कृषि पर्यटनमा लगानी वढाउ : प्रधानमन्त्री

सेन्चुरी बैंकको कारोबार सुरु
काठमाडौं फागुन २६
प्रधानमन्त्री झलनाथ खनालले बैंकहरुलाई कृषि पर्यटन विद्युत र पुर्वाधार निर्माण क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले देशको आर्थिक विकास गर्न बैंकको लगानी यसतर्फ केन्द्रित हुनु पर्ने बताउँदै लगानीका लागि प्रतिस्पर्धि हुन अनुरोध गरे ।
'संविधान निर्माणपछि आर्थिक क्रान्ति सुरु हुन्छ,' ३१औं वाणिज्य बैंकका रुपमा बिहीबारबाट कारोबार सुरु गरेको सेन्चुरी कमसर्ियल बैंकको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, 'यसका लागि लगानी गर्न बैंक तथा निजी क्षेत्र तयार हुन आवश्यक छ ।' उनले निजी क्षेत्रलाई साथमा लिएर विकास निर्माणमा अगाडि वढ्ने सरकारी सोच रहेको जानकारी दिए ।
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले उद्योग र कृषि क्षेत्रमा बैंक लगानी आकर्षित हुनु पर्ने बताए । जतात्यतै पुँजीको माग भएको भन्दै उनले बैंकहरुले कतै नअल्मली लगानी विस्तार गर्नु पर्ने जानकारी दिए ।

उनले संविधान निर्माणपछि ठूलो पुँजीको माग हुने भएकाले बैंकहरुले आफ्नो क्षमता वढाउनु पर्ने बताए । 'अहिलेको पुँजीले ठूलो लगानी गर्न पुग्दैन,' उनले भने, 'मर्जरमा गएर वा अन्य तरिकाले पुँजी वृद्धि गर्नुस ।' उनले मुलुकमा ३१ वटा बैंक पुगेको अवस्थामा अर्थतन्त्रले थेग्न सक्दैन कि भन्ने चिन्ता सवैतिरबाट व्यक्त भइरहेको बताउँदै अनुभवी र दक्ष व्यवस्थापन भए संख्या धेरै भएर फरक नपर्ने दावी गरे ।
गभर्नर युवराज खतिवडाले पछिल्लो समयमा बैंकहरुको स्प्रेड दर कर्जा र निक्षेपको व्याजदर बिचको फरक वढेको जानकारी दिँदै सेवाको गुणस्तरमा प्रतिस्पर्धि हुन बैंकहरुलाई आग्रह गरे । उनले बैंकहरुमा नाफा घट्नु हुँदैन भन्ने मानसिकताका कारण स्प्रेड वढेको दावी गरे ।
'अर्थतन्त्रको अवस्था अनुसार बैंकको वृद्धि हुनु पर्छ,' उनले भने, 'जस्तो सुकै अवस्थामा पनि अस्वभाविक नाफा खोजेर हुँदैन ।' उनले बैंकहरुले अहिले पनि सेवा शुल्क तथा अन्य कारोबारमा पारदर्शीता नपनाएको आरोप लगाउँदै स्प्रेड दर कम गरेर स्वभाविक नाफा मात्र खान आग्रह गरे ।
गभर्नरले नयाँ बैंक तथा वित्तीय संस्था खोल्नका लागि निवेदन लिने काम बन्द गरेको भन्दै शाखा शहरी क्षेत्रमा मात्र खोल्न नदिने बताए । 'पहिलेजस्तो शाखा न्युरोड र पुतली शडकमा खुल्न पाउँदैन अब,' उनले भने , 'कारोबारका लागि बैंक अब गाउँ नै जानु पर्छ ।'
बैंकका अध्यक्ष प्रदीपमान वैद्यले बैंकले चालु वर्षमा डेढ प्रतिशतको स्प्रेडमा काम गर्ने भन्दै आगामी वर्ष पनि २ प्रतिशतभन्दा माथि नजाने जानकारी दिए । उनले बैंक गाउँमूखि भएर कारोबार विस्तारमा जाने बताए ।

No comments:

Post a Comment

thanks for comment