विकास बैंक र फाइनान्सको खराब कर्जा ३० प्रतिशतले बढ्यो


सुदर्शन सापकोटा
काठमाडौं, फागुन २९- 
कुल लगानीमध्ये घरजग्गा क्षेत्रमा ३५ प्रतिशतसम्म कर्जा दिएका विकास बैंक र फाइनान्स कम्पनी (वित्तीय संस्था) को ठूलो रकम उठेको छैन।

असारदेखि पुससम्म वित्तीय संस्थाहरुको कुल कर्जा वृद्धि १० प्रतिशतमात्र भएको अवस्थामा खराब कर्जा ३० प्रतिशतले बढेको छ। यसले ठूलो रकम नउठेको संकेत गर्छ। राष्ट्र बैंक र सरकारी नीतिका कारण घरजग्गा कारोबार र मूल्यमा आएको गिरावटले यस्तो क्षेत्रको कर्जा नउठेको हो।

पछिल्लो वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा पुस मसान्तसम्म वित्तीय संस्थाको खराव कर्जा ३० प्रतिशतले बढेको छ। असार मसान्तमा २ अर्ब २८ करोड रुपैयाँ भएकामा पुससम्म २ अर्ब ९६ करोड पुगेको छ।

'घरजग्गा लगायत अन्य औद्योगिक कर्जाको पैसा आउन छाडेको छ,' विकास बैंक संघका अध्यक्ष झपट बोहोराले शनिबार नागरिकसँग भने, 'राष्ट्र बैंक र सरकारी नीतिका कारण अहिले मन्दी आएर समस्या देखिएको हो।'

वित्तीय संस्थाले पुस मसान्तसम्म १ खर्ब ४२ अर्ब ४६ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका छन्। यसमध्ये घरजग्गामा मात्र ५५ अर्ब रुपैयाँ लगानी छ। चालु वर्षको पहिलो महिनादेखि नै घरजग्गामा गएको कर्जा किस्ता उठ्न छाडेपछि उनीहरूले यस्तो कर्जाको २५ प्रतिशत रकम संभावित नोक्सानी व्यवस्थाका लागि छुट्ट्याउनु परेको छ। घरजग्गासँगै हायर पर्चेज, इँटा, टायल, छड, सिमेन्टलगायत उद्योगमा गएको कर्जासमेत उठ्न छाडेको छ।

'मूल्य घटेर बेच्दा पनि घरजग्गाको कारोबार हुन सकेको छैन, यसले व्यवसायीलाई पैसा तिर्न समस्या भएको छ,' इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले नागरिकसँग भने, 'मूल्य घटेपछि धेरैको पैसा घरजग्गामा अड्किएकाले तुरुन्त वाहिर निस्किने अवस्थासमेत छैन।' उनले अर्थतन्त्रमा सुधार आएपछि घरजग्गामा पनि सुधार आइ समस्या समाधान हुने बताए।

वित्तीय संस्थाका प्रमुखहरुका अनुसार, राष्ट्र बैंकले कर्जाको व्याज नउठ्दा पनि त्यसको संभावित नोक्सानी व्यवस्था गर्नु पर्ने नीति लिएका कारण खराव कर्जा बढेको हो। 'राष्ट्र बैंक नीतिले नोक्सानी व्यवस्थाको रकम वृद्धि भएको हो,' एक फाइनान्सका प्रमुख कार्यकारीले भने, 'एउटा त्रैमासमा व्याज नउठ्दा २५ प्रतिशत नोक्सनी व्यवस्था गर्नुपर्छ। यसले खराव कर्जा बढाएको छ।'

कर्जा तथा यसको व्याज तोकिएको सीमाभित्र नउठ्दा नोक्सानी व्यवस्था गर्नु पर्छ। राष्ट्र बैंकले कर्जा दिने वित्तिकै (असल कर्जा) २५ प्रतिशत, तीन महिनापछि किस्ता र व्याज आउन छाडे २५ प्रतिशत, ६ महिनामा ५० र एक वर्षपछि सत् प्रतिशत नोक्सानी व्यवस्थामा रकम छुट्याउनु पर्ने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले कुल कर्जाको २५ प्रतिशत सावाँ र व्याजतिरे बाँकी ७५ प्रतिशत कर्जा एक वर्षका लागि नवीकरण गर्नसक्ने व्यवस्था गरेको छ।

करोडौं ऋण लिएर घरजग्गा र प्लटिङ व्यवसायमा लगानी गरेका व्यवसायीले ऋण तिर्न नसक्दा बैंक कर्जा समस्यामा पर्न थालेको उनीहरूको भनाई छ। अहिले घरजग्गा किनबेच ठप्प भएको र मूल्य पनि ३० प्रतिशतसम्म घटेकाले व्यवसायी कर्जा तिर्न सक्ने अवस्थामा छैनन्।  ५० लाखसम्मको घरजग्गा खरिद विक्री तथा १० लाखको बैंक कारोबारमा स्रोत खोज्ने सरकारी व्यवस्थाले घरजग्गा कारोबार घटाउन सहयोग गरेको हो।

'पछिल्लो समयमा कर्जाको व्याज महँगिदा समेत ऋण तिर्न व्यवसायीलाई गाह्रो भएको छ,' इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रवन्ध निर्देशक इन्द्रराज हुमागाईले नागरिकसँग भने, 'तरलता अभावको स्थिति हटेर व्याज दर तल आएपछि समस्या हटेर जान्छ।' उनले असोज र पुसमा वित्तीय संस्थाले कर्जाको सावाँ र व्याज तिर्न त्यति दवाव नदिने भएकाले पनि खराव कर्जा वढेजस्तो देखिएको दावी गरे। 'चैत र असारमा जसरी पनि व्यवसायीले कर्जा तिर्ने भएकाले त्यसबेला खराब कर्जामा सुधार आउन सक्छ,' उनले भने।

केन्द्रीय बैंकले उनीहरुलाई चालु वर्षको असार मसान्तसम्म घरजग्गा कर्जालाई ३० प्रतिशतमा झार्न निर्देशन दिएको छ। साथै आगामी वर्ष यसलाई २५ प्रतिशतमा झार्नुपर्छ। वाणिज्य बैंकको यो क्षेत्रमा करिव एक खर्ब लगानी छ।

No comments:

Post a Comment

thanks for comment