क्रसर उद्योगको ६ अर्ब बैंक कर्जा समस्यामा

  • बैंकहरुले शतप्रतिशत नोक्सानी गर्दै उद्योग लिलामी गर्न थाले
  • उद्योग साचालन गर्ने अनुमति मिलेपनि थप कर्जा दिन बैंक हच्किए

सुदर्शन सापकोटा
काठमाडौं वैशाख २५
बैंक तथा वित्तीय संस्थाले मुलुकका विभिन्न स्थानका क्रसर उद्योगमा प्रवाह गरेको ६ अर्ब रुपैयाँ कर्जा समस्यामा परेको छ ।
सरकारले पर्यावरणमा असर परेको भन्दै करिब एक वर्षअघि क्रसर उद्योग बन्द गराएको थियो । उद्योग बन्द भएपछि व्यवसायीले ऋण तिर्न नसक्दा बैंकको लगानी समस्यामा परेको हो ।
'क्रसर उद्योगमा गएको कर्जा अहिले समस्यामा परेको छ,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'उद्योग बन्द भएर कारोबार हुन छाडेपछि ब्याज र सावाँ दुवै आउन बन्द भएको छ ।' क्रसर उद्योगमा बैंक तथा वित्तीय संस्थाको ६ अर्ब लगानी भएको छ ।
राष्ट्र बैंकले घरजग्गामा कर्जा सीमा तोकेपछि मौलाएको क्रसर उद्योगमा बैंक तथा वित्तीय संस्था आकर्षित भएका थिए । सरकारले एकाएक उद्योगलाई बन्द गराएपछि कर्जा समस्यामा परेको हो । राणाले क्रसर उद्योगबाट पैसा आउन छाडेपछि बैंकहरुले त्यसलाई खराब कर्जा सुचीमा राखिसकेको जानकारी दिए । 'हिमालयन बैंकले दुई क्रसर उद्योगमा दिएको कर्जाको शतप्रतिशत रकम सम्भावित नोक्सानी व्यवस्था गरिसक्यौं,' उनले भने,  'नोक्सानी व्यवस्था गरेपछि हामीले क्रसर उद्योगलाई बिक्रीसमेत गरिसकेका छौं ।'
क्रसरमा अधिकांश वाणिज्य बैंकहरुको लगानी छ । कर्जा सूचना केन्द्रका अनुसार अन्य बैंकको तुलनामा नेपाल इन्भेस्टमेन्ट एभरेस्ट र सिटिजन्स बैंक इन्टरनेसनलको कर्जा यो क्षेत्रमा बढी छ । यी बैंकहरुले पछिल्लो समय धितो लिलाम गरेर कर्जा उठाउन थालेका छन् । उद्योग र यसका सवारी साधनलगायत अन्य उपकरण बेचेर पनि बैंकहरुले सबै लगानी भने उठाउन सकेका छैनन् ।
'ब्याज आउन छाडेको क्रसर उद्योगको पैसा धितो लिलाम गरेर उठायौं,' सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भन्डारीले आइतबार नागरिकसँग भने, 'कारोबारबाट पैसा नआउने भएपछि सम्पत्ति बिक्री गरेर उठाउनुपर् यो ।' बैंकहरुले क्रसर उद्योगको कर्जा ट्रक टिप्परलगायत अन्य निर्माण सामग्री बिक्री गरेर कर्जा उठाइरहेका छन् ।
'उपाय नभएपछि खराब कर्जामा राख्दै लिलाम गर्नुपरेको छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'ठूलो लगानी भएपछि सरकारले उद्योग बन्द गराइदिँदा बैंकिङ क्षेत्रलाई असर पारेको छ ।' उनका अनुसार कर्जा लिएका व्यवसायीसँग सहमति गरेर भोलि उद्योग साचालनमा आए पुनः कर्जा दिने गरी पनि उठाउनुपरेको छ । ुलिलामीमा राख्दासमेत बिक्री नभएको धितोका कारण समस्या भएको छु ती बैंकरले भने ।
केही दिनअघि सरकारले कानुनी रुपमा साचालन अनुमति पाएका क्रसर उद्योगलाई खोल्ने अनुमति दिए पनि बैंकहरुले यसमा कर्जा दिन छाडेका छन् । जनदबाब वा अन्य कारणले भोलिका दिनमा फेरि समस्या आएर उद्योग बन्द गराइयो भने थप कर्जा पनि डुब्ने डरले नदिएको बैंकरहरुले बताए । 'तरलता अभावले अहिले त्यसै पनि कर्जा दिन सकिने अवस्था छैन,' एक बैंकरले भने, 'त्यसमाथि फेरी उद्योग बन्द हुने अवस्था आए पुरानै कर्जा उठेको छैन नयाँ पनि डुब्न सक्छ ।' सरकारले उद्योग खोल्न अनुमति दिएपछि केही क्रसर उद्योगले भने ब्याज तिर्न थालेको बैंकरहरु बताउँछन् ।
'केही समयदेखि कर्जाको ब्याज उठ्न थालेको छ,' राणाले भने, 'ब्याज उठ्न थालेपछि नोक्सानी व्यवस्था धेरै गरिरहनुनपर्ने भएकाले बैंकहरुलाई वित्तीय भार पर्दैन ।' राष्ट्र बैंकले पनि क्रसर उद्योगमा गएको कर्जाले बैंकलाई समस्यामा पारेको भन्दै सम्भावित नोक्सानी व्यवस्थामा छुट दिएको छ । ब्याज भुक्तानी हुन थालेपछि २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपरेको अवस्थामा जम्मा साढे १२ प्रतिशत गरे पुग्ने छुट राष्ट्र बैंकले दिएको हो ।
पछिल्लो समयमा क्रसर र घरजग्गामा गएको कर्जा समस्यामा परेका कारण वाणिज्य बैंकको खराब कर्जासँगै नोक्सानी व्यवस्था वापतको रकमसमेत बढ्न थालेको छ । गत असोजमा १ अर्ब २ करोड रुपैयाँ नोक्सानी व्यवस्थालाई छुट्याएको बैंकले पुससम्म यो १ सय ३९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ छुट्याए । चैत मसान्तसम्म यो करिव सवा तीन अर्ब पुगेको बैंकरहरु बताउँछन् ।



No comments:

Post a Comment

thanks for comment