डलरको विनिमय दर स्वीस, अस्ट्रेलियन र क्यानडाको भन्दा सस्तो

सुदर्शन सापकोटा
काठमाडौं, जेठ ५ - 
संसारभर प्रचलित पाउन्ड र युरो पछिको महँगो मुद्रा अमेरिकी डलरलाई पछिल्लो चार महिनायता स्वीस, अस्ट्रेलियन र क्यानेडियन मुद्राले जितेको छ। विश्व आर्थिक मन्दीपछि व्यापार घाटा र भुक्तानीका लागि अमेरिकाले डलर बढी छापेका कारण डलरलाई तीन देशको मुद्राले जितेको हो।
 पाउण्ड र युरो बाहेक कुवेती दिनार पनि डलरभन्दा महँगो छ। तर यो अधिकांश मुलुकमा प्रचलनमा छैन।
'अमेरिकाको व्यापार कमजोर हुँदै गएको छ,' अर्थशास्त्री चिरञ्जीवी नेपालले बुधबार नागरिकसँग भने, 'शक्तिशाली राष्ट्रले अमेरिकी डलरलाई कम विश्वास गर्न थालेपछि मुद्रा कमजोर भएको हो।' अघिल्लो महिनाको तुलनामा मेमा अमेरिकी व्यापार घाटा ३ प्रतिशतले बढेको छ।
एक वर्षअघि डलको विनिमय दर ७२ रुपैयाँ एक पैसा हुँदा स्वीस ६४ रुपैयाँ ५२ पैसा, अस्ट्रेलियन ६४ रुपैयाँ ४८ पैसा र क्यानेडिन ७० रुपैयाँ ४४ पैसामा थियो। अहिले डलर ७१ रुपैयाँ ९१ पैसा झरेको छ। अन्य मुद्रा भने डलरभन्दा बलियो भएका छन्। मंगलबार स्वीस फ्रैंक ८० रुपैयाँ ८१ पैसा, अस्ट्रेलियन डलर ७६ रुपैयाँ ६ पैसा र क्यानेडियन डलर ७४ रुपैयाँ २३ पैसा पुगेको छ।

सबैभन्दा विश्वासीलो मानिएको अमेरिकी ऋणपत्रहरुमा लगानी गर्दै आएका राष्ट्रहरुले सन् २००८ को आर्थिक मन्दी विश्वास गुमाउन थाले। त्यो बेला ऋणपत्रबाट पाउने प्रतिफल घटेको थियो। उनीहरुले अमेरिकी डलरमा निर्भर हुँदा समस्या आउने रहेछ भन्दै यसका बारेमा अविश्वास प्रकट गर्न थालेपछि डलर कमजोर हुन थालेको हो। खासगरी तेल उत्पादक राष्ट्रहरुले डलरलाई अविश्वास गर्दिदा यो अवस्था आएको हो।
'डलरलाई अन्य मुद्राले पनि जित्न थाल्नुको अर्थ उसको व्यापार कमजोर हुँदै गएको छ भन्ने हो,' नेपालले भने, 'पछिल्लो केही समयमा युरोपियन राष्ट्रहरुको आर्थतन्त्र बढ्दै गएपनि अमेरिकी व्यापार कमजोर हुँदै गएको छ।' अमेरिकाको व्यापरा घाटामा सुधार आउने कुनै संकेत भने अझैसम्म पनि देख्न सकिएको छैन।
सबैभन्दा धेरै फरक हुने गरी स्वीस मुद्राले जितेको छ। डलर र स्वीस मुद्राको फरक बुधबार ९ रुपैयाँको छ। एक वर्षअघि ८ रुपैयाँले स्वीसलाई डलरले जितेको थियो। स्वीजरल्यान्डको अर्थतन्त्र उच्चदक्ष कामदार, सुक्ष्म तथा अत्याधुनिक प्रविधि, जडिबुटी र बैंकिङका कारण वृद्धि भइरहेको छ। स्वीजरल्यान्डको खासगरी सेवामूलक उद्योगका कारण अर्थतन्त्र बलियो भएको हो। अस्ट्रेलियन डलरले पनि ५ रुपैयाँले बलियो छ। एक वर्षअघि डलरभन्दा अस्ट्रेलियन मुद्रा ८ रुपैयाँले कमजोर थियो। क्यानेडियन अहिले २ रुपैयाँले बलियो छ। यो २ रुपैयाँले कमजोर थियो।
'तेलको मूल्यमा वृद्धि हुन थालेपछि स्वाभाविक रुपमा अमेरिकी डलर कमजोर हुँदै जान्छ,' नेपालले भने, 'पछिल्लो समयमा तेल उत्पादक देशले उत्खनने कम गर्न थालेको र भुक्तानीका लागि सुन माग गर्न थालेकाले डलर थप कमजोर भएको हो।' डलर कमजोर हुँदा नेपाललाई वैदेशिक ऋण तीर्नलाई सहज हुन्छ। रेमिट्यान्स र वैदेशिक सहायतामा भने यसले नोक्सान पुर्‍याउँछ।
क्यानडा पनि पछिल्लो तीन वर्षमा विश्वकै १० ठूलो अर्थतन्त्रभित्र पर्न थालेको छ। अहिले क्यानडा नवौं ठूलो अर्थतन्त्र हो। क्यानडाको अर्थतन्त्रलाई सेवा उद्योगले माथि पुर्‍याएको हो। अस्टे्रलिया पनि पछिल्लो समय बलियो हुँदै गएको अर्थतन्त्र हो। तेह्रौं ठूलो अर्थतन्त्र भएको अस्ट्रेलिया १९औं ठूलो निर्यातकर्ता मूलुकसमेत हो।

No comments:

Post a Comment

thanks for comment