गभर्नरको उपहार सास्ती

खानेपानी संस्थानको वानेश्वर शाखामा बिल तिर्न गएका ग्राहकसँग भएका राजाका तस्बिर अंकित नोट त्यहाँका कर्मचारीले लिन नमानेपछि झन्डै कुटाकुट भएको थियो। राष्ट्रिय वाणिज्य बैंकमा शिव आर्टका धु्रव श्रेष्ठ कार्यालयको पैसा साट्न गए। तर, उनी निराश भएर फर्किए। एकजनाले पाटन अस्पतालबाट आफ्नी पत्नीलाई डिस्चार्ज गरेर लैजाँदा राजाको तस्बिर भएको नोट दिए। राति १० बजे अस्पतालले पैसा नलिएपछि उनले रिसले मुर्मुरिँदै हातै छाडे। दुःख गरेर कमाएको पैसा चल्दैन भनिदिँदा रिस उठ्नु स्वाभाविकै हो।
नेपाल राष्ट्र बैंकले मंगलबारबाट राजाका तस्बिर अंकित नोट नसाँट्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका कारण सर्वसाधारणले पाउनुसम्म सास्ती पाएका छन्। निर्देशनकै कारण बैंकले नोट नसाट्ने त्रास व्याप्त छ। त्यसले गर्दा सरकारी तथा निजी संस्था, पसल, सार्वजनिक यातायातमा बिरलैमात्र राजाका तस्बिर अंकित नोट कारोबार भएका छन्।

हिजोअस्तिसम्म पनि पञ्चायतकालका नोट चलाउँदै आएका सर्वसाधारणले अचानक राजाका तस्बिर अंकित नोट चल्दैन भनिदिँदा दुःख पाउनु स्वाभाविक हो। खाँटी गणतन्त्रवादी देखिन गभर्नर युवराज खतिवडाले अव्यावहारिक नीति लिएका हुन् भनेर बुझ्न गाह्रो छैन।
नोट नचल्ने डरले अलिकति पढेलेखेका सर्वसाधारण राष्ट्र बैंकको शाखा खोज्दै हिँड्न बाध्य छन्। अशिक्षित र सोझासिधा जनतालाई तराईका बजारमा टाठाबाठाले राजाका तस्बिर अंकित १ हजारको नोट अबदेखि चल्दैन भन्दै ८ सयमा किनेर ठग्न थालेका छन्। यसमा जबाफदेही को हुने? गभर्नरको सनकका भरमा के रातारात राजाको फोटो भएको नोट बजारबाट हट्छ?

मंगलबारबाट राजाको तस्बिर अंकित नोट नचल्ने भन्ने छ। तर, बुधबारमात्र एक बैंकको एटीएम प्रयोग गरेर ५ हजार रुपैयाँ झिक्दा एउटा ५ सयको नोट राजाको तस्बिर अंकित झर्‍यो। यो नोटको जिम्मेवारी कसले लिने अब? नोटको समाचार संकलन गर्न जाँदा सार्वजनिक स्थलमा भेटिएका सर्वसाधारणको एउटै गुनासो आउँछ - जनतालाई दुःख किन?

प्युठानको बाँदीकोटका एकजना गाउँले १ हजारको राजाको नोट साट्न १० घन्टा हिँडेर १५ सय खर्च गरी सदरमुकाम आउनुपर्ने अवस्था भएको समाचार सार्वजनिक भएको छ। सदरमुकामभन्दा बाहिरका जनतासँग राजाका फोटो अंकित नोट धेरै छन्। के उनीहरू नोट साट्नकै लागि सदरमुकाम आउने? गभर्नरको अव्यावहारिक नीतिको पछाडि बजारबाट पूर्वगभर्नरका नोट हटाएर आफ्नो हस्ताक्षर भएका नोट चलाउने लोभ लुकेको प्रष्ट हुन्छ। यस्को पुष्टि उनी गभर्नर भएपछि संवाददातालाई दिएको अन्तर्वार्ताबाट हुन्छ। पत्रकारले उनलाई त्यतिबेला 'योजना आयोगको उपाध्यक्षजस्तो वरिष्ठ पद छाडेर किन राष्ट्र बैंक रोज्नु भएको' भन्ने प्रश्न गरेका थिए। उनले राष्ट्र बैंकमा ग्ल्यामर भएको र २० वर्ष राष्ट्र बैंकमा काम गर्दा नोटमा हस्ताक्षर गर्ने सपना भएका कारण यसलाई रोजेको बताएका थिए।

के उनको त्यो रहरको मूल्य अब सर्वसाधारणले सास्ती र दुःख खेपेर चुकाइ दिनुपर्ने हो? उनको यस्तो अलोकप्रिय नीति रोक्न राष्ट्र बैंककै उनका सहयोगीले सुझाव दिएका पनि हुन्। तर, मौद्रिक नीतिका विद्वान गभर्नरले आफूभन्दा तलकाले दिएको सल्लाह कहिले पो मानेका थिए र? उनको ढिपीका कारण सर्वसाधारणले दुःख पाए भने उनको पनि आलोचना भइरहेको छ।

गभर्नरले अनौपचारिक बजार मौलाउँदा करिब २० अर्ब रुपैयाँबराबरका नोट बजारबाट हराएका कारण त्यसलाई फिर्ता ल्याउन यो नीति लिएको बताइएको छ। घरजग्गा, सेयर, बैंक कारोबार सबै क्षेत्रमा स्रोत देखाउनुपर्ने व्यवस्थाले अहिले करिब २० अर्ब रुपैयाँबराबरको नोट बजारबाट हराएको छ। यसमध्ये १० अर्ब राजाका तस्बिर अंकित नोट भएको राष्ट्र बैंकको ठम्याइ छ। ती नोट फिर्ता ल्याउनु उनको प्रमुख चुनौती पनि हो। तर, यसलाई हल गर्न पैसै चल्न नदिने उपाय अपनाउनु कति उचित र व्यावहारिक हो?

आजभोलि तीलक रावल, सत्येन्द्रप्यारा श्रेष्ठको हस्ताक्षर भएका नोट बिरलै भेटिन्छन्। यसको अर्थ हो नोट पुरानो भएपछि बैंकिङ प्रणाली हुँदै स्वतः राष्ट्र बैंक पुग्छ। राजाको तस्बिर भएको नोट पनि बिस्तारै राष्ट्र बैंक जाने प्रक्रिया सुरु भइसकेको अवस्थामा अचानक नचल्ने गराउनु ठूलो भूल हो। यो तुरुन्त सच्याउनुपर्छ। नोट पुरानो भएपछि केन्द्रीय बैंकमा पुग्छ। यसैका लागि गभर्नरले अतिगणतन्त्रवादी भएर आक्रमक भइरहनु पर्दैन।

No comments:

Post a Comment

thanks for comment