आजबाट सबै बैंकले राजाको तस्बिर भएको पैसा लिने

राजाको नोट नचल्दा सर्वसाधारणलाई सास्ती-
सुदर्शन सापकोटा
काठमाडौं, चैत २ - 
बागबजारकी रिना अधिकारीले टेलिफोनको बिल तिर्दा राजाका तस्बिर अंकित नोट दिइन्। तर, बिल काउन्टरमा बसेका कर्मचारीले उनको पैसा लिएनन्। उनीसँगै लाइनमा रहेका अधिकांशसँग रहेको त्यस्तै नोट टेलिकम कर्मचारीले लिन मानेनन्।
विद्युत प्राधिकरणमा पनि राजाका तस्बिर अंकित नोट लिइएन। खानेपानी संस्थानको बानेश्वर शाखाले सुरुमा त्यस्ता नोट बुझेको थिएन। तर, उपभोक्ता हात हालाहालको अवस्थामै उत्रिएपछि संस्थान त्यस्तो नोट बुझ्न बाध्य भयो।
नेपाल राष्ट्र बैंकले मंगलबारबाट राजाका तस्बिर अंकित नोट निश्चित ठाउँबाहेक अन्त कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका कारण सर्वसाधारणले दुःख र सास्ती पाएका हुन्।


राष्ट्र बैंकको निर्देशनका कारण बैंकले नोट नसाट्ने त्रासका कारण सरकारी तथा निजी संस्था, पसल, सार्वजनिक यातायातमा विरलैमात्र राजाका तस्बिर अंकित नोट कारोबार भए।
'राष्ट्र बैंक आफैंले छापेको पैसा उसैले चल्दैन भन्न मिल्छ,' बागबजारीका रिनाले भनिन्, 'जता गए पनि राजाको फोटो भएको पैसा चल्दैन। यो जनतालाई दुःख दिने काम नियतमात्र हो।'
राष्ट्र बैंकले नयाँ नोट नीतिअनुसार राजाका तस्बिर अंकित र झुत्रा नोट नचलाउने निर्देशन दिएको थियो। यही कारण बैंकहरूले मंगलबारबाट यस्तो नोट लिन छाडेका छन्। केही बैंक तथा वित्तीय संस्थाले भने म्याद बाँकी छँदै एक दिनअघि नै त्यस्ता नोट कारोबार बन्द गरेका थिए।
'पञ्चायत कालका नोट अहिलेसम्म चलिरहेको बेला अनावश्यक बखेडा झिकेर राजाको फोटो नोट हटाउने नीति लिएर नचल्ले वातावरण बनाइदिँदा दुःख जनतालाई हुने हो,' विद्युत प्राधिकरण रत्नपार्क शाखामा बिल तिर्न आएका अजयेन्द्र सेढाइँले आक्रोश पोखे, 'पुरानो हुँदै गएपछि राजाको नोट आफै हराएर गइहाल्छ नि। अहिले जता गए पनि पैसै चल्दैन भनेर फर्काइदिन्छन्।' उनले ट्याम्पुमा भाडा तिर्दा पनि राजाका तस्बिर भएका नोट नलिएको बताए।
राष्ट्र बैंकका अनुसार बजारमा हाल १० अर्ब २६ करोड रुपैयाँबराबरका राजाका तस्बिर अंकित नोट छन्। तीमध्ये मंगलबारमात्र १ अर्ब नोट फिर्ता आइसकेको छ।
बैंकहरूका अनुसार एक वर्ष अन्तरमा बजारबाट करिब २० अर्ब रुपैयाँ नेपाली नोट हराएपछि राष्ट्र बैंकले नोट फिर्ता ल्याउन नयाँ नोट नीति भन्दै अहिले जनता अत्याउन खोजेको हो।
'बैंकहरूलाई संकलन भएको राजाका तस्बिर अंकित नोट चैत मसान्तसम्म फिर्ता गर्नुपर्ने निर्देशन दिइएको छ,' एक बैंकरले भने, 'तर, अहिलेदेखि नै बजारमा त्रास फैलाउनुको अर्थ हराएको पैसा फिर्ता ल्याउन खोज्नु नै हो।'
उनले बैंकलाई चैतभरि समय दिएपछि सर्वसाधाणबाट आएको पैसा हल्ला नगरी साट्न समस्या नहुने जानकारी दिए। 'हामीलाई हल्ला नगरी साट्न समस्या छैन,' उनले भने, 'चैतभित्र हामीसँग आएको पैसा फागुनमै आएको राष्ट्र बैंकलाई भन्दिन्छौं।' उनले नोटजस्तो संवेदनशील विषयलाई हचुवाका भरमा 'डिल' गर्दा अर्थतन्त्रमा 'आत्मविश्वास' हराउने दाबी गरे।
राष्ट्र बैंक भने भोलिका दिनमा सर्वसाधारणले दुःख नपाउन् भनेर यस्तो व्यवस्था गरेको दाबी गर्छ। 'भोलि गएर सर्वसाधारणले दुःख र सास्ती नपाउन् भनेर हामीले यस्तो व्यवस्था गरेका हौं,' केन्द्रीय बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'राष्ट्र बैंकले पूर्वराजाका तस्बिर अंकितसँगै पुराना र झुत्रा नोट बजारबाट खिच्दै जाने र सफा नोट चलनमा ल्याउनमात्र खोजेको हो।'
'नोट नचल्ने भनिएको होइन, नोट चल्छ तर हामीले तोकेको काउन्टरमा गएर साट्नुपर्छ,' राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लले मंगलबार नागरिकसँग भने। उनले मंगलबारबाट राजाका तस्बिर अंकित नोटबाट सार्वजनिक कारोबारमात्र गर्न नपाइने भनिएको बताए। 'नोटको मूल्य घट्ने चाहीँ होइन,' उनले भने।
सर्वसाधारणलाई सजिलो होस् भनेर राष्ट्र बैंकले बुधबारबाट पैसा साट्ने काउन्टर थप्दै निक्षेप जम्मा गर्न छुट दिने भएको छ। केन्द्रीय बैंकले राजाका तस्बिर अंकित नोट साट्न मंगलबारबाट राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल बैंक, नेपाल बंगलादेश बैंक र एभरेस्ट बैंक लिमिटेडका १ सय ५० शाखाबाट साट्ने व्यवस्था गरेको थियो।
'सर्वसाधारणलाई अप्ठेरो नहोस् भनेर बुधबारबाटै पैसा साट्न सजिलो बनाएका छौं,' काफ्लेले भने, 'मंगलबारजस्तो पैसा साट्न गाह्रो पर्दैन।'
केन्द्रीय बैंकले १ सय ५० काउन्टरसँगै बैंक तथा वित्तीय संस्थाका सबै मुख्य शाखा, सिटी शाखा र जिल्लामा एकमात्र कार्यालय भए त्यहाँबाट पनि पैसा साट्न मिल्ने व्यवस्था गरेको छ।
पैसा साटिएन भनेर आत्तिनुपर्ने अवस्था नरहेको काफ्लेले बताए। 'नोट नचल्ने होइन र नोटको मूल्य नहुने पनि होइन,' काफ्लेले भने, 'तर, त्यस्ता नोटको सट्टा सफा नोट प्रचलनमा आओस् भन्ने उद्देश्यले अहिलेको नीति ल्याइएको हो।'

No comments:

Post a Comment

thanks for comment