समस्यामा परेका वित्तीय संस्थालाई ऋण

काठमाडौं, चैत ११ (नागरिक) -
 ग्राहकले ठूलो परिमाणमा निक्षेप झिकेर बैंक तथा वित्तीय संस्थालाई अप्ठेरो परेमा केन्द्रीय बैंकले ऋण दिने भएको छ। अन्तिम ऋणदाता व्यवस्थाअन्तर्गत केन्द्रीय बैंकले यस्तो नीति लिएको हो।

संस्थामा प्रणालीगत जोखिममा बढेर स्वस्थ बैंक तथा वित्तीय संस्था धरायसी हुने अवस्था आए, प्रतिवद्धता जनाइ सकेको कर्जा प्रवाह गर्न असफल भए नकारात्मक असर अर्थ व्यवस्थामा पर्न जाने भएकाले केन्द्रीय बैंकले ऋण दिनेछ। केन्द्रीय बैंकले बिहीबार यो व्यवस्था गर्दै कुनै संस्था असफल भएर सर्वसाधारणको बैंकिङ प्रणालीबाटै विश्वास उठ्ने अवस्था आएमा पनि ऋण दिने जनाएको छ। उसले प्राकृतिक प्रकोप तथा संस्थाको बजारयोग्य सम्पति नभएर दायित्व पुरा गर्न नसकेको अवस्थामा पनि ऋण दिनेछ।
यस्तो कर्जा पाउन भने सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैले पहल गर्नुपर्ने हुन्छ। सहयोग पाउनका लागि बैंक वित्तीय संस्थाका सञ्चालकले पुनरुत्थान कार्य योजना पेस गर्नुपर्छ। उसको कार्ययोजनाप्रति राष्ट्र बैंकलाई विश्वास लागेमा मात्र कर्जा उपलब्ध हुन्छ। साथै समस्यामा परेको संस्था दीर्घकालमा स्वस्थ भएर सञ्चालन हुनेमा केन्द्रीय बैंक ढुक्क हुनुपर्छ।
राष्ट्र बैंकले समस्यामा परेको संस्थाको वासलातमा देखिएको सम्पतिलाई धितोका रुपमा लिएर कर्जा दिने जनाएको छ। यस्तो कर्जाको ब्याज दर बैंक दरका आधारमा लिइने छ। अहिले बैंक दर सात प्रतिशत छ।

No comments:

Post a Comment

thanks for comment