वित्तीय विवरण हेर्दा चिलिमेको सेयर नाफामूलक


सुदर्शन सापकोटा
काठमाडौं जेठ ५
चिलिमे जलविद्युत कम्पनीले आगामी १७ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गरेको छ । कम्पनीले १३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर पि्रमियम मूल्यमा निस्कासन गरेको हो । एक सय रुपैयाँ अंकित दरका सेयरमा पि्रमियम मूल्य ३ सय ८ रुपैयाँ ३६ पैसा थपिएको छ । सर्वसाधारणले एक कित्ता सेयर किन्न ४ सय ८ रुपैयाँ ३६ पैसा तिर्नुपर्नेछ ।
नेटवर्थ र नाफाका हिसाबले 
कम्पनीको सेयर राम्रो छ । 
नेपाल स्टक एक्सचेन्जमा 
सूचीकृत अन्य कम्पनीको 
सेयर मूल्य घटिरहेका बेला 
पनि चिलिमेको सेयर मूल्य 
स्थिर रहनुले सर्वसाधारणको 
विश्वास यसमाथि छ भन्ने बुझिन्छ ।
प्रति सेयर नेटवर्थ प्रति सेयर आम्दानी मूल्य आम्दानी अनुपात र कम्पनीले बाँड्दै आएको लाभांशका कारण यसको सेयरले नाफा दिने देखिन्छ । यसको प्रति सेयर नेटवर्थ ४ सय ६९ रुपैयाँ छ । नेटवर्थमा औसत प्रतिफल १३ प्रतिशत छ । आगामी वर्ष प्रति सेयर नेटवर्थ ५ सय ७८ रुपैयाँ र नेटवर्थमा औसत प्रतिफल १६ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ । चैत मसान्तसम्म प्रति सेयर आम्दानी करिब ७० रुपैयाँ छ ।
'नेटवर्थ र नाफाका हिसाबले कम्पनीको सेयर राम्रो छ,' सेयर विश्लेषक रवीन्द्र भट्टराईले बिहीबार नागरिकसँग भने, 'नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अन्य कम्पनीको सेयर मूल्य घटिरहेका बेला पनि चिलिमेको सेयर मूल्य स्थिर रहनुले सर्वसाधारणको विश्वास यसमाथि छ भन्ने बुझिन्छ ।'
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर जारी गरिसकेको कम्पनीको अहिलेको चुक्ता पुँजी ७२ करोड ९६ लाख रुपैयाँ छ । थप निस्कासनपछि पुँजी ९६ करोड रुपैयाँ पुग्ने छ । २२.१ मेगावाट क्षमता भएको आयोजनाको अधिकृत पुँजी भने १ अर्ब ५० करोड रुपैयाँ छ । नेपाल विद्युत प्राधिकरण मुख्य साचालक रहेको कम्पनीमा प्राधिकरणका बहालवाला र पूर्वकर्मचारीको २५ प्रतिशत सेयर छ । प्राधिकरणको ५१ प्रतिशत छ । बाँकी २४ प्रतिशत सेयरमध्ये कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता वितरण गरिसकेको छ । अहिले १४ प्रतिशत जारी गर्न लागेको हो ।

साचालनमा आएदेखि लाभांश दिन थालेको कम्पनीले गत वर्ष मात्रै नाफाबाट सेयर धनीलाई ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 'वित्तीय क्षेत्रको बाहुल्य रहेको दोस्रो बजारमा पछिल्लो समय एकपछि अर्को संस्था खराब हुँदै गएको अवस्थामा जलविद्युत क्षेत्रको सेयरमा आकर्षण बढेको हो,'  बिड इन्भेस्टका प्रमुख कार्यकारी अधिकृत सुमन रायमाझीले भने, 'त्यसमाथि जलविद्युत क्षेत्रमा आम्दानीको निश्चितता हुने भएकाले पनि यसको सेयर खरिद गर्दा राम्रो प्रतिफल पाउन सकिन्छ ।' 
उनले सबै आर्थिक सूचकांकका आधारमा चिलिमेको सेयर खरिदका लागि राम्रो लगानी औजार भएको बताए । भट्टराईका अनुसार बजार मूल्यभन्दा धेरै कममा सेयर आउन लागेकाले पनि तत्काल बिक्री गरेर पनि नाफा गर्न सकिने अवस्था छ । चिलिमेको बिहीबारको बजार मूल्य ८ सय ७५ रुपैयाँ प्रतिकित्ता छ । बजार मूल्यभन्दा धेरै कममा जारी हुन लागेकाले सेयरमा सर्वसाधारणको आकर्षण बढी नै रहने विश्लेषकहरु बताउँछन् ।
कम्पनीका अनुसार १० प्रतिशत तरलता अनुपात रहेको कम्पनीको मूल्य आम्दानी अनुपात १३ प्रतिशतको हाराहारीमा छ । १० देखि १५ प्रतिशत मूल्य आम्दानी अनुपात भएको सेयरलाई खरिद गर्न उत्तम मानिन्छ । यसको जगेडा कोषमा ३ अर्ब १८ करोड रुपैयाँ छ ।
कम्पनीका अधिकारीहरु पनि सेयर सबै बिक्री हुनेमा ढुक्क छन् । कम्पनीका प्रबन्ध निर्देशक कुलमानिसंह घिसिङले वित्तीय अवस्था एकदमै राम्रो भएकाले मागिएभन्दा बढी सेयरका लागि आवेदन पर्ने दाबी गरे । 'रसुवा जिल्लावासीका लागि मात्र निकालिएको २७ करोडको सेयरमा मात्रै ४८ करोड बराबरको आवेदन पर् यो,' उनले बिहीबार नागरिकसँग भने, 'देशभरिका लागि खुला गरिएकाले अधिक आवेदन पर्छ ।'
कम्पनीले सर्वसाधारणबाट उठेको पैसा चार आयोजनामा लगाउने भएको छ । यसले लगानीको निश्चिततालाई थप बलियो बनाएको छ । 'भोलिका दिनमा पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउँछन्,' उनले भने, 'अहिलेकै हिसाबको सामान्य वृद्धि मात्रै भएमा पनि हामी वार्षिक ६० प्रतिशत प्रतिफल दिन सक्षम हुन्छौं । त्यसमाथि अन्य चार आयोजनामा पैसा लगानी हुने भएकाले प्रतिफल थप बढ्छ ।'
कम्पनीले १४.६ मेगावाटको माथिल्लो सान्जेन ४२.५ मेगावाटको सान्जेन १ सय मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्यभोटेकोसीमा लगानी गर्ने भएको हो । सबै आयोजनाका निर्माण कार्य सुरु भइसकेको छ ।
एनसिएम मर्चेन्ट बैकिङ लिमिटेड र नागरिक लगानी कोष निष्कासन तथा बिक्री प्रबन्धक रहेको कम्पनीको सेयर कम्तिमा ३० र बढीमा एक हजार कित्ता खरिदका लागि आवेदन दिन सकिन्छ । दोस्रो बजारमा कम्पनीको सेयर एक वर्षमा ५४ दिन कारोबार भएको थियो । एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्य अधिकतम एक हजार ८५ र न्यूनतम ८ सय ७५ रुपैयाँसम्म थियो ।



No comments:

Post a Comment

thanks for comment