वीरगन्ज फाइनान्स र हिमचुली विकास बैंक गाभिए

काठमाडौं, जेठ ९-
राष्ट्र बैंकले स्वीकृति दिएपछि वीरगन्ज फाइनान्स र हिमचुली विकास बैंक आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक बन्ने भएको छ। ‘गाभिएपछि काठमाडौंमा केन्द्रीय कार्यालय राख्ने गरी एच एन्ड बी विकास बैंकको नाममा सञ्चालनमा आउने छ,' राष्ट्र बैंक प्रवक्ता भाष्कर ज्ञवालीले नागरिकसँग भने। 
 केही समयअगाडि आवेदन दिए पनि मर्जर विनियमावली आएपछि यी दुई संस्था मर्ज हुन लागेका हुन्। विनियमावलीमा मर्जरमा जानेलाई स्तरोन्नति गर्नेलगायत सुविधा व्यवस्था गरिएको छ।
 सँगसँगै काठमाडौंमा ५ र उपत्यकाबाहिर १० शाखा थप्न पाउने स्वीकृति राष्ट्र बैंकले दिएको छ। ‘अरु बाधा अड्चन फुकुवा गर्न राष्ट्र बैंकले सहयोग गर्नेछ,' ज्ञवालीले भने। मर्जर विनियमावलीमा दिइएको सुधिवा पनि यी संस्थाले पाउने छन्।

राष्ट्रियस्तरको विकास बैंक बन्न ६४ करोड चुक्ता पुँजी आवश्यक पर्छ। दुई संस्थाको चुक्ता पुँजी जोड्दा ९० करोड पुग्छ।
दुई संस्था गाभिएर बन्ने सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको समेत निधो भइसकेको छ। कर्मचारीको समायोजन योजना पनि संस्थाहरुले बनाइसकेका छन्।
क्षेत्रीय स्तरको विकास बैंकका रुपमा पोखरामा केन्द्रीय कार्यालय रहेको हिमचुलीको अध्यक्षमा सुशीलराज पराजुली छन्। यसको स्थापना २०६१ मा भएको हो। सञ्चालकमा रमेश कर्माचार्य, बासुदेव बराल, पुष्पज्योति ढुंगाना र दीपककुमार श्रेष्ठ छन्।
हिमचुलीको चुक्तापुँजी ४७ करोड ७९ लाख छ। जगेडा कोषमा ७ करोड ६५ लाख छ। २ अर्ब ६१ लाख निक्षेप छ। २ अर्ब ४१ करोड कर्जा दिएको छ। तेस्रो त्रैमासमा खुद नाफा ५ करोड ७५ लाख छ। पुँजी कोष २१ दशमलव ७३ छ। कर्जा निक्षेप अनुपात ७६ छ।
प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ। प्रतिसेयर नेटवर्थ १ सय १५ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात १४ दशमलव ८६ छ। हिमचुलीको तरलता अनुपात २७ दशमलव ३६ र खराव कर्जा सुन्य दशमलव २७ प्रतिशत छ। यसका शाखा ८ पुगेको छ।
ग वर्गको वित्तीय संस्थाका रुपमा वीरगन्जमा केन्द्रीय कार्यालय रहेको वीरगन्ज फाइनान्स २०६० मा स्थापना भएको हो। यसको कार्यकारी अध्यक्षमा विजयकुमार सरावगी छन्।
श्रवणकुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, श्यामकुमार क्षेत्री, रवीन्द्रकुमार वमावल, राजेशकुमार सरावगी, सुरेन्द्र पौडेल र सञ्जय खेतान सञ्चालक छन्। यसका शाखा १० छन्। चुक्तापुँजी ४२ करोड छ। जगेडा कोषमा ७ करोड छ। निक्षेप ३ अर्ब ३१ करोड छ। कर्जा ३ अर्ब ४ करोड गएको छ। तेस्रो त्रैमास सम्म नाफा ४ करोड ७० लाख छ। पुँजीकोष १५ दशमलव ६२ छ। खराब कर्जा सुन्य दशमलव ९८ प्रतिशत छ। प्रतिसेयर आम्दानी ११ दशमलव १९ छ। प्रतिसेयर नेटवर्थ १ सय १६ दशमलव १९ छ। तरलता अनुपात १९ दशमलव ८२ प्रतिशत छ। मूल्य आम्दानी अनुपात १५ दशमलव ४ प्रतिशत छ।
कम्तीमा दुई संस्था गाभिँदा सञ्चालन खर्च घटी नाफा बढ्नेछ। लगानी गर्ने क्षमता पनि बढ्नेछ। धेरै साना संस्था एक आपसमा गाभिँदा अनुगमन निरीक्षणमा समेत सहज हुने राष्ट्र बैंकले जनाउँदै आएको छ। गाभिँदा बुझाउनुपर्ने पुँजीगत लाभकरलगायत करको झन्झट हटाएमा मर्जरमा जाने संस्था बढ्ने बैंकरले जनाउँदै आएका छन्।

No comments:

Post a Comment

thanks for comment