सेवा प्रदान गर्न बैंकहरूबीच सहकार्य

नेपालका तीन वाणिज्य बैंकहरू नेपाल इन्डिस्टि्रयल एन्ड कमर्सियल बैंक -एनआइसी), बैंक अफ एसिया र किस्ट बैंकका ग्राहकहरूले एक-अर्को बैंकका शाखाबाट रकम जम्मा गर्ने, झिक्ने तथा ब्यालेन्स ट्रान्सफर गर्न पाउने भएका छन् ।
तीनवटा बैंकहरूबीच आइतबार सेवा विस्तार गर्ने सम्झौता भएपछि ग्राहकलाई यस्तो सेवा सम्भव भएको हो । सम्झौतापछि तीनै बैंकका ग्राहकले ७० को हाराहारीमा रहेका शाखाबाट रकम जम्मा गर्ने, झिक्ने तथा ब्यालेन्स ट्रान्सफर गर्न सक्नेछन् ।
नयाँ सम्झौतापछि नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ग्राहकले सहज सुविधा प्राप्त गर्न सक्ने बैंकहरूले दाबी गरेका छन् ।

सहकार्यसम्बन्धी सम्झौता गर्न आइबार आयोजित कार्यक्रममा एनआइसीका प्रमुख कार्यकारी अधिकृत ससिन जोशीले बैंकहरूबीच सहकार्यले ग्राहकले उच्च एवं सहज वित्तीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा राखिएको बताए । 'सेवाको दायरा फराकिलो बनाउने प्रयास स्वरूप यस्तो प्रयास गरिएको हो,' उनले भने ।
तीन बैंकबीचको सहकार्यमा आगामी दिन थप वाणिज्य बैंक पनि सहभागी हुने बताउँदै उनले भने, 'अन्य वाणिज्य बैंकहरूसँग कुरा गरिरहेको छौँ, छिट्टै यो संख्या बढ्छ ।'
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका जोशीले आगामी तीन वर्षमा मुलुकका ५० प्रतिशत जनतालाई वित्तीय सेवा पुर्‍याउने लक्ष्यका साथ बैंकहरूबीच सहकार्य भएको बताए ।

बैंक अफ एसियाका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले वित्तीय पहँुच बढाउने उद्देश्यका साथ सहकार्य गरिएको बताए ।
उनले भने, 'अब हाम्रो संजालभित्र रहेका ग्राहकले सहज एवं छरितो सुविधा प्राप्त गर्नेछन् ।' सहकार्यमा जुटेका बैंकहरूमध्येको एक किस्ट बैंकका प्रथम सञ्चालक कमलप्रसाद ज्ञवालीले बैंकहरूबीचको सहकार्यले सेवा प्रदानमा प्रतिस्पर्धा नभई सहकार्यको वातावरण सिर्जना गरेको धारणा राखे ।
'हाम्रो सहकार्यले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धासँगै सहकार्य पनि भएको पुष्टि गरेको छ,' उनले भने ।

कारोबारका लागि न्यूनतम शुल्क एक सय रुपैयाँ तोकिएको छ । यद्यपि कारोबार रकमका आधारमा शुल्क फरक पर्ने बैंकहरूले जनाएका छन् ।
हाल ७० को हाराहारीका सीमित शाखा संजाल यसै वर्षैदेखि एक सय पुग्ने उनीहरूको विश्वास छ । हाल एनआइसीका १९ र बैंक अफ एसियाका १९ र किस्टका २४ शाखा रहेका छन् ।

No comments:

Post a Comment

thanks for comment