गोर्खा बैंकमा २८ गते साधारणसभा

सुदर्शन सापकोटा
काठमाडौं, चैत १४-
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको गोर्खा डेभलपमेन्ट बैंकलाई नयाँ नेतृत्वमा सञ्चालन गर्न यही चैत २८ गते विशेष साधारणसभा डाकिएको छ। कार्यकारी अध्यक्ष डिबी बम्जनलगायत सञ्चालक समितिले कर्जा दुरुपयोग गरेको पुष्टि भएपछि शुक्रबार बैंकलाई समस्याग्रस्त घोषणा गरिएको थियो।

त्यतिखेरै राष्ट्र बैंकले १५ दिनभित्र नयाँ सञ्चालक समिति चयन गर्न निर्देशन दिएको थियो। नयाँ व्यवस्थापनले चुस्त रूपमा बैंक सञ्चालन गर्ने अपेक्षासहित यस्तो निर्देशन दिइएको हो।


निक्षेपकर्ताको ठूलो रकम जोखिममा पारेको भन्दै राष्ट्र बैंकले बम्जनलगायत सात सञ्चालकको बैंक खाता रोक्का गरेको छ। 'सबै सञ्चालकको खाता रोक्का गरेका छौं,' डेपुटी गभर्नर महाप्रसाद अधिकारीले आइतबार नागरिकसँग भने।
गएको माघ महिनासम्म बैंकमा करिब ४ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप थियो। समस्याग्रस्त घोषणा हुँदासम्म एक अर्ब २५ करोड झिकिइसकिएको छ। यसमध्ये पाँच करोड रुपैयाँ शुक्रबारै झिकियो। आइतबार पनि दुई सय ग्राहकले एक लाख रुपैयाँ दरमा निक्षेप फिर्ता लिए। बैंकले अन्तरशाखा कारोबार, एटिएम र चेक क्लियरेन्स सेवा बन्द गर्दै सीमित निक्षेपमात्र भुक्तानी गरेको छ। 'उठाएको ठूलो निक्षेप लगानी गरिसकेकाले तत्काल सबैलाई मागेजति दिनसक्ने अवस्था छैन,' एक सञ्चालकले भने, 'भुक्तानी गर्न समय लागे पनि सबैको निक्षेप तिर्न बैंक सक्षम छ।'

बैंकका कर्मचारीले आइतबार डेपुटी गभर्नर अधिकारीलागयत अन्य पदाधिकारीलाई भेट्दै बैंक सञ्चालनमा लिइदिन आग्रह गरे। समस्याग्रस्त भनेर त्यसै छाडिदिँदा निक्षेपकर्ताको भीड बढेर बैंक बन्द हुने अवस्थामा पुग्ने उनीहरूको जिकिर छ। डेपुटी गभर्नर गोपाल काफ्लेले 'सञ्चालकहरूले पुँजी थप्ने र डुबेको कर्जा उठाउने आश्वासन दिएको' बताए। 'बैंकको अवस्था राम्रो छ। आश्वासन दिएअनुसार सुधार गरे राष्ट्र बैंकले सधैं सहयोग गर्छ,' उनले भने।

राष्ट्र बैंकले बैंक सुधारका लागि ६ महिनाको समय दिएको जनाएको छ। संस्थापक सेयरधनीले ५० देखि ६० करोड रुपैयाँ पुँजी थपेर खराब कर्जा उठाए बैंकलाई सहयोग गर्ने राष्ट्र बैंक स्रोतले बतायो। बैंकमा ७४ संस्थापक सेयरधनी छन्। यसमध्ये ६७ ब्रिटिस गोर्खाका पूर्वकर्मचारी छन्। राष्ट्र बैंकले दुई प्रतिशतमा झरेको पुँजीकोष १० प्रतिशत पुर्‍याउन निर्देशन दिएको छ। अनियमितता भएको ५० करोड कर्जा तत्काल उठाउनू पनि भनेको छ।
सञ्चालक तथा संस्थापक सेयरधनीले आइतबार अर्थमन्त्री भरतमोहन अधिकारीसँग पनि भेटे। उनीहरूले विदेशमा कमाएको पैसा नेपालमा लगानी गरेकाले बैंकलाई डुब्नबाट जोगाउन पहल गरिदिन आग्रह गरेका छन्। 'समस्याग्रस्त भनेर छाडिदिँदा दुःख गरेर कमाएको पैसाबाट खोलेको बैंक डुब्छ,' एक सञ्चालकले भने, 'राष्ट्र बैंकले सञ्चालन तथा व्यवस्थापन लिइदिएर जोगाइदिनुपर्‍यो।' अर्थमन्त्रीले निक्षेपकर्ताको सुरक्षाका लागि पनि बैंक बाँच्नुपर्ने बताएका थिए।

राष्ट्र बैंकले गत असारमा अब्दुल कवाडीको नाममा प्रवाह भएको १२ करोड ४१ लाख रुपैयाँ कर्जासँगै जग्गा खरिदका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड भुक्तानी गरेको पुष्टि भएपछि समस्याग्रस्त घोषणा गरेको थियो।

No comments:

Post a Comment

thanks for comment