एक अर्ब भ्रस्टाचार गर्न वावुराम सरकार कानुन विपरीत विद्युत आयोजनाको क्षमता वृद्धिको तयारीमा

रामशरण महत
कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री
अहिले सरकारलाई 'चेक एन्ड
व्यालेन्स' गर्ने संसद छैन।
संसदीय समिति छैन।
 त्यही भएर सरकारले
अहिले वद्नियतपूर्ण रुपमा
माथिल्लो त्रिसुली एको
क्षमता वढाउन लागिपरेको हो।
सरकारले यो आयोजनालाई
सुनको अन्डा दिने
कुखुराका रुपमा लिएको छ।
माओवादीले चुनाव घोषणा
गरेकाले त्यसमा पैसा
जुटाउन आयोजनाको
क्षमता बढाउने तयारी गरेको छ।
जबकी आयोजना बढाएर राज्यलाई
कुनै फाइदा छैन। यसले कुनै
योगदान गर्न सक्दैन। निर्वाचित
कुनै पनि निकाय नभएको बेला
सरकारले सवैभन्दा ठूलो भ्रस्टाचार
गर्न खोजेको छ। सत्तारुढ दल
माओवादीले सरकारमार्फत
क्षमता वढाएर १ अर्ब रुपैयाँ
भ्रस्टाचार गर्न खोजेको छ।
यसले मुलुकको हित गर्दैन।
कानुनी रुपमा पनि
आयोजनाको क्षमता
वढाउन मिल्दैन। तर मन्त्रीपरिषद्मार्फत
 निर्णय गराएर भ्रस्टाचार
गर्न खोजिदैछ।
सरकारले १ अर्ब भष्ट्राचार गर्न खोजेको छ
 सुदर्शन सापकोटा
काठमाडौं, असर ३
सरकारले सार्वजनिक खरीद ऐन विपरीत थप तीन अर्ब रुपैयाँ खर्च गरेर माथिल्लो त्रिसुली 'ए' परियोजनाको क्षमता बढाउने तयारी गरेको छ।
तोकिएको क्षमतालाई बढाउन नयाँ टेन्डर आह्वान गर्नुपर्ने व्यवस्थालाई लत्याउँदै सरकारले मन्त्रिपरिषद्बाटै क्षमता वृद्धिको तयारी गरेको हो।
प्रधानमन्त्रीले सम्हाली रहेको ऊर्जा मन्त्रालयले क्षमता वृद्धिका लागि अर्थमन्त्रालयमा आइतबार औपचारिक पत्र पठाएको छ। अर्थ मन्त्रालयले आर्थिक स्रोतको टुङ्गो लगाएपछि मन्त्रिपरिषद्मा लग्ने छ। प्रधानमन्त्री वावुराम भट्टराईको सहमतिमा आयोजनाको क्षमता वृद्धि गर्ने तयारी गरिएको हो।
निर्माणमा गइसकेको आयोजनाको अहिलेको क्षमता ६० मेगावाट छ। सरकारले अहिलेको क्षमता वृद्धि गर्दै ९० मेगावाट पुर्‍याउने सबै तयारी पूरा गरिसकेको स्रोतले बतायो। अहिलेकै अनुसार निर्माण भइरहे आयोजना आगामी तीन वर्षसम्म सम्पन्न भइसक्छ। क्षमता वढाइए आयोजना निर्माण गर्ने समय अर्को तीन वर्ष थपिने छ।
सरकारले क्षमता बढाए पनि सवैभन्दा वढी विजुली चाहिने बेलामा भने आयोजनाले उत्पादन बढाउन सक्दैन। उत्पादन भएको विजुली खेर जाने वर्षा याममा मात्र आयोजनाले तोकिएजति विजुली उत्पादन गर्न सक्छ।
आयोजनाको थपिएको क्षमताले वर्षायाममा त्रिशूली नदीको भेलको समयमा मात्र क्षमता अनुसार बिजुली उत्पादन गर्न सक्छ। हिउँदमा बढी बिजुली चाहिने समयमा भने उत्पादन झनै कम हुन्छ।
'बर्षा याममा वढी भएर खेर गएको विजुली कसरी प्रयोग गर्ने भन्ने योजना नभएका बेला सरकारले क्षमता वढाएर अतिरिक्त तीन अर्ब रुपैयाँ राज्यलाई भार पार्न खोजेको छ,' अर्थमन्त्रालय स्रोतले भन्यो, 'सरकारको यो दुरासायपूर्ण निर्णय हो। यसले राज्यलाई आर्थिक रुपमा ठूलो घाटा पुर्‍याउँछ।'
यो आयोजना क्यू–६० मोडलमा निर्माण गर्न लागिएको हो। यो भनेको वर्षभरिको ६० प्रतिशत दिनमा क्षमता अनुसारको ६० मेगावाट बिजुली उत्पादन हुन्छ। प्राधिकरण सञ्चालक समितिदेखि लिएर प्रधानमन्त्री कार्यालयले समेत क्यू–४० मा झारेर क्षमता बढाउन लागिएको हो।
क्यू–४० मा झार्दा वर्षभरिमा ४० प्रतिशत दिनमात्र ९० मेगावाट बिजुली उत्पादन हुन्छ। 'जुन बेलामा बिजुली चाहिन्छ त्यो बेलामा उत्पादन घट्ने र वर्षामा मात्र बढ्ने प्रणाली हामीलाई आवश्यकनै होइन,' स्रोतले भन्यो।
यो आयोजना आउँदो दुई वर्षभित्र पुरा गर्ने लक्ष्य लिइएको छ। क्यू–४० मा झारेर क्षमता बढाउँदा कम्तिमा तीन वर्ष थपिनेछ।
चाइनिज कम्पनीले इन्जिनियरिङ, खरीद र निर्माण (इपिसी) अन्तर्गत बनाइरहेको आयोजनाको अनुमानित लागत १० अर्ब ६ करोड रुपैयाँ छ। इपिसी प्रणालीमा समय र लागत दुबै बढाउन मिल्दैन। ठेकेदारको स्वार्थमा लागत र समय समेत बढाउन यो चलखेल भएको हो।

शशिन जोशी भन्छन्, 'निर्देशित लगानीलाई समर्थन गर्न सकिदैन'

बर्ष सकिन लाग्यो। बैंकहरुको यस पटकको वासलात कस्तो निस्कन्छ?
शशिन जोशी
प्रमुख कार्यकारी अधिकृत
एनआइसी बैंक
यो वर्षको असारको परिणाम  चैतमा आएको परिणामभन्दा खराव हुने छ। चैतमा नाफा १६ प्रतिशतले घटेको थियो। नोक्सानी व्यवस्था ५१ प्रतिशतले वढेको थियो। बैंकहरुले साँच्चै नै पारदर्शी भएर वासलात निकाले भने राम्रो निस्कने छैन। मुख्य असर नोक्सानी व्यवस्था र व्याज आम्दानीले पारेको छ। अहिले स्प्रेड र व्याज दुवै घटेको छ। यसको ठूलो असर रहन्छ।

 बैंकहरुमा ऋण पोहोरबाटै विग्रिन थालेको हो। यसको पुरै असर देखिन अझै वाँकी छ। पुरै देखिन दुई तीन वर्ष अरु लाग्छ। तर विग्रिएको ऋण नउठ्ने नै अवस्थामा भने छैन।

बैंकले लिलामीमा राखेका सम्पत्ति बिक्न छाडे

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ३१
घरजग्गाका ऋणीले पैसा तिर्न नसकेपछि बैंकले लिलाम गर्न राखेका धितो बिक्री हुन छाडेका छन्। ऋण नउठ्ने र लिलामीका सम्पत्ति पनि नबिकेपछि बैंकहरूको नाफा–नोक्सान खाता बिग्रिने भएको छ।
'लिलामीमा राखिएका सम्पत्ति बिक्री भएका छैनन्,' बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले नागरिकसँग भने,'दिनदिनै लिलामीको सूचना बढ्नु र धितो बिक्री नहुनुले स्थिति नाजुक बन्दै गएको छ भन्ने देखाउँछ।'
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अधिकांश ग्राहकले घरजग्गा तथा अचल सम्पत्ति धितो राख्छन्। बिगँ्रदो आर्थिक अवस्था, सम्पत्तिको स्रोत देखाउनुपर्ने व्यवस्था र घरजग्गा कारोबार हुन छाडेकाले लिलाममा राखिएको सम्पत्ति बिक्री हुन छाडेको हो। 'व्यक्तिहरूको आम्दानी स्रोत घटेर क्रयक्षमतामा  पनि ह्रास आएको छ,' वित्तीय कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्यले भने।

सहरी बजार सुस्तायो

काठमाडौं, जेठ ३१- 
राजनीतिक अस्थिरताले आर्थिक गतिविधि हुन छाडेपछि उपभोक्ताले अतिआवश्यक बाहेकका वस्तु किन्न कम गरिरहेका छन्। होटल रेस्टुरेन्टमा खान जानेदेखि नयाँ गाडी र विद्युतीय सामग्री आउने वितिकै माग गरिहाल्ने उपभोक्ताको संख्या पहिलेभन्दा पातलीन थालेको हो।
अस्थिरताले पैसा कमाउने स्रोत खुम्चिन थालेपछि उपभोक्ताको मुड नयाँ सामान किन्नेमा छैन। अलिअलि भएको पैसा पनि भोलीलाई साँच्न थालेका छन् । दैनिक कारोबारमा ३० देखि ५० प्रतिशतसम्म कमी आएपछि शहरी बजार पुरै सुस्ताएको सरोकारवालाहरु बताउँछन्।
बजारमा होटल-रेस्टुरेन्टमा खानेदेखि गाडी, विद्युतीय उपकरण किन्ने उपाभोक्ता पातलिन थालेका छन्। जसले इलोक्ट्रोनिक्स, सवारी साधन, रेष्टुरेन्ट र निर्माण सामाग्रीको बिक्री घटाएको छ। दैनिक प्रयोग हुने सागसब्जीजस्ता उपभोग्य वस्तु पनि महँगो भएका कारण कम परिमाणमा मात्र खरीद विक्री हुन्छ।

कालो धनलाई सेतो बनाउन रोक्ने कानुन यसै साता

काठमाडौं, जेठ ३०
मुलुक अन्तर्राष्ट्रियरुपमा कालोसुचीमा पर्ने खतरा बढेपछि सरकारले अध्यादेशमार्फत यसैसाता तीन कानुन ल्याउने भएको छ। 'यही साताभित्र सम्पति सुद्धीकरण सम्बन्धी ऐन जारी हुनेछ,' प्रधानमन्त्री कार्यलयका एक उच्च अधिकारीले सोमबार नागरिकसँग भने, 'अध्यादेशबाट कानुन ल्याउन प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवसँग औपचारिक कुराकानी गरिसक्नु भएको छ।'
सरकारले संगठित अपराध नियन्त्रण, सुपुर्दगी र पारस्परिक कानुन ऐन अध्यादेशमार्फत ल्याउन लागेको हो। एक वर्षअघि नै ल्याइसक्नु पर्ने यी कानुन नल्याएको भन्दै फ्रान्सको पेरिसस्थित मुद्रा निर्मलीकरण अनुगमनसम्बन्धी अन्तरसरकारी वित्तीय कार्यदल (एफएटिएफ) ले नेपाललाई कालोसूचीमा राख्ने तयारी गरेको थियो। कार्यादलको वैठक आगामी साता पुनः हुँदैछ।

लोकप्रिय बजेट ल्याउन नपाउने

काठमाडौं, जेठ ३० - 
निर्वाचन आयोगले सरकारलाई बजेटमार्फत कुनै पनि नयाँ कार्यक्रम ल्याउन रोक लगाएको छ। मंसिर ७ मा चुनाव घोषणा गरिसकेकाले त्यस्तो बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ।
'अहिलेको सरकारले निर्वाचनलाई प्रभावित बनाउने गरी नयाँ र लोकप्रिय कार्यक्रम ल्याउन पाउँदैन,' निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले सोमबार नागरिकसँग भने, 'यस्ता कार्यक्रमले निर्वाचनलाई प्रभावित पार्ने भएकाले यो आचारसंहिताविपरीत हुन्छ।'

हुलाकी राजमार्गको ठेक्का लाग्यो

पहिलो चरणमा ६ सय किलोमिटर निर्माण गरिने 

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २७
६ वर्षअघि नै निर्माण थालिने भनिएको पूर्व–पश्चिम हुलाकी राजमार्गको काम सुरु भएको छ। १५ सयमध्ये ६ सय किलोमिटर निर्माण गर्नलाई ठेक्का दिइ काम सुरु गरिएको हो।
दुई चरणमा निर्माण गर्न लागिएको राजमार्गको पहिलो चरणमा ६ सय किलोमिटर निर्माण हुने छ। दोस्रो चरणमा बाँकी ९ सय किलोमिटर निर्माण गरिने छ।
'पहिलो चरणको सडक निर्माणका लागि ६ ठाउँमा ठेक्का लागिसकेको छ,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौंलाले नागरिकसँग भने, 'एउटा ठेक्काको काम ३५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।'  ३५ प्रतिशत काम कैलाली जिल्लामा सम्पन्न भइसकेको हो।

ऋण उठाउन अहिलेबाटै कस्सिए बैंकर



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २५
'ऋण उठाउनलाई अहिलेदेखि स्टाफ खटाइरहेको छु,' चालु वर्ष सकिने दिन नजिकिँदै गर्दा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, 'अहिलेदेखि नखटाए व्यालेन्सिट (वासलात) राम्रो बनाउन गाह्रो छ।'
राजनीतिक अन्यौलसँगै घरजग्गा तथा औद्योगिक ऋण समस्यामा परेपछि ग्राहकलाई असार (चालु वर्षको चौथो किस्ता) को पैसा समयमा नै तिर्न दवाव दिन शाहजस्तै अधिकांस बैंकर अहिलेदेखि नै दौडधुप गर्न थालेका हुन्।
आर्थिक गतिविधि नहुँदा उद्योग क्षेत्रमा गएको ऋणले समयमा किस्ता तिर्न सकेको छैन। राष्ट्र बैंकले ऋणको सीमा तोेकेदेखि घरजग्गा कारोबार नभएर त्यहाँ लगानी भएको पैसा पनि उठेको छैन। यही गत डेढ वर्षदेखि बैंकहरुको खराव ऋण वढेर नाफा घटिरहेको छ।

आगामी वर्ष सबै सडकको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिने


काठमाडौं, जेठ २३
सरकारले आगामी वर्षसम्म देशभरका सबै केन्द्रीय सडकका खाल्डाखुल्डी हटाएर कोलोपत्रे बनाउने भएको छ। सडक मर्मत गर्नका लागि आवश्यक वजेट विनियोजन भए भौतिक योजना तथा निर्माण मन्त्रालयले आगामी बर्षसम्म सबै सडक कालोपत्रे गर्ने भएको हो।
मन्त्रालयले कुल १४ सय किलोमिटर जिर्ण सडकमध्ये ४३ प्रतिशत सडकको मर्मत सम्भार गरिसकेको छ। मन्त्रालयले एक वर्ष लगाएर ६ सय किलोमिटर सडकको मर्मत सम्भार सकेको हो। वाँकी ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न ३ अर्ब रुपैयाँ लाग्ने छ।
'आगामी वर्षसम्म देशभरका केन्द्रिय सडकका खाल्डा खुल्डी हटेर कालोपत्रे बनिसक्ने छ,' भौतिक मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मंगलबार नागरिकसँग भने, 'अब देशका कुनै पनि राजमार्ग खराव अवस्थामा हुने छैन।' उनले बजेट उपलब्ध भए आगामी वर्ष सम्पूर्ण सडकलाई वास्तविक अवस्थामा फर्काउन सकिने जानकारी दिए।

फास्ट ट्रयाकको ट्रयाक बजेट अभावले खोल्न नसकिने


सुदर्शन सापकोटा
काठमाडौं, जेठ २३
सरकारले सवैभन्दा बढी महत्व दिएर निर्माण सुरु गरेको काठमाडौं–तराई जोड्ने द्रुत मार्गको ट्रयाक खोल्ने काम चालु वर्ष नसकिने भएको छ। स्थानीयको जग्गा अधिक्रमण गरे वापत दिइने मुआब्जाको रकम भुक्तानी गर्ने बजेट अभावका कारण ट्रयाक खोल्न नसकिने भएको हो।
सरकारले राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दुरीको काठमाडौं–निजगढ द्रुत मार्गको ट्रयाक आगामी असार मसान्तसम्म खोलिसक्ने लक्ष्य राखेको थियो।
'मुआब्जा रकम अभावका कारण यो वर्ष दुरत मार्ग (फास्ट ट्रयाक) को सम्पूर्ण ट्रयाक खोल्ने काम सकिँदैन,' भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मंगलबार नागरिकसँग भने, 'आगामी बर्ष बजेटमा मुआब्जा रकम थप गरिएपछि ट्रयाक खोल्न सक्छौं। यस वर्ष छुट्याइएको पैसा सकिसक्यो।' ट्रयाक खोल्न ३० करोड रुपैयाँ अपुग भएको छ।

अन्तर बैंक सापटी विकास बैंक र फाइनान्सलाई महँगो



सुदर्शन सापकोटा
काठमाडौं, जेठ २२
विश्वास अभावका कारण वाणिज्य बैंकको भन्दा १६ गुणासम्म वढी तिरेर विकास बैंक र फाइनान्स कम्पनीले अन्तर बैंक सापटी चलाउन थालेका छन्। बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) वढिरहे पनि विश्वास अभावले गर्दा 'ख' र 'ग' वर्गका वित्तीय संस्थाहरुले भने महँगोमा सापटी चलाउनु परेको हो।
एक वाणिज्य बैंकले अर्को बैंकसँग एक प्रतिशतभन्दा कममा नै सापटी चलाइरहेका छन्।

विदेशमा काम गर्नेलाई रोजगार बचतपत्र


– एनआरएन र भारतमा गएका नेपाली कामदारले पनि किन्न सक्ने
– व्याज १० प्रतिशत
– तीन वर्ष अवधिको बचत पत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २१
नेपाल राष्ट्र बैंकले निस्कासन गर्ने वैदेशिक रोजगार बचत पत्र गैरआवसिय नेपाली र भारतमा रहेका नेपाली कामदारले समेत खरीद गर्न पाउने भएका छन्। असार पहिलो साता निस्कासन गर्न लागिएको बचतपत्रको अवधि तीन वर्षको हुने छ।
बचत पत्र दक्षिण कोरिया, मलेसिया, युएइ, साउदी अरेविया र कतारमा गएका नेपालीले मात्र खरीद गर्न पाउँथे। राष्ट्र बैंकले लगानीमा वृहत्त सहभागी गराउनका लागि यसपालीबाट भारतमा रहेका नेपाली कामदार र एनआरएनका लागि पनि बचतपत्र खुला राखेको हो।

क्लियरिङ हाउसलाई अख्तियारको सफाइ


काठमाडौं, जेठ २१
नेपाल क्लियरिङ हाउस लिमिटेडले सफ्टवेयर खरीदमा कुनै अनियमितता नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफाइ दिएको छ। सफ्टवेयर खरीदमा ठूलो रकम अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो।
क्लियरिङ हाउसले विद्युतीय माध्यममार्फत बैंक तथा वित्तीय संस्थाले जारी गरेको चेक राफसाफ गर्छ।
उजुरीमा जम्मा तीन करोड नेपाली रुपैयाँ पुर्ने सफ्टवेयर कम्पनीले १६ लाख डलर (१४ करोड ३२ लाख) रुपैयाँमा खरीद गरेर आर्थिक अनियमितता गरिएको आरोप लगाइएको थियो। उजुरी परेपछि केही बैंक तथा वित्तीय संस्थाले क्लियरिङ हाउसको सदस्यतासमेत लिएका थिएनन्।

अस्थिरताले बैंक ऋण रोकियो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २०
चार महिनायता क्रमशः सुधार हुँदै आएको बैंक ऋण राजनीतिक अस्थिरताका कारण  जेठ लागेपछि रोकिएको छ।  जलविद्युत, सिमेन्ट, उत्पादनमूलक तथा औद्योगिक क्षेत्रमा जाने ऋण रोकिएको हो।
अस्थिरताका कारण लगानीकर्ताले जोखिम लिन नखोज्दा बैंकमा ऋणको माग छैन। लगानीकर्ताबाट माग पनि नभएको र दिएको पैसा सजिलै उठ्ने प्रत्याभूतिसमेत हराएकाले ऋण रोकिएको हो।
बैंक ऋण रोकिँदा अर्थतन्त्र चलायमान हुँदैन। पूर्वाधार, उद्योग र उत्पादनमूलक क्षेत्रमा ऋण लगानी नहुँदा यसले रोजगारी घटाउँछ। 

उपत्यकाको सडक विस्तार अलपत्र, असारमा सक्ने लक्ष्य पुरा नहुने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १८
अर्थमन्त्रालयले वजेट नदिएपछि उपत्यकाको सडक विस्तार कार्य चालु वर्ष नसकिने भएको छ। असारसम्म विस्तार कार्य सक्ने लक्ष्य लिइए पनि पैसा अभावले चैत अन्तिम साताबाट सवै काम रोकिएको छ।
उपत्यकामा गैरकानुनी रुपमा बनेका घर तथा टहरा, सरकारी बाटो मिचिएका पुर्वाधार भत्काएर बाटो विस्तार गर्न प्रधानमन्त्रीले नगर विकास समितिलाई निर्देशन दिएका थिए। सरकारले आर्थिक रुपमा पूर्ण सहयोग गर्ने भएपछि समितिले सडक विस्तार योजना अगाडि वढाएको थियो।
उपत्यकालाई व्यवस्थित बनाउन अझ शक्तिशाली निकायको आवश्यकता महशुस भएपछि सरकारले समितिलाई विघठन गरेर प्राधिकरण बनाएको छ।
'सरकारले पैसा दिन्छु भन्ने तर नदिने गर्नाले उपत्यकाको सडक विस्तार रोकिएको हो,' प्राधिकरणका काठमाडौं जिल्ला आयुत्त भाइकाजी तिवारीले बिहीबार नागरिकसँग भने, 'पैसा अभावले सडक विस्तार गर्न नसकिएकाले अहिले शहर कुरुप बनेको छ।'

विपन्न परिवारको ब्याज घट्यो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १३
वास्तविक गरिवमा लगानी गर्ने उद्देश्य भएका लघुवित्त संस्थाहरुले ऋणको ब्याज घटाएका छन्। वार्षिक २५ प्रतिशतका दरले ऋण काड्दै आएका गरिवले अब १५ प्रतिशतमा नै ऋण प्रयोग गर्न पाउँछन्।
बैंक तथा वित्तीय संस्थाले सस्तोमा पैसा उपलब्ध  गराउन थालेपछि लघुवित्त संस्थाले गरिवलाई दिने ऋणको ब्याज घटाएका हुन्।  लघुवित्त संस्थाहरुले ब्याज घटाउँदा साढे १६ लाख विपन्न परिवार  प्रत्यक्ष लाभांवित भएका छन्। लघुवित्त संस्थाले अहिलेसम्म विपन्न परिवारमा १५ अर्ब रुपैयाँ लगानी गरिसकेका छन्।

माघ र फागुनमा ७ प्रतिशत रहेको मूल्य वृद्धि चैतमा साढे ७ पुग्यो


मूल्य वृद्धि अकासिन थाल्यो
पहाडमा धेरै, काठमाडौंमा कम

काठमाडौं, जेठ १०
पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै यातायात भाँडा वढेका कारण समग्र मूल्य वृद्धि उकालो लागेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्र बैंकले बुधबार चैतसम्मको देशको वर्तमान आर्थिकस्थिति सार्वजनिक गर्दै मूल्य वृद्धि ७.५ प्रतिशतले वढेको जनाएको छ।
माघ र फागुनमा मूल्य वृद्धि ७ प्रतिशत थियो। पुसमा ६.८ प्रतिशत मात्र थियो। अघिल्लो वर्षको चैतमा भने मूल्यवृद्धि १०.६ प्रतिशतले वढेको थियो।

अमेरिकी डलर अहिलेसम्मकै महँगो


– १ डलर किन्न ८८.२३ रुपैयाँ लाग्ने
– रेमिट्यान्स आयमा सुधार हुने, सरकारी ऋणको भार वढ्ने


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ। एक अमेरिकी डलर खरीद गर्न ८८ रुपैयाँ २३ पैसा खर्च गर्नु पर्ने भएको छ।
डलरसँग भारतीय मुद्रा कमजोर हुँदा यसको सीधा असर नेपाली रुपैयाँमा पर्छ। भारतीयसँग नेपाली रुपैयाँको स्थीर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तिने गरेको हो।
गत शनिबार र आइतबार डलरको मूल्य ८८ रुपैयाँ कायम भएको थियो। सोमबारबाट केही सस्तिएको मंगलबार साँझ अहिलेसम्मकै महँगोभ एको हो।

बैंकले दिन ठिक्क पारेको ऋणसमेत गएन


सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९
लगातारको बन्द र राजनीतिक अनिस्चितताले बैंकहरुले दिन ठिक्क पारेको ऋणको रकम ग्राहक लिन आएका छैनन्। व्यापार, व्यवसाय गर्नका लागि महिनौ बैंक धाएर ऋण मिलाएका व्यवसायी अन्तिम समयमा पैसा लिन नगएका हुन्।
अहिले ऋण लिएर व्यापार व्यवसाय गर्ने अवस्था छैन,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने, यस्तो बेलामा ब्याज तिर्नलाई मात्र कसले ऋण लैजान्छ र?'

बैंकले निक्षेपको ब्याज घटाए

ऋणको पनि घट्न थाल्यो
सुदर्शन सापकोटा
काठमाडौं, जेठ ८
वाणिज्य बैंकहरुसँग पैसा धेरै हुन थालेपछि ग्राहकलाई दिने (निक्षेपको) ब्याज घटाएका छन्। पैसा कम हुँदा १२ प्रतिशतसम्म दिएका बैंकले अहिले एक वर्षे मुद्दति खाताको ब्याज घटाएर ४ देखि १० प्रतिशतसम्म पुर्‍याएका छन्।
सवैभन्दा वढी ब्याज घटाउनेमा पुराना र ठूला बैंक छन्। यि बैंकले ४ देखि ७ प्रतिशतसम्म ब्याज दिएका छन् । नयाँ र निक्षेप कम भएका बैंकले १० प्रतिशतसम्म दिएका छन्।