बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज बढाउन थाले

सुदर्शन सापकोटा
 काठमाडौं, फागुन ९ - 
 लगानी योग्य पुँजी (तरलता) अभाव हुन थालेपछि वाणिज्य बैंकहरूले ठूला निक्षेपकर्ताको ब्याज दर बढाउन थालेका छन्। संस्थापक निक्षेपकर्ताबाट बढीमा साढे ६ प्रतिशतमा पैसा उठाइरहेका बैंकले तरलता संकुचन हुन थालेपछि ८ प्रतिशतसम्म तिर्न थालेका हुन्। 
एक महिनाअघिसम्म पैसा बढी भएर सर्वसाधारणलाई दिँदै आएको भन्दा कम ब्याजमा बैंकहरूले संस्थागत निक्षेपकर्ताबाट पैसा लिइरहेका थिए। कर्जा बढेको र त्यो अनुपातमा निक्षेप वृद्धि हुन नसकेर कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) वृद्धि हुन थालेपछि बैंकले संस्थागत निक्षेपकर्तालाई धेरै तिर्न थालेका हुन्।
'बजार सिद्धान्तअनुसार पैसा बढी हुँदा ब्याज घट्ने र पैसा कम हुँदा बढी हुन्छ,' ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले मंगलबार नागरिकसँग भने, 'अहिले त्यहीअनुसार निक्षेपको ब्याज सामान्य बढ्न थालेको हो।'
कर्जा वृद्धि अनुपातमा निक्षेप बढ्न नसकेका कारण बैंकको कर्जा-निक्षेप अनुपात वृद्धि भएकाले यसलाई सीमाभित्र राख्न संस्थागतलाई केही बढी तिरेर निक्षेप ल्याउनु परेको उनले बताए। राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम राख्न निर्देशन दिएको छ।
बैंक आफैं धाएर संस्थागत निक्षेपकर्ता (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल प्रहरी, नेपाली सेना, बिमा कम्पनी, गुठी संस्थानलगायत) सँग पैसा माग्न थालेका छन्। बैंक धाउन थालेपछि संस्थागत निक्षेकर्ताले पनि ब्याजमा मोलमोलाइ गर्न थालेका छन्। बैंकबीच फेरि पैसा माग्न प्रतिस्पर्धा चल्न थालेका कारण संस्थागत निक्षेकर्ताको हात माथि पर्न थालेको हो।
'संस्थागतले हाल चलेको ब्याजभन्दा बढी माग्न थालेका छन्,' एक बैंकरले भने, 'पैसा तत्काल चाहिएका बैंकले बढाएर ब्याज दिन थालेका छन्।' संस्थागत निक्षेपकर्ताले पैसा राख्ने गरेको बढाबढमा पनि बैंकले माथिल्लो दर राखेरै दरखास्त दिन थालेका छन्।
भर्खरै मात्र प्रहरीले गरेको 'कोटेसन' मा ८ प्रतिशत ब्याज दिने बैंकले मात्र निक्षेप पाएको थियो। बजारमा तरलता अभाव हुन थालेपछि सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनीले पनि निक्षेपको ब्याज कस्न थालेका छन्।
बैंकरका अनुसार सर्वसाधारणलाई दिने निक्षेपको ब्याज भने तत्काल बढ्दैन। चैतसम्म पनि सरकारी विकास खर्च भएन भनेमात्र सर्वसाधारणको ब्याज वृद्धि हुनेछ। गत वर्ष पनि चैतबाट विकास खर्च बढेर निक्षेप वृद्धि हुन थालेकाले तत्काल सर्वसाधारणको निक्षेपको ब्याज बढाउन हतार हुनेछ।
वाणिज्य बैंकहरूको निक्षेप घट्न थालेसँगै अन्तरबैंक सापटीमा पनि वृद्धि भएको छ। यस्तो सापटीको ब्याज दर ५ प्रतिशत पुगिसकेको छ। दैनिक ५ अर्ब रुपैयाँहाराहारीमा कारोबार हुन थालेको छ। निक्षेपको ब्याज बढ्न थालेपछि कर्जाको ब्याज वृद्धि गर्न बैंकलाई हौसला मिल्छ।
केही पुराना बैंकरले भने आधार दरपछि कर्जाको ब्याज घटाउन दबाब परेका कारण त्यसलाई रोक्न हल्ला मच्चाइएको दाबी गरे। 'आधार दरपछि हरेक बैंकको टेबुलमा कर्जाको ब्याज घटाउन फाइल आएको छ,' ती बैंकरले भने, 'ब्याज दर नघटाउन केही बैंकले रणनीतिक रूपमा हल्ला मच्चाइरहेका छन्।' निक्षेपको वृद्धि रोकिएर तरलतामा सामान्य संकुचन आएपछि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।
अभाव देखिन थालेपछि बैंकर्स संघले राष्ट्र बैंकसँग सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन आग्रह गरिसकेको छ। तर, राष्ट्र बैंकले रिपो नियमित गर्ने/नगर्ने कुनै प्रतिक्रिया दिएको छैन।
ऋण विस्तार अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको हो। रेमिट्यान्स वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले बचत संकलनमा कमी भएर तरलता अभाव देखिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेप वृद्धि दरसमेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप बढेको थियो। यसपालि ७० अर्ब ८३ करोडले बढेको छ। यही अवधिमा वाणिज्य बैंकका कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष ३२ अर्ब २६ करोडले बढेको थियो।

राजनीतिक सहमतिको आशमा उचालियो नेप्से, २५ मिनेटमा ८ करोडको कारोबार

सुदर्शन सापकोटा
 काठमाडौं, फागुन ७ - 
दलहरु निर्वाचन गराउन राजनीतिक सहमति नजिक पुगेपछि सेयर बजार ह्वात्तै बढेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार बन्ने पक्कापक्की भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २५.७३ अंकले बढेको छ।
सबै समूहको उपसूचक वृद्धिले परिसूचक ५५५.९३ अंकमा पुगेको छ। परिसूचकले छलाङ मार्न थालेपछि नेप्सेले तीनपटक कारोबार रोक्का गरेको थियो। पाँच प्रतिशतले परिसूचक वृद्धि भएपछि कारोबार सोमबारसम्मलाई बन्द गरिएको थियो।
'राजनीतिक सहमतिका कारण परिसूचक बढेको हो,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक भरत रानाभाटले भने।
आइतबार बजार खुलेको १५ मिनेटभित्रै नेप्से ३ प्रतिशतले बढेपछि केही समयका लागि कारोबार बन्द गरिएको थियो। बजार खुलेलगत्तै परिसुचक ४ प्रतिशतले वढेको थियो। तेस्रोपटक पाँच प्रतिशतले बढेपछि आइतबारको कारोबार बन्द गरिएको थियो।
नेप्से बढेर तीनपटकसम्म कारोबार स्थगत गर्दा लगानीकर्ताले जम्मा २५ मिनेटमात्र सेयर किनबेच गर्न पाएका थिए। तीन घन्टामा जम्मा २५ मिनेट कारोबार हुँदा समेत ८ करोड चार लाख रुपैयाँको सेयर किनेबेच भएको नेप्सेले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाहरुले दिनहुँजसो उच्च नाफा भएको विवरण सार्वजनिक गरिरहँदासमेत खासै प्रतिक्रिया नदिएको नेप्से परिसूचकले निर्वाचन गराउनलाई सरकार गठन हुने देखिएपछि तातो प्रतिक्रिया दिएको हो। बिहीबार पनि परिसूचक ३.६ अंकले बढेको थियो। 'बैंक तथा वित्तीय संस्थाको विवरणहरुले सामान्य वृद्धिमात्र भएको थियो,' उनले भने, 'राजनीतिक सहमतिले परिसूचकलाई निकै माथि पुर्या यो।'
नेप्सेमा आइतबार ५९ कम्पनीहरुको सेयर कारोबार भएको थियो। यसमध्ये पाथिभरा विकास बैंक, शुभेच्छा विकास बैंक, विराटलक्ष्मी विकास बैंक, विश्व विकास बैंक र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सको मात्र सेयर मूल्य घटेर कारोबार भएको थियो।
सूर्या लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोग स्किम-१, प्रभु फाइनान्स, ज्योति विकास बैंक र नबिल बैंकको संस्थापक सेयर मूल्य परिवर्तन नभई कारोबार भएको नेप्सेले जनाएको छ।
पछिल्लो समय निक्षेपको ब्याज दर घटेर लगानीकर्ता राम्रो प्रतिफलको आशमा पुनः सेयर बजारमा फर्किन थालेका थिए। यसबाट कारोबारमा सुधार आए पनि परिसूचकले उच्च छलाङ मार्न सकेको थिएन। राजनीति सहमतिबाट गतिरोध अन्त्य हुने निस्कर्ष निकाल्दै लगानीकर्ताले आइतबार परिसूचक उचालेका हुन्।
सरकारले परिसूचक बढाउन राष्ट्र बैंकमार्फत सेयर खरिद कर्जा सहज बनाएको थियो। बैंकिङ क्षेत्रमा तरलता बढेर ऋणको ब्याज पनि घट्न थाल्यो। टेलिकम, बिमा कम्पनीजस्ता संस्थागत लगानीकर्ताको पैसा बजारमा ल्याउने खालका निर्णयहरु भए। यसपछि राजनीतिक अन्योलबीच पनि परिसूचक उकालो लाग्न थालेको हो।
सबैभन्दा बढी जलविद्युत उपसूचकमा सुधार आएको छ। यो सूचक ६२ अंकले बढेको छ। यसपछि बैंकिङ ३८.५८ र बिमा २४.९४ अंकले वृद्धि भएको छ।
नेप्सेमा आइतबार १ लाख ६३ हजार ५२२ कित्ता सेयर किनबेच भएको थियो। ५ सय ३३ वटा कारोबारबाट बजार पुँजीकरण ५ खर्ब ३५ अर्ब ४९ लाख पुगेको छ।

माछापुच्छे्र बैंकका सिइओ भन्छन्– पाँच वर्षमा पाँचौ ठूलो बैंक बनाउने छु

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
 मर्जरपछि पनि बैंकका चुनौतीहरु सकिएका छैनन्। कसरी हल गरिरहनु भएको छ?
चुनौती नभएका बैंक नै छैनन्। चुनौतीका प्रकृति मात्र फरक हुन्। हाम्रो सञ्जाल ठूलो छ। कर्मचारीहरु पनि पर्याप्त छन्। पहिले पुँजीका कारण लगानी विस्तार गर्न सकिएको थिएन। मर्जरपछि पुँजी थपिएको छ। यसले लगानी विस्तार गर्न
तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
सजिलो भएको छ। मर्जरपछि हामीले सवा तीन अर्बले ऋण लगानी वढाएका छौं।
मर्जर भएर म आउँदा बैंकका अधिकांस समस्या समाधान भइसकेका थिए। असार मसान्तको हिसाव किताव एउटै आएको हो। वित्तीय रुपमा कम्पनी एक भइसकेको थियो। कर्मचारीमा केही मुद्दाहरु थिए। एउटा वाणिज्य बैंक र एउटा फाइनान्स कम्पनी भएकाले समान–समान हैसियतमा राख्ने कि के गर्ने भन्ने जस्ता समस्या थिए। तर त्यसलाई पनि मिलान गरियो। अहिले बैंक बजार विस्तारतर्फ अगाडि वढेका छ। कुनै खालका समस्या छैनन्।
कसरी अगाडि वढिरहनु भएको छ?
लगानी विस्तार नै अहिलेको योजना हो। राष्ट्र बैंकका नीति निर्देशनहरुलाई पालन गर्दै हामी लगानी विस्तार तिर लागेका छौं। पुँजी वृद्धिसँगै लगानी विस्तार भइरहेको छ। विचमा अलिकति अप्ठेरो भनेको पुँजी नपुगेर हो। दुई वर्षजति माछापुच्छ्रेले लगानी विस्तार गर्न सकेको थिएन। सुसुप्त अवस्थामा थियो। मर्जरपछि पुँजी वढेर लगानी विस्तार गर्न थाल्यौं। बजारमा माछापुच्छे्रले विजिनेस गर्दैन की भन्ने पर्न थालेको थियो। यो विचार पनि हामीले मेटाइसक्यौं।
के गर्नु भयो यसका लागि?
हामीले लगानीका लागि बजारीकरण गर्‍यौं। भएका सबै सञ्जालाई प्रयोग गर्‍यौं। मार्केटिङका लागि पूर्वदेखि पश्चिमसम् पुग्यौं। अहिले विजिनेस आइरहेको छ। ल्याइरहेका छौं। हामी  पाँच वर्षभित्र नेपालकै पाँचौं ठूलो बैंक बन्ने लक्ष्य साथ अगाडि वढेका छौं। सबैले मनपराएको बैंकमा पर्ने लक्ष्य हो हाम्रो।
पाँचौं बैंक भन्ने आधार के छन्?
हामीसँग ५४ वटा शाखा छन्। एक करोड मात्र विजिनेस गर्दा पनि ५४ करोड आउँछ। ग्राहक संख्या ३ लाखभन्दा वढी छन्। उनीहरुलाई राम्रो र छिटो छरितो सेवा दियौं भने उनीहरुले नै हाम्रो मार्केटिङ गर्छन्। हरेक किसिमको सेवा दिन्छौं। जसलाई जे  चाहिएको छ त्यो सेवा दिन्छौं। ऋण चाँडै पारित गर्छौं। तीनदेखि सात दिनमा ऋण दिन्छौं।
कसैले बैंकहरुको नाम गन्न थाल्दा अग्रपङतिमा  माछापुच्छे्रको आउने गरी काम गरिरहेका छौं। व्यवसायको आकार वढाउँछौं। यो वर्षलाई धेरै ठूलो नाफाको लक्ष्य छैन। अर्को वर्षदेखि नाफाको वृद्धि भने निकै राम्रो हुने छ। देशको अहिलेकै जस्तो अवस्था रहे पनि हामी मूख्य पाँच बैंकको सुचीभित्र पर्छौं।
व्यवसायको आकार कसरी विस्तार गर्दै हुनु हुन्छ?
व्यवसायको आकार बढाउन हामीसँग राम्रो जग छ। शाखा विस्तारमा खर्च भयो तर त्यसले पुँजीका कारण व्यापार गर्न पाएको थिएन। अब पुँजीको समस्या छैन। शाखाले पनि व्यवसाय विस्तार गर्ने छ। हामीले ऋणको काम गर्न शाखालाई दिएका छौं। पहिले सबै शाखा नाफामा नगएको कारण पनि व्यवसाय गर्न नपाएर हो।  पुँजी नपुगेका कारणले उनीहरुले ऋण विस्तार गर्न सकेका थिएनन्। अहिलेको अवस्थामा ७ अर्बसम्म लगानी गर्नसक्ने क्षमता छ। नाफा वढ्दै गएपछि यो क्षमता अझ वढ्ने छ।
एभ्को समूहको ऋण अपलेखन गरेर वासलात राम्रो बनाइयो। तर त्यो ऋण उठाउन के पहल भइरहेको छ?
त्यो ऋण उठाउन हामी लागि परेका छांै। ऋण उठाउन एउटा कानुनी बाटो अँगाल्छौं अर्को ऋणीसँग छलफल गरिरहेका छौं। उनीहरुसँग नियमित भेटभइरहेको । उनीहरुले तिर्ने इच्छा देखाएका छन्। चार वटा पार्टीको ऋण अपलेखन गरिएको हो। व्याज, जरिवाना व्याज र साँवासहित यो ऋण ठूलो हुन्छ। त्यो सबै नउठ्ला। तर पेनाल व्याज लगायत छाडेर उठाउने प्रयास भइरहेको छ।
अब बैंक सबै समस्याबाट मुक्ता भइसकेको हो?
हो, पूर्ण रुपमा समाधान मुक्त भइसकेको हो। डुवेको ऋण अपलेखन गरिसकेकाले बैंकमा पुरानो विषहरु छैन। नयाँ केही ऋणहरु समस्यामा छन्। ती भनेको अरु बैंककै जस्तो रियलस्टेट र क्रसरको हो। प्लटिङ जग्गा विकेको छैन। विकेपछि त्यो पैसा उठ्छ। अहिले डुवेकै बराबर हो। केही हायर पर्चेज ऋण डुवेको छ। यो चैं पुरै नउठ्ला।
माछापुच्छे्रबाट थुप्रै वर्ष भयो लगानीकर्ताले केही नपाएको। मर्जर भयो। व्यवस्थापनको नेतृत्व फेरियो। अब के आशा गर्न सक्छन्?
यो वर्षको नाफाबाट आगामी वर्ष नै प्रतिफल दिन  गाह्रो होला। अर्को वर्षबाट हामी राम्रो प्रतिफल दिने अवस्थामा पुग्छौं। यो वर्षको ६ महिना वितिसक्यो। अब ६ महिना वाँकी छ। ६ महिनामा राम्रो नाफा हुन्छ। यो वर्ष दिनसक्ने पोजिसनमा पु्र्‍याउँछु। तर अर्को वर्षको नाफाबाट प्रतिफल वाँडिने छ।
यहाँका केही कर्मचारी तपाईभन्दा वरिष्ठ थिए। उनीहरुसँग काम गर्न कतिको सहज छ?
मसँग काम गरेकै केही पुराना साथीहरु हुनु हुन्छ। उहाँहरुसँग काम गर्न केही गाह्रो छैन। सबैले सहयोग नै गर्नु भएको छ। कर्मचारीको समस्या पहिले नै मिलाइएकाले मलाई केही गाह्रो छैन।
बैंकका सञ्चालकहरुले विदेशी लगानी भित्राउने वा अर्को मर्जरमा जाने बताइ रहुन भएको छ। के हुँदै छ?
अहिले भएकै शाखालाई राम्रो बनाएर लैजाने हो। भएकोलाई अगाडि वढाएर लैजाने हो। त्यसपछि मात्र मर्जरको कुरा आउन सक्ला। लगानीको कुरा आउन सक्ला। तर, तत्काल यो संभावना छैन। सञ्चालक समितिको दीर्घकालिन सोचाइ हुन सक्छ।
अहिले आधार दर कार्यान्वयनमा आएको छ। यसबाट नयाँ र साना बैंकलाई व्यवसाय विस्तार गर्न गाह्रो हुन्छ भनिँदैछ नि?
आधार दरले केही फरक पर्दैन। योभन्दा अगाडि पुँजी लागत (कस्ट अफ फन्ड) छापिएको हो। केही फरक परेको थियो र? नयाँ र पुरानालाई गाह्रो भन्ने नै हुँदैन। कस्ट अफ फन्ड पहिले पनि केहीको थोरै थियो केही वढी थियो। तर, खै त सबैले लगानी विस्तार गरे। सस्तो हुनेले ऋण दिने भन्ने हुँदैन। पुँजी पनि पुग्नु परो नि। निक्षेप मात्र भएर लगानी गर्न मिल्ने त होइन। आधार दरबाट केही आत्तिनु पर्दैन।

स्प्रेड वृद्धिले बैंकको नाफा ५० प्रतिशत बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, फागुन ३
लगानी वातावरण नभएर व्यवसायिक क्षेत्र खस्किरहेका बेला वाणिज्य बैंंकहरुले निक्षेपकर्तालाई दिने र ऋणीबाट लिने ब्याजको अन्तर (स्प्रेड दर) फराकिलो बनाउँदै नाफा वढाएका छन्।
बैंकहरुले आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ५० प्रतिशतले बृद्धि गर्दै ७ अर्ब ९० करोड पुर्‍याएका छन्। अघिल्लो पुसमा बैंकहरुले ५ अर्ब २६ करोड रुपैयाँ नाफा गरेका थिए। असोजमा बैंकको नाफा वृद्धि दर ४१ प्रतिशत थियो।
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकमध्ये तीन वटाले मात्र स्प्रेड दर घटाएका छन्। लक्ष्मी बैंक, ग्रान्ड बैंक नेपाल र स्ट्यार्न्डर्ड चार्टर्डले स्प्रेड घटाएका हुन्। यसमध्ये लक्ष्मी र ग्रान्ड बैंकको नाफाको वृद्धि दर नै घटेको  छ। भने स्ट्यान्डर्ड चार्टर्डलेे ३७ लाख रुपैयाँले मात्र नाफा वढाएको छ।
बैंकले निक्षेपकर्तालाई दिने ब्याज दर ह्वात्तै घटाएपनि ऋणीबाट लिने ब्याज सामान्य मात्र घटाएका कारण स्प्रेड फराकिलो भएको हो। स्प्रेडकै कारण पुस मसान्तमा अधिकांस बैंकले उच्च नाफा कमाएका हुन्।
'अधिकांस बैंकको स्प्रेड दर वढेको छ। स्प्रेड वढाएकै कारण बैंकको नाफा वढेको छ,' बैंकर्स संघका उपाध्यक्ष तथा ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिर खत्रीले भने। उनले यसपाली अधिकांस बैंकको व्याज र किस्ता नउठेका कारण जोखिम व्यवस्थाका लागि राखिने रकम वढेपनि स्प्रेडका कारण नाफामा वृद्धि भएको जानकारी दिए।
स्प्रेड दर फराकिलो भएकै कारण बैंकहरुको खुद ब्याज आम्दानी २८ प्रतिशतभन्दा वढीले वृद्धि भएको छ। १६ अर्ब ३२ अर्ब  खुद ब्याज आम्दानी गरेका बैंकहरुले यसपाली २० अर्ब ७२ अर्ब  पुगेको छ।
अघिल्लो वर्षको पुसमा घाटामा गएका नयाँ चार बैंकले यसपाली नाफा राम्रो आर्जन गरेका छन्। अघिल्लो वर्ष घाटामा गएका सिभिल, जनता, मेगा र सेन्चुरी बैंकले यसपाली नाफा गरेका हुन्। यसपाली किस्ट बैंक भने घाटामा गएको छ। बैंकले ६ करोड ९५ लाख रुपैयाँ घाटा खाएको छ।
यसपाली सबैभन्दा वढी नाफा नबिल बैंकले कमाएको छ। बैंकले ६५ करोड ८६ लाखको नाफालाई १ अर्ब ११ करोड पुर्‍याएको छ। व्याज आम्दानीका साथै डलर किनबेच तथा छुट तथा कमिसनमा आधारित आम्दानी वढाएका कारण नाफा व्यापक वृद्धि गरेको हो।
पुसमा ६ वटा बैंकले नाफा ५० करोड नघाएका छन्। ५० करोड नघाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र एभरेष्ट बैंक छन्। इन्भेष्टमेन्टको ८९ करोड नाफा छ। एभरेष्टको ६४ करोड र राष्ट्रिय वाणिज्इ बैंकको ६० करोड ९९ लाख छ।
स्प्रेड बढाए पनि नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेको छ। बैंकको आम्दानी १.३२ प्रतिशतले घटेर २ अर्ब ८५ करोडमा झरेको छ। स्प्रेड दर घटाएका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याज आम्दानी ४.८२ प्रतिशतले घटेर ८७ करोड ५६ लाखमा झरेको छ। यि वाहेक सबै बैंकको खुद ब्याज आम्दानी वढेको छ।
स्प्रेड दर फराकिलो हुँदा निक्षेपकर्ता र ऋणी दुवैलाई नोक्सान हुन्छ। निक्षेपकर्ताले कम पाउने र ऋणीले वढी तिर्नु पर्ने हुन्छ।
सबैभन्दा वढी व्याज अन्तर नेपाल बंगलादेश बैंकले राखेको छ। बैंकले २.२१ प्रतिशतको स्प्रेडलाई वढाएर ६.२७ प्रतिशत पुर्‍याएको छ। यसपछि सिटिजन्स् बैंकले ४.३३ को स्प्रेडलाई ८.८१ प्रतिशत पुर्‍याएको छ।
एभरेष्ट बैंकको ५.१७ प्रतिशत स्प्रेड दर पुगेको छ। यसअघि उसको ४.८६ प्रतिशत थियो। नबिल, मेगा, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डूको स्प्रेड वढेर साढे चार प्रतिशतभन्दा माथि छ।
स्प्रेड दर वढाए पनि कम माछापुच्छ्रे बैंकको छ। बैंकले १.८४ बाट बढाएर २.४१ पुर्याएको छ। जनताले १.९७ प्रतिशतबाट वढाएर २.८५ प्रतिशत, प्राइमले २.९५ प्रतिशतबाट वढाएर २.९९ प्रतिशत पुर्‍याएको छ।

पुसमा वढी नाफा गर्ने बैंक

बैंक                                    नाफा (रु.करोडमा)
नबिल बैंक                                   १११.२३
नेपाल इन्भेष्टमेन्ट                        ८९.१२
एभरेष्ट बैंक                                    ६४.२४
राष्ट्रिय वाणिज्य                                 ६०.९९
स्ट्यान्डर्ड चार्टर्ड                               ५५.८८
कृषि विकास                                      ५४.६३
हिमालयन                                            ५०.०३

लगानी वोर्डले चार ठूला परियोजना अघि वढाउन वार्ता थाल्ने

काठमाडौं, फागुन २
नेपाल लगानी बोर्डले जलविद्युत उत्पादक तीन ठूला कम्पनीहरूसँग परियोजना विकास सम्झौता (पीडीए) सम्बन्धी औपचारिक वार्ता अघि बढाउने निर्णय गरेको छ। वोर्डले नेपालका चार वटा ठूला परियोजना विकास गर्नका लागि औचारिक वार्ता आगाडि वढाउने निर्णय गरेको हो।
प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बुधबार बसेको बोर्डको बैठकले पीडीएको नमूनालाई वार्ताको आधारको रुपमा प्रयोग गरिने निर्णय गरेको  छ। बोर्डले ६३० मेगावाटको तामाकोसी–३, नौं सय मेगावाटको अरुण–३, नौं सय मेगावाटको माथिल्लो कर्णाली र ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ विद्युत परियोजनाका लागि औपचारिक वार्ता थाल्ने निर्णय गरेको हो।
अरुण–३ र माथिल्लो मर्स्याङ्दी–२ निर्माणको जिम्मा जिएमआर, अरुण–३ सतलज र तामाकोशी–३ वनाउने जिम्मा एसएन पावर कम्पनीले लिएको छ। अरुण–३ र माथिल्लो कर्णाली निर्माणका लागि विकासकर्ता कम्पनीहरुसँग सैद्धान्तिक सम्झौता भइसकेको छ। उनीहरुसँग सम्झौताभित्रै रहेर वार्ता अगाडि वढाइने छ।
जडित क्षमता ३ हजार ५० मेगावाट भएका भारतीय बजारलक्षित यी परियोजनाले नेपालको आन्तरिक ऊर्जाको आवश्यकता पूर्ति गर्ने छ। राजस्व (रोयल्टी) र कर तिर्नेबाहेक चार परियोजनामध्ये अरुण–३ ले २१.९ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ। माथिल्लो कर्णालीले १२ प्रतिशत निःशुल्क बिजुली र २७ प्रतिशत निःशुल्क सेयर प्रदान गर्ने प्रतिवद्धता जनाइसकेको छ।
सरकारले परियोजना विकासकर्ता कम्पनीहरूबाट पीडीए मस्यौदाको नमूनामा राय मागिसकेको छ। उनीहरुले दुई महिनाअघि बोर्डलाई अन्तिम सुझाव समेत दिइसकेका छन्।
वोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री वावुराम भट्टराईले वैठकमा निर्णय गरेपछि नेपालले चार वटै जलविद्युत परियोजनाबारे द्रूत गतिमा औपचारिक वार्ता अघि बढाउन सक्ने बताए।
लगानी बोर्डले जलविद्युत परियोजनाहरू कार्यान्वयन गर्दा आवश्यक पर्ने लगानीबाट हुनसक्ने आर्थिक उपार्जनको आँकलन गर्न विस्तृत वित्तीय विश्लेषण ढाँचा तयार गरिरहेको छ। प्रत्येक परियोजनाको लागत एक अर्ब अमेरिकी (८५ अर्ब रुपैयाँ) भन्दा बढी हुन्छ।
वोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले परियोजनाको लाभ लागत आँकलनमा सुझाव दिन र वार्ताको रणनीतिलाई थप सुसूचित गराउन विज्ञहरूको अन्तर्राष्ट्रिय टोली नियुक्त गरिएको बताए।
चारै वटा परियोजनाको समीक्षा गर्न केही समयअघि मात्र विश्व बैंकको सहयोगमा खुला प्रतियोगितात्मक प्रकृयाद्वारा अग्रणी इन्जिनियरिङ संस्था लामेयेर इन्टरन्याशनललाई नियुक्त गरिएको छ। 'संस्थाको नतिजाका साथै हाम्रो वित्तीय विश्लेषणले नेपालले गर्ने वार्ताको स्थितिलाई सुसूचित गर्ने छ,' पन्तले भने, 'नेपाल र लगानीकर्ता दुवै पक्षलाई फाइदा पुग्ने सम्झौतामा सहि गर्न चाहन्छौं।'
चार परियोजना अगाडि वढाउने वार्तालगायत अन्य ठूला पूर्वाधार निर्माणहरु अगाडि बढाउने निर्णयसमेत बोर्डले गरेको छ। काठमाडौं उपत्यका मेट्रो रेल परियोजनाको लागि विस्तृत संभाव्यता अध्ययन (डिपिआर) अगाडि बढाउने निर्णय गरेको छ। विज्ञ सहितको ६ सदस्यीय स्थलगत प्रमाणीकरण टोली गठन गरी काठमाडौं उपत्यका फोहरमैला व्यवस्थापन परियोजनाको कार्य अगाडि बढाउनेसमेत निर्णय भएको छ।
नेपालमा रासायनिक मल कारखानाको लागि सम्भाव्यता अध्ययन गर्ने कार्यादेश समेत बोर्डले स्वीकृत गरेको छ। वैठकले सिमेन्ट उद्योगको लागि वैदेशिक लगानी सम्बन्धमा कार्यान्वयन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि लगानी बोर्डको कार्यकारी प्रमुखको संयोजकत्वमा उद्योग विभाग, खानी तथा भूगर्भ विभागका महानिर्देशकहरु सदस्य भएको समिति गठन गरिएको छ।
वैठकमा प्रधानमन्त्री भट्टराईले सरकारलाई राजस्व प्राप्त हुने, स्थानीय समुदायहरूलाई फाइदा पुग्ने, नेपाली उद्योग तथा सेवा क्षेत्रलाई अधिकतम लाभ हुने, हजारौं नेपालीलाई रोजगारी प्राप्त हुने र उर्जा संकट समाधान गर्नेजस्ता विषयमा अधिकतम हित हुने गरी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनु पर्ने बताए।
वोर्डले आयोजना विकासकर्ता कम्पनीहरु र अन्तर्राष्ट्रिय ऋणदाता समुदायबाट प्राप्त विस्तृत सुझाव तथा प्रतिक्रियापछि पीडीएको नमूनामा व्यापक परिवर्तन गरिसकेको छ। पीडीएलाई परिस्कृत गर्न अन्तर्राष्ट्रिय स्तरका वाणिज्य, प्राविधिक तथा कानुनी विज्ञहरूका साथै ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणसँग धेरै निकट रहेर काम गरिएको थियो।
'बोर्डले कार्यादेश अनुमोदन गरेलगत्तै अब उर्जा उत्पादक कम्पनीहरूसँग परियोजना विशेषका लागि पिडिए वार्ता टोलीले वार्ता शुरु गर्नेछ,' पन्तले भने। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा पिडिए संयोजक समिति हुनेछ। समितिले वार्ता टोलीलाई मार्गदर्शन र निर्देशन गरी बाधा अड्काउ फुकाउने कार्य गर्नेछ। पिडिए वार्ता टोलीले राष्ट्रिय–अन्तराष्ट्रिय कानूनी, प्राविधिक र वाणिज्य विशेषज्ञहरुबाट सल्लाह लिनेछ।

अभाव वढ्न थालेपछि बैंकहरु स्थायी तरलता प्रयोग गर्दै

सुदर्शन सापकोटा
काठमाडौं, फागुन १
बैंकहरुमा लगानी योग्य पुँजी (तरलता) अभाव हुन थालेपछि अन्तर बैंक ब्याज दर बढेको छ। एक साताअघि २.२५ प्रतिशत रहेको अन्तर बैंक व्याज दर अहिले ५ प्रतिशत पुगेको छ।
तरलता अभाव हुन थालेपछि बैंकिङ प्रणालीमा अन्तर बैंक सापटी दिने बैंकहरु घट्न थालेका छन्। अहिले अधिकांस बैंकले सापटी माग गरिरहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआइ बैंक, एभरेष्ट बैंकले नियमित सापटी दिइरहेका छन्।
'अहिले अन्तर बैंक सापटीको माग एकदमै बढेर गएको छ,' राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले मंगलबार नागरिकसँग भने, 'नियमित आवश्यकताका लागि बैंकहरुले सापटी लगिरहेका छन्।' उनले अधिकांस बैंकले सापटी माग गरेको जानकारी दिए।
अभाव देखिन थालेपछि बैंकर्स संघले राष्ट्र बैंकसँग सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन   आग्रह नै गरिसकेका छन्। तर राष्ट्र बैंकले रिपो नियमित गर्ने/नगर्नेमा कुनै प्रतिकृया दिएको छैन।
बैंकरका अनुसार, रिपो निस्कासन नभए बैंकहरु स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्ने  अवस्थामा पुगेका छन्। 'भोलीबाटै (वुधबार) स्थायी तरलता सुविधा प्रयोग गर्नु पर्ने अवस्था छ,' एक बैंकरले भने।
राष्ट्र बैंकमा सरकारी ऋणपत्र धितो राखेर स्थायी तरलता सुविधा जुनसुकै बेला प्रयोग गर्न पाइन्छ। यसको ब्याज दर भने महँगो हुन्छ।
'तरलता अभाव हुन थालेपछि हामीले रिपो मागेका हांै,' संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, …बैंकहरुले आन्तरिक प्रयोगका लागि स्थायी तरलता सुविधा माग्ने अवस्था छ।' उनले तरलता सहज नभए बैंकहरु पुनः ब्याज दर बढाउन वाध्य हुने बताए।
निक्षेप आधार बलियो भएका ठूला बैंकहरुले पनि अहिले अन्तर बैंक सापटी माग गरिरहेका छन्। नबिल, हिमालयन, बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्टलगायतका ठूला बैंकले पनि सापटी माग गरेका छन्। नयाँ आएका मेगा, जनताले पनि सापटी मागेका छन्।
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा तरलता अभाव हुन थालेको हो। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकाले बचत संकलनमा कमी भएर तरलता अभाव देखिएको छ।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत १ अर्ब ६० करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.९ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २२.७ प्रतिशतमा झरेको छ। मंसिरसम्म कुल १६३ अर्ब ४९ करोड रेमिट्यान्स् भित्रिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेपको वृद्धि दर समेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप वढेको थियो। यसपाली जम्मा ७० अर्ब ८३ करोडले वढेको छ। यही अवधिमा बैंकहरुको कर्जा लगानी भने व्यापक विस्तार भएको छ।
वाणिज्य बैंकहरुको कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष जम्मा    ३२ अर्ब २६ करोड वृद्धि भएको थियो।

पोहोरजति पनि विकास खर्च भएन, ५१ अर्बमा जम्मा ७ अर्ब ६६ करोड खर्च

सुदर्शन सापकोटा
काठमाडौं, माघ २९
विकास खर्च गर्न नसकेपछि सरकारी कोषको बचत रकम बढेको छ। विकास खर्च घटेपछि दातृ निकायहरुले दिने आर्थिक सहायता र ऋण प्रभावित भएको छ।
सरकारले आधा आर्थिक वर्ष सकिँदासम्म पोहोरको जति पनि विकास खर्च गर्न सकेको छैन। सरकारले गर्ने विकास खर्च घटेपछि उसको कोषमा ४३ अर्ब ६१ करोड रुपैयाँ जम्मा भइसकेको छ। अघिल्लो वर्षको पुसमा सरकार जम्मा १३ अर्ब ८ करोड रुपैयाँ बचतमा थियो।
विकास खर्च प्रत्येक वर्ष कम हुन थालेपछि दातृ निकायहरुले चिन्दा व्यक्त गर्दै आगामी बजेटका लागि सहायता रकम घटाउने संकेत गरेका छन्। उनीहरुले आयोजनासमेत तोकेर छुट्याएको रकम वाहेक वाँकी बजेट अन्य मूलुकमा स्थानान्तरण गर्न सक्ने सरकारलाई जानकारी गराइ सकेका छन्।
'सरकारले गर्ने विकास खर्च पोहोरको भन्दा घटेको छ,' अर्थसचिव शान्तराज सुवेदीले सोमबार नागरिकसँग भने, 'यसबाट सहायता दिँदै आएका दातृ निकायहरु चिन्तित बनेका छन्।' पोहोर पुससम्म सरकारले ९ अर्बभन्दा वढी विकास खर्च गरेको थियो। यसपाली ७ अर्ब ६६ करोड रुपैयाँ विकास खर्च भएको छ।
सचिव सुवेदीले विकास बजेट खर्च गर्न प्रत्येक मन्त्रालयलाई ताकेता गर्न थालिएको जानकारी दिए। उनले पोहोरकै बजेट बराबरको रकम यसपाली खर्च गर्न पाइने भएकाले प्रत्येक मन्त्रालयलाई एकमुष्ट रकम निकासा गरिसकिएको बताए। गत वर्षभरी सरकारले ५१ अर्ब रुपैयाँ विकास खर्च गरेको थियो।
'सरकारले  विकास खर्च गर्न नसकेपछि दातृ निकायको सहायता प्रत्यक्ष प्रभावित हुन्छ,' पूर्वअर्थसचिव तथा मन्त्रीपरिषद्का सचिव कृष्णाहरि वास्कोटाले भने, 'आयोजनामा आवद्ध वाहेकको बजेट अन्यत्र स्थानान्तरण गर्न सक्छन्।' वास्कोटाले दातृ निकायको प्रतिवद्धता केही वर्षका लागि मात्र हुने भएकाले तोकिएको अवधिमा आयोजना निर्माण नभए अन्यत्रै बजेट लैजान सक्ने जानकारी दिए।
दातृ निकायले चालु आर्थिक वर्षका लागि १ सय अर्बको ऋण तथा सहायताको प्रतिवद्धता गरेका छन्। यसमध्ये ७० अर्ब सहायता रकम हो। उनले विकास खर्च वढाउन नियमित अनुगमन र ताकेता हुनु पर्ने बताए।
'विकास  खर्च वढाउनुको विकल्प छैन,' उनले भने, 'आयोजना तोकेर यति मितिमा सक्ने भन्ने कार्य योजना हुनु आवश्यक छ।' उनले योजना आयोग, अर्थमन्त्रालय र प्रधानमन्त्रबी कार्यालयले योजना निरिक्षण तथा अनुगमन गरेर खर्च वढाउनु पर्ने ब ताए।
अर्थसचिव सुवेदीले सुरुमा चार महिनाका लागि मात्र बजेट आएकाले विकास खर्च प्रभावित भएको बताए। उनले हरेक वर्ष बजेटको ६५ प्रतिशतसम्म मात्र खर्च हुने गरेको भन्दै वाँकी ६ महिनाको अवधिमा खर्च वढ्ने जानकारी दिए।
उनका अनुसार, साउन, भदौ, असोज र कात्तिकमा एक तीहाइ  मात्र बजेट आएकाले पोहोरको जति पनि विकास खर्च नभएको हो। त्यसैको असरका कारण विकास खर्च घटेको हो। उनले दुई तीहाइ बजेट आइसकेकाले अब खर्च हुने बताए।
'हामीले खर्च वढाउन सम्वन्धित मन्त्रालयलाई ताकेता गरिरहेका छौं। गत वर्षजस्तै यसपाली पनि विकास खर्च ६५ प्रतिशतको हाराहारीमा पुग्छ,' उनले भने। सुवेदीले पछिल्लो समय आयोजनाहरुको ठेक्का लाग्न थालेको र गौरवका आयोजनाहरुको काम सुरु भइसकेकाले बाँकी अवधिमा खर्च हुने जानकारी दिए।
'पोहोर पनि आधा वर्ष वितेपछि ४२ खर्ब खर्च भएको थियो,' उनले भने, 'यसपाली अझै समय वाँकी भएकाले विकास खर्च हुन्छ।' उनले विकास खर्च भएन भनेर दातृ निकायले चिन्ता जनाउनु स्वभाविक भएको भन्दै सरकारलाई खर्च वढाउनु चुनौती भएको जानकारी दिए।
उनले राष्ट्रिय गौरवका आयोजनाका साथै काठमाडौंको सडक निर्माण, रासायनिक मललगायतका क्षेत्रमा खर्च भइरहेको जानकारी दिए।  मूख्य लगानीकर्ता सरकारले खर्च गर्न छाडेपछि निजी क्षेत्रले पनि लगानी गर्न छाडेका छन्।
सरकारी कोषमा रकम थपिन थालेपनि वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) घट्न थालेको छ। यसको असर उनीहरुको निक्षेपमा देखिन थालेको छ। गत वर्ष वित्तीय प्रणालीमा ९७ अर्ब ३० करोड निक्षेप वढेकोमा यसपाली जम्मा ७० अर्ब ८३ करोड मात्र वढेको छ।

बैंक आधार दर ६–१२ प्रतिशतसम्म, कम चार्टर्डको, बढी कृषि बैंकको

सुदर्शन सापकोटा
काठमाडौं, माघ २८
ऋण लिँदै हुनु हुन्छ भने आधार ब्याज दर कम भएको बैंकमा जानु होला। सम्पूर्ण खर्च कटाइ त्यसमा नाफासमेत जोडेर आधार दर निकालिने भएकाले योभन्दा वढी तिर्दिन भनेर मोलमोलाइ गरे सस्तैमा ऋण पाइनेछ।
'ग्राहकले प्रतिस्पर्धि ब्याजमा ऋण पाउन् भन्ने उद्देश्यले आधार दर कार्यान्वयनमा ल्याएकोे हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'ऋणको जोखिम मूल्यांकन गरेर बैंकहरुले आधार दरभन्दा माथिमा लगानी गर्छन्। ग्राहकले मोलमोलाइ गरेमा सस्तोमै ऋण पाउँछन्।'
सञ्चालनमा रहेका ३२ मध्ये २६ वटा बैंकले आधार दर निर्धारण गरिसकेका छन्। नौं वटा वाणिज्य बैंकको आधार दर ९ प्रतिशतभन्दा कम छ। सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको ६.८ प्रतिशत छ।
सबैभन्दा वढी आधार दर कृषि विकास बैंकको छ। बैंकले १२.३९ प्रतिशत आधार दर तोकेको छ। नयाँ आएको सेन्चुरी कमर्सियल बैंकको आधार दर ११.०७ प्रतिशत छ। कृषि र सेन्चुरीसहित १० वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ। ९ प्रतिशतको बीचमा ८ वटा वाणिज्य बैंकको आधार दर छ।
स्ट्यान्डर्ड चार्टर्डपछि एभरेष्ट, नबिल, हिमालयन, बैंक अफ काठमाण्डू, मेगा, नेपाल एसबिआइ र सिटिजन्स् बैंकको आधार दर ९ प्रतिशतभन्दा  तल छ। कम आधार दर भएको बैंकमा ऋण लिँदा मोलमोलाइ गरे सस्तोमा ऋण पाइन्छ। आधार दर कम भएपनि कतिपय बैंकले ऋणको ब्याज उच्च राखेका छन्।
महँगोमा निक्षेप उठाइरहेका बैंकहरुको पुँजी लागत वढी भएकाले उनीहरुको आधार दर उच्च छ। पुराना र ठूला बैंकले सस्तोमा नै निक्षेप उठाइरहेकाले आधार दर  कम छ। कतिपय नयाँ बैंकहरुले पनि निक्षेपको ब्याज घटाएका कारण लागत कम भएर आधार  दर तल आएको छ।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिविलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर, नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनु पर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर वढी भएको हो।
पुरानो बैंक नबिलको आधार दर ७.२६ प्रतिशत छ। हिमालयन बैंकको ८.२३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.२९ प्रतिशत आधार ब्याज दर छ। 
सिटिजन्स्को ८.९२ प्रतिशत, ग्रान्ड बैंक नेपालको १०.४९ प्रतिशत र कमर्ज एन्ड ट्रस्टको १०.१४ प्रतिशत आधार दर रहेको छ। नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौं प्रतिशतको हाराहारीमा छ।
'बैंकहरुले आधार दरमा नै ऋण उपलब्ध गराउनु पर्छ भन्ने छैन। उनीहरुले जोखिम मूल्यांकन गरेर आधार दरभन्दा केही माथि लगानी गर्न पाउँछन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'आधार दरमा ऋण दिने भन्ने होइन। योभन्दा माथि व्याज तोकिन्छ।'
लक्ष्मी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र कुमारी बैंकले आधार दर औपचारिक रुपमा सार्वजनिक गरिसकेका छैनन्। उनीहरुले राष्ट्र बैंकलाई भने आफ्ना दर पठाइ सकेका छन्।
व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। आधार दरलाई बैंकहरुले 'रिफरेन्स' का रुपमा लिएर लगानी गर्छन्। 
बैंकहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको शुत्र (फर्मुला) का अधारमा निस्कासन गर्नु पर्छ। व्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थिति अनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
'न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धि व्याजमा ऋण पाउने छन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालनय बैंकका प्रमुख कार्यकारी अधिकृत र अशोक राणाले भने।
राष्ट्र बैंकले आधार व्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत  सम्पति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको  छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शुन्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्युनतम व्याज निकाल्नु पर्छ। 
नेपालका बैंकहरुका लागि आधार व्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागू गरेको हो। अघिल्लो महिनाको वित्तीय विवरण  र तथ्यांकका आधारमा बैंकहरुले आधार दर गणना गर्छन्।

अनलराज भट्टराई भन्छन्- लगानीकर्ताले अधिकतम प्रतिफल पाउने छन्

अनलराज भट्टराई
प्रमुख कार्यकारी अधिकृत
कमर्ज एन्ड ट्रष्ट बैंक
लगानीका लागि कमर्जको सेयरमा आकर्षक पक्ष के छ?
सेयरमा लगानी दुई किसिमले हुने गर्छ। एउटा तत्काल नाफा गर्न र अर्को, सम्पतिको मूल्य वढाउनका लागि। हाम्रो सेयरमा दुवै खाले आम्दानीको अवशर छ। कमर्जको सेयरबाट निरन्तर प्रतिफल प्राप्त गर्न सकिन्छ।
हामीभन्दा पछाडि दुई वटा आए र अगाडि २८ बैंक सञ्चालनमा थिए। ३२ बैंकमध्ये हाम्रो खर्च एकदमै कम छ। सञ्चालन खर्च कम गर्ने र सम्पति गुणस्तर राम्रो राख्ने हाम्रो योजना हो। हामीले प्रत्येक खर्चमा प्रतिफल खोज्छौं। प्रतिफल नआउने ठाउँमा खर्च गर्दैनौं। यसको फाइदा लगानीकर्तालाई नै हो। यसबाट लगानीकर्ताले पाउने प्रतिफल वढ्छ।
व्यवस्थापन र सञ्चालक समिति बैंक संस्थागत र दीगो रुपमा चलोस् भन्ने चाहन्छ। हामी  तत्काल नाफा गरेर भोली अप्ठेरोमा पर्ने लगानीमा विश्वास गर्दैनौं। नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन पच्छ्याएर अगाडि वढेका छौं। सुशासनमा कहिले पनि सम्झौता गर्दैनौं। जसले गर्दा लगानीकर्ता कहिले निरास हुनु पर्दैन।
बैंकले चालु वर्ष करिव २१ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ। नाफा वृद्धि दर हेदा लक्ष्य पुग्लाजस्तो देखिँदैन। यस्तोमा बैंकले कसरी प्रतिफल दिन सक्छ?
पुस मसान्तसम्म हामीले साढे ६ करोड नाफा गरिसकेका छौं। पुँजी लागत ६.९ प्रतिशत छ। सञ्चालन खर्च घटाएका छौं। १३ वटा शाखाबाट अरुले उठाएको निक्षेप हामीले उठाएका छौं। यसमध्ये ९ वटा शाखा नाफामा गइसकेका छन्। अर्को त्रैमासमा १० करोड नाफा पुग्छ। अहिलेकै अवस्थामा मुलुक रहयो भने पनि हामी १६ करोड नाफा त त्यतिकै गर्छौं। तर हाम्रो खर्च घटेको र अन्य आम्दानी वढेका कारण हामीले लिएको लक्ष त्यति ठूलो होइन।
लगानीकर्ताले कमर्जमा लगानी गरेपछि के आशा गर्न सक्छन्?
लगानीकर्ताले हाम्रो सेयरमा लगानी गरे वापत राम्रो प्रतिफलको आशा गर्न सक्छन्। बैंकको …स्ट्रेन्थ' वलियो भएकाले प्रतिफल राम्रो हुनेमा दुई मत हुन सक्दैन। अहिलेकै त्रैमास साढे ६ करोड नाफा पुग्छ। हामीलाई आगामी वर्ष राम्रो प्रतिफल दिन सक्छांै।
कतिसम्म आश गर्न सकिन्छ?
६० करोडको सेयर निकालेपछि हाम्रो न्युनतम पुँजी पुग्छ। पुँजी पर्याप्तता अनुपात पनि राम्रो स्थानमा हुन्छ। आगामी वर्षको अवस्था मूल्यांकन गरेर लाभांस घोषणा गछौं। त्यो बेला पुँजी वढाउनु पर्ने नीतिगत व्यवस्था भए वोनस सेयर दिन्छौं। नभए नगद लाभांस दिन्छौं। दुवै विकल्प हामीले खुला राखेका छौं। नीतिगत परिवर्तन नभए आगामी बर्ष नै पुँजी वृद्धि गर्ने पक्षमा हामी छैनौं। आजको भोली प्रतिफल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारबाट हुन्छ। बैंकको तर्फबाट भने लगानीकर्तालाई दीगो प्रतिफल दिन्छ।
कमर्जको सेयर लगानी कत्तिको सुरक्षित छ?
व्यवसायिक आचरण पालना गर्दै संस्थागत सुशासन कायम राखेर अगाडि वढ्छौं। प्रत्येक रुपैयाँ खर्च गर्दा हामी प्रतिफल खोज्ने भएकाले जोखिम हुने क्षेत्रमा जाँदैनौं। बैंकिङमा इमान्दारिता र स्वच्छता चल्ने भएकाले यसबाट हामी पछाडि हट्दैनौं। लगानी सुरक्षाको प्रत्योभूति भनेकै यही हो। लगानीकर्ताले गरेको लगानी एकदमै राम्रो ठाउँमा छ भन्ने विश्वास हुन आवश्यक छ। त्यो प्रत्याभूति हामी दिने छौं।
कमर्जले सँगै आएका बैंकले जस्तो सञ्जाल विस्तार गरेको छैन। कसरी लगानी वढाउँछ?
शाखा विस्तारको होडबाजीमा हामी लाग्दैनौं। १३ वटा शाखामध्ये ९ वटा नाफामा छन्। चाँडै तीन वटा थप्छौं। खुलेका  शाखा  नाफामा नगएसम्म  थप शाखा विस्तार गर्ने हाम्रो सोचाइ छैन। शाखा जहिले पनि नाफामा चल्नु पर्छ। विदेशी साझेदारमा खुलेका बैंकहरुले सुरुमा लिएको रणनीतिलाई मैले पनि पच्छ्याएको छु। शाखा विस्तार गरेर मात्र उपलब्धि हाँसिल हुँदैन। त्यसबाट प्रतिफल पनि आउनु पर्छ। 
हामीसँगै आएका बैंकहरुले शाखा धमाधम विस्तार गरेपनि हामीजस्तै नै निक्षेप संकलन गरेका छन्। ऋण पनि हाम्रै अनुपातमा छ। शाखाले मात्र व्यवसाय विस्तार हुने होइन। व्यवसाय विस्तार गर्न आक्रमक रुपमा  शाखा विस्तार गर्नु आवश्क छैन। आफ्नो क्षमता मूल्यांकन गरेर शाखा खोल्ने हो। अहिले हामीसँग ८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप नै पुगिसक्यो। कर्जा लगानी ७ अर्ब ८६ करोड गरिसकेका छौं।
चाँडै ठूलो बैंक बन्ने योजना सार्वजनिक गर्नु भएको छ यो कसरी संभव छ?
हामी 'युनिभर्सल' बैंकिङको अवधारणा अनुसार अगाडि बढ्दैछौं। ग्राहकले एउटै छानोबाट सबै खालको वित्तीय सुविधा पाउनु पर्छ। हामी गुणस्तरीय सेवाको पक्षमा छौं। हामी वित्तीय सेवका साथै सल्लाहकारको भूमिका पनि निर्वाह गर्छा।
भर्खरै साना व्यवसाय कर्जा योजना ल्यायौं। हामी यो कर्जा लिनेलाई सल्लाह र तालिम दिन्छौं। तालिमपछि प्रमाणपत्र पनि उपलब्ध गराउँछौं। बैंक भनेको ऋण दिने र निक्षेप लिने मात्र होइन। यससँग सम्वन्धित अन्य सेवा पनि दिनु पर्छ। हामी ग्राहकलाई बैंकिङ …ह्याविट' दिन्छौं। त्यही भएर आकारले होइन सेवाले ठूलो बैंक बन्ने लक्ष्य लिएका छौं।
खर्च कम गरेर ठूलो हुने हो। खर्च वढी गरेर कोही ठूलो हुँदैन। सेवा गुणस्तरीय दिन्छौं। सेवाका हिसावले ठूलो बैंक  बन्छौं भनेका हौं। पोर्टफोलियो बढाएर ठूलो हुनेभन्दा पनि पोर्टफोलियोको रिटर्नका हिसावले ठूलो हुने छौं।
बैंकका आगामी योजना के छन्?
हामी चाँडै नै शाखारहित र मोवाइल बैंकिङमा जाँदैछौं। ग्राहकले चाहेको हरेक सेवा   हामी उपलब्ध गराउँदै जान्छौं।
तरलता अभावको संकेत देखिन थालेको हो?
अहिले तरलता अभाव हुनेजस्तो देखिएको छ। सरकारी खर्च घटेकेा छ। यसले तरलता अभाव मात्र हुँदैन विकास निर्माण पनि घट्छ। सरकारले खर्च बढाएमा तरलतामा सहज भइहाल्छ।

फेरी तरलता अभावको संकेत

सुदर्शन सापकोटा
काठमाडौं, माघ २४
ऋण विस्तारको अनुपातमा निक्षेप संकलन नभएपछि वित्तीय प्रणालीमा फेरी तरलता अभावको संकेत देखिएको छ। रेमिट्यान्सको वृद्धि दर घटेको र शोधनान्तर बचतमा उच्च गिरावट आएकोक छ। यसले गर्दा बचत संकलनमा कमी भएर तरलता अभावको संकेत देखिएको छ।
अभावको संकेत देखिएपछि वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले सरकारी ऋणपत्रको धितो (रिपो) मा नगद उपलब्ध गराउन राष्ट्र बैंकसँग आग्रह गर्ने भएको छ। संघका सबै सदस्य बैंकबीच रिपो नियमितका लागि राष्ट्र बैंकसँग औपचारिक आग्रह गर्न छलफल भइसकेको छ। 
'तरलता अभावको संकेत देखिन थालेकाले बेलैदेखि रिपो जारी गर्न आग्रह गर्दैछौं,' संघका एक सदस्य बैंकरले भने, 'सरकारी कोषमा बचत जम्मा भएकाले अभाव देखिन थालेको हो।' सरकारी खर्च हुन थालेपछि भने तरलता फेरी बजारमा आउने ती बैंकरले जानकारी दिए।
पुस मसान्तसम्मको तथ्यांक हेर्दा सरकारी कोषमा गत वर्ष १३ अर्ब ८ करोड बचत भएकोमा यसपाली यो ४३ अर्ब ६१ करोड पुगेको छ। शोधनान्तर बचत १ अर्ब ६० करोडमा आएको छ। अघिल्लो पुसमा यो ६६ अर्ब ७१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिट्यान्स) को वृद्धि दरसमेत घटेको छ। ३७.९ प्रतिशतको रेमिट्यान्स् वृद्धि दर घटेर २२.७ प्रतिशतमा झरेको छ। मंसिरसम्म कुल १६३ अर्ब ४९ करोड रेमिट्यान्स् भित्रिएको छ।
वित्तीय क्षेत्रमा संकलन भएको निक्षेपको वृद्धि दर समेत घटेको छ। वित्तीय क्षेत्रको अघिल्लो पुससम्म ९७ अर्ब ३० करोडले निक्षेप वढेको थियो। यसपाली जम्मा ७० अर्ब ८३ करोडले वढेको छ। यही अवधिमा बैंकहरुको कर्जा लगानी भने व्यापक विस्तार भएको छ।
वाणिज्य बैंकहरुको कर्जा ७२ अर्बले वृद्धि भएको छ। अघिल्लो वर्ष जम्मा    ३२ अर्ब २६ करोड वृद्धि भएको थियो।
'एकातिर निक्षेप वृद्धि हुने स्रोतहरु खुम्चिएको छ भने अर्कोतिर व्यापक रुपमा कर्जा विस्तार भएको छ,' ती बैंकरले भने, 'यसले गर्दा तरलता विस्तारै अभाव हुन थालेको छ। वेलैदेखि यसलाई शंवोधन गर्न आवश्यक छ।'
पछिल्लो समय बैंकहरुले आपसमा दिने सापटी (अन्तर बैंक) दरसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ। लामो समय ०.५० प्रतिशतमा कारोबार हुँदै आएको अन्तर बैंक सापटी तीन सातायता २.२५ प्रतिशतमा कारोबार हुन थालेको हो। पुस मसान्तको वरिपरी अन्तर बैंक कारोबार ४ प्रतिशतसम्म भएको थियो। कारोबार रकम ५० करोडबाट वढेर दैनिक ४ अर्ब पुगेको छ।
'केही सातायता कारोबार र सापटी दर दुवै वढेको छ,' ग्रान्ड बैंक नेपालका टे्रजरी विभाग प्रमुख सुशिल मानन्धरले भने, 'यसले विस्तारै तरलताको कमी हुन थालेको जनाउ दिन्छ।' उनले दैनिक २/३ वटा बैंकले सापटी कारोबार गर्नेमा अहिले वढेर १२/१३ बैंकको दैनिक कारोबार हुन थालेको जानकारी दिए।
राष्ट्र बैंकमा रहने वाणिज्य बैंकहरुको कुल बचत रकमसमेत घटेको  छ। निक्षेप रकम वढेको अनुपातमा राष्ट्र बैंकमा रहने बचतमा पनि वृद्धि हुनु पर्छ। तर, यो रकम ५१ अर्ब ६६ करोडमा झरेको छ। अघिल्लो पुसमा यस्तो बचत  ६४ अर्ब ४ करोड रुपैयाँ थियो।


वित्तीय अवस्था (रु.अर्बमा)
विवरण                                            चालु बर्षको पुस मसान्त                       अघिल्लो वर्षको पुस मसान्त
सरकारी बचत                                           ४३.६१                                                         १३.०८
वित्तीय प्रणालीमा बढेको निक्षेप                  ७०.८३                                                         ९७.३०
राष्ट्र बैंकमा वाणिज्य बैंकको बचत              ५१.६६                                                             ६४.०४
बाणिज्य बैंकको कर्जा वृद्धि                           ७२                                                              ३२.२६
रेमिट्यान्स                                     १६३.४९ (मंसिरसम्मको)                                            १६२.३७
शोधनान्तर बचत                             १.६ (मंसिरसम्मको)                                                     ६६.७१

बंगलादेश बैंकबाट एनबी ग्रुपको बर्चस्व हट्यो, ३८ लाख कित्ता सेयर २ सय ६० रुपैयाँका दरले विक्री

सुदर्शन सापकोटा
काठमाडौं, माघ २३
नेपाल बंगलादेश बैंकमा रहेको एनबी समुहको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारले खरिद गरेको छ। प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर खरिद गर्न दुवै समूहबीच बंगलादेशको राजधानी ढाकामा वुधबार औपचारिक सम्झौता भएको छ।
बंगलादेशी साझेदार आइएफआइसी बैंकले समूहको ३८ लाख ३ हजार ४ सय ३४ किक्ता सेयर खरिद गरेको हो। सेयर खरिदबाट एनबी समूहलाई ९८ करोड ८८ लाख ९२ हजार ८ सय ४० रुपैयाँ प्राप्त भएको छ।
'बैंकबाट समूहको एकाधिकार हटाउन सेयर विक्रीको स्वीकृति दिएका थियौं,' राष्ट्र बैंक स्रोतले भन्यो, …अब केही सेयर वाँकी छ। ऋण चुक्ता गर्न नपुगे वाँकी सेयर पनि प्रकृया पुर्‍याइ विक्री गराएर ऋण तिर्न लगाइने छ।' सेयर विक्रीबाट आएको रकमले एनबी बैंक र नबिल बैंकको ऋण चुक्ता गर्न पुग्छ।
राष्ट्र बैंक स्रोतका अनुसार, समूहले एनबी बैंकबाट विभिन्न व्यक्ति तथा कम्पनीको नाममा लिएको करिव ६० करोड रुपैयाँ ऋण तिर्न वाँकी छ। श्रीलंका मर्चेन्टसँग जोडिएको ३८ करोडसहित ६० करोड तिर्न वाँकी हो। नबिल बैंकको २० करोड रुपैयाँ ऋण पनि तिर्न वाँकी छ। समूहले एनसिसी बैंकलगायत अन्य वित्तीय संस्थाहरुबाट पनि ऋण चलाएको छ।
विक्रीअघि एनबी समूहको बैंकमा विभिन्न कम्पनीको नाममा ६० लाख कित्ता सेयर थियो । अब समूहसँग अझै २२ लाख किक्ता सेयर वाँकी छ।
सेयर खरिद–विक्री सम्झौतामा एनबी समूहका प्रबन्ध निर्देशक लक्ष्मीवहादुर श्रेष्ठ र आइएफआइसी बैंकका प्रबन्ध निर्देशक एम शाह आलम सरवाले हस्ताक्षर गरेका छन्।
सञ्चालक समितिबाट हटेको एक वर्षसम्म सेयर विक्री गर्न नपाइने कानुनी व्यवस्थाका कारण वाँकी सेयर एनबी समूहसँगै छ। समूहका सदस्य केही महिना अघिसम्म एनबी बैंककै सञ्चालक थिए। ऋण भुक्तानी नगरेको भन्दै नबिल बैंकको सिफारिसमा समूहका सबै सदस्य कर्जा सुचना केन्द्रको कालोसुचीमा परेपछि तीन महिनाघि सञ्चालकबाट हटेका थिए।
आइएफआइसीले एनबी बैंकको अर्को साझेदार बैंक एसिया ढाकाको सेयरसमेत खरिद गरेको छ। बैंक एसियाको २६ लाख ६७ हजार ५ सय कित्ता सेयर खरिद गरेको हो। सेयर विक्रीसँगै बैंक एसिया एनबी बैंकबाट पूर्ण रुपमा वाहिरिको छ।
एनबी समूह र बैंक एसियाको गरी आइएफआइसीले ३२.४० प्रतिशत सेयर खरिद गरेको छ। ९.१८ प्रतिशत सेयर वोकेर बसेको आइएफआइसीसँग अब ४१.१८ प्रतिशत सेयर पुगेको छ। बैंक एसियासँग १३.७७ प्रतिशत सेयर थियो।
सम्झौतासँगै आइएफआइसीले राष्ट्र बैंकसँग मंगलबार अन्तिम स्वीकृति माग गरेको छ। १८ वर्षअघि खुलेको बैंकले सेयर खरिद सम्झौता बारेमा कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई मंगलबार जानकारी गराएको छ। 
एनबी बैंकमा आइएफआइसीका तर्फबाट मोहम्मद लुत्फर रहमानले प्रतिनिधित्व गरेका छन्। उनी अहिले बैंकको सञ्चालक समिति अध्यक्ष पनि हुन्। बैंक एसियाका तर्फबाट इरफानुद्दिन एहेमद सञ्चालक छन्। वाँकी चार जना नेपाली सञ्चालक छन्।
कालोसुचीमा परेका श्रेष्ठलाई बैंकिङ कसुर गरेको अभियोगमा प्रहरीले अनुसन्धानका लागि खोजिगरिरहेको छ। प्रहरीले उनलाई फरार सुचीमा राखेको छ। 
समूहले आफ्नो सेयर धितो राखेर विभिन्न व्यक्ति तथा संस्थाको नाममा श्रीलंका मर्चेन्टबाट ऋण चलाएको थियो। एनबी बैंकसँग मर्जर स्वीकृति पाएपछि अनियमित तवरबाट सेयर धितोमा ऋण उपलब्ध गराइएको थियो। ऋण दूरुपयोग गरेको भन्दै श्रीलंका मर्चेन्टका तत्कालिन कार्यकारी अध्यक्ष रुवी जोशी, सञ्चालकहरु श्रीराम लामिछाने र गौरीशंकर चौधरी प्रहरी हिरासतमा छन्। 
बैंकमा एनबी समुहका लक्ष्मीवहादुर श्रेष्ठको प्रत्यक्ष ३.५ प्रतिशत र जितवहादुर श्रेष्ठको ३.३ प्रतिशत सेयर छ। जितवहादुरका छोरा जेन श्रेष्ठको ०.६९ प्रतिशत सेयर छ। उनीहरु तीनै जना कालोसुचीमा छन्। सञ्चालक समितिमा प्रतिनिधित्व गरेको सेयर त्यहाँबाट हटेको एक वर्ष नपुगेकाले विक्री नगरिएको हो।
एनबी समूहले ऋण दूरुपयोग गरेर संस्था धरायसी भएपछि करिव १० वर्षअघि राष्ट्र बैंकले बंगलादेश बैंकको व्यवस्थापन जिम्मा लिएको थियो। समूहले केही ऋण भुक्तानी गरेपछि २०६६ माघ १  गते राष्ट्र बैंकले व्यवस्थापन हस्तान्तरण गरेको थियो। त्यतिखेर लिएको ऋण अझै भुक्तानी भएको छैन।
वित्तीय क्षेत्रमा बद्नाम एनबी समूहको झल्को दिने नाम भएकाले यसलाई परिवर्तन गर्ने तयारीमा सञ्चालक समिति छ। बैंकको साधारणसभाले नाम परिवर्तन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजना गरिसकेको छ।
एनबी समुहसँग आवद्ध भएका कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। उनीहरुले हात हालेको सबै क्षेत्रमा आर्थिक वेथितिहरु भेटिने गरेको छ। एनबी समुहकै वद्मासिका कारण केही वर्षअघि बंगलादेश बैंक समस्यामा परेको थियो।
चलिरहेको हरिसिद्धि इटा टायल उद्योग एनबी समुहको हातमा गएपछि बन्द भएको थियो। एनबी समुहको सेयर रहेको नेसनल हाइड्रो पावर कम्पनीको अवस्थामा पनि नाजुक छ। एनबी इन्स्योरेन्समा आर्थिक अनियमितता भेटिएपछि बिमा समितिले केही महिनाअघि कारवाहीसमेत गरेको थियो।
'एनबी समुहले हात हाल्ने वित्तिकै कम्पनी विग्रियो भनेर वुझे हुन्छ,' यो समुहसँग नजिक भएर काम गरेका एक जानकारले भने, 'उसको हातमा रहेको कुनै पनि कम्पनीको अवस्था राम्रो छैन। आर्थिक अनियमितता धेरै हुने गरेको छ।'
समूहले गरेको आर्थिक अनियमितताका घटनाहरु सार्वजनिक हुन थालेपछि उसले केही महिनाअघि प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था मजवुत भएको जनाएको थियो। आर्थिक अवस्था मजबुत भएको जनाउ आइरहेकै बेला बैंक तथा वित्तीय संस्थाहरुले ऋण भुक्तानी गर्न सार्वजनिक आह्वान गरिरहेका थिए।

बैंकका कर्मचारीको न्युनतम तलव १८ हजार

काठमाडौं, माघ २३
राष्ट्र बैंकले वाणिज्य बैंकका कर्मचारीको न्युनतम तलव तथा सुविधा १८ हजार रुपैयाँ हुने गरी नीति ल्याउने तयारी गरेको छ। सरकारी कर्मचारीले पाउनेभन्दा कम्तिमा डेढ गुणासम्म हुने गरी बैंकका कर्मचारीको तलव निर्धारण गर्न लागिएको हो।
बैंक तथा वित्तीय संस्थाहरुको माथिल्लो र तल्लो तहका कर्मचारीहरु बीचको तलब सुविधाको अन्तर धेरै फराकिलो हुन  थालेपछि यसलाई नियन्त्रण गर्न नयाँ नीति ल्याउन लागिएको हो। तल्लो तहका कर्मचारीलाई वढी काम लाउने तर त्यो अनुपातमा तलव सुविधा पाउने नगरको राष्ट्र बैंकको अनुसन्धानमा देखिएको छ।
राष्ट्र बैंकले यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सबै तहका कर्मचारीको तलव सुविधालगायतको विवरण संकलन गरिसकेको छ। यसमा आवश्यक अध्ययन गरी राष्ट्र बैंकले नीति ल्याउन लागेको हो।
सरकारका खरदार  तहका कर्मचारीको तलव न्युनतम १३ हजार रुपैयाँ छ। कतिपय वाणिज्य बैंकमा काम गर्ने कर्मचारीको न्युनतम तलव साढे सात हजारसम्म छ। काम वढी लाउने तर तलव सुविधा राम्रो नदिने गरेको भेटिएछि राष्ट्र बैंकले ठूला र साना कर्मचारीको तलव अन्तर कम गर्ने नीति लिन लागेको हो।
'बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तलब सुविधामा हुने गरेको दूरी हटाउन नीति तर्जुमा भइरहेको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, 'बजार भाउ र मूल्यवृद्धि सुहाउँदो तलव सुविधा हुने गरी नीर्देशन आउने छ।' उनका अनुसार, कतिपय बैंकले वाँच्न पुग्ने तलव सुविधा समेत दिएका छैनन्। केही बैंकहरुले वार्षिक रुपमा अनिवार्य दिनु पर्ने ग्रेडको रकमसमेत नदिएको पाइएको छ।
दक्ष कर्मचारी अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले माथिल्लो  तहका कर्मचारीलाई तल्लोको भन्दा कयौं गुणा तलव दिन थालेका छन्। अन्य सुविधा पनि तल्लोको भन्दा माथिल्लोको निकै धेरै हुने गरेको छ। यही दूरीलाई कम गर्न नीतिगत व्यवस्था गर्न लागिएको हो।
राष्ट्र बैंकले खुला बजार सिद्धान्त अनुसार गुणस्तरीय सेवा प्रवाहमार्फत उपभोक्ताको हित संरक्षण  गर्दै बैंक तथा वित्तीय संस्थामा कार्यरत जनशक्तिको श्रमको शोषण हुन नपाओस् भन्ने पृष्ठभूमिमा रहेर निर्देशन दिन लागेको हो। 'सवै तहका कर्मचारीको पारिश्रमिक निर्धारण  गर्दा पारदर्शीता कायम हुनु पर्छ,' ती अधिकारीले भने।
उनका अनुसार, सर्वसाधारणको निक्षेपको सुरक्षा गर्नु, लगानीकर्ताको प्रतिफल प्राप्तिमा पारदर्शीता स्थापित गर्नु राष्ट्र बैंकको जिम्मेवारी भित्र पर्छ। 'यस क्षेत्रमा प्रत्यक्ष संलग्न सञ्चालनको जिम्मेवारी वहन गर्ने जनशक्तिलाई कार्य सम्पादनको आधारमा पारदर्शी  तलव सुविधा प्राप्त गर्न सक्ने वातावरण तयार गर्नु पनि हाम्रै काम हो,' उनले भने, 'यसको सुक्ष्म अनुगमन तथा नियमन गर्नका लागि पनि नीतिगत व्यवस्था आवश्यक छ।'
'राष्ट्र बैंकले असल नियतले नै नीतिगत व्यवस्था गर्न लागेको होला। तर पैसा नै तोक्न भने हुँदैन,' एक बैंकरल भने, 'कर्मचारीबीच तलव सुविधामा वढी नै दूरी हुनु राम्रो होइन।'
केन्द्रीय बैंकले कर्मचारीलाई मनसिक तनाव हुने गरी कार्य घण्टाभन्दा वढी काममा लगाएको भन्दै त्यसलाई व्यवस्थित गर्नसमेत निर्देशन दिन लागेको छ। दैनिक कार्यघण्टा किटान गरी हप्तामा कुल ४५ घण्टाभन्दा वढी कार्यसम्पादन गरेको भएमा प्रति घण्टा आधारभूत तलवको १ प्रतिशतका दरले भुक्तानी गर्नु पर्ने हुन्छ। राजधानी वाहिर जाने कर्मचारीलाई प्रोत्साहन भक्ता दिनसमेत निर्देशन दिइन लागिएको छ।
नेपालमा अहिले ३२ वाणिज्य बैंक, ९० विकास बैंक, ६९ फाइनान्स कम्पनी र २७ लघुवित्त विकास बैंक सञ्चालनमा छन्।
'बैंकिङ क्षेत्र अझै पनि पारदर्शी हुन सकेको छैन,' केन्द्रीय बैंकका एक अधिकारीले नागरिकसँग भने, 'त्यसमा पनि आन्तरिक वित्त र कर्मचारी भर्ना प्रकृया पारदर्शी हुन सकेको छैन।' 
स्रोतका अनुसार, नेपालमा बजार स्वयंमले आफ्नै कार्यसन्चालन प्रणालीलाई स्वनियमन गर्न सक्ने अवस्था नआउन्जेल बैंक तथा वित्तीय संस्थामा भरपर्दो सुशासनको प्रत्याभूति दिन नीतिगत व्यवस्था तय गर्नु परेको हो।
केन्द्रीय बैंकले …बैंक तथा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावलीमा आवश्यक परिमार्जन गरी एकरुपता कायम गर्न' भन्दै निर्देशन दिन लागेको हो।
राष्ट्र बैंकले प्रतिवेदनमा संस्थाको स्तरअनुसार टेलिफोन, पत्रपत्रिका खर्चमा पनि सीमा तोक्ने तयारी गरेको छ। व्यक्तिगत दुर्घटना बीमामा पनि आवश्यक निर्देशन दिने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए। केन्द्रीय बैंकले कर्मचारी नियुक्तिलाई पारदर्शी बनाउनका लागिसमेत निर्देशन दिने छ। 

ब्याज अन्तर घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्ने

सुदर्शन सापकोटा, काठमाडौं, माघ २२ - बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो हुन थालेपछि राष्ट्र बैंकले यसको नियन्त्रण तयारी गरेको छ। असोजदेखि नै स्प्रेड दरलाई नजिकबाट अनुगमन गरिरहेको राष्ट्र बैंकले यसलाई स्वभाविक स्तरमा ल्याउन हस्तक्षेपको तयारी गरेको हो।
'हामीले ब्याज दर अनुगमन गरिरहेका छौं। स्प्रेड दर बान्छनीयस्तरभन्दा बढी हुनु हुँदैन,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'बढी स्प्रेडलाई हामी प्रश्रय दिन सक्दैनौं।' उनले स्प्रेड अस्वभाविक रुपमा बढेको सन्दर्भमा उपयुक्त कदम चालिने जानकारी दिए।
पुस मसान्तसम्मको वासलात सार्वजनिक गरिरहेका बैंकहरुले फराकिलो स्प्रेड दरका कारण नाफा वृद्धि गरेको देखाएका छन्। अहिलेसम्म सबैभन्दा बढी स्प्रेड एनबी बैंकको छ। एनबीको ६.२७ प्रतिशत स्प्रेड छ। यसपछि सिटिजन्स् बैंक इन्टरनेसनलले ५.८१ प्रतिशत स्प्रेड दर देखाएको छ।
कतिपय ऋणको ब्याज र किस्ता नउठेर नोक्सानी व्यवस्थामा ठूलो रकम छुट्याउँदासमेत बैंकहरुले राम्रो नाफा देखाएका छन्। फराकिलो स्प्रेड दरका कारण नै उनीहरुले नाफामा वृद्धि गरेका हुन्।
असोज मसान्तमा नोक्सानी व्यवस्था वापतको रकम दोब्बरले बढ्दासमेत नाफामा उल्लेख्य सुधार भएको थियो। सञ्चालन नाफाबाट नोक्सानी व्यवस्थामा रकम छुट्याउनुपर्ने हुँदा खुद नाफा घट्छ। तर असोजमा ४१ प्रतिशतले नाफा वृद्धि भएको थियो।
राष्ट्र बैंक स्रोतका अनुसार स्प्रेड दर चार प्रतिशतभन्दा कम हुनु पर्छ। 'वाणिज्य बैंकहरुले ४ प्रतिशतभन्दा माथि स्प्रेड दर राख्न नहुने अघोषित नियम नै हो,' स्रोतले भन्यो, 'पछिल्लो समय स्प्रेड बढेको गुनासो बढी नै आउन थालेकाले यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ।'
बैंकरहरु भने आधार दर कार्यान्वयनमा आइसकेकाले स्प्रेड दरको पछाडि दौडन नहुने बताउँछन्। 'आधार दर आइसकेकाले बैंकहरुले आफ्नो जोखिम हेरी केही नाफाको हिस्सा तोक्छन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, 'स्प्रेड धेरै/थोरै भयो भनेर ध्यान दिनु आवश्यक छैन।'
सञ्चालनमा रहेका ३२ वाणिज्य बैंकहरुले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार अघिल्लो असोजको तुलनामा निक्षेपकर्तालाई भुक्तानी गर्नुपर्ने ब्याज रकम ५ प्रतिशतले घटेको छ। ऋणीहरुबाट उठाएको ब्याज रकमको वृद्धि दर भने ७ प्रतिशतले बढेको छ। पुसमा स्प्रेड दर अझ फराकिलो भएको राष्ट्र बैंकको अनुगमनमा देखिएको छ।
राजनीतिक अन्योल बढ्दै गएको, घरजग्गा कारोबारमा सुधार नआएको र नयाँ उद्योगधन्दा आउने अवस्था नभएका कारण बैंकहरुले स्प्रेड बढाएर नाफा सुरक्षित गरेका हुन्।
ब्याज दर घट्दो अवस्थामा हुँदा स्प्रेड फराकिलो हुन्छ। गत वर्ष निक्षेपको ब्याज १२ प्रतिशतको हाराहारीमा थियो। ऋणको ब्याज १४/१५ प्रतिशतमा थियो। अहिलेको पुसमा निक्षेपको ब्याज ५/६ प्रतिशतमा झरे पनि ऋणको १२/१३ प्रतिशतभन्दा ओर्लेको छैन। लिने र दिने ब्याजमा उच्च फरक गरेका कारण बैंकहरुको आम्दानीसँगै नाफामा वृद्धि भएको हो।
अघिल्लो वर्ष स्प्रेड दर ४ प्रतिशतको हाराहारीमा थियो। पछिल्लो समय पैसा प्रशस्त जम्मा हुन थालेपछि बैंकहरुले दिने ब्याजका तुलनामा लिने ब्याज नघटाउँदा स्प्रेड दर बढ्दै गएको हो। यसले बैंकहरुमा पैसा राख्ने सर्वसाधारण र कर्जा लिने उद्योगी व्यवसायी दुवैलाई मर्का पारेको छ।

हिमालयनले ५० हजार कार्ड फेर्दै

सुदर्शन सापकोटा, काठमाडौं, माघ १९ - ग्राहकको जानकारीबिना रकम झिकिएपछि डेबिट कार्ड कारोबार बन्द गरेको हिमालयन बैंकले ५० हजार कार्ड फेर्ने भएको छ। भारतको नयाँ दिल्लीबाट ग्राहकको पैसा झिकिन थालेपछि बैंकले यसलाई रोक्न कार्ड फेर्न लागेको हो। 
हिमालय बैंक र उसँगको गेटवे प्रयोग गरेका बैंकहरुले पनि केही कार्ड र पिन नम्बर परिवर्तन गरेका छन्। हिमालयन बैंकको कार्डमा समस्या आएपछि एस डेभलपमेन्ट बैंक र एनआइसी बैंकले पनि कार्ड कारोबार रोकेका थिए।
हिमालयनले मे २०१२ अघि जारी कार्डहरु परिवर्तन गर्न लागेको हो। बैंकले ग्राहकलाई आफ्नो नयाँ कार्ड लिन आह्वान गरिरहेको छ।
'६ महिनाअघि जारी कार्डबाट ठगी भएकाले त्यो बेला जारी भएका सबै कार्ड हटाएर नयाँ वितरण सुरु गर्दैछौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'अब कार्डमा समस्या छैन।'
बैंकले सुरक्षा प्रणाली बलियो भएको नयाँ प्रविधिको कार्ड प्रयोगमा ल्याइसकेको छ। यी कार्ड प्रयोग हुनुअघि जारी कार्डबाट ठगी भएको थियो। 'पुराना कार्डको मिति नसकिएकाले तिनीहरु परिवर्तन गरेका थिएनौं,' राणाले भने, 'त्यही कार्ड अहिले दुरुपयोग भएको हो।'
बैंकले आफ्नो कार्डको पिन नम्बर र डेबिट कार्ड परिर्वतन गर्न आग्रह गरिसकेको छ। कार्ड दुरुपयोगपछि बैंकले कार्ड सेवा बन्द गरेका थिए। हिमालयन बैंकले इएमभी कार्ड वितरण सुरु गरिसकेको राणाले बताए।
राणाका अनुसार एउटा कार्डको मूल्य २ सय रुपैयाँ पर्छ। हिमालयनको गेटवे लिएका बैंकहरुले २ सय ५० रुपैयाँसम्म कार्डमा खर्चिनुपर्छ। एस डेभलपमेन्ट बैंकले ६ हजार कार्ड परिवर्तन गरिसकेको प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले जानकारी दिए।
हिमालनयन बैंकका तीन लाख कार्डवाहक छन्। अन्य बैंकको समेत गरेर पाँच लाख ग्राहकले केही दिन कार्ड प्रयोग गर्न नपाएर दुःख पाएका थिए। खासगरी भारत गएका ग्राहकले वैकल्पिक बाटो प्रयोग गर्न नपाएकाले उनीहरुले बढी मार सहनुपरेको छ।
बैंकको कार्डबाट उसैको पूर्वकर्मचारीसहित गिरोहले गठी गरेको पुष्टि भएको छ। तर अवैधानिक रुपमा कार्ड दुरुपयोग गरेर पैसा झिक्नेहरु अझै पक्राउ पर्न सकेका छैनन्।
हिमालयन बैंकको चार महिनअघि भिसा मास्टर कार्डबाट पौने ६ करोड रुपैयाँ ठगी गर्ने आफ्ना तत्कालिन डेपुटी म्यानेजर अनिसभत्त सुवालको टोली अहिलेको ठगी कान्डमा सक्रिय रहेको देखिएको छ। पौने ६ करोड ठगेर फरार भएका सुवालले भारतमा गएर पुनः कार्डबाट पैसा झिकेका हुन्।
बैंक स्रोतका अनुसार कार्डबाट करिब करोडको हाराहारीमा दुरुपयोग भएको छ। गिरोहले मन्लाग्दी जुनसुकै खाताको पैसा झिकेको हो। त्यही भएर बैंकले सेवा बन्द गर्नुपरेको हो। बैंकले सबै नयाँ कार्ड वितरणपछि सेवा नियमित गर्ने छ। सुवालले अघिल्लोपटक पाँच करोड ७६ लाख रुपैयाँ हिनामिना गरेका थिए।
कार्ड सेन्टरमा कार्यरत सुवालले भिसा मास्टर कार्डमार्फत पठाएको रकम रिसिभल एकाउन्टबाट डाटा मेटाउँदै पटकपटक गरेर रकम झिकेका थिए।

१ करोडले बैंकमा बचत गर्छन, जम्मा ७ लाख ६९ हजारले ऋण झिक्छन्

३९ प्रतिशत जनसंख्याको बैंक बचत खाता


सुदर्शन सापकोटा
काठमाडौं, माघ १७
बैंक तथा वित्तीय संस्थाले शाखा सञ्जाल विस्तार गरेपछि ३९ प्रतिशत  जनसंख्याले निक्षेप खाता खोलेका छन्। एक वर्ष अघिसम्म ३१ प्रतिशतसँग मात्र निक्षेप खाता रहेकोमा चालु वर्षको पुस मसान्तसम्म १ करोड ३ लाख ७३ हजार ८२० जनाको निक्षेप खाता छ।
निक्षेप खाता वढेपनि बैंक तथा वित्तीय संख्थाबाट ऋण लिनेको संख्या भने धेरै नै कम छ। ३२ वाणिज्य बैंक, ९० विकास बैंक, ६७ वटा फाइनान्स कम्पनी र २७ वटा लघुवित्त विकास बैंकहरुबाट जम्मा ७ लाख ६९ हजार १७३ जनाले मात्र ऋण लगेका छन्।
…अहिले बैंक तथा वित्तीय संस्थाहरुको एउटा शाखाले औषतमा १० हजार ८ सय जनालाई सेवा दिइरहेका छन्,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले भने, …वित्तीय साक्षरता वढ्न थालेसँगै वित्तीय सेवा लिनहरुको संख्या वृद्धि भएको छ।'
पुससम्म वाणिज्य बैंकहरुले १ हजार १ सय ६०, विकास बैंकहरुले ७ सय १२, फाइनान्स कम्पनीहरुले २ सय ९७ र लघुवित्त विकास बैंकहरुले ५ सय ६७ वटा शाखा विस्तार गरेका छन्।
राष्ट्र बैंकका अनुसार, निक्षेप खाता भएकामध्ये २० प्रतिशतले मात्र एटिम तथा डेविट कार्ड सेवा लिएका छन्। अहिले देशभर २२ लाख ३९ हजार ८ सय ४० जना डेविट कार्ड सुविधा लिनेहरु रहेको राष्ट्र बैंकले जनाएको छ। क्रेडिट कार्ड लिनेको संख्या अझ कम छ। पुस मसान्तसम्म ३९ हजार १ सय ३० जनाले क्रेडिट कार्ड सुविधा लिएका छन्। अहिले देशभर १ हजार १ सय ८७ वटा एटिम काउन्टर छन्।
केही समयअघि विश्व बैंकले गरेको अध्ययनले,  विगत आठ वर्षमा एटिएम प्रयोगकर्ता ह्वात्तै वढेको देखाएको छ। तर, एक लाख जनसंख्याको एउटा एटिएममा पहुँच छ। अध्ययनका अनुसार नेपालमा बैंकिङ पहुँच दक्षिण एसियाकै कमजोर अवस्थामा रहेको देखाएको थियो।
विश्व बैंकको अध्ययनमा नेपालका व्यावसायिक संस्थाहरुले एकदमै थोरैमात्र वित्तीय सेवा लिने गरेको उल्लेख छ। लघु, साना, मझौला र ठूलासमेत सबै गरेर ४४.९ प्रतिशत व्यावसायिक संस्थासँग बैंक बचत खाता छ। यसमध्ये ३२.५ प्रतिशत लघु संस्था, ७१.७ साना, ९०.३ मझौला र सवै ठूला संस्थासँग बचत खाता छ। १०.२ प्रतिशत व्यावसायिक संस्थाले ओभरड्राफ्ट सुविधा प्रयोग गर्छन्। यसमध्ये ४.४ लघु, २१.२ साना, ४५.९ मझौला र ७८.५ ठूलाले ओभरड्राफ्ट प्रयोग गर्ने गरेका छन्।
पछिल्लो दुई वर्षलाई आधार मान्दा २३ प्रतिशतले बैंक ऋण माग गरेका छन्। ५७ प्रतिशतले बैंक ऋण आवश्यक नभएको जनाएका छन्। नेपालमा ऋण लिनका लागि ७०.४ प्रतिशत धितो राख्नुपर्छ। यो धितो  व्यक्तिगत सम्पत्तिका लागि हो। सबैभन्दा कम मेसिनरी र उपकरण खरिदमा राखे पुग्छ। १०.६ प्रतिशत धितो राख्दा ऋण पाइन्छ।
अध्ययनले नेपालमा वित्तीय क्षेत्रको पहुँच बढाउन राष्ट्र बैंकले काम गरिरहेको भए पनि अपर्याप्त भएको जनाएको छ। वित्तीय पहुँच बढाउन राष्ट्र बैंकले सुपरिवेक्षकीय र नियमनकारी भूमिका बढाउन आवश्यक भएको अध्ययनमा उल्लेख छ।


राष्ट्रिय वाणिज्य बैंकले फेरी हकप्रद सेयर दियो


काठमाडौं, माघ १७
राष्ट्रिय वाणिज्य बैंकले सरकारलाई फेरी हकप्रद सेयर जारी गरेको छ। बैंकले विश्व बैंकको ऋण रकम बराबर सेयर जारि गरेको हो।
बैंकले सरकारलाई प्रति एक सेयर बराबर ०.६३ को अनुपातमा सेयर जारि गरेको हो। बैंकमा रहेको विश्व बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋण सरकारले भुक्तानी गरिदिएपछि त्यो बापतको सेयर जारि गरिएको हो।
'विश्व बैंकको पैसा भुक्तानीपछि सरकारलाई सेयर जारि गरिएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले बुधबार नागरिकसँग भने, 'त्यो पैसा अहिले बैंककै खातामा छ। प्रकृया पुरा गर्न सेयर जारि गरेका हौं। दुई सातापछि पुँजीमा देखाउँछौं।' सेयर जारिपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ।
पूर्ण सरकारी स्वामित्वको बैंकलाई यसअघि सरकारले ४ अर्ब ३२ करोड ५३ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको थियो। यसाअघि बैंकको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेकोमा ४ अर्ब थपिएपछि पुँजी ५ अर्ब ४९ करोड ७६ लाख पुगेको छ।
सरकारले पुँजी वृद्धि गरिदिएपछि पुस मसान्तमा बैंकको पुँजी कोष ५० करोड रुपैयाँले धनात्मक भएको छ । १२ वर्षपछि बैंकको पुँजीकोष १ प्रतिशतले धनात्मक भएको हो। विश्ब बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम थाल्नुअघि बैंकको पुँजी कोष २३ प्रतिशतले ऋणात्मक थियो।
बैंकले नाफा र आफ्नो सम्पतिहरु विक्रीबाट पुँजी कोष १० प्रतिशत पुर्‍याउने तयारी गरेको छ। बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको ४५ लाख किक्ता सेयर विक्री गर्दैछ। इन्भेष्टमेन्टले २५ प्रतिशत वोनस सेयरसमेत दिएकाले बैंकको सेयर संख्या अझै वढ्ने छ। अहिलेको मूल्यमा बैंकलाई यो सेयर विक्रीबाट पौने तीन अर्ब रुपैयाँ प्राप्त हुने शर्माले जानकारी दिए। उनले स्थिर सम्पति भने विक्री नगरिने भन्दै ऋण लगानी विस्तार गरेर आर्जन हुने नाफाबाट पुँजी कोष बढाउन प्रयोग गरिने बताए।
बैंकको खराव कर्जा पनि घटेको छ। सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गर्नुअघि बैंकको कुल ऋणमध्ये ६२ प्रतिशत खराव अबस्थामा थियो। पुस मसान्तमा घटेर ६.८५  प्रतिशतमा आइसकेको छ।
बैंकले आफ्नो स्वास्थ्य सुधारका लागि सञ्चालन खर्चलाई समेत घटाएको छ। ५ हजार ८ सय कर्मचारीलाई घटाएर २ हजार ५ सयमा झारिसकेको उनले जानकारी दिए।
आर्थिक अवस्था बिग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गरेपछि नेपाल बैंकसहित राष्ट्रिय वाणिज्यको स्वास्थ्य सुधार हुन थालेको हो। प्राविधिक रुपमा टाँट पल्टिएको राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम आएपछि सुधार भएको हो।
पुसमा बैंकले ५० करोडको हाराहारीमा नाफा कमाएको छ। बैंकको कर्जा लगानी ४२ अर्ब ६० करोड र निक्षेप संकलन  ८५ अर्ब गरेको छ। निक्षेपभन्दा धेरै कम लगानी गरिरहेको बैंकले ऋण विस्तार गर्दै लैजाने शर्माले बताए।
'४७ प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपातलाई ५० प्रतिशत पुर्‍याएका छौं,' उनले भने, 'पँुजी कोषको वृद्धिसँगै कर्जालाई पनि विस्तार गर्दै लैजान्छौं।' राष्ट्र बैंकको नीति अनुसार, बैंकहरुले यस्तो अनुपात ८० प्रतिशतभन्दा कम कायम गर्नु पर्छ। उनले क्षमता वढाएर ६५ प्रतिशतको हाराहारीमा कर्जा–निक्षेप अनुपात राख्ने जानकारी दिए।
विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले बैंकको ऋणात्मक नेटवर्थ धनात्मक नभइ सुधार कार्यक्रम सकिएको थियो। सरकारले वित्तीय सहयोग गरेपछि पुँजी कोष धनात्मक भएको हो।
बैंकले प्रस्तुत गरेको सुधार योजनालाई स्वीकृत गर्दै राष्ट्र बैंकले बैंकको पुँजी योजना सरकारलाई सिफारिस गरेको थियो। केन्द्रीय बैंकको सिफारिसअनुसार सरकारले बैंकलाई सहयोग गरेको थियो।

बैंकलाई विदेशमा कार्यालय खोल्न खुकुलो


काठमाडौं, माघ १७
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई विदेशमा सम्पर्क कार्यालय खोल्न छुट दिएको छ। एक वर्षदेखि पुँजी कोष ११ प्रतिशतभन्दा माथि कायम गरिरहेका बैंकहरुले राष्ट्र बैंकको स्वीकृति लिएर शाखा खोल्न  पाउने छन्।
पछिल्लो समय रेमिट्यान्सको कारोबार गर्ने बैंकहरुले विदेशमा सम्पर्क कार्यालय खोल्न माग गर्दै आएका थिए। खासगरी  ग्लोबल आइएमइ, हिमालयन, नबिललगायतका बैंकहरुले शाखा तथा सम्पर्क कार्यालय खोल्नलाई नीतिगत सुविधा दिन माग गर्दै आएका थिए।
बैंकहरुले दैनिक प्रयोजनका लागि १० प्रतिशत पुँजी कोष अनुपात कायम गरे पुग्छ। नगद लाभांस वितरणमा ११ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। अहिले विदेशमा सम्पर्क कार्यालय खोल्नलाई पनि अतिरिक्त पुँजी कोषको व्यवस्था गरेको हो।
कार्यालय विस्तारका लागि २ अर्ब चुक्ता पुँजी अनिवार्य गरिएको छ। २ अर्ब पुँजी नपुर्‍याइ जगेडा कोष मजबुत राख्ने बैंकहरुले सम्पर्क कार्यालय खोल्न पाउने छैन। कार्यालय खोल्न तीन वर्षदेखि निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुनु पर्ने सर्त राखिएको छ।
शाखा खोल्ने  बैंकका संचालकलाई राष्ट्र बैंकले कुनै कारवाही गरिएको भए त्यस्तो कारवाही भएको ६ महिना पूरा भइसकेको हुनु पर्ने सर्त राखिएको छ। कार्यालय खोल्न सम्बन्धित देशको नियामक निकायको नीतिगत व्यवस्था र त्यसको पालना गर्न सक्ने सम्बन्धमा बैंकको तर्फबाट गरिएको स्वघोषणा अनिवार्य गरिएको छ।
कार्यालय खोल्न बैंकले संभाव्यता अध्ययन प्रतिवेदन र विगत ३ वर्षको वार्षिक वित्तीय विवरण प्रस्तुत गर्नु पर्ने हुन्छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको ६ महिनाभित्र कार्यालय खोलिसक्नु पर्ने हुन्छ।

बैंकको निक्षेप ४१ अर्बले वढ्दा कर्जामा ६५ अर्बले वृद्धि

सुदर्शन सापकोटा
काठमाडौं, माघ ११
वाणिज्य बैंकहरुले ६ महिनामा ४१ अर्ब  निक्षेप र ६५ अर्ब ऋण लगानी गरेका छन्। निक्षेपको तुलनामा कर्जाको विस्तार वढी भएकाले बैंकहरुको कर्जा–निक्षेप अनुपातसमेत साघुँरो भएको छ।
बैंकहरुले पुस मसान्तसम्म ९ सय २ अर्ब निक्षेप संकलन गरेका छन्। साउनमा यो ८ सय ६२ अर्ब रुपैयाँ थियो। पुस मसान्तसम्म ऋण लगानी ६ सय ८३ अर्ब रुपैयाँ गरेका छन्। साउनमा जम्मा ६ सय १८ अर्ब मात्र लगानी भएको थियो।
बैंकरका अनुसार, रेमिट्यान्सको वृद्धिले निक्षेपमा सुधार आएको हो। यस वाहेक सरकारी खर्चमा पनि विस्तार भएको छ। पछिल्लो समय सहकारी ठगीका घटनाहरु सार्वजनिक हुन थालेपछि त्यतातिरको निक्षेप पनि बैंकहरुमा सर्न थालेको छ। यद्यपी अहिलेको निक्षेप वृद्धि गत वर्षको भन्दा केही कमै हो।
वर्षको सुरुवातमा निक्षेपमा खासै वृद्धि थिएन। दोस्रो त्रैमास (असोज) सुरु भएसँगै बैंकको निक्षेपमा सुधार भएको हो। कर्जा लगानी भने सुरुबाटै वढ्दो क्रममा थियो। राजनीतिक अन्यौंलले लगानी वातावरण नभएको चर्चा चलेपनि ऋण विस्तार भने मनग्य भएको छ।
बैंकहरुले निक्षेपको तुलनामा कर्जाको वृद्धि धेरै भएसँगै कर्जा–निक्षेप अनुपात साघुँरो भएपछि बैंकहरुलाई अबका दिनमा थप लगानीमा समस्या पर्ने छ। कतिपय बैंकहरुको अनुपात ७७/८८ प्रतिशत पुगिसकेको छ। बैंकहरुले यसलाई ८० प्रतिशतभन्दा तल राख्नु पर्छ।
लगानी विस्तारले कर्जा–निक्षेप अनुपात साघुँरो हुन थालेपछि बैंकहरुले यसलाई 'कन्सिडर' गर्न राष्ट्र बैंकसँग अनौपचारिक 'लविङ' गर्न थालेका छन्।
बैंकरका अनुसार, पछिल्लो समय जोखिम कम भएका साना–साना क्षेत्रमा लगानी वढेकाले कर्जाको विस्तार ठूलो देखिएको हो। बैंकहरुले अघिल्लो वर्ष नै प्रतिवद्धता जनाएका परियोजनाहरुमा पनि केही किस्ता फछर्ट गरेका छन्। यसवाहेक नयाँमा गाडी, घरजस्ता क्षेत्रमा मात्र लगानी बढेको छ। छोटो अवधिमै पैसा उठ्ने आयात व्यापारमा बैंक लगानी विस्तार हुन थालेको छ।
राष्ट्र बैंकका अनुसार, यो अवधिमा सुन, घरगाडी किन्नका लागि खुद्रा कर्जा लगानी वृद्धि भएको छ । आवसिय निर्माणका लागि बैंकहरुले ३ अर्ब ८४ करोड लगानी गरेका बेला जलविद्युत, सडक र पुलका लागि जम्मा ५६ करोड रुपैयाँ मात्र लगानी गरेका छन्। ६ महिनामा सवारी साधन खरिद गर्न  १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी भएको छ।
राष्ट्र बैंकले चालु वर्षभित्र कुल कर्जाको २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरेका कारण कृषि र पर्यटन क्षेत्रमा भने केही कर्जा ससानो आकारमा गएको छ। बैंकहरुले लघुवित्त, साना तथा मझौला उद्योगका नाममा यस्तो कर्जा वढाएका हुन्। होमस्टे, कोठा वृद्धि र राजधानी वाहिरका केही रिसोर्टहरुमा पनि ससानो ऋण लगानी भएको छ।
सरकारी बजेट खर्च नभएको र रेमिटेन्स आउन पनि कम भएका कारण बर्षको सुरुमा निक्षेप वढ्न सकेको थिएन। निक्षेप वढ्न नसकेपछि बैंकहरुको अन्तर बैंक कारोबारसमेत वढेको थियो।
निक्षेप वढेसँगै तरलता सहज भएपछि ब्याज घटाइरहेका छन्। अढाइ वर्षअघि तरलता अभाव सुरु हुँदा बैंकहरुको निक्षेप वृद्धि दर ३.७४ प्रतिशतबाट घटेर ०.८७ प्रतिशतमा झरेको थियो।

न्यायाधिस र सचिवका लागि घर किन्ने प्रक्रिया सुरु: पहिलो चरणमा ७० जनालाई उपलब्ध गराइने

सुदर्शन सापकोटा
काठमाडौं, माघ १०
सरकारले उच्च पदस्त कर्मचारी र सर्वोच्चका न्यायाधिसहरुलाई आवास उपलब्ध गराउन व्यवसायीसँग सार्वजनिक वोलपत्र माग गरेको छ। काठमाडौं उपत्यका क्षेत्रभित्रका संयुक्त तथा सामुहिक आवस निर्माण गरेका व्यवसायीमार्फत घर किनेर सरकारले सचिव र न्यायाधिसहरुलाई उपलब्ध गराउन लागेको हो।
सचिव र न्यायाधिसहरु पदमा रहुन्जेल सरकारले उपलब्ध गराएको आवासमा रहन पाउने छन्। 'पहिलो चरणमा करिव ७० जना उच्च पदस्थ कर्मचारी र न्यायाधिसलाई घर उपलब्ध गराइने छ,' स्रोतले भन्यो।
सरकारले ल्याएको शासकीय सुधार कार्यक्रममा ६ महिनाभित्र उच्च तहका कर्मचारी र न्यायाधिसहरुलाई आवास सुविधा उपलब्ध गराउने उल्लेख छ। त्यही कार्यक्रम अनुसार, सरकारले आवास खरिद गर्न लागेको हो।
सरकारले उनीहरुका लागि आवास उपलब्ध गराउने तीन वटा विकल्प तयार पारेको थियो। पहिलो, तयारी अवस्थामा रहेका घर तथा अपार्टमेन्ट खरिद गर्ने। दोस्रो, नयाँ घर बनाउन लगाउने र तेस्रो सरकारले उपलब्ध गराएको जग्गामा व्यवसायीलाई निर्माण गर्न लगाउने छ।
तीन वटा विकल्पमध्ये तयारी अवस्थामा रहेका घर तथा अपार्टमेन्ट खरिद गर्दा समयको बचत  भएर सुस्त रहेको बजारलाई पनि गति मिल्लने भन्दै सरकारले पहिले विकल्प रोजेको हो।'तयारी अवस्थामा रहेको घर तथा अपार्टमेन्ट खरिद गर्दा समयको बचत भएर तत्कालै उपलब्ध गराउने अवस्था छ,' मन्त्रालय स्रोतले भन्यो।
सरकारले तयारी अवस्थामा रहेका व्यवसायिक घरहरु खरिद गर्न  थालेपछि तीन वर्षदेखि सुस्त रहेको घरजग्गा कारोबारमा केही राहत पुग्ने छ। नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेसँगै व्याज दर पनि महँगो भएपछि कारोबार हुन छाडेको थियो। लामो समयदेखि कारोबार नभएर व्यवसायिले घरजग्गा ऋणको व्याज तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुमा पनि समस्या वढ्न थालेको छ।
सहरी विकास मन्त्रालयले २ हजार वर्गफिटको तीन वटा वेड रुम, लिभिङ रुम, वरन्डा र लुगा धुने स्थानसहितको संयुक्त आवासका लागि आह्वान गरेको हो। यस वाहेक एउटा टावरमा कम्तिमा ८ वटा आवास इकाइ अनिवार्य गर्दै आवास इकाइ दोस्रोदेखि १०औं तलाभित्रको हुनु पर्ने सर्त राखिएको छ।
प्रस्ताव गरिएको तल्लामा आवास वाहेकका अन्यलाई राख्न नपाइने, लिफ्ट, भर्‍याङको सुविधासहित वहिरी व्यक्ति जान आउन नपाउने व्यवस्था हुनु पर्ने सर्त राखिएको छ।
सामुहिक आवासमा ४ वटा वेड रुम आवासीय भवन हुनु पर्ने सरकारी सर्त छ। ६ वटा सामुहिक आवासिय भवनको समुह हुनु पर्ने सर्तसहित घरायसी काम गर्ने सहयोगी, सुरक्षा गार्डका लागि अलग्गै  व्यवस्था हुनु पर्ने प्रावधान राखेको छ। यसमा पुजा कोठा र वरन्डालाई अनिवार्य गर्दै घटीमा चार आना क्षेत्रफलको  जग्गामा निर्मित २ हजार ६ सय वर्गफिटको भवनका लागि आह्वान गरिएको छ।
सामुहिक आवासमा एउटा आवसिय समुहका लागि वेग्लै कम्पाउन्ड, सामुहिक सुरक्षा गार्ड, सवारी चालक वस्ने व्यवस्था हुनु पर्ने छ। नेपाल जग्गा तथा आवास विकास संघसँग मिलेर सहरी विकास मन्त्रालयले तयारी अवस्थामा रहेका हाउजिङ तथा अपार्टमेन्ट खरिद गर्न सार्वजनिक आह्वान गरेको हो।
मन्त्रालयले दोस्रो चरणमा सरकारी कर्मचारीहरुका लागि सस्तो व्याज र किस्ताम घर तथा अपार्टमेन्ट खरिदको काम पनि अगाडि वढाउने स्रोतले जानकारी दियो। यस्तो घर अपार्टमेन्टमा सरकारले सहुलियत व्याजम पैसा उपलब्ध गराउने छ।
पहिलो घर किन्ने कर्मचारीका लागि यो सुविधा उपलब्ध हुने छ। 'आफ्नो नियमित आम्दानीबाट भएको बचतमा सस्तो व्याजमा उपलब्ध गराइने ऋणबाट कर्मचारीहरुलाई घर किन्ने व्यवस्था गरिने छ,' स्रोतले भन्यो 'कर्मचारीले  नियमित रुपमा थोरै थोरै किस्ता तिरेर  घर पनि पाउँछ र व्यवसायीहरुलाई राहत पनि पुग्दछ।'
व्यवसायीहरुका अनुसार, अहिले बजारमा ६ सय अर्ब रुपैयाँ बराबरका घर तथा अपार्टमेन्टहरु निर्माण भएका छन्। सुस्त रहेको घरअपार्टमेन्टको विक्री सरकारले खरिद गरेसँगै बजारमा चहलपहल वढ्ने व्यवसायीहरुको अनुमान छ।
'आफ्नो वेग्लै घरमा वस्दै आएको बानी भएका नेपाली समाजमा उच्च पदस्थ कर्मचारीहरु सामुहिक बस्दा राम्रो सन्देश जाने छ,' एक घरजग्गा व्यवसायीले भने, 'यसबाट सर्वसाधारणमा अपार्टमेन्टमा बस्न आकर्षणसमेत वढ्ने छ।' उनका अनुसार, अपार्टमेन्टमा बस्ता नामसारी, लालपुर्जालगायतका बारेमा जानकारी नहुँदा पनि सर्वसाधारण सजिलै आकर्षित हुन नसकेका हुन्।
'सरकारी कर्मचारीहरु बस्न थालेसँगै अपार्टमेन्टमा आफ्नै नामको लालपुर्जा पनि पाइन्छ र नामसारी पनि हुन्छ भन्ने सन्देश जाने छ,' ती व्यवसायीले भने, …यस्ता घरहरुका बारेमा रहेको भ्रम पनि हटेर जान्छ।'

उद्योगपति विनोद चौधरीको खुलासा : विदेशीमार्फत नबिल बैंकमा ५० प्रतिशत लगानी


• 'सिस्टम' ले रोकेका कारण विदेशीमार्फत लगानी गर्नु परेको प्रस्टोक्ति
• पञ्चायतलाई जिताउन डेढ करोड सहयोग गरेको दावी
• दरवारले हरेक व्यवसायमा ५१ प्रतिशत हिस्सा खोज्थ्यो
• सुगर मिलका कारण कालोसुचीमा


सुदर्शन सापकोटा
काठमाडौं, माघ ११
उद्योगपति विनोद चौधरीले नबिल बैंकको सेयर विदेशी कम्पनीको नाममा खरिद गरेको स्वीकार गरेका छन्। उनले तत्कालिन नेपाल अरब बैंकको ५० प्रतिशत संस्थापक सेयर बंगालादेशी बैंकमार्फत खरिद गरेको स्वीकारेका हुन्।
प्रकाशोन्मुख आत्मकथा 'विनोद चौधरी' मा उनले नबिलको सेयर किन्न नेपालको 'सिस्टम'  का कारण घुमाउरो बाटो हिँड्न वाध्य हुनु परेको उल्लेख गरेका छन्।
चौधरीको एनबी इन्टरनेसनलका नाममा ५० प्रतिशत सेयर किनेका हुन्। वंगलादेशी साझेदारहरुसँगको सहयोगमा चौधरीले सेयर खरिद गरेका हुन्। तत्कालिन अरब बैंकका संस्थापक युएइका सेखहरुको सेयर उनले खरिद गरेका हुन्।
नबिलमा ५० प्रतिशत वाहेक स्थानीय सेयरधनीका तर्फबाट पनि ५ प्रतिशत सेयर छ। तीन छोरा, श्रीमती र आफ्ना स्थानीय कम्पनीहरुको नाममा उनले  पाँच प्रतिशत सेयर खरिद गरेका छन्।
उनले विदेशी कम्पनीका नाममा नबिलमा गरेको लगानीका बारेमा 'कर्पोरेट' क्षेत्रका अधिकांसलाई थाहा छ। सरकार र नियमनकारी निकायहरुलाई यस बारे पत्तो भएपनि कसैसँग प्रमाण भने छैन। नेपालको कानुनले यहाँका नागरिकलाई विदेशमा लगानी गर्ने छुट दिएको छैन।
निजी क्षेत्रको सबैभन्दा वढी नाफा कमाउने नबिल बैंकबाट विदेशी कम्पनीका नाममा उनले वर्षेनी करोडौं रुपैयाँ लाभांस वुझ्छन्। यो रकम विदेशी संस्थाका नाममा डलरका रुपमा वाहिरिन्छ। गत आर्थिक वर्षको नाफाबाट  मात्रै चौधरीले यसाली ४० प्रतिशत नगद लाभांस र २० प्रतिशत वोनस सेयर वुझिसकेका छन्। बैंकले १ अर्ब ६९ करोड नाफा कमाएको थियो।
'कहिलेकाहीँ सही काम गर्न ऐन र नियम अपुरो छ वा बाधक छ भने तिनलाई पछाडि छोड्नु नै उद्यमीको साहसको परिचय हो,' चौधरीले आत्मकथामा लेखेका छन्, 'मलाई घुमाउरो वाटो हिँड्न वाध्य पारेको यहाँको सिस्टमले नै हो।'
उनले आफ्ना टर्निङ प्वाइन्टहरु, छलाङ, राजनीतिसँग जम्काभेट, व्यावसायिक लडाइँ, महासंघको राजनीति, वहुराष्ट्रिय कम्पनी निर्माण, वाइवाइको विश्वव्यापीकरणलगायका बारेमा पुस्तकमा खुलाएका छन्।
संयुक्त  लगानीमा खुलेको पहिलो नेपाली बैंकका तत्कालिन सल्लाहकार जिसी श्रीवास्तवको सहयोगमा सेयर खरिद गरेको चौधरीले पुस्तकमा उल्लेख गरेका छन्। उनले ५० मध्ये ३० प्रतिशत सेयर किन्नका लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेपछि तेर्सिएको कानुनी प्रावधानका कारण विदेशी कम्पनीका नाममा सेयर किन्नु परेको प्रस्टीकरण दिएका छन्।
'बैंकको प्रबन्धपत्र र नियमावलीमा कुनै पनि नेपालीले बैंकको आधा प्रतिशतभन्दा वढी सेयर किन्न नपाउने प्रावधान थियो,' पुस्तकमा उल्लेख छ, 'साधारणसभाबाट नियमावली शंसोधन गर्न खोज्दा साधारण सेयरधनीले विरोध गरे। प्रावधान हटायो भने बैंक एउटा विजिनेस हाउसको हातमा जान्छ भन्ने उनीहरुको तर्क थियो।'
त्यही पनि सञ्चालक समितिले सेयर विक्री सम्झौता कार्यान्वय गर्न प्रबन्धपत्र नियमावली सशोधनको निर्णय गर्‍यो। यस विरुद्ध  सञ्चालक शम्भु पौडेलले सर्वोच्चमा रिट हाल्यो । 'सर्वोच्चले अन्तरिम आदेश दियो,' चौधरीको आत्मकथामा छ।
चौधरीका अनुसार, सर्वोच्चले तत्काल सेयर विक्रीमा रोक लगाएपछि  बैंक व्यवस्थापनले अन्य समूहसँग  सेयर विक्री गर्न छलफल गर्न थाल्यो। त्यही बेला दिल्लीमा भएको वल्ड इकोनोमिक फोरमको वैठकमा चौधरीको भेट नेसनल बैंक बंगलादेशका अध्यक्ष महवुव रहमानसँग भयो। त्यही बैंकका अर्का सञ्चालक अब्दुल अवाल मिन्टुसँग पनि उनको सम्बन्ध बन्यो।
'म नेपाली नागरिक भएकाले सेयर किन्न सक्दिन। तर तिमी नेसनल बैंकको तर्फबाट किन्न सक्छौं। जुन दिन नियम संशोधन हुन्छ मेरो अंश मलाई दिनु,' रहमानसँग भएको कुराकानी बारे चौधरीले उल्लेख गरेका छन्, 'उनीहरु मेरो प्रस्तावमा सहमत भए।'
उनले सेयर खरिदको सैद्धान्ति सहमतिपछि नेसनल बैंकले राष्ट्र बैंकसँग सजिलै स्विकृति पाएको थियो। चौधरीले स्वीकृति लिँदा गभर्नरमा सत्येन्द्रप्यारा श्रेष्ठ थिए, जो गभर्नरबाट अवकासपछि सोझै नबिल बैंकको अध्यक्ष भएका थिए।
'एउटा विदेशी बैंकले आफ्नो नामको सेयर अर्को विदेशी बैंकमा बेच्न कुनै कानुनले रोक्दैन,' चौधरीले उल्लेख गरेका छन्, 'कानुनी अड्चन सल्टिएपछि सेयर फिर्ता   लिन्छु भनेर रहमान र मिन्टुसँग मैले गरेको भद्र सहमतिको कुनै कानुनी आधार थिएन।'
सेयर खरिद गरेको केही वर्षमा नेसनल बैंकका साझेदारबीच मतभेद सुरु भएको थियो। नेसनल बैंकले अरब बैंकबाट हात झिक्ने भयो।'रहमान र मिन्टुले अरब बैंकको ५० प्रतिशत सेयर एनबी इन्टरनेसनलको नाममा सारे,' आत्मकथामा छ, 'एनबीको प्रवेसपछि अरब बैंक विधिवत रुपमा नबिल बैंकमा परिणत भयो।'
पुस्तकमा २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताउन डेढ करोड रुपैयाँ खर्च गरेको खुलासा गरेका छन्। तत्कालिन प्रधानमन्त्री सुर्यवहादुर थापाको आग्रहमा आर्थिक सहयोग गरिएको उनले उल्लेख गरेका छन्। कचौधरी लोकतन्त्र स्थापनापपछि गठन भएको संविधानसभामा नेकपा एमालेका तर्फबाट सभासद् बनेका थिए।
चौधरीले व्यवसाय सुरु गर्दा दरवारलाई चित्त वुझाएर मात्र अगाडि वढ्न सकिने पञ्चायति शासनका केही रहस्यहरु पनि खोलेका छन्। 'पैसा लगाउने हामी। काम गर्ने हामी। स्वामित्व हुन्थ्यो दरबारको। उनीहरू आफ्नो हिस्सा आफैं तोक्थे,' पुस्तकमा छ,'बचेको हिस्सा हाम्रा लागि 'निगाहा बक्स' हुन्थ्यो। त्यतिखेर चलेको दर थियो लगानी गर्नेको भागमा ४९ प्रतिशत, दरबारलाई ५१ प्रतिशत।'
चौधरीले वुटवल पावर कम्पनी फुत्किएको, महालक्ष्मी सुगर मिलका कारण कालोसुचीमा परेको विवरणहरु आत्मकथामा समेटेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा हार वेहोरेपछि नेपाल उद्योग परिसंघ खोलेको घटना पनि पुस्तकमा छन्।
३ सय २७ पृष्ठको आत्मकथा चार भागमा विभाजन गरिएको छ। भाग दुईमा व्यवसायिक लडाँइ शिर्षकमा उनले लगानी रहस्य खोलेका हुन्। चौधरीको आत्मकथा केही सातामा सार्वजनिक हुँदैछ।

अग्नी एयरको लिलाम रोक्न आदेश

काठमाडौं, माघ १० - सर्वोच्च अदालतले मुद्दाको छिनोफानो नभएसम्म अग्नि एयरको लिलामी रोक्न बैंकहरुलाई अन्तरिम आदेश दिएको छ। बैंकहरुले अग्नी एयरले ऋण नतिरेपछि लिलाम बिक्री प्रक्रिया अगाडि बढाएको थियो। अदालतको निर्देशनसँगै अग्नी एयरको लिलामी रोकिएको छ।
अग्नि एयरका सञ्चालकहरुले बैंकले सस्तोमा लिलाम गर्न लागेको भन्दै यसलाई रोक्न सर्वोच्चसँग अन्तरिम आदेश मागेका थिए। निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी अग्नि एयरले ऋण चुक्ता गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले लिलामीमा चढाएका थिए। अग्निले बैंक तथा वित्तीय संस्थालाई ६५ करोड रुपैयाँ तिर्न बाँकी छ।
ग्रान्ड बैंक नेपाल लिमिटेडको अगुवाइमा सनराइज बैंक लिमिटेड र इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडबाट अग्निले सहवित्तीयकरण कर्जा अन्तर्गत ऋण लिएको थियो। सम्झौताअनुसार तोकिएको समयमै सावाँ, ब्याज, पेनाल ब्याज, अन्य दस्तुरलगायत भुक्तानी नगरेपछि तीनवटै संस्थाले अग्निको सम्पत्ति लिलाम प्रक्रिया अगाडि बढाएका थिए।
अग्नि एयर विमान ग्राउन्डेड भएपनि प्राधिकरणलाई मासिक भाँडा, बिमा शुल्क, कर्मचारी तलब तथा सुविधा भुक्तानी गरिरहनु परेकाले उसको खर्च बढिरहेको छ। मुद्दाको अवधि लम्बिएसँग उसको ब्याज रकम पनि बढ्ने छ। ग्राउन्डेड भएको जहाजको मूल्य ह्रास कट्टीका कारणले घट्दै जाने भएकाले बैंक र ग्राहक दुबैलाई नोक्सान हुने छ।
बैंकले अग्निका सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छन, त्यसै अवस्थामा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०६३ को अधिकार प्रयोग गरी गोप्य शिलबन्दी बोलपत्रअनुसार बिक्री गर्न लिलामी सूचना निकालेका थिए। बैंकहरूका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई उड्डयन सुरक्षा विभागमा अग्नि एयरका नाममा दर्ता रहेका पाँचवटा जहाज, सम्पूर्ण पार्टपुर्जा तथा भक्तपुरका विभिन्न ठाउँमा रहेका जग्गा, घरलगायत धितो लिलामीमा राखेका हुन्।
बैंकहरूले २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम-४१ र १९ सिटे दुईटा डोर्नियर-२२८ मोडेलका जहाज लिलामीमा राखेका हुन्। लिलामीमा ९एन-एआइपी, एआइओ र एआइक्यु कलसाइन भएका जेटस्ट्रिम र ९एन-एजेएच र एआई कलसाइनका डोर्नियर जहाज छन्। यी सबै जहाज हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छन्।
अग्नि एयर प्रालि २०६० पुस १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो। यसका सञ्चालक र व्यक्तिगत जमानीकर्ता सुशील बस्नेत हुन्। अग्निले गत वर्ष २८ करोड रुपैयाँ नाफा कमाएको थियो। उसले ती तीन वित्तीय संस्थासँग सात वर्षअघि सह-वित्तीयकरणमा ऋण लिएको थियो।
अग्निमा ग्रान्ड र सनराइज बैंकले ३५-३५ प्रतिशत तथा इन्टरनेसनल लिजिङ एन्ड फाइनान्सले ३० प्रतिशत ऋण लगानी गरेका थिए। अग्निका सञ्चालकले भने १ अर्ब रुपैयाँभन्दा कममा जहाज बिक्री नगर्न बैंकहरूसँग आग्रह गरेका थिए।
अग्नी एयरका सञ्चालकको रियलस्टेटमा ठूलो रकम 'फ्रिज' भएका कारण पनि नगद प्रवाह हुन नसकेर जहाजको ऋण तिर्न सकेका थिएनन्।

घरजग्गा कारोबार मन्दी : अपार्टमेन्ट सक्न स्रोत जुट्न छाड्यो

काठमाडौं, माघ १० - तीन वर्षअघि घरजग्गा व्यवसायीले भूमि पुजासँगै उपभोक्ताबाट रकम उठाएर परियोजना सुरु गरेका थिए। घरजग्गाको कारोबार राम्रो भएकाले उपभोक्ताले पनि नक्सा हेरेकै भरमा अपार्टमेन्ट तथा घर खरिदका लागि पैसा हाले। पैसा उठाएर आधाउधी निर्माण नसक्दै रियलस्टेट व्यवसायमा मन्दी छाएपछि व्यवसायीले उपभोक्तालाई घर तथा अपार्टमेन्ट दिन सकेका छैनन्। पुरानै ऋण तिर्न नसकेको भन्दै बैंकहरुले वाँकी निर्माणका लागि थप ऋण दिन छाडेकै बेला उपभोक्ताले पनि वाँकी पैसा नथपेपछि व्यवसायी झन् कठिनमा परेका छन्।
‘अपार्टमेन्ट निर्माण झन् कठिन भएको छ। बैंकले ऋण लगानी बन्द गरेको छ। उपभोक्ताले पनि विश्वास गर्न छाडेका छन्,' घरजग्गा कारोबारी कम्पनी वृहत इन्भेस्टमेन्टका अध्यक्ष ओम राजभण्डारीले नागरिकसँग भने, ‘अहिले व्यवसायी एक्लैले लगानी गरेर कुनै परियोजना निर्माण गर्न सक्ने अवस्था छैन।
राष्ट्र बैंकले ऋण लगानीमा गरेको कडाइसँगै बैंकहरुले थप लगानी रोकेको तथा ठूला घरजग्गा व्यवसायीले बनाएको अपार्टमेन्ट/हाउजिङ समयमा पूरा नभएर आधाउधी पैसा भुक्तानी गरिसकेका उपभोक्ताले तीन वर्ष वितिसक्दा पनि नपाएपछि अपार्टमेन्टप्रतिको विश्वास घटेको हो।
घरजग्गामा बैंक तथा वित्तीय संस्थाको सय अर्ब हाराहारीमा ऋण छ। सहकारीहरुको पनि वित्तीय संस्थाकै हाराहारीमा लगानी गरेका छन्। कारोबार हुन छाडेपछि व्यवसायीले ऋण तिर्न सकेका छैनन्। कालोसुचीमा पर्नुको साथै ठगी आरोमा प्रहरी थुनामा पर्न थालेका छन्।
‘उपभोक्ताले विगतको जस्तै निर्माण सुरु हुनेवितिकै पैसा हाल्ने अवस्था छैन,' नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष इच्छाबहादुर वाग्लेले मंगलबार नागरिकसँग भने, ‘अपार्टमेन्ट निर्माण पूरा भएपछि मात्रै किन्न खोज्नेहरु मात्र देखिएका छन्।'
घरजग्गा कारोबारी भेगास सिटी, कोहिनुर हिल्स हाउजिङ र गुणका अपार्टमेन्ट पूरा भएका छैनन्। उनीहरुले उपभोक्तासँग पैसा उठाएर निर्माण थालेका थिए। निर्माण पुरा गर्न नसकेका कारण उनीहरुले उपभोक्तासँग बाचा गरेअनुसार घर तथा अपार्टमेन्ट दिन सकेका छैनन्। घर नदिने उदाहरणहरु बढ्दै गएपछि उपभोक्ताले अपार्टमेन्टका लागि लगानी गर्नै छाडेका हुन्।
तीन वर्षअघि निर्माण सुरु गरेका अधिकांस अपार्टमेन्टहरु कुनै भौतिक पूर्वाधार परिवर्तन गरेर मेडिकल कलेज र कुनै अपार्टमेन्ट होटेलमा लगेका छन्। नाम चलेका व्यवसायीले घर तथा अपार्टमेन्ट दिन नसकेपछि समग्र कारोबार प्रभावित भएको हो।
कतिपयले अपार्टमेन्ट नबिकेपछि विभिन्न दातृ निकायलाई भाडामा दिएका छन्। घरजग्गाको कारोबार राम्रो भएको बेला व्यवस्थित आवासको लागि व्यवसायीले अपार्टमेन्ट र व्यक्तिगत घरको परियोजना सुरु गरेका थिए।
‘बजार धेरै संवेदनशील छ। उपभोक्तामा हाउजिङमा पैसा दिएपछि घर बनाएर दिन्छ भन्ने थियो,' राजभन्डारीले भने, ‘तर पैसा तिरेर घर नपाउँदा विश्वास घटेको छ।'
जग्गाको स्वामित्व हुनुपर्ने मान्यता बढी रहेको नेपाली समाजमा अपार्टमेन्ट संस्कृति विकास भइरहेका बेला यस क्षेत्रमा ठगी हुन थालेपछि उपभोक्ता हच्किएको राजभन्डारीले जानकारी दिए।
‘हाम्रो समाज माटोनै हुनुपर्ने मानसिकताको हो। विस्तारै हाउजिङ र अपार्टमेन्टमा विश्वासको आधार विकास भएको थियो,' एक व्यवसायीले भने, ‘केही व्यवसयीहरुले बाचा गरेअनुसार समयमा ग्राहकलाई हस्तान्तरण गर्न नसक्दा सबै एउटै घानमा परेका छन्।'
वाग्लेका अनुसार, वित्तिय रुपमा व्यवस्थापन गर्न नसकेर केही परियोजना विग्रिएर अपार्टमेन्ट संस्कृति भत्किदैछ। ‘नेपालीको आयस्तर हेरेर अपार्टमेन्ट निर्माण गरिएको भए समस्या आउने थिएन,' उनले भने।
वाग्लेका अनुसार २० देखि ३० लाखसम्मको अपार्टमेन्ट निर्माण गरेको भए बिक्रीमा समस्या हुने थिएन। उनका अनुसार व्यक्तिगत घर(इन्डिभ्युल होम्स) ३६ देखि ४० लाखको बनाउनुपर्छ ।
ऋणको आधा पुग्यो ब्याज
घरजग्गा व्यवसायमा तीन वर्षदेखि मन्दी छाएपछि व्यवसायले यो अवधिमा ४५ प्रतिशत ब्याज तिरिसकेका छन्। एक करोड रुपैयाँ ऋण भएको ब्यवसायीले वार्षिक १५ प्रतिशत ब्याजका कारण ४५ लाख व्याजै भुक्तानी गरिसकेका छन्।
कतिपय बैंक तथा वित्तीय संस्थाले परियोजना हेरी १८ प्रतिशतसम्म पनि ब्याज लिएका छन्। मन्दी छाएसँगै बैंकहरुले ब्याज दोब्बर बढाए। ऋण लिएर घरअपार्टमेन्ट निर्माण गरिरहेका व्यवसायीले कारोबार मन्दीसँग विक्री गर्न सकेनन्।
मन्दीको वेला मूल्य अझै घट्छ भन्दै उपभोक्ताले नकिन्ने र व्यवसायीले घाटा पर्छ भन्दै घटाएर नबेच्दा व्याजको भार वढेको हो।
‘धेरै व्यवसायी ऋणको ब्याज तिर्दातिर्दै परिवन्धमा परेका छन्। यो बढ्दै गएमा बैंक तथा वित्तिय संस्थालाई पनि समस्यामा पार्नेछ,' वाग्लेले भने, ‘पछिल्लो समय केही व्यवसायी ठगीमा पर्नुमा चर्को ब्याज मूल्य कारण हो।'

आधार ब्याज दर, ६ देखि १२ प्रतिशतसम्म

सुदर्शन सापकोटा, काठमाडौं, माघ ९ - बैंकिङ क्षेत्रको न्यूनतम ब्याज दर साढे ९ प्रतिशत निर्धारण भएको छ। राष्ट्र बैंकले आधार दर (बेस रेट) कार्यान्वयनमा ल्याएपछि वाणिज्य बैंकहरुको औसत न्यूनतम ब्याज दर साढे नौ प्रतिशत कायम भएको हो। आधार दर तोकिएपछि सर्वसाधारण ग्राहकले बैंकबाट प्रतिस्पर्धी दरमा ऋण पाउने छन्। बैंकहरुले न्यूनतम ब्याज तोक्ने भएकाले ग्राहकले योभन्दा बढी तिर्दिन भनेर मोलमोलाइ गर्न पाउनेछन्। बैंकरका अनुसार बैंकहरुको आकार र उसको क्षमताअनुसार आधार दर ७ देखि ११ प्रतिशतको हाराहारीमा रहन्छ। महँगोमा निक्षेप उठाइरहेका बैंकहरुको लागत बढी भएर उनीहरुको आधार दर माथि हुन्छ। पुराना र ठूला बैंकले सस्तोमा नै निक्षेप उठाइरहेकाले आधार दर कम छ।
स्ट्यान्डर्ड चार्टर्ड, नबिल, नेपाल इन्भेस्टमेन्टको आधार दर साढे सात प्रतिशतको हाराहारीमा छ। हिमालयन, बैंक अफ काठमाण्डू (बिओके) एभरेष्ट, एनआइसी, नेपाल एसबिआई बैंकको आधार दर ८ प्रतिशतभन्दा माथि छ। यसपछि आएका बैंक अधिकांस बैंकहरुको ११ प्रतिशतभन्दा तल आधार दर छ।
किस्ट बैंकले भने ११ प्रतिशत कटाएको छ। नयाँ आएको मेगा बैंक नेपालले निक्षेपको ब्याजमा व्यापक कटौती गरेका कारण आधार दर ८.९ प्रतिशत छ। बैंकहरुले पुँजी लागतमा सबै खर्च कटाएर निश्चित प्रतिशत नाफा जोडेपछि ऋणको न्युनतम ब्याज तोकेका हुन्।
पुराना बैंकहरुले आफ्नो साख (क्रेडिबिलिटी) को फाइदा उठाउँदै सस्तोमा निक्षेप उठाउँछन्। तर, नयाँ बैकहरुको साख बजारमा स्थापित नभइसकेकाले महँगोमा निक्षेप उठाउनुपर्छ। यसले गर्दा पुरानाको भन्दा नयाँ बैंकको आधार दर बढी भएको हो।
पुरानो बैंक नबिलको आधार दर ७.२६ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्डको योभन्दा अझ कम छ। हिमालयन बैंकको ८.३ प्रतिशत, बैंक अफ काठमाण्डूको ८.२९ प्रतिशत आधार ब्याज दर छ।
सिटिजन्स्को ९.५ प्रतिशत, ग्रान्ड बैंक नेपालको १०.४९ प्रतिशत र कमर्ज एन्ड ट्रस्टको १०.१४ प्रतिशत आधार दर छ। सरकारी बैंकहरु कृषि विकास, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौ प्रतिशतको हाराहारीमा छ।
'न्युनतम दरका कारण ग्राहकले बैंकबाट सहज र प्रतिस्पर्धी ब्याजमा ऋण पाउनेछन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा हिमालनय बैंकका प्रमुख कार्यकारी अधिकृत र अशोक राणाले भने।
ब्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले राष्ट्र बैंकले आधार दर कार्यान्वयनमा ल्याएको हो। बैंकहरु आफ्नो सम्पूर्ण लागत घटाएर त्यसमा नाफा जोडेपछि ग्राहकले तिर्नुपर्ने न्यूनतम ब्याज तोक्छन्।
बैंकहरुले आधार दर गणना राष्ट्र बैंकले उपलब्ध गराएको सूत्र (फर्मुला) का अधारमा निस्कासन गर्नुपर्छ। ब्याजदर उतारचढाव भएको विशेष परिस्थितिमा आधार दरको गणना नियमित रुपमा हुँदा मुद्रा बजारको वस्तुस्थितिअनुसार व्याजदर निर्धारण गर्न सहज हुने भन्दै राष्ट्र बैंकले कार्यान्वयमा ल्याएको हो।
'बैंकहरुले आधार दरमा नै ऋण उपलब्ध गराउनुपर्छ भन्ने छैन। उनीहरुले जोखिम मूल्यांकन गरेर आधार दरभन्दा केही माथि लगानी गर्न पाउँछन्,' बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भन्डारीले भने, 'आधार दरमा ऋण दिने भन्ने होइन। योभन्दा माथि ब्याज तोकिन्छ।'
राष्ट्र बैंकले आधार ब्याज दर कोष लागत, अनिवार्य मौज्दात, वैधानिक तरलता लागत, सञ्चालन लागत सम्पत्ति प्रतिफल जाडेर निकाल्न निर्देशन दिएको छ। बैंकहरुले आफ्ना सम्पूर्ण खर्चहरु कटाएर त्यसमा शून्य दशमलव ७५ प्रतिशत नाफा जोडेर न्यूनतम व्याज निकाल्नुपर्छ।
'आधार दरले ग्राहकहरुलाई ब्याजको मूल्यांकन गरेर बैंकमा ऋण लिन सहयोग गर्ने छ,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'बैंकहरुलाई पुँजी लागत घटाउन प्रतिस्पर्धा हुनेछ।'
नेपालका बैंकहरुका लागि आधार ब्याज दर नौलो अवधारणा हो। भारतले पनि केही वर्षअघि मात्र आधार दर लागु गरेको हो। अघिल्लो महिनाको वित्तीय विवरण र तथ्यांकका आधारमा बैंकहरुले आधार दर गणना गर्छन्।