाएनन्।

हेरिटेज प्लाजामा कार्यालय रहेको मल्पी स्कूलको १० लाखभन्दा बढी रकम बैकको खातामा छ। नजिकैको बैंक ठानेर मल्पीले यो बैंकमा पैसा राखेको गोपाल सिलवालले बताए। पैसा फिर्ता पाउने नपाउने चिन्तामा सिलवाल छन्।

विकास बैंकको सेयर किन्ने पूर्व प्रशासक कृष्णप्रसाद घिमिरे पनि सस्तोमा सेयर किन्दा थकथकाएका छन्। सहसचिवबाट अवकाश पाएपछि दुई वर्षअघि सेयर किन्न थालेका घिमिरेसँग बैंकको नौ सय ८० कित्ता सेयर छ। उनले प्रतिकित्ता सेयरका लागि तीनसय ७० देखि चारसय ७५ रुपैयाँसम्म तिरेका थिए। एक वर्षअघि किनेको सेयर बुधबारदेखि नबिक्ने भएको छ। घिमिरेलेको चार लाख रुपैयाँ गुमेको छ। उनले केही समयअघि बैंकले बिक्री खुला गरेको एक बराबर एक हकप्रद सेयर किनेनन्। किनेको भए घिमिरेको घाटा अझै बढ्ने थियो।


वित्तीय स्वास्थ्य बिग्रेको कम्पनीको सेयर किनेर काठमाडौं डल्लूका जय रंजित पनि चुकचुकाएका छन्। उनीसँग अहिले बैंकको ६ सय कित्ता सेयर छ। आठ महिना अगाडि उनले सेयर किनेका थिए। अहिले उनी पछुताएका छन्।


धेरै निक्षेपकर्ता र लगानीकर्ता विकास बुधबार बैंक पुगे। बिहान ९ बजेदेखि बैंकमा उपस्थित भएका सर्वसाधारणले तीन घन्टासम्म कुनै जवाफ पाएनन्। भीड बढ्दै गएपछि प्रहरी निरीक्षकसहित सुरक्षाकर्मी बैंकमा आए। भीडलाई सम्झाउन बैंकका कार्यकारी अध्यक्ष अम्मर गुरुङ ढोकामा देखिए। उनले राष्ट्रबैंकबाट कुनै पत्र नआएको बताएपछि भीडले बैंक बन्द गर्नुको कारण माग्यो। उनलाई सर्वसाधारणले पैसा फिर्ता गर्न अनुरोध गरे। गुरुङ भित्र गए। त्यसपछि देखिएनन्। बुधबार दिउँसो १२ बजेपछि बैंकको सम्पूर्ण नगद मौज्दात अन्य सम्पत्ति र धितो राष्ट्र बैंकले नियन्त्रणमा लिँदै सम्पूर्ण कारोबार रोक्का गरेको सूचना टाँसेको छ। यो सूचना पढेपछि उनीहरुले बैंकपीडित समूह गठन गरे। बिहीबार दिउँसो १२ बजे उनीहरु राष्ट्र बैंकमा भेला हुने भएका छन्। उनीहरुको एउटै माग छ बैंकमा राखेको पैसा फिर्ता देऊ र सेयरमा भएको लगानी डुब्न नदेऊ।

बैंकको चल्तीखातामा रहेको निक्षेप रकम तत्काल फिर्ता दिने योजना राष्ट्र बैंकको छ। फिर्ता गर्नुपर्ने बेला भएको बैंक खातामा रहेको पैसा लिन सर्वसाधारणले निवेदन दिनुपर्छ। दीर्घकालीन बचतमा रहेको रकम तत्काल फिर्ता हुँदैन। सम्पत्तिमध्येबाट फिर्ता पाउनेमा निक्षेपकर्ता नै हुन्। त्यसपछि सेयरमा लगानी गर्नेको पालो आउँछ। सम्पत्ति बचत नभए सेयरमा लगानी गर्नेको डुब्छ।

No comments:

Post a Comment

thanks for comment