डलर ऋणपत्र ल्याउन अध्ययन

ठूला आयोजनाका लागि पैसा जुटाउने उद्देश्य
सुदर्शन सापकोटा
काठमाडौं जेठ २
राष्ट्र बैंकले ठूला आयोजनामा लगानी आकर्षित गर्ने उद्देश्यले डलर ऋणपत्र वन्ड नीति ल्याउनका लागि अध्ययन थालेको छ । कुनै ठूला आयोजनामा स्वदेशी लगानी अपर्याप्त भए विदेशीमार्फत आवश्यक रकमको जोहो गर्न सकिने गरी नीति तयार पार्न अध्ययन थालेको हो ।

'खासगरी ठूला पुर्वाधारहरु निर्माण गर्न डलर वन्डले सहयोग गर्छ भनेर नीति ल्याउन अध्ययन थालिएको हो,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'नीतिका लागि आवश्यक अध्ययन भइरहेको छ । चाँडै ल्याउने गृहकार्यमा जुटेका छौं ।' यो वन्ड डलरमा खरिद गरेर प्रतिफल पनि डलरमा नै पाइन्छ ।

केही आयोजनाले ऋणका रुपमा विदेशी लगानी भित्राउन गह्रो परेको भन्दै डलर वन्ड नीति बनाएर सहजकर्ताको भूमिका खेल्न आग्रह गरेपछि राष्ट्र बैंक अध्ययनमा जुटेको हो । यस्तो बन्ड विदेशीसहित राष्ट्र बैंक बिमा संस्थान साचय कोष नागरिक लगानी कोष बैंक तथा वित्तीय संस्थालगायतले खरिद गर्न पाउँछन् । राष्ट्र बैंकले गैरआवासीय नेपालीहरुलाई पनि वन्ड खरिद गर्ने अधिकार दिइने गरी नीति तयार पारिरहेको स्रोतले बतायो ।
डलर वन्ड अन्य ऋणपत्रजस्तै मर्चेन्ट बैंकरहरुबाट खरिद गर्नु पर्छ । कुनै आयोजनालाई पैसा आवश्यक परे उसले मर्चेन्ट बैंकरमार्फत बन्ड आह्वान गर्छ । त्यसपछि इच्छुकले मर्चेन्ट बैंकरमार्फत गरिद गर्छ । वन्डमा लगानीकर्ताले ब्याज पाउँछन् । 'डलरमा नै ब्याज भुक्तानी हुने भएपछि लगानीकर्ता यसमा आकर्षित भएर आयोजनालाई आवश्यक रकम जुटाउन सकिन्छ,' स्रोतले भन्यो, 'नेपालीले वाहिर लगानी गर्न नपाएको अवस्थामा देशभित्रै डलर आउने गरी लगानी गर्न पाउने भएपछि यसमा आकर्षण पनि बढी रहन्छ ।'

राष्ट्र बैंकले डलर वन्डमा निर्यातकर्ता व्यवसायीलाई पनि समेट्ने स्रोतले जानकारी दियो । स्रोतका अनुसार निर्यातकर्ता व्यवसायी डलर खातावाला हुन्छन् । 'यस्ता व्यवसायीलाई कानुनी रुपमा आकर्षित गर्न सकियो भने विकास आयोजना पनि निर्माण हुन्छन्,' स्रोतले भन्यो । श्रीलंकाले पनि हालै यस्तो प्रकृतिको वन्ड जारी गरेको थियो ।'पिस वन्ड' नाम दिएको यसलाई उसले स्वदेशीसहित विदेशीलाई पनि विक्री गरेको थियो ।

नेपालका बैंक तथा वित्तीय संस्था र अन्य मान्यता प्राप्त निकायले विदेशी वन्डमा लगानी गरिरहेका छन् । नेपालमा पनि डलर वन्ड जारी भए त्यता जाने पैसा रोकिने राष्ट्र बैंकका अधिकारीहरुको विश्वास छ । 'राष्ट्र बैंक आफैले पनि विदेशी वन्ड खरिद गरेर राखेको छ,' स्रोतले भन्यो, 'नेपालमै वन्ड जारी हुन थालेपछि हामी त्यो पैसा यही लगाउन सक्छौं ।' बैंकहरुले अहिले विदशी मुद्राको निक्षेप वाहिरका कम जोखिमपूर्ण मुलुकको वन्ड खरिद गर्न प्रयोग गरिरहेका छन् ।

स्रोतका अनुसार राष्ट्र बैंक तथा वाणिज्य बैंकहरुले अमेरिका र युरोपीयन देशका वन्ड खरिद गरिरहेका छन् । एकदमै सुरक्षित मानिने त्यहाँको वन्डको ब्याज दर भने थोरै हुने गरेको छ । 'हामीले २ प्रतिशत प्रतिफलमा नै विदेशी वन्ड खरिद गरिरहेका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'यहाँ नै वन्ड जारी हुँदा अधिकतम प्रतिफल पाइन्छ ।' उनका अनुसार वन्डको प्रचलित व्याज दर ७ प्रतिशत छ । 'प्रतिफलका हिसावले पनि यही फाइदा हुन्छ,' ती अधिकारीले भने, 'वाहिर जाने पैसामा लगभग नियन्त्रण आउँछ । '

No comments:

Post a Comment

thanks for comment