बैंकबाट सेयरधनीले पाउने प्रतिफल घट्ने

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ९ - 
तरलता अभावका कारण नाफामा परेको असरले वाणिज्य बैंकहरुबाट सेयरधनीले पाउने प्रतिफलसमेत घट्ने देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनासम्मको वित्तीय विवरणलाई आधार मान्दा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २४ वाणिज्य बैंकमध्ये ६ वटाले मात्र सन्तोषजनक प्रतिफल दिन सक्ने छन्।
बैंकिङ क्षेत्रमा पछिल्लो पाँच वर्षको औसत प्रतिफल २३ प्रतिशत रहदै आएको थियो। यसपाली यो दर १७ प्रतिशतमा झर्नेछ।
नाफामा आएको कमीले
औसातभन्दा बढी
प्रतिसेयर आम्दानी
गर्ने बैंक ७ वटामा
सीमित भएका छन्
चैत मसान्तसम्मको विवरणअनुसार नबिल, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, बैंक अफ काठमान्डू (बिओके) र लुम्बिनी बैंकले औसातभन्दा बढी प्रतिफल दिन सक्ने छन्। सेयर प्रतिफल दर सबैभन्दा बढी एभरेस्ट बैंकको छ। बैंकले करिब ३६ प्रतिशतका दरले प्रतिफल दिनसक्ने तथ्यांक प्रस्तुत गरेको छ।
गत वर्ष सेयर संख्यामा वृद्धि गर्ने बैंकहरु स्ट्यान्डर्ड चार्टर्ड, एनएमबिलगायतको प्रतिफल दर घटेको हो। यी बैंकले गत वर्षको नाफाबाट क्रमशः १५ र १० प्रतिशत बोनस सेयर दिएका थिए।
'नाफामा परेको असर र हकप्रद तथा बोनस सेयरमार्फत पुँजीमा गरिएको वृद्धिले प्रतिफल दर घटेको हो,' विश्लेषक रविन्द्र भट्टराईले आइतबार नागरिकसँग भने, 'सामान्यता पाँच वर्षको औषतभन्दामाथि प्रतिफल पाइने कम्पनीको सेयरलाई राम्रो मानिन्छ।'
गत वर्ष चैतको तुलनामा वाणिज्य बैंकहरुको नाफा यो वर्ष औसतमा ४ दशमलव ७९ प्रतिशतले बढेको छ। गत वर्षको वृद्धि दर १२ दशमलव २६ प्रतिशत थियो। चालु वर्षको चैतसम्म नेप्सेमा सूचीकृत बैंकको नाफा ८ अर्ब ८० करोडको हाराहारीमा छ। यसमध्ये ६ वटा बैंकको नाफाको वृद्धि दर नै घटेको छ। वृद्धि दर नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी), डिसिबिएल, सनराइज, कुमारी, माछापुच्छे्र र नेपाल बंगलादेश बैंक (एनबिबी) को घटको छ।नाफामा आएको कमीले औसातभन्दा बढी प्रतिसेयर आम्दानी गर्ने बैंक ७ वटामा सीमित भएका छन्। औसातभन्दा बढी प्रतिसेयर आम्दानी नबिल, एनआइसी, हिमालयन, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र बिओके छन्। यसमध्ये सबैभन्दा उच्च प्रति सेयर आम्दनी एभरेस्ट बैंकले ८३ रुपैयाँ गरेको छ। चैतसम्म वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २७ दशमलव ३६ छ।
तरलता अभावले नाफाको प्रमुख स्रोत कर्जा लगानी गर्न नसकेको र प्रवाह भएको कर्जामा पनि समस्या आएकाले बैंकहरुको नाफा घटेको हो। यसले प्रतिसेयर आम्दानीलाई प्रभाव पारेको हो। आगामी असार मसान्तसम्म पनि अवस्था यस्तै रहे वाणिज्य बैंकले दिने प्रतिफलमा कमी आउँछ।
मूल्य आम्दानी अनुपातका हिसाबले ११ वटा वाणिज्य बैंकको सेयर आकर्षक छ। एनआइसी, सिद्धार्थ, हिमालयन, किस्ट, नेपाल इन्भेस्टमेन्ट, ग्लोबल, एभरेस्ट बिओके र बैंक अफ एसिया नेपालको सेयर आकर्षक छ। मूल्य आम्दानी अनुपात १० देखि १५ प्रतिशतको बीचमा भएको कम्पनीको सेयर खरिदका लागि सुरक्षित क मानिन्छ।
विगतमा नेटवर्थभन्दा धेरै माथि सेयर मूल्य रहेका वाणिज्य बैंकको सेयर मूल्य घटेका कारण नेटवर्थको नजिक पुगेको छ। अझ कृषि विकास बैंकको सेयर मूल्य नेटवर्थभन्दा तल आएको छ। बैंकको नेटवर्थ १ सय ८० छ। जबकी सेयर मूल्य १ सय ३१ रुपैयाँ मात्र छ। सिद्धार्थ, किस्ट, ग्लोबल, एनएमबी, लुम्बिनी, डिसिबिएल, सनराइज र नेपाल बंगलादेश बैंकको नेटवर्थ र सेयरमूल्य बीचको अन्तर कम छ। नेट वर्थ र सेयर मूल्यबीचको फरक कम भएको कम्पनीको सेयरलाई खरिदका लागि उत्तम मानिन्छ। 

No comments:

Post a Comment

thanks for comment