पूर्वराजाका तस्बिरअंकित नोट खिच्न प्रक्रिया सुरु

काठमाडौं, जेठ १५
राष्ट्र बैंकले पूर्वराजका तस्बिर अंकित नोट बजारबाट विस्थापन गर्न पुनः प्रकृया सुरु गरेको छ। यसका लागि राष्ट्र बैंकले नोट खिच्नका लागि राजपत्रमा सूचना प्रकाशित गर्न सरकारलाई पत्र पठाइसकेको छ। बजारमा करिब ८ अर्ब रुपैयाँ बराबरको पूर्वराजाका तस्बिर अंकित नोट छन्।
 ‘राजपत्रमा सुचना प्रकाशित भएलगत्तै कारवाही सुरु गर्छौ,' राष्ट्र बैंक नोट विभागका एक अधिकारीले शनिबार नागरिकसँग भने, ‘पहिलेजस्तो विवाद नहुने गरी नोट खिँच्छौं। यो काम लगभग ६ महिनाभित्र सक्ने योजना छ।' राष्ट्र बैंकले गत फागुनमा पूर्वराजाको तस्बिर अंकित नोट बजारबाट हटाउन सुरु गरिसकेको थियो। तर जनदवाव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि चैत २ गते नोट फिर्ता लिने निर्णय बदलेर कारवाही स्थगित गरेको थियो।
राष्ट्र बैंकले जेठ पहिलो साता नोट विस्थापनका लागि राजपत्रमा सुचना निकाल्न सरकारलाई पत्रचार गरेको हो। पत्रचार भएको एक महिनामा सुचना प्रकासित हुने गरेको प्रचलन छ।

राष्ट्र बैंक स्रोतका अनुसार, सर्वसाधारण जनतालाई कुनै पनि किसिमको असुविधा नहुने गरि बजारबाट पूर्वराजाको तस्बिर अंकित नोट हटाइने छ। यसका लागि कस्तो प्रकृया अवलम्वन गर्दा राम्रो हुन्छ भनेर छलफल भइरहेको ती अधिकारीले जानकारी दिए।
फागुनमा नोट विस्थापन गर्दा राष्ट्र बैंकले सर्वसाधारणलाई पर्याप्त सुचना दिएको थिएन। यसले गर्दा अशिक्षित तथा दुर्गमका जनताले भविस्यमा पैसा नचल्ने भन्दै १ हजारको नोट पाँच सयमा विक्री गरेका थिए। ‘दुर्गमका जनतालाई केही पनि मुस्किल नहुने गरी नोट खिँच्छौं,' ती अधिकारीले भने, ‘विगतमा अन्जानवस जनतामा त्रास फैलिएको थियो। यसपाली त्यस्तो कमजोरी हुँदैन।' उनले यसपाली पनि विभिन्न ठाउँमा नोट संकलन केन्द्र राखेर पूर्वराजाका तस्विर अंकित नोट हटाइने जानकारी दिए।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार, नोट साट्नका लागि समय तोकिएपछि संकलन केन्द्रवाहेक अन्यत्र भने पूर्वराजाको पैसा चल्दैन। तर सवैलाई सजिलो होस् भनेर संकलन केन्द्रको संख्या वढाइने छ। ‘बैंक तथा वित्तीय संस्थाको समेत सहयोग लिएर तस्विर अंकित नोट साटिने छ,' एक अधिकारीले भने, ‘यसपाली नोट साट्नका लागि पर्याप्त सुचना पनि दिइने छ।'
राष्ट्र बैंकले चार वर्षअघि मन्त्री परिषद्ले गरेको राजाको फोटो अंकित नोट हटाउने निर्णयलाई कार्यान्वयन गर्ने क्रममा नयाँ नोट नीति लिएको थियो। तर बजारबाट नोट खिच्न सरकारले मात्र सक्ने अवस्थामा त्यो प्रकृया पुरा नगरी राष्ट्र बैंकले आफुखुसी गरेको थियो। अख्तियारले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै यसलाई पूर्ववत चल्न दिन निर्देशन दिएपछि राष्ट्र बैंक पछाडि फर्किएको थियो। राष्ट्र बैंक ऐनमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा वाहेक अन्यत्र नचल्ने गराउन सक्ने व्यवस्था छ।
राजाको नोट फिर्ता गराएर राष्ट्र बैंकले त्यसको वद्लामा नयाँ छापेर कमिसन खान खोजेको भन्दै नारायण दाहालले उजुरी दिएपछि अख्तियारले केन्द्रीय बैंकका अधिकारीलाई स्पष्टिकरण सोधेको थियो। राष्ट्र बैंकको निर्देशनका कारण बैंकले नोट नसाट्ने त्रासले सरकारी तथा निजी संस्था, पसल, सार्वजनिक यातायातमा यदाकदा मात्र राजाको फोटो अंकित नोट कारोबार भएको थियो।
चैतमा नोट विस्थापन सुरु गर्दा राष्ट्र बैंकले दुई दिनमा नै २ अर्ब रुपैयाँ बराबरको पूर्वराजका तस्बिर अंकित नोट बजारबाट संकलन गरेको थियो। त्यतिखेर बजारमा करिव १० अर्ब २६ करोड रुपैयाँ राजाको फोटो अंकित नोट थियो।

No comments:

Post a Comment

thanks for comment