'नेपाल विकास बैंकको कारबाही सबैलाई चेतावनी'


नेपाल राष्ट्र बैंकका गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल विकास बैंक खारेजी सबै बैंक तथा वित्तीय संस्थाका लागि चेतावनी भएको बताएका छन् ।
'बैंक तथा वित्तीय संस्था जति बिग्रे पनि राष्ट्र बैंकले सम्हाल्छ भन्ने भ्रम परेको छ,' नुवाकोटस्थित हाम्रो विकास बैंक उद्घाटनमा कार्यक्रममा उनले भने, 'सञ्चालक तथा व्यवस्थापकले गल्ती गरी डुबाउने अनि जिम्मा राष्ट्र बैंकले लिने काम सधैं भइ रहन सक्दैन त्यसैले सबैलाई शिक्षा हुने गरी अहिलेको कदम चालेका हौं ।'

तथ्य लुकाएर गलत काम गर्नुको साटो सबै कुरा उदाङ्गो पारेर बैंक खारेज गर्नु आफूहरूले बुद्धिमानी देखेको उनले बताए । 'डेढ वर्षअघि संकटग्रस्त घोषणा गरी सो बैंकलाई पटक-पटक सुध्रन भन्यौं,' उनले भने 'तर स्थिति झन् जटिल हुँदै गएकाले थप सर्वसाधारण नफसुन् भनी अन्तिम कदम चाल्न बाध्य भएका हौं ।' राष्ट्र बैंकको समेत एक करोड ६७ लाख बराबरको लगानी रहे पनि बैंक बचाउन नसक्ने स्थितिमा पुगेको उनले बताए ।

नेपाल विकास बैंक संघका अध्यक्ष झपट बोहराले भने खारेजी अन्तिम समाधान नभएको बताए । 'एकै चोटी खारेजको निर्णयमा पुग्दा बैंक तथा वित्तीय संस्थाप्रति नै सर्वसाधारणमा वितृष्णा बढ्न सक्छ' उनले भने 'त्यसैले राष्ट्र बैंकले आफ्नो र आम वित्तिय क्षेत्रको साख बचाउन एक पटक व्यवस्थापन हस्तक्षेप गरि आफैंले चलाउनु पर्छ र त्यति गर्दा पनि नभए मात्र खारेज गर्नु पर्छ ।' वाणिज्य बैंक टाट पल्टिन लाग्दा आफूले व्यवस्थापन लिने राष्ट्र बैंकले विकास बैंकप्रति भने पक्षपातपूर्ण दृष्टि लिएको गुनासो उनले गरे । 'बरु पर्छ भने राष्ट्र बैंकलाई व्यवस्थापनमा सहयोग गर्न विकास बैंक संघ तयार छ,' उनले भने, 'तर हाम निक्षेपकर्ता, कर्मचारी र सेयरधनीको हित हेरेर निर्णयमा एकपटक पुनर्विचार गर्नुपर्छ ।'

No comments:

Post a Comment

thanks for comment