तरलता अभाव थप लम्बियो

सुदर्शन सापकोटा
काठमाडौं फागुन १५
बैंकिङ क्षेत्रमा निक्षेप वढ्न नसक्दा तरलता अभाव थप लम्बिएको छ । सरकारी उच्च बचत शोधनान्तर घाटाले निक्षेपमा सुधार नहुँदा तरलता लगानीयोग्य पुँजी अभाव लम्बिएको हो ।
तरलता अभावले गर्दा बैंकहरुले आपसमा लिने सापटी अन्तरबैंक दर आइतबार साढे १० प्रतिशत पुगेको छ । गत महिना नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको पेन्सन रकम भुक्तानी भएपछि केही ओरालो लागेको यो दर तीन सातादेखि नियमित उकालो लागिरहेको छ ।
'सरकारी खर्च हुन नसक्दा नै तरलता अभाव लम्बिएको हो,' बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भन्डारीले भने , 'यसलाई सरोकारवाला निकायले सम्वोधन नगरे कर्जा लगानीमा ठूलो कठिनाइ हुन्छ ।' अर्थमन्त्रालयका अनुसार सरकारी खातामा अहिले २२ अर्ब रुपैयाँ बचत छ । पुँजीगत खर्च जम्मा १८ अर्ब रुपैयाँ मात्र भएको छ ।
तरलता अभावले अन्तर बैंक ब्याज दरसँगै स्थायी तरलता सुविधा एसएलएफ को दर पनि साढे १२ प्रतिशत माथि पुगेको छ । 
तरलता अभाव गहिरिन थालेपछि राष्ट्र बैंकले सरकारी ऋणपत्रको धितो रिपो मार्फत गत बिहीबार मात्र ५ अर्ब रुपैयाँ बजारमा प्रवाह गरिसकेको छ । यो सहित केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा छाडिसकेको छ । बैंकहरुले ९।८६ प्रतिशतका दरमा रिपो लिइरहेका छन् ।
दुई सातायता अन्तर बैंक सापटी दिनेभन्दा लिने कम्पनीको संख्या थपिन थालेको छ । प्राइम डिसिबिएल सिद्धार्थ सिटिजन्स् एनसिसीलगायतका एक दर्जनभन्दा वढी बैंकले अन्तर बैंक सापटी माग गरिरहेका छन् । स्ट्यान्डर्ड चाटर्ड लक्ष्मीलगायत केही बंैकले मात्र सापटी दिइरहेका छन् ।
दसैयता १३ प्रतिशतसम्म पुगेको अन्तर बैंक ब्याज दर एक महिनाअघि दुई बैंकको पेन्सन रकम भुक्तानी भएपछि अन्तर बैंक दर पाँच प्रतिशतसम्म झरेको थियो । दसैअघि अन्तर बैंक दर डेढ प्रतिशतको हाराहारीमा थियो ।
बैंकसं संघका अनुसार गत असार मसान्तमा बैंकहरुसँग ६ खर्ब ३१ अर्ब निक्षेप थियो । गत असोज अन्तिममा यो घटेर ६ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भयो । पुस मसान्तमा केही वढेर ६ खर्ब २३ अर्ब पुग्यो । गत साता असार मसान्तकै जति अर्थात ६ खर्ब ३१ अर्बमा छ ।
तरलता अभाव लम्बिएपछि बैंकहरुले केन्द्रीय बैंकसँग स्थाइ तरलता सुविधा एसएलएफ पनि लिइरहेका छन् । महँगो दरको एसएलएफ वढीमा पाँच दिनमा भुक्तानी गरिसक्नु पर्छ । छोटो अवधिको लागि लिइने यो कर्जाको दर टे्रजरीको दरभन्दा ३ प्रतिशत वढी हुन्छ । अहिले एसएलएफको दर साढे ११ प्रतिशतभन्दा माथि छ ।
गत आर्थिक बर्षको अन्तिम र चालु बर्षको सुरुको अवधि गरेर दुई महिनाको समयमा करिव ४० अर्ब रुपैयाँले निक्षेपमा बृद्धि भएपछि विज्ञापन गर्न छाडेका बैंक तथा वित्तीय कम्पनीले अहिले धमाधम आकर्षक ब्याज सहितको विज्ञापन छाप्न थालेका छन् । बैंकहरुले वार्षिक १२ प्रतिशतसम्म र विकास बैंक तथा फाइनान्स कम्पनीहरुले १६ प्रतिशतसम्म व्याज दिने घोषणा गरिरहेका छन् ।
वाणिज्य बैंकको निक्षेपमा खासै सुधार नभए पनि कर्जामा वढिरहेको छ । असार मसान्तसम्म ४ खर्ब ६५ अर्ब रुपैयाँ रहेको कर्जा अहिले ५ खर्ब ९ अर्ब पुगेको छ । निक्षेपको तुलनामा कर्जा बढ्न थालेकाले बैंकहरुको कर्जा-निक्षेप अनुपात सिडी रेसियो मा समेत बृद्धि भएको छ । अहिले यो अनुपात ८८ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म यो ८५ प्रतिशतको हाराहारीमा थियो ।

No comments:

Post a Comment

thanks for comment