एकैचोटी पैसा नझिक्न गभर्नरको आग्रह

सुदर्शन सापकोटा
काठमाडौं, जेठ १० - 
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सबै बैंक तथा वित्तीय संस्थाको अवस्था राम्रो भएकाले एकैचोटी पैसा झिकेर समस्यामा नपारिदिन संस्थागत निक्षेपकर्तासँग आग्रह गरेका छन्। उनले एकैचोटी निक्षेप झिकिदिँदा समस्या आउने भन्दै यस्तो नगर्न आग्रह गरेका हुन्।
तरलता अभाव
भएको अवस्थामा
एकैचोटी पैसा
झिकिदिँदा राम्रै
संस्था पनि
ढल्न सक्छ
 गभर्नरले नागरिक लगानी कोष, बिमा संस्थान, नेपाली सेना, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकमलगायतका उच्च अधिकारीहरुसँग मंगलबारको भेटमा बैंकिङ क्षेत्रका महत्वपूर्ण परिसूचक सबै सकारात्मक भएकोले आत्तिनु पर्ने अवस्था नभएको बताए।
'पैसा झिक्ने राख्ने अधिकार तपाईहरु स्वयंको हो,' गभर्नरको भनाइ उद्धृत गर्दै एक भेटमा सहभागी एक प्रतिनिधिले भने,'तर अहिले विभिन्न कारणले तरलता अभाव भएको अवस्थामा एकैचोटी पैसा झिकिदिँदा राम्रै संस्था पनि ढल्न सक्छ।' उनले २ सय भन्दा बढी संस्था मध्ये एक दुईमा व्यक्तिका कारणले समस्या देखिएकाले सबैलाई डर भएको भन्दै अन्य बैंक वित्तीय संस्थामा समस्या नभएको बताए।
बैंक तथा वित्तीय संस्थाले जोखिम हुने गरी कुनै एक क्षेत्रमा मात्रै लगानी नगरेकोले आत्तिनु पर्ने अवस्था नभएकाले पैसा झिक्न हतार नगर्न उनले आग्रह गरे। 'एकाध मान्छेले सुशासन भंग गरिदिएर हल्ला फैलदाँ त्रासको वातावरण बनेको हो,' उनले भने, 'जहाँ समस्या हुन्छ त्यहाँ कारवाही गरिरहेका छौं। त्यही भएर राष्ट्र बैंकले नियमन गर्ने संस्थाबाट डराउनु पर्दैन।'पुँजी पर्याप्तता अनुपात, तरलता, निक्षेप र कर्जा निक्षेपमा बैंक तथा वित्तीय संस्थाको अवस्था बलियो भएको भन्दै गभर्नर खतिवडाले भने, 'तपाईहरु पनि हल्लाको पछाडि दौडनु भयो भने राम्रा संस्था पनि ढल्न सक्छन्।' वाणिज्य बैंकहरुको पुँजी पर्याप्तता १३ प्रतिशत छ। बैंकहरुको पुँजी पर्याप्तता १० दशमलव ५ देखि ४० प्रतिशत सम्म छ। वाणिज्य बैंकलाई १० प्रतिशत पुँजी पर्याप्तता भए पुग्छ।
गभर्नरले बैंक तथा वित्तीय संस्थाको सबै वित्तीय अवस्था पारदर्शी हुने भएकाले पनि समस्या नआउने भन्दै पछिल्लो समयमा तरलताको अवस्था पनि सुधारिएको बताए। 'तरलताको अवस्था पनि अहिले सुधार भएर गएको छ,' गभर्नरले भने, 'त्यही भएर कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा डुब्छ की भनेर आत्तिनु पर्दैन।'
उनले विकास बैंक र वित्त कम्पनीको पुँजी पर्याप्तता पनि राष्ट्र बैंकले तोकेकै मापदण्ड भन्दा माथि भएको जानकारी दिँदै उनीहरुको तरलता अनुपात २६ प्रतिशत भएको जानकारी गराए। राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थालाई २० प्रतिशत तरलता राख्नुपर्ने सीमा तोकेको छ। गभर्नर खतिवडाले वाणिज्य बैंकको खराब कर्जा २ प्रतिशत, विकास बैंक र वित्त कम्पनीको खराब कर्जा २ देखि ३ प्रतिशत भएको जानकारी दिए।
गभर्नरले कुनै संस्थामा समस्या भएर निक्षेपमा संकट पर्ने देखिएमा राष्ट्र बैंक आफैले बचतकर्तालाई सूचना दिने बताउँदै एकै संस्थामा धेरै संस्थागत निक्षेपकर्ताको नवीकरण हुन लागेको पैसा रहेछ भने पनि एकैचोटी नझिकिदिन आग्रह गरे।
भेटमा संस्थागत निक्षेपकर्ताका प्रतिनिधिहरुले गभर्नरलाई आश्वस्त पार्दै हतार गरेर पैसा नझिक्ने बताए। 'राष्ट्र बैंकले खबर नगरेसम्म हामी पैसा झिक्दैनौं,' भेटमा सहभागी एक प्रतिनिधिले भने, 'तर समस्या आउन लागे राष्ट्र बैंकबाट समयमा नै सूचना दिनु पर्छ।' भेटमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी पनि सहभागी थिए।


No comments:

Post a Comment

thanks for comment