वरिष्ठ उद्योगपति दुगडको निधन

पिताको निधनपछि ११ वर्षबाटै व्यवसाय सम्हालेका 
दुगद २००९ सालमा मोरङ कांग्रेसका कोषाध्यक्ष थिए

सुदर्शन सापकोटा
काठमाडौं जेठ १५
टिएम दुगड ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगपति तोलाराम दुगडको आइतबार निधन भएको छ । काठमाडौं नक्सालस्थित आफ्नै निवासमा ८१ वर्षको उमेरमा हृदयघातबाट उनको निधन भएको हो ।
११ वर्षको उमेरदेखि व्यवसाय सुरु गरेका दुगडले जुट तथा धान चामल गल्ला किराना को उद्योगबाट व्यवसायमा आफूलाई स्थापित गरेका हुन् । जुट जुट प्रेस उद्योगबाट निर्यात व्यापारमा हात हालेका उनी पछिल्लो समय सेवा क्षेत्रतर्फ लागेका थिए । उनी सनराइज बैंकका अध्यक्ष तथा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक हुन् ।
टिएम दुगड ग्रुपअन्तर्गत दुगड फुड एन्ड वेभेरेज नेपाल सालसिड आयल अमृत दाल निधि आयल पूजा राइस तथा दाल सारदा फुड प्रोडक्सन कोहिनुर एग्रो तथा चामल दुगड फर्टिलाइजर कामधेनु भेज आयललगायत दर्जनभन्दा बढी उद्योग छन् । दुगड ग्रुप खासगरी निसान र महिन्द्रा गाडीको नेपालका लागि वितरक तथा प्रुटी एपी जुस र दाल चामल उत्पादनका लागि चिनिएको छ । दुगडले कुल १ सय ७५ मेगावाटका तीन जलविद्युत कम्पनी साचालन गरिरहेका थिए ।

प्रजातान्त्रिक आन्दोलन २००७ सालताका नेपाली कांग्रेसको राजनीतिमा सकि्रयतापूर्वक लागेका उनी पिता लुनकरणदास को निधनपछि पुख्र्यौली बिँडो थाम्न पूर्णरुपमा व्यवसायमा लागेका थिए । २०१५ मा पिताको निधन हुनुअघि उनी पूर्णकालीन राजनीतिमा सकि्रय थिए । उनले विराटनगरस्थित आदर्श उच्च माविबाट विद्यालय शिक्षा लिएका हुन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २००९ सालमा मोरङ जिल्ला कांग्रेसका अध्यक्ष हुँदा दुगड कोषाध्यक्ष थिए । २००३ मा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनमा गिरिजाप्रसादसँगै लागेका उनी १८ घन्टासम्म राजनीतिलाई समय दिन्थे ।
प्रजातान्त्रिक राजनीतिक आस्था बोके पनि उनी २०१५ सालबाट राजनीतिमा फर्किन पाएनन् । 'मेरो काँधमा पारिवारिक बिँडो थाम्ने जिम्मेवारी नआएको भए राजनीतिमा मेरो निरन्तरता रहन्थ्यो,' २०६६ चैत १५ गते उनले नागरिकलाई भनेका थिए । प्रजातन्त्रप्रतिको उनको आस्थालाई विश्वास गर्दै गिरिजाप्रसादले दुगडलाई समानुपातिकबाट संविधानसभा सदस्य बन्न आग्रह गरेका थिए । तर राजनीति छाडिसकेका उनले आफू सभासद बन्न इच्छा देखाएनन् बरु मारवाडी समुदायबाट सभासद् बनाउन आग्रह गरे । उनको आग्रह टार्न नसकेर गिरिजाप्रसादले मारवाडी समुदायबाट दुई जनालाई सभासद् मनोनित गरे ।
दुगड २०५० मा वीर अस्पतालका अध्यक्ष भएका थिए । त्यसबेला समाजसेवामा सकि्रय भएर लागेका दुगडलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले बोलाएर अध्यक्ष बन्न आग्रह गरेका थिए । 'वीर अस्पतालको सेवा राम्रो भएन कोठाहरु पनि व्यवस्थित छैन भन्ने गुनासो सुनेको छु,' दुगडले नागरिकसँग भनेका थिए, 'गिरिजाप्रसादले तिमीले त्यसलाई सुधार गर्न सक्छौ त्यसैले अध्यक्ष बनाउन खोजेको भन्नुभयो । उहाँले भनेपछि मैले नाइँ भन्न सकिनँ र अध्यक्ष बनें ।'
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा दुगडले २५ वर्षसम्म काम गरेका थिए । दुगड नेपाल अटोमोबाइल डिलर एसोसियसनका संस्थापक अध्यक्ष मोरङ व्यापार संघका पूर्वअध्यक्ष नेपाल चामल-तेल-दाल उत्पादक संघका निवर्तमान अध्यक्षसमेत हुन् ।
पछिल्लो समय समाजसेवामा सकि्रय दुगड नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष भगवान महावीर जैन निकेतनका निवर्तमान अध्यक्ष जैन श्वेताम्वर तेरापंथ महासभाका पूर्वअध्यक्ष जैन परिषदका संस्थापक अध्यक्ष तथा अन्य आधा दर्जन आध्यात्मिक तथा सामाजिक संस्थामा पनि आवद्ध थिए ।
दुगड पूर्वराजा वीरेन्द्रको राज्यभिषेकमा गोरखा दक्षिण बाहु चौथो र २०४२ सालमा प्रसिद्ध प्रवल गोरखा दक्षिणवाहु दोस्रोबाट सम्मानित भएका थिए । २०५७ सालमा भगवान महावीर जैन निकेतनद्वारा न्यासरत्न पुरस्कारबाट पनि उनी सम्मानित भएका थिए ।
दुगडको सोमबार जैन धर्मनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाइ मोती दुगडले जानकारी दिए । स्वर्गीय दुगडका एक छोरा र तीन छोरी छन् । श्रीमती भमरीदेवी को २१ वर्षअघि निधन भएको थियो ।

No comments:

Post a Comment

thanks for comment