पश्चिमा बैंक संकटमा, एसियाली बैंकलाई अवसर


विश्व वित्तीय क्षेत्र संकटको भूमरीमा परे पनि चिनियाँ बैंकहरूको नाफा घटेको छैन, बरु बढेको छ । २००८ मा चाइना कन्सट्रक्सन बैंक (सिसिबी) ले १२ अर्ब अमेरिकी डलर बराबरको नाफा आर्जन गरेको थियो ।
विश्व वित्तबजार मन्दी प्रभावमा परेका बेलामा पनि बैंकको नाफा २००७ को तुलनामा १० प्रतिशत बढेको थियो । यता, २००८ मै अमेरिकाको ठूलो बैंक बैंक अफ अमेरिकाको नाफा ७३ प्रतिशत घट्दै ४ अर्ब डलरमा झरेको थियो ।

सेयर मूल्यका आधारमा सिसिबी चीनको दोस्रो ठूलो तथा विश्वकै चौथो वाणिज्य बैंक हो । यसका शाखा हङकङ, सिंगापुर, प|mयांकर्फट, जोहानेसवर्ग, नोटियो, सियोललगायतका सहरमा छन् भने न्युयोर्क, लन्डन र सिडनीमा प्रतिनिधि कार्यालय छन् । चीनमा यसका १३ हजार ६ सय २९ शाखा छन् ।
यसैगरी बैक अफ अमेरिका (बिओए) सम्पत्तिका हिसाबले विश्वकै धनी बैंक हो । बचत संकलनका हिसाबले सो बैंक दोस्रो नम्वरमा छ । बिओए उच्च दरका ऋणपत्र अन्डरराइटिङ गर्ने सबैभन्दा ठूलो वित्तीय संस्था हो । १ सय ५० मुलुकमा सेवा पुर्‍याउँदै आएको बिओए २००७ को कर्जा संकटबाट अछुतो रहेको एकमात्र बैंक थियो ।

तर, अहिले समयले कोल्टे फरेको छ । १ सय ५० मुलुकमा फैलिएको बंैकलाई आठ मुलुकमा विस्तार भएको बैंकले पछारेको छ । आर्थिक मन्दीसँग बलबुता लगाएर जुधिरहेको बिओएलाई पाखा पार्दै चिनियाँ बैंकले मन्दी हुँदाहुँदै पनि नाफामा १० प्रतिशत वृद्धि गरेको छ । यो घटनाले वित्तीय क्षेत्रमा एउटा प्रश्न खडा गरेको छ, के अमेरिकी बैंकका दिन गए ?

सरकारसँग लिएको ऋण तिर्न नसकेको बैंक अफ अमेरिका यति संकटग्रस्त भएको छ, उसलाई पुनः पुँजीकरण गर्न अबौं डलर आवश्यक पर्छ । यता, चिनियाँ बैंकहरू भने मजाले नाफा आर्जन गरिरहेछन्, अर्थतन्त्र पनि वृद्धिउन्मुख छ ।
वित्तीय बजारमा ठूला खेलाडी बैंक अफ अमेरिका तथा सिटी ग्रुप आफ्नो खास जोगाउन नसक्ने अवस्थामा पुगेका बेला भारत तथा चीनका बैंकहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पाइला बढाउन थालेका छन् । यिनीहरूको विदेश यात्राले सुखद वा दुखद कस्तो प्रतिफल दिन्छ भन्ने प्रश्न अहिलेलाई अनुत्तरित नै छ ।
तर, मन्दी भए पनि यी बैंकले आर्जन गरेको वित्तीय सफलताले भविष्यका सिटी ग्रुप वा बैंक अफ अमेरिका नहोलान् भन्न सकिंदैन ।

अमेरिकाको टाट पल्टिएको लगानी बैंक लेहम्यान ब्रदर्सका मुख्य विश्लेषक पल सुटल, जो अहिले जापानको नोमुरा बैंकसँग आबद्ध छन्, उनले विश्वका केही प्रमुख बैंक तथा वित्तीय संस्थाहरूको विश्लेषण गरेका छन् । नोमुरा बैंकले लेहम्यानको एसिया इकाइ खरिद गरेको छ ।
उनको अध्ययनमा बैंकहरूमा महत्त्वपूर्ण भिन्नता पाइएको छ । त्यसमध्यको एक महत्त्वपूर्ण फरक लिभरेज (संस्था सञ्चालनका लागि प्रयोग गरिने वास्तविक पुँजीबाहेकको रकम) मा देखिएको छ । उच्च लिभरेजमा सञ्चालन भएका बैंक तथा वित्तीय संस्था जोखिमयुक्त हुन्छन् ।

बैंक तथा वित्तीय संस्थाको लिभरेज रेसियो (प्रभावतकारिता अनुपात) मूर्त सम्पत्ति (ट्यान्जिवल एसेक्ट) बाट मूर्त पुँजी -ट्यान्जिन्ल क्यापिटल) घटाएर प्राप्त गरिन्छ । मूर्त सम्पत्ति कुल कर्जालगायत अन्य सम्पत्तिको योगबाट ख्याति, पेटेन्टजस्ता अमूर्त सम्पत्ति घटाएर निकालिन्छ भने मूर्त पुँजी निकाल्न पुँजीको किताबी मूल्य (बुक भ्यालु) मा अमूर्त सम्पत्तिको मात्रा घटाइन्छ ।

पलको अध्ययनमा अमेरिकी बैंक तथा वित्तीय संस्थाको यस्तो अनुपात २४ दशमलव ८ भएको पाइयो । सम्पत्तिको मूल्य वृद्धि सुरु हुनुअघि सन् १९९३ मा यस्तो अनुपात जम्मा २० थियो ।
१९९३ देखि यता सम्पत्ति मूल्यमा अस्वाभाविक रुपमा वृद्धि हुन थालेको थियो, जसको फलस्वरुप विश्वले मन्दी भोगिरहेको छ ।
उनको अध्ययनअनुसार यस्तो लिभरेजलाई १९९३ अघिको अवस्थामा ल्याउन अमेरिकी बैंकहरूले एक खर्ब ४१ अर्ब डलर बराबर नयाँ पुँजी जम्मा गर्नुपर्छ वा २८ अर्ब बराबरको सम्पत्ति बिक्री गर्दै आफ्नो आकार घटाउनुपर्छ ।

युरोपली बैंकहरूको अवस्था झनै खराब अवस्थामा छ । उनीहरूको लिभरेज अनुपात ४० दशमलव ५ रहेको छ । ती बैंक तथा वित्तीय संख्थाले कि ९७ खर्ब डलर बराबरको सम्पत्ति बेच्नुपर्छ या ४ खर्ब ८५ अर्ब डलर बराबरको नयाँ पुँजी जम्मा गर्नुपर्छ ।

अध्ययनले बैंकहरू अन्यन्तै नाजुक अवस्थामा भएको तथ्यांक भन्छ । जोगाउने कसरी ? सम्पत्ति बिक्री नगरी सुख छैन, तर यत्तिका सम्पत्ति किन्ने रकम कोसँग छ ? बेच्न नसकिए अर्का उपाय छ, नयाँ पुँजी जम्मा गर्ने । आर्थिक मन्दी सुरु भएयता दिनहुँजसो लाखौं बेरोजगार भइरहेको अवस्थामा पुँजी संकलन कसरी हुन्छ ।

युरोपेली र अमेरिकी बैंकहरूको तुलनामा एसियाली बैंकहरूको लिभरेज अनुपात न्यून छ । एसियामा चीनको लिभरेज अनुपात १५ दशमलव ८, हङकङको १४ दशमलव ३, दक्षिण कोरियाको १६ दशमलव ७ र भारतको ११ दशमलव ६ रहेको छ ।
२००८ मा ९ अर्ब ७० करोड नाफा कमाउन सफल बैंक अफ चाइनाको लिभिरेज अनुपात १४ मात्रै छ । सन् १९९७ को एसियाली वित्तीय संकटबाट प्रभावित भएका बैंकहरू अहिलेको मन्दीमा राम्रो नतिजाका साथ अघि बढिरहेछन् । एसियाली क्षेत्रमा रहेको युरोप र अमेरिकाका बहुर्राष्ट्रिय कम्पनी तथा वित्तीय संस्थाको सम्पत्ति खरिद गर्दै यी बैंकहरूले आफ्नो क्षमता देखाइरहेछन् ।

एसियाली क्षेत्रमा पनि चिनियाँ बैंकहरू मजबुत स्थितिमा छन् । चीनको वृद्धिदर केही शिथिल भए पनि यिनीहरूको नाफा वृद्धिदर घटेको छैन् ।
सक्षम अवस्था भए पनि चिनियाँ बैंकहरूको घरायसी तथा बाहिरी समस्या छन् । उनीहरूसँग व्यवस्थापन क्षमता भएको जनशक्ति अभाव छ भने अपरिवर्तनीय घरेलु मुद्रा अर्का समस्या हो । चिनियाँ मुद्रा युआन अझै पनि अधिकांश मुलुकमा अपरिवर्तनीय भएकाले बाह्य मुलुकमा व्यवसाय विस्तार तथा खरिद समस्या हुने गरेको छ । समस्या भए पनि केही वित्तीय संस्थाहरूले बाह्य लगानी नगरेका होइनन्, तर, लगानी फलदायी भएन ।
बिमा कम्पनी पिङ एनले साढे ३ अर्ब डलरमा युरोपेली वित्तीय समूह फोर्टिसको ५ प्रतिशत सेयर केही समयअघि खरिद गरेको थियो । तर, सेयर मूल्य ७८ प्रतिशत झरेपछि पिङ एन सेयर बेच्ने तयारीमा लागेको छ ।

समुद्रपार व्यापारमा अवरोध तथा अप्ठ्यारा आइरेपछि चिनियाँ वित्तीय संस्थाहरूको ध्यान एसिया तथा अफ्रिकाका विकासशील मुलुकमा लाग्ने देखिन्छ । जसमा चिनियाँ उत्पादन तथा उद्योग फस्टाइरहेका मुलुक यिनका प्रमुख गन्तव्य हुन सक्छन् । यसको संकेत चाइना इन्डस्टि्रयल एन्ड कमर्सियल बैंकले दक्षिणी अफ्रिकी स्ट्यान्डर्ड बैंकमा गरेको लगानीले दिइसकेको छ ।
२००७ मा उसले ५ अर्ब ६० करोडमा स्ट्यान्डर्ड बैंकको २० प्रतिशत सेयर खरिद गरिसकेको छ । अफ्रिकी बैंक खरिद गरेको चाइना इन्डस्टि्रयल एन्ड कमर्सियल बैंक अहिले अष्ट्रेलियाको एएनजेड बैंक, एचएसबिसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिलेर रोयल बैंक अफ स्कट्ल्यान्डको एसियाली व्यापारिक इकाइ खरिद गर्ने तयारीमा छ ।

एसिया तथा अफ्रिकाबाहेक चिनियाँ बैंकहरूका लागि अर्का विकल्प पनि छ । सरकारी सहयोगमा अहिलेसम्म टिकिरहेका पश्चिमा बैंकहरूले आफ्नो सम्पत्ति बेच्न थालेपछि खरिद गर्ने अवसर उनीहरूसामु छ । सम्पत्तिको आकार घटाएर खुम्चिएका पश्चिमा बैंकहरू जब पुनः आफ्नो व्यवसाय बढाउन थाल्छन् त्यसबखत चाइनिज तथा एसिया प्रशान्त क्षेत्रका बैंकहरू उनीहरूसँग प्रतिस्पर्धाका लागि तयार रहनेछन् ।

No comments:

Post a Comment

thanks for comment