विमान कम्पनीबीच प्रतिस्पर्धा तीव्र


आन्तरिक हवाई सेवा सञ्चालन गर्ने कम्पनीहरूबीच भाडामा कडा प्रतिस्पर्धा देखिएको छ । कम्पनीहरूले एउटै गन्तव्यमा फरक-फरक भाडा दर तोकेका छन् । धेरै उडान हुने गन्तव्यमा भाडा घटाउने प्रतिस्पर्धा नै चलेको छ । आन्तरिक हवाई कम्पनीहरूको संख्या तथा सेवामा भएको वृद्धिसँगै प्रतिस्पर्धा बढेको हो ।



प्रतिस्पर्धाका कारण एउटै गन्तव्यको भाडा सात सय रुपैयाँसम्म फरक छ । यसले बढी यात्रु चाप हुने गन्तव्यको उडानमा कम्पनीहरू अस्वस्थ प्रतिस्पर्धातर्फ उन्मुख हुन सक्ने संकेत गरेको छ ।
हवाई कम्पनीहरूबीच राजधानीबाट पोखरा र विराटनगर रुटमा बढी प्रतिस्पर्धा छ । पोखरा रुटको सामान्य (नर्मल) भाडा दरमा सात सय रुपैयाँको फरक छ । त्यहाँ उडान गर्न बुद्ध एयरले सामान्य भाडा प्रतिब्यक्ति दुई हजार सात सय रुपैयाँ कायम गरेको छ भने अग्नि एयरले दुई हजार पाँच सय ८० रुपैयाँ तोकेको छ ।
यती एयरलाइन्सको भाडा पनि अग्निकै समान छ । यसैगरी, सीता एयरलाइन्सले पोखराको सामान्य भाडा दुई हजार ६ सय ४० रुपैयाँ र भर्खरै सुरु भएको गुण एयरलाइन्सले दुई हजार रुपैयाँ तोकेको छ ।

विमान कम्पनीको भाडा विशेषगरी सञ्चालन लागत र सिट क्षमतामा भर पर्ने भए पनि पछिल्लो समयमा प्रतिस्पर्धाका कारण फरक आएको यति एयरलाइन्सका कार्यकारी निर्देशक एवं वायु सेवा सञ्चालक संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।
'नयाँ हवाई सेवा प्रदायकहरू थपिएका कारण प्रतिस्पर्धा बढेको छ, उनीहरूले बजार हिस्सा बढाउनका लागि भाडा घटाइरहेका छन्,' उनले भने, 'नयाँले घटाएपछि प्रतिस्पर्धी हुन पुरानालाई पनि घटाउनै पर्ने दबाब आएको हो ।'

सामान्य भाडासँगै कम्पनीहरूले विभिन्न नाम दिएर तय गरेको छुट भाडामा पनि उल्लेखनीय फरक पाइएको छ । प्रतिस्पर्धाकै लागि कम्पनीहरूले छुट भाडा तय गरेका हुन् । सीता एयरले नेपालीका लागि मात्रै भन्दै एक हजार चार सयमा पोखरा उडाइरहेको छ भने अग्नि एयरले प्रवर्द्धनात्मक भाडा भन्दै इकोनोमिक, यू-इकोनोमिक र स्ट्यान्डर्ड तीन श्रेणीमा विभाजन गरी क्रमशः एक हजार ६ सय ८०, दुई हजार एक सय ८० र दुई हजार पाँच सय ८० रुपैयाँ लिइरहेको छ ।
यसैगरी, गुण एयरलाइन्सले पनि छुट भाडा एक हजार ६ सय ३० रुपैयाँमा झारेको छ । बुद्ध एयरले पोखराका लागि निर्धारण गरेको सहुलियत भाडादरमा ब्राभो एक हजार आठ सय र एपेक्स दुई हजार तीन सय रुपैयाँ छ ।

पर्यटन मन्त्रालयले तोकेको भाडादरमा कम्पनीहरूले २५ प्रतिशत तलमाथि गर्न पाउने प्रावधान छ । त्यसैलाई आधार मानेर आफ्नो सेवा र सिट क्षमताअनुसार भाडा लिने गरेको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए ।
'कम्पनीहरूले भाडा निर्धारण गर्दा आफ्नो क्षमतालाई नै ख्याल गर्ने हो,' उनले भने, 'तर एउटा कम्पनीले कम मूल्यमा सेवा दिए, अर्को पनि घटाउन बाध्य हुने कुरा भने सत्य हो, कोही पनि ग्राहक गुमाउन चाहँदैन ।' हालसम्म अस्वस्थ प्रतिस्पर्धाको अनुभव नभए पनि भाडा घटाउँदै गए त्यो हुँदैहुँदैन भनेर ठोकुवा गर्न नसकिने उनले स्विकारे ।

पोखरापछि एयरलाइन्सहरूबीच चर्को प्रतिस्पर्धा भएको गन्तव्य विराटनगर हो । त्यहाँका लागि बुद्ध एयर र अग्नि एयरको सामान्य भाडा दर प्रतिव्यक्ति चार हजार ५५ रुपैयाँ छ । यति एयरलाइन्सले तीन हजार नौ सय ५५ रुपैयाँ तोकेको छ भने गुण एयरलाइन्सले तीनवटै एयरलाइन्सको तुलनामा निकै कम तीन हजार दुई सय मात्रै लिइरहेको छ ।

सहुलियत भाडा दरलाई अग्नि एयरले तीन श्रेणीमा विभाजन गर्दै दुई हजार ६ सय ९५, तीन हजार तीन सय ४५ र तीन हजार आठ सय ९५ कायम गरेको छ । बुद्ध एयरले सामान्यबाहेक ब्राभो दुई हजार नौ सय र एपेक्स दुई हजार पाँच सय लिँदै आएको छ । गुण एयरलाइन्सले पनि विराटनगरका लागि थप सस्तो भाडा दर दुई हजार सात सय १५ कायम गरेको छ ।

पोखरा र विराटनगरपछि हवाई सेवा प्रदायकबीच नेपालगन्ज, भद्रपुर र भैरहवामा प्रतिस्पर्धा छ । भैरहवाका लागि बुद्धले सामान्य भाडा तीन हजार चार सय ८५ तोकेको छ भने यतीले तीन हजार दुई सय ८५ लिने गरेको छ ।
भैरहवाकै लागि अग्निले दुई हजार चार सय, तीन हजार ५० र तीन हजार दुई सय ८५ दरका सहुलियत भाडा तोकेको छ । यतीले भने तीन हजार तीन सय ८५ भाडा लिइरहेको छ ।

बुद्ध एयरले भद्रपुरको भाडा चार हजार ६ सय ७० कायम गरेको छ भने यतीले चार हजार पाँच सय २० । अग्निले भने प्रवर्द्धनात्मक भाडा भन्दै श्रेणीअनुसार तीन हजार ५५, चार हजार एक सय ५० र चार हजार पाँच सय २० रुपैयाँ लिने गरेको छ ।
सामान्य भाडामा सहुलियत दिँदै बुद्धले ब्राभो तीन हजार तीन सय र एपेक्स भाडा चार हजार दुई सय निर्धारण गरेको छ ।

नेपालगन्जमा बुद्ध र यती एयरलाइन्सले उडान गरिरहेका भए पनि दुवैको सामान्य भाडा दरमा पाँच सयको भिन्नता छ । नेपालगन्ज उडानका लागि बुद्ध एयरले पाँच हजार एक सय ९६ भाडा निर्धारण गरेको छ भने यतीले चार हजार ६ सय ९५ तोकेको छ ।
यद्यपि, बुद्धको ब्राभो भाडा तीन हजार एक सय ९५ र एपेक्स चार हजार चार सय रुपैयाँ मात्र छ । भरतपुरतर्फको उडानमा भने दुवै कम्पनीको भाडादर समान एक हजार आठ सय ५० छ । त्यहाँ खासै यात्रु नहुने भएकाले प्रतिस्पर्धा पनि उच्च छैन ।

पहाडी तथा हिमाली भागतर्फको उडानमा भने भाडामा वायुसेवा कम्पनीबीच खासै प्रतिस्पर्धा देखिँदैन । सीता, अग्नि र यती तीनवटै कम्पनीले उडान गर्ने लुक्लाको भाडा समान दुई हजार पाँच सय १५ छ । लुक्लामा उडान गर्ने राष्ट्रिय ध्वजा बाहक नेपाल एयरलाइन्सको भाडा भने केही कम दुई हजार चार सय ३० मात्र छ ।
हिमाली भेगकै अर्काे गन्तव्य फाप्लुमा अग्नि र यती दुवैले उडान गर्छन् र दुवैको भाडा समान दुई हजार तीन सय ३० छ । काठमाडांैबाट उडेर हिमाल दृश्यावलोकन गरी काठमाडौंमा नै अवतरण गर्ने 'माउन्टेन फ्लाइट'को भाडादर भने सबै कम्पनीको समान ६ हजार ६ सय ४० रुपैयाँ छ । नेपाल वायु सेवा निगमले भने सो फ्लाइट गर्दैन ।

No comments:

Post a Comment

thanks for comment