निजी क्षेत्रका कर्मचारीले पनि पेन्सन पाउन सक्ने

काठमाडौं, फाल्गुन २१ 
निजी कम्पनीमा काम गर्ने कर्मचारीलाई लक्ष्य गरी ६ वटा जीवन बिमा कम्पनीहरुले पेन्सन योजना ल्याउने तयारीमा जुटेका छन्। बिमा समितिले स्वीकृति दिए यी कम्पनीहरुले यसै महिनादेखि पेन्सन योजना सुरु गर्ने बताएका छन्।

‘सरकारी जागिर नहुनेका लागि यो राम्रो बिमा योजना हुनेछ,’ प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रेस्टा झाले बिहीबार नागरिकसँग भने, ‘पेन्सन योजनाअन्तर्गत थोरैथोरै पैसा प्रिमियम बुझाउँदै निश्चित अवधिपछि पेन्सनका रुपमा त्यो पैसा पाइनेछ।’ उनले समितिले स्वीकृति दिए यसै महिनाभित्र सेवा सुरु गरिने जानकारी दिदै भने ‘हाम्रो कम्पनीले यसबारे सबै आन्तरिक तयारी पूरा गरेको छ।’
बिमा समितिका अनुसार सञ्चालनमा रहेका ९ जीवन बिमा कम्पनीमध्ये ४ ले यसबारेमा स्वीकृति माग गरेका छन्। बाँकी दुईले यसका लागि गृहकार्य गरिरहेका छन्। प्राइम, नेपाल लाइफ, मेटा एलिको, लाइफ इन्स्योरेन्स कर्पोरेसनले स्वीकृतिका लागि आवेदन दिएका छन्। गुराँस र एसियन लाइफले पेन्सन योजनाको तयारी गरिरहेका छन्।

कम्पनीहरुका अनुसार ग्राहकले निश्चित समयसम्म पैसा बुझाएपछि त्यसैको अनुपातमा भविष्यमा महिनाबारी पैसा पाउँछ। पेन्सनका रुपमा पाइने यो पैसामा उसले बुझाउने प्रिमियमसहित बोनस पनि जोडिन्छ।
यो योजनामा सहभागीको समय नपुग्दै बीचमा मृत्यु भए त्यो वापतको रकम उसको नजिकको नातेदारले पेन्सन पाउँछ। केही कम्पनीले त्यो रकम एकमुष्ठ नातेदारलाई दिने व्यवस्थासमेत मिलाएका छन्।
‘विदेशमा यस्तो योजना सफल रुपमा सञ्चालनमा रहेकाले नेपालमा पनि प्रयोग गर्न खोजेका हौं,’ एलिको मेटा लाइफ इन्स्योरेन्स कम्पनीका एक अधिकारीले नागरिकसँग भने, ‘बढीमा ५५ वर्षसम्म उमेर समूहका कर्मचारीले यसमा सहभागी जनाउन सक्छन्।’ उनले नियमित आम्दानी भएर पनि भविष्यमा सामाजिक सुरक्षा नहुने कर्मचारीका लागि यो उपयुक्त योजना भएको दाबी गर्दै उनले ग्राहकले इच्छाएको रकमअनुसार बिमा गर्न सकिने व्यवस्था मिलाएको जानकारी दिए।
कम्पनीहरुले न्यूनतम एक लाखदेखि अधिकतम जति पनि रकमको पेन्सन कार्यक्रम ल्याउन लागेका छन्। उनीहरुका अनुसार ग्राहकले १० लाख रुपैयाँका लागि १० वर्षे अवधिको योजनामा सहभागी हुन चाहे मासिक करिब ८ हजार ५ सय रुपैयाँ बुझाउनुपर्ने हुन्छ। समय अवधि सकिएपछि ग्राहकले आकर्षक वोनससहित मासिक त्यति नै रकम पाउँछन्।
‘१० वर्ष लगाएर जम्मा गरेको रकम अवकासपछिको पाँच वर्षैमा पनि पाउन सकिन्छ,’ झाले भने, ‘एक सय वर्ष पुगुन्जेलसम्म पनि पाउन सकिन्छ।’ उनले ग्राहकको इच्छा अनुसारको समय र रकम पाउने व्यवस्था गरिएको जानकारी दिए।
कम्पनीहरुले निश्चित रकम तिरेर आजिवन पेन्सन लिन सक्ने कार्यक्रम पनि ल्याने तयारीमा छन्। तर, यसबारे विस्तृत योजना तयार गरिसकेका छैनन्। समितिका अनुसार कम्पनीहरुले निजी क्षेत्रका बहुसंख्यक जनसंख्यालाई फाइदा पुर्‍याउने गरि योजना ल्याउन खोजेकाले आवश्यक प्रक्रिया पुर्‍याइ चाँडै स्वीकृति दिने तयारीमा छ। ‘निजी क्षेत्रका कर्मचारीको सामाजिक सुरक्षामा राज्यले ध्यान नपुर्‍याएको अवस्थामा यस्तो योजनाले धेरैलाई फाइदा गर्छ,’ समितिका एक अधिकारीले भने, ‘थप सुविधासहित यस्ता योजना ल्याउन हामी कम्पनीलाई पनि उत्प्रेरित गर्छौं।’ उनले एक साताभित्र नै पेन्सन बिमा योजना सुरु गर्न स्वीकृति प्रदान गरिने जानकारी दिए।

No comments:

Post a Comment

thanks for comment