२० अर्ब रुपैयाँ नोट गायव

पैसा आफै राख्ने सुन किन्ने र भारु साटेर राख्ने प्रवृत्तिले पैसा गायव भयो

राजाको नोट फिर्ता गर्ने समाचार सार्वजनिक भएपछि आफूसँग भएको सबै पैसा साट्न सक्ने क्षमता तपाईसँग छ भनेर एक जना ठूलै व्यक्तिले फोनबाट मलाई धम्क्याए- राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा
बैंकको सुन उठाउन छाडे पनि अवैध रुपमा आइरहेको ३५ किलो सुनबाट दैनिक बजार चलिरहेको छ- सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य
पछिल्लो समयमा नेपाली रुपैयाँसँग भारु साटेर राख्ने क्रम बढेको छ- बैंकस्र संघका अध्यक्ष अशोक राणा
हरेक १० नोटको कारोबारमा एक भारतीय नोटको कारोबार हुन थालेको छ- पूर्वगभर्नर दिपेन्दबहादुर क्षेत्री

सुदर्शन सापकोटा
काठमाडौं फागुन २८
सरकारी नीतिका कारण अनौपचारिक कारोबारमा संलग्न व्यक्तिहरुले बैंकमा रकम जम्मा गर्न नसक्दा बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ गायब भएको छ । राष्ट्र बैंकले बजारमा पठाएको एक खर्व ६२ अर्ब रुपैयाँमध्ये नयाँ र पुरानो गरी २० अर्ब रुपैयाँ हराएको हो ।
राष्ट्र बैंकले पुसमा छाडेको ३५ अर्ब नयाँ नोटमध्ये १२ अर्ब र पुरानो राजाको फोटो भएको ८ अर्ब नोट हराएको छ । टिकाउका हिसावले पुरानो नोट अघिल्लो वर्षको सुरुतिर नै फिर्ता भइसक्नु पर्थियो । '२० अर्ब नोट हराए पनि बजारमा यसको अभाव चै भएको छैन,' केन्द्रिय बैंकका एक अधिकारीले भने, 'केन्द्रिय बैंकसँग तीन वर्षलाई पुग्ने गरी नोटको मौज्दात भएकाले पनि अभाव नभएको हो ।' राष्ट्र बैंकका अनुसार यो बिचमा मुद्राको विस्तार नै ०.६ प्रतिशतले भएको छ ।
अर्थतन्त्रका विज्ञहरुले सार्वजनिक रुपमा व्यक्त गरेका माथिका भनाइले पैसा कुनै न कुनै रुपमा आफैसँग राख्ने क्रम बढेको पुष्टी हुन्छ । पछिल्लो समयमा अनौपचारिक क्षेत्रको विस्तारसँगै बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारण बजारबाट करिव २० अर्ब नेपाली नोट हराउनुलाई लिइएको छ ।
विज्ञहरुको यि भनाइले नेपाली मुद्रा हराउनुको प्रमुख कारण तीनवटा रहेको देखिन्छ ।
पहिलो- राष्ट्र बैंकले गरेको १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा स्रोत खोल्नु पर्ने व्यवस्थापछि पैसा आफैसँग राख्ने प्रवृत्ति ।
दोस्रो- औपचारिक माध्यमबाट आएको सुन बिक्री नभए पनि बजारमा अभाव नहुनु । अर्थात सुनचाँदी व्यवसायी संघका अध्यक्ष शाक्यले भने अनुसार अवैध रुपमा आएको सुनमा बढ्दो लगानी ।
तेस्रो- नेपाली नोटसँग भारु साटेर राख्ने क्रम वढ्नु । पछिल्लो केही समयदेखि बजारमा भारु देखिनु र बैंकिङ प्रणालीमा चै अभाव भएर डलर विक्रीबाट किन्ने क्रम वढ्नुले यसको पुष्टी गर्छ । अभावले माघसम्म मात्र राष्ट्र बैंकले ६५ अर्ब ५८ करोड भारु किनेको छ ।
'हामीले पनि अनौपचारिक अध्ययन गरिरहेका छौं पैसा कहाँ गयो भनेर,' राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने, 'हामीले बजारमा पठाएको सवै नोट चलन चल्तीमा छैन । राजाको नोट फिर्ता गर्ने नीतिपछि केही नोट फिर्ता आउला ।' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीका अनुसार राजाको फोटो अंकित नोट बजारमा करिव १० देखि १२ अर्ब रुपैयाँ छ । '१२ अर्ब रुपैयाँ नोट आएको अवस्थामा पनि बाँकी ८ देखि १० अर्ब नोटको अवस्था थाहा हुँदैन,' ती अधिकारीले भने । सफा नोटको नीतिसँगै राजाको फोटो भएको नोट फिर्ता गर्ने नीति ल्याउनुको पछाडि सर्वसाधारणले राखेको पैसा बैंकिङ प्रणालीमा आओस् भन्ने पनि हो ।
राष्ट्र बैंकले १० लाखको बैंक तथा सेयर कारोबार ३० लाखको गाडी र ५० लाखको घरजग्गा खरिदमा स्रोत खोजिने व्यवस्थापछि बजारबाट पैसा नै गायव हुन थालेको हो । 'नोट नै गायव भएको संभवत यो पहिलो पटक हो,' एक बैंकका प्रमुख कार्यकारीले भने, 'स्रोत खोजिनु सरकारको वाध्यात्मक अवस्था होला । तर सर्वसाधारणलाई विश्वासमा लिएपछि मात्र यो नीति लिएको भए पैसा हराउने अवस्था आउँदैन थियो ।' 
सरकार तथा राष्ट्र बैंकले स्रोत खोजिने व्यवस्था कर प्रयोजनका लागि नभएको भने पनि त्यसको अनुसन्धान गर्ने जिम्मा राजश्व कार्यालयलाई दिएकाले त्रास वढेर पैसा प्रणालीमा नआएको बैंकर बताउँछन् । बैंकरका अनुसार राष्ट्र अधिकारी अर्थमन्त्रालयका अधिकारीलगायतले सार्वजनिक पत्रकार सम्मेलन गरेर कर प्रयोजनका लागि स्रोत खोजिएको होइन भनेर विश्वास दिलाउँदै अनुसन्धानका लागि वेग्लै निकाय गठन गरे पैसा फर्किएर आउँछ । 'करका लागि होइन भने पनि राजश्वलाई अनुसन्धानको जिम्मा दिएपछि सरकारको नियतमाथि संका गर्नु पर्ने प्रशस्त कारण सोझै देखिन्छ,'  उनले दावी गरे ।
नेपाली नोट राख्दा समस्या पर्न सक्ने र नेपालमा भारुको कारोबार सहजै हुने भएकाले नेरु साटेर भारु राख्नेको संख्या पनि वढेको एक बैंकरले दावी गरे । 'भारु साटेर राख्दा भविस्यमा विनिमय दर परिवर्तन भएपनि घाटा लाग्दैन,' उनले भने, 'पछिल्लो समयमा भारतीय सिमावर्ती शहरमा नेरु साटेर भारु लिने वढेका छन् ।' सिमावर्ती भारतीय शहरमा नेपाली रुपैयाँ पनि चलनचल्तीमा छ । सुरक्षित लगानी र वढ्दो मूल्यका कारण गहनाका रुपमा नभइ सोझै ढिक्कास किन्नेको संख्या पनि वढेको छ ।

No comments:

Post a Comment

thanks for comment