म्यादअघि नै बैंकले नोट लिएनन्


काठमाडौं, चैत १ - 
नेपाल राष्ट्र बैंकले चैत १ बाट राजाका तस्बिर अंकित नोट कारोबार नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले पूर्वसूचना बिना नै एक दिनअघि यस्ता नोट लिएनन्। निक्षेप जम्मा गर्न गएका सर्वसाधारण राजाका तस्बिर अंकित नोट फिर्ता ल्याउन बाध्य भए। बैंक तथा वित्तीय संस्थाहरूले फागुन ३० बाटै त्यस्ता नोट लिन छाडेका हुन्।
 'मोटरसाइकलको किस्ता तिर्न सिद्धार्थ फाइनान्स गएको थिएँ तर, राजाको टाउको भएको नोट लिन्नौं, सगरमाथाको चित्र भएका नोटमात्र लिन्छौं भनियो,' काठमाडौं पुरानो नैकापका रञ्जन भट्टले सोमबार नागरिकसँग भने, 'मसँग सगरमाथाका चित्र भएका नोट नपुगेपछि किस्ता नै नतिरी फर्किएँ।'
सिद्धार्थ फाइनान्सको किस्ता बु‰ने काउन्टरमा बसेका कर्मचारीले 'हाम्रो कारोबार हुने दरबारमार्गको नेपाल इन्भेस्टमेन्ट बैंकले पनि सोमबारबाटै राजाको टाउको भएको नोट लिएको छैन, त्यही भएर हामी पनि लिन्नौं' भनेको भट्टले बताए।

'ती कर्मचारीले त्यसो भनेपछि बाध्य भएर म चाहिँ सगरमाथा चित्र अंकित नोट पूरै नभएपछि फर्किएँ,' भट्टले भने, 'किस्ता तिर्न आएका अरू पनि राजाको टाउको नभएका नोट खोजिरहेका थिए। काउन्टरवालाले पनि बाँकी पैसा फिर्ता दिँदा सगरमाथा भएकै नोट दिन्छु भनेका थिए, र दिइरहेका पनि थिए।'
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई मंगलबार (चैत १) बाट लागु हुने गरी राजाका तस्बिर अंकित नोटको कारोबार नगर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकको निर्देशनविपरीत निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले एक दिन म्याद बाँकी हुँदै सोमबार (फागुन ३०) बाटै राजाका तस्बिर अंकित नोट कारोबार बन्द गरेका थिए।
त्यस्ता नोटबाट फागुन मसान्तसम्म कारोबार गर्न मिल्ने र चैत १ देखि नमिल्ने भनेर केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो। चल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षाका लागि त्यस्ता नोटसँगै झुत्रा नोट हटाउने योजनाअनुसार राष्ट्र बैंकले फागुन ३० सम्म आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थामा नोट साट्न सर्वसाधारणलाई आग्रह गरेकोे हो।
'हामीले तोकेको म्यादअघि नै जुन-जुन संस्थाले पूर्वराजाका तस्बिर अंकित नोट कारोबार बन्द गरे, त्यस्तालाई हामी स्पष्टीकरण सोध्छौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले नागरिकसँग भने, 'उनीहरूले गल्ती गरेका हुन्, सर्वसाधारणलाई दुःख दिनु हुन्थेन।'
सोमबारबाट राजाका तस्बिर अंकित नोटबाट कारोबार गर्न नपाइने उनले बताए। यस्ता नोट चलाउन तोकिएकै काउन्टरमा जानुपर्ने उनको भनाइ छ। 'नोट नचल्ने होइन र नोटको मूल्य नहुने पनि होइन,' ज्ञवालीले भने, 'तर, त्यस्ता नोटको सट्टा सफा नोट प्रचलनमा आओस् भन्ने उद्देश्य हाम्रो हो। त्यस्ता नोट सटही गर्न हामीले ताकेकै बैंक तथा वित्तीय संस्थाका काउन्टरमै जानुपर्छ।'
नैकापका भट्टले राजाका तस्बिर अंकित नोट किन साट्न खोजिएको हो, सर्वसाधारणले बुझ्न नसकेको बताए। 'त्यस्ता नोट साट्नलाई राष्ट्र बैंकले किन म्याद दिएको हो, बुझ्न सकिएन,' उनले भने, 'बजारमा भएका त्यस्ता नोट विस्तारै बैंक तथा वित्तीय संस्था हुँदै पुनः राष्ट्र बैंककै ढुकुटीमा पुग्छ जस्तो लाग्छ। अनि, बेकारमा सर्वसाधारणलाई सास्ती दिन मिल्छ?'
'भोलि गएर सर्वसाधारणले दुःख र सास्ती नपाउन् भनेर हामीले यस्तो व्यवस्था गरेका हौं,' केन्द्रीय बैंकका प्रवक्ता ज्ञवालीले भने, 'यसबारे बजारमा नकारात्मक सन्देश गएजस्तो छ, कसैले पनि भ्रममा पर्नु भएन, राष्ट्र बैंकले पूर्वराजाका तस्बिर अंकितसँगै पुराना र झुत्रा नोट बजारबाट खिच्दै जाने र सफा नोट चलनमा ल्याउनमात्र खोजेको हो।'

No comments:

Post a Comment

thanks for comment