नोट साट्न १५० काउन्टर


राष्ट्र बैंकले राजाका तस्बिर अंकित नोट साट्न सोमबारबाट देशभरि बैंक तथा वित्तीय संस्थाका १ सय ५० काउन्टरको व्यवस्था गरेको छ। 'अब पूर्वराजाका तस्बिर अंकित नोट साट्न हामीले तोकेकै काउन्टरमा जानुपर्छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'ती काउन्टरबाहेक अन्त नोट कारोबार हुँदैन र साट्न पनि पाइँदैन।'

उनका अनुसार पूर्वराजाका तस्बिर अंकित नोट साट्न राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल बैंक लिमिटेड, एनबी बैंक लिमिटेड र एभरेस्ट बैंक लिमिटेडमा व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका आठ कार्यालय, नेपाल बैंक र राष्ट्रिय वाणिज्य तथा ग्लोबल, एनबी र एभरेस्टका २९ शाखा गरी डेढ सय शाखामा नोट सटही गर्न पाइने उनले जानकारी दिए।

'डेढ सय काउन्टरबाट पनि सर्वसाधारणलाई नोट साट्न समस्या भए काउन्टर थप्दै जान्छौं,' ज्ञवालीले भने, 'त्यस्ता नोट कारोबारमा नआउन् भनेर बजारबाट खिच्न लागिएको हो। अझै बजारबाट करिब १० अर्ब रुपैयाँबराबरका पूर्वराजाका तस्बिर अंकित नोट आउन बाँकी छ।'
पूर्वराजाका तस्बिर अंकित नोट सबै केन्द्रीय बैंकमा आइनपुगेसम्म नोट सटही गर्ने काउन्टर सञ्चालन भइरहने उनले बताए। सिक्काका हकमा भने सबै चलनमै रहने उनले जानकारी दिए।
राष्ट्र बैंकले फागुन मसान्तबाट राजाका तस्बिर अंकित नोट बजारबाट हटाउने घोषणा गत कात्तिक पहिलो साता गरेको थियो। चलनचल्तीमा रहेका नेपाली रुपैयाँको सुरक्षार्थ सफा नोट नीति कार्यान्वयनका लागि बैंकले यस्तो नीति लिएको थियो।
राष्ट्र बैंकले सफा नोट नीतिअनुसार राजाका तस्बिर अंकित नोटका सट्टा सगरमाथाका चित्र अंकित नोट चलनमा ल्याएको थियो। हालसम्म बैंकले सगरमाथा चित्र अंकित १ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ बराबरका नोट जारी गरिसकेको छ। गत कात्तिक पहिलो साता राष्ट्र बैंकले वाणिज्य बैंकका नाममा जारी गरिएको परिपत्रअनुसार राजाका तस्बिर अंकित नोटको बेग्लै प्याकेट बनाएर रातो स्लीप लगाइ केन्द्रीय बैंकमा साट्नु पर्ने व्यवस्था छ।

No comments:

Post a Comment

thanks for comment