'सेयर मार्केटको रकम सजिलै उठ्छ'

नागरिक संवाददाता
काठमाडौं वैशाख २९
नेपाल सेयर मार्केट एन्ड फाइनान्स कम्पनीका पूर्व कार्यकारी अध्यक्षले व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरेको रकम उनको सम्पति बिक्री गर्दा सजिलै उठ्ने संस्थाका अधिकारीहरुले बताएका छन् ।
कम्पनीले पूर्वकार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले २ अर्ब ४० करोड दुरुपयोग गरेकामा उनको सम्पत्ति र हकप्रद सेयरमा गरेको लगानीले दुरुपयोग भएको रकम उठ्ने बताइएको हो ।
'दुरुपयोग भएको सबै पैसा उठ्छ,' कम्पनीका महाप्रबन्धक सिद्धार्थमान मास्केले नागरिकसँग भने, 'सर्वसाधारणलगायत संस्थागत निक्षेपकर्ता सबैको पैसा फिर्ता गर्न कम्पनी सक्षम छ ।' श्रेष्ठले कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ दुरुपयोग गरेका हुन् । दुरुपयोग भएको पुष्टी भएपछि कम्पनीले राष्ट्र बैंकमार्फत श्रेष्ठकॊ २ अर्ब ५६ करोड बराबरको सम्पति रोक्का गरिसकॆको छ । यसमध्ये १ अर्ब २५ करोड रुपैयाँ कम्पनीमा नै हकप्रद सेयर किन्न प्रयोग भएको छ । 'कुनै पनि हिसाबले कम्पनीको आर्थिक अवस्था खराब छैन,' मास्केले भने, 'बिहीबारबाटै अधिकांश शाखाहरु खोली निक्षेपकर्ताको पैसा फिर्ता गर्न सुरु गरिसकेका छौं ।'
उनले श्रेष्ठको अन्य कम्पनीमा भएको रकम तथा सेयर स्वामित्व पनि रोक्का गर्ने काम भइरहेको जानकारी दिए । उनले माछापुच्छे्र बैंकमा रहेको श्रेष्ठको १८ करोड रुपैयाँ बराबरको सेयरसमेत रोक्का गर्ने प्रकि्रया सुरु गरिसकेको बताए ।
कम्पनीमा कुल निक्षेप ३ अर्ब २५ करोड रुपैयाँ छ । कर्जा ५ अर्ब २५ करोड रुपैयाँ छ । यसमध्ये ३ अर्ब असल कर्जा छ । 'प्रवाह भएको कर्जा पनि उठ्न थालिसकेको छ,' मास्केले भने, 'उठेको कर्जाबाटै हामीले निक्षेपकर्तालाई भुक्तानी गरिरहेका छांै । अपुग भएमा अन्य स्रोतबाट पनि दिन सक्ने अवस्थामा छौं ।' 
कम्पनीले श्रेष्ठको कमलादीको साढे १ रोपनी जग्गा स्टार मल सीतापाइलास्थित हाउजिङ हिमाल हाइड्रोको सेयर र विभिन्न बैंकमा रहेको निक्षेप तथा सेयर रोक्का गरिसकेको छ ।
कम्पनीमा जम्मा भएको तर हिसाबमा नदेखाइएको करिब ६२ करोड रुपैयाँ पनि तिराइने उनले जानकारी दिए । श्रेष्ठले पाँच कम्पनीको निक्षेप हिसाबमा नदेखाइ व्यक्तिगत प्रयोग गरेका थिए ।


No comments:

Post a Comment

thanks for comment