तरलता सहज गर्दिनुस् : बैंकर

काठमाडौं जेठ १२ 
बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले तरलता अभाव चर्किरहेका बेला यसलाई सहज मौदि्रक औजारहरु प्रयोग गरेर खुकुलो पारिदिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । गभर्नर युवराज खतिवडालाई भेट्दै तीनै संघका अध्यक्षहरुले तत्कालका लागि सरकारी ऋणपत्रको धितोमा उपलब्ध हुने कर्जा रिपो लाई खुकुलो पारिदिन बिहीबार आग्रह गरेका हुन् ।
पत्रपत्रिकामा भर नपर्नुस्
-गभर्नर युवराज खतिवडा
'राष्ट्र बैंकले केही पहल गर्छु भनेको छ,' गभर्नरलाई भेटेर फर्किएपछि संघका अध्यक्ष अशोक राणाले नागरिकसँग भने । उनका अनुसार आउँदो साताबाट राष्ट्र बैंकले साताको दुईचोटि रिपो उपलब्ध गराउने छ । उनले तरलता अभाव कम गर्न बैंकरहरुले पनि आपसमा अन्तर बैंक कारोबार बढाउनुपर्ने बताए ।
'ठ्याम्मै तरलता नभएको अवस्था होइन,' उनले भने, 'हामीले पनि यसलाई व्यवस्थापन गर्नु पर्छ ।' गत मंगलबारसम्म वाणिज्य बैंकहरुसँग ६ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप छ । यो अघिल्लो साताको भन्दा १ अर्ब कम हो । कर्जा पनि एक अर्बले घटेर ५ खर्ब १६ अर्ब पुगेको छ । तरलता अभाव बढेका कारण बैंकरहरुले आपसमा लिने सापटी अन्तर बैंक दर १० प्रतिशतभन्दा माथि नै छ ।
विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्षद्वय झपड बोहोरा र राजेन्द्रमान शाक्यले बैंकिङ क्षेत्रमा मात्र राष्ट्र बैंकको कोष प्रयोग हुँदा बाँकी क्षेत्र समस्यामा पर्ने बताए । उनीहरुले विकास बैंकर फाइनान्स कम्पनीको पैसा झिकेर वाणिज्य बैंकमा राख्दा यो क्षेत्रमा धान्नै नसक्ने गरी समस्या पर्ने गभर्नरलाई अवगत गराएको एक अध्यक्षले जानकारी दिए । गभर्नर खतिवडाले पत्रपत्रिकाको कुरामा भर नपर्न भनेको बैंकरहरुले बताए । 'सबैलाई समान रुपमा व्यवहार गर्ने नीति अनुरुपमा राष्ट्र बैंकको तोकेको सीमाभित्र रहेर निक्षेप दिन्छौं,' खतिवडाको भनाइ उद्धृत गर्दै एक बैंकरले भने ।
भेटमा गभर्नरले वित्तीय अनुसासनभित्र रहेर लगानी गर्न आग्रह गर्दै कर्जा-निक्षेप अनुपात घटाउन आग्रह गरे । उनले पछिल्लो समयमा बैंकहरुले निक्षेपको तुलनामा बढी कर्जा लगानी गरेको भन्दै चिन्ता व्यक्त गरेको सहभागी एक बैंकरले जानकारी दिए । राष्ट्र बैंकले बैंकहरुलाई रिपो मार्फत दिएको १० अर्ब रुपैयाँ ऋण उठाउन बाँकी छ । रिपोको अवधि ४५ दिनको हुन्छ । केहीअघि बैंकहरुलाई २३ अर्ब रुपैयाँसम्म रिपो दिएको थियो ।



No comments:

Post a Comment

thanks for comment