गोर्खा बैंकलाई कारोवारमा रोक

सुदर्शन सापकोटा, 
काठमाडौं, चैत ११- 
राष्ट्र बैंक सञ्चालक समितिको आकस्मिक बैठकले कर्जा अनियमितता भएको पाइएपछि गोर्खा डेभलपमेन्ट बैंकलाई 'समस्याग्रस्त' घोषणा गर्दै सुधारका लागि छ महिना दिएको छ। अब उसले निक्षेप लिन र कर्जा दिन पाउनेछैन।

राष्ट्रबैंकले बिहीबारै सम्झना फाइनान्सलाई खारेज गर्न कानुनी प्रक्रिया सुरु गर्ने निर्णयसमेत गरेको छ।
दिएको समय छ महिनाभित्र गोर्खा बैंकमा सुधार नआए खारेजीमा पठाउन सक्ने अधिकार राष्ट्र बैंकसँग छ। गत असारमा अब्दुल कवाडीका नाममा प्रवाह भएको १२ करोड ४१ लाख रुपैयाँ कर्जामा अनियमिता पुष्टी भएको थियो। यही कर्जा सम्बन्धमा गत शुक्रबारबाट बैंकमा निरीक्षण गएको राष्ट्र बैंकको एक टोलीले व्यापक आर्थिक दुरुपयोग भएको प्रतिवेदन बुधबार बुझाएपछि केन्द्रीय बैंकले उसलाई समस्याग्रस्त घोषण गरेको हो।

'बैंकलाई समस्याग्रस्त घोषण गरेर सुधार प्रक्रिया थालिनेछ,' वैठकपछि एक सञ्चालकले नागरिकसँग भने, 'छानविनमा गएको टोलीले गल्ति गरेको रिपोर्ट दिएपछि कारवाही थालिएको हो।'
६६ करोड चुक्ता पुँजी रहेको बैंकसँग गत पुस मसान्तसम्म साढे पाँच अर्ब निक्षेप छ। यसमध्ये ५० करोड रुपैयाँ केन्द्रीय बैंकको हो। बैंकले ५ अर्ब कर्जा प्रवाह गरेको छ। बैंकको सुशासनबारे प्रश्न उठाउँदै सञ्चार माध्यममा समाचार आएपछि गत शुक्रबारसम्म निक्षेप घटेर ४ अर्ब ७० करोडमा झरिसकेको छ। गत वर्ष बैंकले ७ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो।
टोलीको रिपोर्टअनुसार बैंकले कमलादीस्थित जग्गाका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड रुपैयाँ बैना भुक्तान गरेको छ। बैंकले ९० करोड पर्ने जग्गाका लागि पटक-पटक गरेर ३० करोड बुझाएको हो। साथै केही साता अगाडि मात्रै मदन गुरुङलाई प्रवाह भएको ६ करोड कर्जा रकम फिर्ता नभइ धितो फुकुवा गरेको पुष्टी भएको छ।
'९० करोडको जग्गाका लागि गएको ३० करोड रकमका लागि बम्जन र सञ्चालक समितिका एक आमन्त्रित सदस्यलाई बैंकिङ कसुर ऐन अनुसार कारवाही गरिने निर्णय भएको छ,' सोतले भन्यो। स्रोतका अनुसार आगामी सात दिनभित्र कर्जा दुरुपयोगमा बाँकी सञ्चालकको हात रहे/नरहेको अध्ययन गरेर कारवाही चलाइने छ। केन्द्रीय बैंकले १५ दिनभित्र विशेष साधारणसभा मार्फत नयाँ सञ्चालक समिति गठनका लागि पनि निर्णय भएको छ।
बैंकमा केन्द्रीय बैंकका डेपुटी डाइरेक्टर प्रदिप अधिकारीको नेतृत्वमा तीन सदस्यीय टोली निरीक्षणमा गएको थियो।
समस्याग्रस्त घोषणपछि केन्द्रीय बैंकले बैंक सेयरधनीलाई दिने लाभांशमा रोक, सञ्चालक तथा अन्य उच्च पदाधिकारीलाई प्रदान गरिने बोनस, पारिश्रमिक, क्षतिपूर्ति र अन्य रकम वितरणका सीमा निर्धारण गर्छ। साथै पुँजी पर्याप्तता तथा तरलताको अनुपात उच्च राख्नु पर्छ। बैंकको व्यवसायिक करोबारमाथि प्रतिबन्धका साथै शाखा विस्तारमा रोक लाग्छ।
'प्रतिवेदनले बम्जनसहित सबै सञ्चालक र कर्जा प्रवाहमा संलग्न कर्मचारीलाई दोषी देखाएको छ,' स्रोतले भन्यो, 'उनीहरू सबैलाई जरिवाना गरिने छ।' स्रोतका अनुसार जरिवानासँगै उनीहरू निलम्बित हुने छन्। 'अहिलेलाई समस्याग्रस्त मात्र घोषण गरिएको हो,' स्रोतले भन्यो, 'थप अनुसन्धान गरी उनीहरूलाई केही दिनमै जरिवानासँगै निलम्बन गरिनेछ।'
स्रोतका अनुसार तत्काल कारवाहीमा जाँदा बैंक सञ्चालनमा समस्या हुने भएकाले केही दिन पर्खिएको हो। राष्ट्र बैंक ऐनमा पनि सञ्चालक, व्यवस्थापक र कर्मचारीलाई हटाउन पाउने व्यवस्था छ।
'अहिले बैंक लिएर चलाउन राष्ट्र बैंकसँग कर्मचारी पनि छैनन् भन्ने कुरा आयो,' स्रोतले भन्यो, 'केही दिनमा निलम्वन गरी बैंक सञ्चालन गराउन अधिकारी नियुक्त गरिने छ।' उनले अधिकारी चयन नभएको जानकारी दिए।
समस्याग्रस्त घोषणासँगै बैंकको पुँजीको निर्धारण, सम्पत्ति तथा दायित्व मूल्यांकन केन्द्रिय बैंकले तोके अनुसार हुन्छ।
राष्ट्र बैंकले कर्जा दुरुपयोग भएको ठहर गरेपछि बम्जनसहित सञ्चालकलाई पाँच लाख रुपैयाँ जरिवाना किन नगर्ने भनेर स्पष्टीकरण सोधेको म्याद बिहीबार सकिएको छ। उनीहरूले चित्तबुझ्दो उत्तर दिन नसकेको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए।
सम्झना खारेजीमा
बिहीबारको बैठकले एक महिनाअघि समास्याग्रस्त घोषित सम्झना फाइनान्सलाई खारेजीमा लैजाने निर्णय गरेको छ। खारेजी गर्नका लागि राष्ट्र बैंकले पुनरावेदन अदालतमा निवेदन दिने स्रोतले बतायो। फाइनान्सले सर्वसाधारणको ३१ करोड रुपैयाँ निक्षेप उठाएको छ।
फाइनान्स खारेजीमा गएपछि अदालतले लिक्विडेटर नियुक्त गर्नेछ। लिक्विडेटरले कम्पनीको कर्जा उठाउने, सम्पत्ति बिक्रीलगायतबाट आएको रकमले साधारण निक्षेपकर्ताको निक्षेप फिर्ता गर्छ। पछिल्लो पटक नेपाल डेभलपमेन्ट बैंक खारेज भएको थियो।

No comments:

Post a Comment

thanks for comment