गोर्खा बैंकबाट एकै दिन ५ करोड झिकियो

सुदर्शन सापकोटा,

 काठमाडौं, चैत १२ 

-राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि एकै दिन शुक्रबार गोर्खा डेभलपमेन्ट बैंकबाट निक्षेपकर्ताले ५
करोड रुपैयाँ निकालेका छन्। केन्द्रिय बैंकले बिहीबार बैंकलाई समस्याग्रस्त घोषणा गर्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको थियो। केन्द्रिय बैंकले आइतबार बैंकका कार्यकारी अध्यक्ष डिबी बम्जनलाई पाँच लाख रुपैयाँ जरिवाना गर्दै पदबाट निलम्वन गर्ने भएको छ।

उनको अगुवाइमा अब्दुल कवाडीलाई दिएको १२ करोड ४१ लाख कर्जा दुरुपयोग भएको तथा कमलादीस्थित जग्गा खरिदका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड रुपैयाँ बैना दिएकाले उनलाई निलम्बन गर्न लागिएको हो।

उनलाई बैंकिङ कसुर ऐन अनुसार कारवाही चलाइने केन्द्रिय बैंक स्रोतले जानकारी दियो। ९० करोड रुपैयाँको यो जग्गाका लागि बैंकले पटक पटक गरी ३० करोड रुपैयाँ वुझाएको हो। बैना वुझाउन बैंक सञ्चालक समितिका आमन्त्रित सदस्य तथा सेयर बजारका ठूला लगानीकर्ता राकेश अडुकियालाई पनि केही दिनभित्रै बैंकिङ कसुर ऐन अनुसार कारवाही गरिने स्रोतले बतायो।
'एकैचोटी सवै सञ्चालकलाई कारवाही गर्दा बैंक नै सञ्चालन गर्न समस्या पर्ने देखिएको छ,' केन्द्रिय बैंकका एक सञ्चालकले शुक्रबार नागरिकसँग भने, 'त्यही भएर आइतबार बम्जनलाई मात्र निलम्बन गर्छौ।' उनले आगामी १५ दिनपछि बैंकमा नयाँ सञ्चालक समिति आएपछि बाँकीलाई उनीहरुको गल्तीका आधारमा कारवाही गरिने जानकारी दिए।
'प्रारम्भिक अध्ययनले वोर्डका सबै सदस्य दोषी पाइएको छ,' ती सञ्चालकले भने, 'तर तत्काल कारवाही गर्ने अवस्था नभएकाले दोशी पाइएपनि नयाँ सञ्चालक समिति नआउन्जेल कारवाही गर्न सकिने अवस्था छैन।'
शुक्रबार बैंकमा निक्षेप झिक्नेको लाइन लागेपछि बैंकले वढीमा एक लाख रुपैयाँसम्मको मात्र निक्षेप फिर्ता गरिरहेको छ। बैंकले अन्तर शाखा कारोबार सेवामा समेत रोक लगाउँदै खाता खोलेकै शाखाबाट मात्र निक्षेप झिक्न पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका अनुसार बैंकको पुँजी पर्याप्तता अनुपात २ प्रतिशतमा झरेको छ। जबकी यो १० प्रतिशतभन्दा माथि हुनु पर्छ। केन्द्रिय बैंकले यो अनुपात १० प्रतिशतभन्दा माथि पुर्‍याउनलाई संस्थापक सेयरधनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। बैंकको निस्किृय कर्जा पनि १७ दशमलव ५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले यो कर्जा ५ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ।
डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष झपट वोहोराको नेतृत्वमा बैंक सञ्चालकको एक टोली राष्ट्र बैंकसँग गुनासो गर्न शुक्रवार गएको थियो। उनीहरुले डेपुटी गभर्नर गोपाल काफ्लेलाई भेटेका थिए। 'हामीले तत्कालका लागि बैंकलाई पैसा उपलब्ध गराउन आग्रह गर्‍यो,' बैंकका एक सञ्चालकले भने, 'डेपुटी गभर्नरले पहिले राष्ट्र बैंकले तोकेको सुधारका कार्यक्रम सञ्चालन गर्नुस अनि कस्तो सहयोग गर्नु पर्छ गरौंला भनेर आस्वासन दिनु भयो।'
उनले बैंकको आर्थिक अवस्था विग्रिनसकेकाले निक्षेपकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको दावी गरे। बैंक सञ्चालकले राष्ट्र बैंकसँग असल कर्जा तथा सम्पतिको धितोमा पैसा उपलब्ध गराउन आग्रह गरेको थियो।
'जग्गामा गएको ३० करोड फिर्ताका साथै अब्दुल कवाडीलाई दिएको १२ करोड ४१ लाख रुपैयाँ फिर्ता ल्याएपछि सहयोग गर्ने केन्द्रिय बैंकतर्फको कुरा आयो,' काफ्लेलाई भेटेर फर्किएपछि एक सञ्चालकले भने, 'हामी पनि सुधारको पक्षमा छौं, राष्ट्र बैंकको मार्गनिर्देशन अनुसारनै गएर बैंक सञ्चालन गछर्ौं।'
बैंक सञ्चालकका अनुसार बैंकसँग अहिले चारअर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। दश दिनअघि यो साढे पाँच अर्ब थियो।
अहिले भएको निक्षेपमध्ये ५० प्रतिशत संस्थागत निक्षेपकर्ताको पैसा बैंकसँग छ। बाँकी सवा दुई अर्व रुपैयाँमध्ये आधा मुद्दति निक्षेपमा छ। जसको नवीकरण गर्नु पर्ने समय अझै ६ महिना छ।
करिव एक अर्ब रुपैयाँमध्ये ५० करोड बैंकको सञ्चालक र उनका आफन्तको पैसा छ। ५० करोड रुपैयाँ मात्र साधारण निक्षेपकर्ताको भएको बैंकले जनाएको छ। बैंकमा कुल ३३ हजार खाता छन्।

'बैंक जिम्मा लिइदिनुस्'
काठमाडौं - डेपुटी गभर्नर काफ्लेलाई भेट्न गएका संघका पदाधिकारी र बैंक सञ्चालकले बैंक सञ्चालनको जिम्मा लिइदिन आग्रह गरेका छन्।
उनीहरुले बैंकसँग निक्षेपकर्ताको पैसा तिर्न नसकिने र तत्काल सञ्चालकबाट पैसा हाल्न सक्ने अवस्था नरहेकाले सञ्चालन तथा व्यवस्थापन लिन आग्रह गरेका हुन्।
'राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिइदिँदा बैंकप्रति जनविश्वास कायम रहन्छ,' गोर्खाका एक अधिकारीले भने, 'बैंकलाई समस्याग्रस्त भनेर छाडिदिँदा जनविश्वास गुमेर बैंक खारेजीको अवस्थामा पुग्ने भएकाले आग्रह गरेका हौं।' राष्ट्र बैंकले भने बैंक राम्रो ढंगबाट चलोस् भनेरै तत्काललाई समस्याग्रस्त घोषणा गरिएको भन्दै सुधार गरेर लैजान सञ्चालकसँग पर्याप्त समय रहेको बताएको स्रोतले जानकारी दियो।
'अनियमितता भएको कर्जा उठाउनुस्, बैंकमा अलिकति पैसा थप्नुस् समस्या हुँदैन,' काफ्लेलाई उदृत गर्दै ती सञ्चालकले भने, 'त्यसपछि पनि समस्या भए के सहयोग गर्नु पर्छ गरौंला।'

No comments:

Post a Comment

thanks for comment