सेयर मार्केट्स फाइनान्सको एक अर्ब रुपैयाँ कर्जा अनियमितता

  • फाइनान्सका योगेन्द्र श्रेष्ठको बैंक खाता रोक्का
  • बिमा संस्थानबाट लिएको २० करोड निक्षेप व्यक्तिगत प्रयोगमा

काठमाडौं वैशाख २२
एक अर्ब रुपैयाँ कर्जा प्रवाहमा अनियमितता भएको आशंकामा राष्ट्र बैंकले नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठको बैंक खाता र सम्पत्ति रोक्का गरेको छ ।
योगेन्द्र श्रेष्ठ
'प्रारम्भिक अध्ययनमा श्रेष्ठले १ अर्ब रुपैयाँ कर्जा प्रवाहमा अनियमितता गरेको अनुमान छ,' राष्ट्र बैंक स्रोतले बिहीबार नागरिकसँग भन्यो, 'उनले निरीक्षण टोलीलाई कर्जाको फाइल देखाउनै सकेका छैनन् ।' सबै कर्जाको फाइल नै नदेखाएपछि फेला परेका गल्तीका आधारमा राष्ट्र बैंकले कारबाही अगाडि बढाएको हो ।
श्रेष्ठको बैंक खाता रोक्का गर्न सवै बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले बिहीबार पत्राचार गरेको हो । 'ग' वर्गको फाइनान्स कम्पनी सेयर मार्केट्सले 'क' वर्गको वाणिज्य बैंक बन्न आवश्यक २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर् याइसकेको छ । यससँगै उसले स्तरोन्नतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको छ ।
वाणिज्य बैंकमा स्तरोन्नतिका लागि आवेदन दिएको 'ग' वर्गको फाइनान्स कम्पनीका कार्यकारी प्रमुख श्रेष्ठलाई जरिवाना किन नगर्ने भन्दै राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । श्रेष्ठलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको स्रोतले जनायो । श्रेष्ठले राष्ट्रिय बिमा संस्थानले सेयर मार्केट्समा जम्मा गरेको २० करोड रुपैयाँ निक्षेपसमेत व्यक्तिगत प्रयोग गरेको फेला परेको छ । 'श्रेष्ठले बिमा संस्थानको रकम हकप्रद सेयर भर्न प्रयोग गरेको अनुमान छ' स्रोतले भन्यो । निक्षेपका रुपमा लिएको रकम संस्थामा नराखी व्यक्तिगत रुपमा प्रयोग गर्दा बैंकिङ कसुर ऐनबमोजिम कारबाही अगाडि बढ्ने स्रोतको भनाइ छ ।
बैंकिङ कसुर ऐन २०६४ बमोजिम बैंकको धन सम्पत्ति अनियमित लगानी गर्ने कमसल धितोमा कर्जा दिने आफैं कर्जा लिनेलगायत कसुरमा तीन वर्ष कैद बिगो जफत र बिगोबमोजिम कारबाही गर्नेलगायत व्यवस्था छ । अन्य बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप दुरुपयोग गर्नेलाई यही कानुनबमोजिम राष्ट्र बैंकले कारबाही अगाडि बढाउँदै प्रहरीलाई अनुसन्धान गर्न पठाएको छ । 'श्रेष्ठको गल्ती पनि यस्तै भएकाले केस प्रहरीमा जान सक्छ,' स्रोतले भन्यो ।
राष्ट्र बैंक उच्च अधिकारीहरुले संस्थाको वित्तीय स्थिति खराब नभएको जनाउँदै गल्ती गर्ने कार्यकारी अध्यक्ष श्रेष्ठलाई कारबाही अगाडि बढाएका हुन् । 'संस्थाको वित्तीय अवस्था ठिकै छ श्रेष्ठले खराब कार्य गरेकाले उनलाई कारबाही हुन्छ,' स्रोतले भन्यो ।
राष्ट्र बैंकले प्रारम्भिक प्रतिवेदनका निर्णय लिँदै केही दिनमै सेयर मार्केट्सको अन्तिम निरीक्षण प्रतिवेदन तयार पार्ने भएको छ । अन्तिम प्रतिवेदन तयार हुँदा अझ कडा कारबाही हुन सक्ने राष्ट्र बैंक स्रोतको दाबी छ ।

श्रेष्ठ वार्षिक रुपमा धेरै तलब लिने फाइनान्स कम्पनीका प्रमुख कार्यकारीसमेत हुन् । यिनले वर्षमा १ करोडभन्दा बढी पारिश्र्रमिक बुझ्ने गरेका छन् । सेयर मार्केट्सको ६० प्रतिशत संस्थापक सेयरमध्ये श्रेष्ठकै हिस्सा बढी छ । यो सेयर उनले परिवार र नातेदारका नाममा राखेका छन् । सर्वसाधारणमा रहेको ४० प्रतिशत सेयरको प्रतिसेयर मूल्य १ सय ७४ रुपैयाँ छ । वाणिज्य बैंकमा स्तरोन्नतिका लागि राष्ट्र बैंकमा निवेदन दिएपछि यसको सेयर कारोबार रोक्का छ । पूर्वाधार पूरा नभएको जनाउँदै राष्ट्र बैंकले उसको निवेदन रोकिदिएको थियो ।
सेयर मार्केट्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३ अर्ब २५ करोड निक्षेप संकलन गरेको छ । कर्जा ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा फाइनान्सले ४ करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । खराब कर्जा २ प्रतिशत छ । शाखा संख्या ११ पुगेको छ ।

No comments:

Post a Comment

thanks for comment