सेयर मार्केट्सलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक

  • निक्षेप फिर्ता सुरु नगरे गोरखाको साचालक समिति कारबाहीमा पर्ने
  • हरेक खातावाललाई दिनमा सेयर मार्केट्सले २ लाख र गोरखाले ५ लाख फिर्ता गर्ने

काठमाडौं वैशाख २८
राष्ट्र बैंकले नेपाल सेयर मार्केट एन्ड फाइनान्सलाई बुधबारदेखि निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । बैंकले सेयर मार्केट्सलाई निक्षेप नवीकरणमा समेत रोक लगाएको छ ।
समस्याग्रस्त घोषणा गर्नुअघिको 
कारबाहीमा सेयर मार्केट्स परेको छ
-भास्कर ज्ञवाली
राष्ट्र बैंक प्रवक्ता
'समस्याग्रस्त घोषणा गर्नुअघिको कारबाहीमा सेयर मार्केट्स परेको छ,' राष्ट्र बैंक प्रवक्ता भास्कर ज्ञवालीले बुधबार नागरिकसँग भने । कारबाहीमा परेपछि सेयर मार्केट्सले नयाँ शाखासमेत खोल्न पाउने छैन । स्थिर सम्पत्ति खरिद गर्न कर्मचारी र साचालकको तलब भत्तासमेत बढाउन पाइन्न । लाभांश बाँड्नमा समेत रोक लागेको छ ।
सेयर मार्केट्सलाई प्रतिदिन हरेक खातावालालाई २ लाख रुपैयाँ सम्म निक्षेप फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यो निर्देशनले साना निक्षेपकर्ताको रकम फिर्ता हुने भएको छ । संस्थागत निक्षेप फिर्ता गर्न यसले तत्काललाई रोक लागेको छ । सेयर मार्केट्समा राष्ट्र बैंककै २२ करोड निक्षेप छ । नागरिक लगानी कोषको ३६ करोड छ । बिमा संस्थानको २० करोड रुपैयाँ छ । ३ अर्ब २५ करोड निक्षेपमध्ये संस्थागत निक्षेप १ अर्ब छ ।
संस्थागत निक्षेपमध्ये तत्कालीन कार्यकारी निर्देशक योगेन्द्र श्रेष्ठले बिमा संस्थानको २० करोड निक्षेप नवीकरण गरी हकप्रद सेयर भर्न प्रयोग गरेका छन् । नागरिक लगानी कोषको ३६ करोडमध्ये २० करोडमात्रै सेयर मार्केट्सको खातामा छ । बाँकी १६ करोड श्रेष्ठले नै व्यक्तिगत रुपमा प्रयोग गरेको अनुमान राष्ट्र बैंकका अधिकारीहरुको छ । योबाहेक करिब १ अर्ब रुपैयाँको कर्जा प्रवाहमा अनियमितता भएको आशंका छ । श्रेष्ठका कमजोरी भेट्टिएपछि राष्ट्रबैंकले वैशाख २२ मा उनीविरुद्ध कारबाही अगाडि बढाएको थियो ।
मंगलबार निक्षेपकर्तालाई पैसा फिर्ता दिन राष्ट्र बैंकले कडा निर्देशन सेयर मार्केट्सले पैसा फिर्ता दिन थालेको छ । एक सातादेखि सेयर मार्केट्सले पनि निक्षेपकर्तालाई पैसा फिर्ता दिएको थिएन । फाइनान्ससँग ३० करोड तरलता रहेको अनुमान छ ।
समस्याग्रस्त घोषणा भएको गोरखा विकास बैंकले नयाँ व्यवस्थापन समूह बनाएपछि जेठको पहिलो साताबाट निक्षेप फिर्ता सुरु गर्ने बताएको छ । तर राष्ट्र बैंकले तत्काल निक्षेप फिर्ता सुरु नगरे गोरखाको नयाँ साचालक समिति पनि कारबाहीमा पर्ने चेतावनी दिएको छ । 'राष्ट्र बैंकको निर्देशनअनुरुप निक्षेप फिर्ता सुरु नगरे गोरखाको नयाँ साचालक समितिलाई पनि बैंकिङ कसुर ऐन वमोजिम कारबाही अगाडि बढाउनुपर्ने हुन्छ,' प्रवक्ता ज्ञवालीले भने ।
गोरखाका लागि हरेक दिन प्रति खातावालालाई ५ लाख निक्षेप फिर्ता गर्न सक्ने निर्देशन राष्ट्र बैंकले दिइसकेको छ । वैशाख ११ देखि एक साता निक्षेपकर्तालाई पैसा फिर्ता दिए पनि गोरखाले अहिले निक्षेप लिने दिने र कर्जा प्रवाह बन्द गरेको छ ।
गोरखासँग ४ अर्ब ६ करोड निक्षेप छ । बैंकको खराब कर्जा १७ प्रतिशत छ । अहिले पनि गोरखा बैंकसँग नगद मौज्दात २३ करोड छ । यसका २१ शाखा छन् । सेयर मार्केट्सले ५ अर्ब ११ करोड कर्जा लगानी गरेको छ । यसका ११ शाखा छन् । श्रेष्ठका छोराहरु श्रीमतीसमेतको बैंक खाता र सम्पत्ति रोक्का गर्दै बैंकिङ कसुर ऐन वमोजिम छानबिनका लागि प्रहरीमा पठाइएको छ । उनको राहदानी समेत रोक्का गरिएको छ ।


No comments:

Post a Comment

thanks for comment