राजाको फोटो भएको नोट अब चल्ने

  • जनदवाव र अख्तियारको निर्देशनपछि राष्ट्र बैंक पछाडि फर्कियो
  • दुई दिनमा २ अर्ब नोट फिर्ता भयो
  • अझै सभा ८ अर्ब नोट बजारमा

सुदर्शन सापकोटा
काठमाडौं चैत २
नेपाल राष्ट्र बैंकले राजाको फोटो अंकित नोट पूर्ववत चलाउन बैंक तथा वित्तीय संस्थालाई बुधबार निर्देशन दिएको छ । मंगलबारबाट यस्तो नोट नचल्ने व्यवस्था गरेको केन्द्रिय बैंकले जनदवाव बढेपछि दुई दिनमै निर्देशन फिर्ता लिएको हो ।

'जनतालाई असुविधा पुगेका कारण निर्णय फिर्ता लिएका छौं,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले बुधबार नागरिकसँग भने, 'अब पहिलेजस्तै राजाको फोटो अंकित नोट देशभरी जहाँ पनि चल्छ ।' उनले चार वर्षअघि मन्त्री परिषद्ले गरेको राजाको फोटो अंकित नोट हटाउने निर्णयलाई कार्यान्वयन गर्ने क्रममा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनु परेको जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचलाउने नीतिले सर्वसाधाणले दुख पाएको भन्दै यसबारेमा स्पष्टीकरण दिनका लागि केन्द्रीय बैंकका अधिकारीलाई वुधवार दिउँसो वोलाएको थियो । उसले नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै यसलाई पूर्ववत चल्न दिन निर्देशन दिएपछि राष्ट्र बैंक पछाडि फर्किएको हो ।
राजाको नोट फिर्ता गराएर राष्ट्र बैंकले त्यसको वद्लामा नयाँ छापेर कमिसन खान खोजेको भन्दै नारायण दाहालले उजुरी दिएपछि अख्तियारले केन्द्रीय बैंकका अधिकारीलाई स्पष्टिकरणका लागि वुधवार आयोगमा वोलाएको प्रवक्ता इश्वरी पौडेले जानकारी दिए । 'नोट चलाउन निर्देशन दिइसकेका छौं,' उनले भने, 'राष्ट्र बेंकले पनि निर्देशन फिर्ता लिएको जानकारी गराइसकेको छ ।'
राष्ट्र बैंक ऐनमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बेंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा वाहेक अन्यत्र नचल्ने गराउन सक्ने व्यवस्था छ । सरकारको अधिकार राष्ट्र बैंकले प्रयोग गरेको भन्दै आयोगले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन फिर्ता दिन भनेको हो ।
स्पष्टीकरण दिने क्रममा राष्ट्र बैंकका अधिकारीले निर्णय साचाउने बताएका थिए । उनीहरु फर्किएर गएको केही समयपछि गभर्नर युवराज खतिवडाले फोन गरेर पुर्ववत नोट चल्ने व्यवस्था गर्ने अख्तियारलाई जानकारी गराए । राष्ट्र बैंकले वुधवार साँझबाटै नोट पूर्ववत चल्ने सुचना जारी गरिसकेको छ ।
स्पष्टीकरण दिन राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी प्रवक्त भास्करमणी ज्ञवाली र नोट विभागका कर्मचारीहरु गएका थिए ।
राष्ट्र बैंकले मंगलबारबाट राजाको फोटो अंकित नोट निस्चित ठाउँ वाहेक कारोबार नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका कारण सर्वसाधारणले सास्ती झेल्नु परेको थियो । राष्ट्र बैंकको निर्देशनका कारण बैंकले नोट नसाट्ने त्रासले सरकारी तथा निजी संस्था पसल सार्वजनिक यातायातमा यदाकदा मात्र राजाको फोटो अंकित नोट कारोबार भयो ।
राष्ट्र बैंकले सफा नोट नीति अन्तर्गत राजाको फोटो अंकित र झुत्रा नोट विस्थापित गर्ने नीति अनुरुप यो व्यवस्था गरेको थियो । सर्वसाधारणले नोट नचलेका कारण सास्ती खेपेपछि केन्द्रीय बैंकलाई मंगलबारै जनदवाव परेको थियो । उसले पूर्वनिर्धारित विभिन्न १ सय ५० काउन्टरसँगै सबै बैंक तथा वित्तीय संस्थाका मूख्य शाखा कार्यालय सिटि शाखा कार्यालय र जिल्लामा एक मात्र कार्यालय रहे त्यहाँबाट पनि पैसा साट्न मिल्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकका अनुसार बजारमा करिव १० अर्ब २६ करोड रुपैयाँ राजाको फोटो अंकित नोट छ । यसमध्ये मंगलबार र वुधवार गरी करिव २ अर्ब रुपैयाँ राजाको फोटो अंकित नोट फिर्ता आएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment