निक्षेप फिर्ता गर्न गोरखा र सेयर मार्केट्सलाई निर्देशन

काठमाडौं वैशाख २७
बैंक साचालकको अनियमितताले समस्यामा परेका गोरखा विकास बैंक र नेपाल सेयर मार्केटस् एन्ड फाइनान्सलाई निक्षेपकर्ताको पैसा फिर्ता दिने कार्य तत्काल सुरु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
'सबै कार्यालय खोली तत्काल निक्षेपकर्तालाई पैसा फिर्ता दिन मंगलबार निर्देशन दिइएको छ,' राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने ।
गोरखाले एक महिनादेखि निक्षेप लिन दिन र कर्जा बन्द गरेको छ । एक सातादेखि सेयर मार्केट्सले पनि निक्षेपकर्तालाई पैसा फिर्ता दिएको छैन ।
वैशाख ११ देखि एक साता निक्षेपकर्तालाई पैसा फिर्ता दिए पनि गोरखाले अहिले निक्षेप लिने दिने र कर्जा प्रवाह बन्द गरेको छ । 'नयाँ व्यवस्थापन समूह बनाएर जेठ पहिलो सातादेखि बैंक सूचारु हुनेछ,' गोर्खा विकास बैंकका अध्यक्ष प्रेम मेघाले नागरिकसँग भने ।
कृषि प्रेमुराले ३० करोड कर्जा लगेकोमा ७५ लाख रुपैयाँ फिर्ता गरेको छ । अब्दुल कवाडीको १२ करोड ५० लाख कर्जा मध्ये जेठ १० सम्म सावाँ ब्याज बुझाउने लिखित प्रतिबद्धता आएको मेघाले बताए । अहिले पनि गोरखा बैंकसँग नगद मौज्दात २३ करोड छ ।
सेयर मार्केट्सका कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले १ अर्ब रुपैयाँ कर्जा अनियमित रुपमा प्रवाह गरेको भेट्टिएपछि राष्ट्र बैंकले वैशाख २२ मा कारबाही अगाडि बढाएको थियो । श्रेष्ठका छोराहरु श्रीमतीसमेत बैंक खाता र सम्पत्ति रोक्का गरिएको छ । उनको राहदानीसमेत रोक्का गरिएपछि निक्षेपकर्तालाई पैसा फिर्ता दिने कार्य रोकिएको छ ।
यसका सबै कार्यालयबाट निक्षेपकर्ताले पैसा फिर्ता पाउन सकेका छैनन् । सेयर मार्केट्स साचालक समितिसँग सोमबार राष्ट्र बैंकले बोलाएर निक्षेप फिर्ता दिने काम सुरु गर्न निर्देशन दिएको थियो । मौखिक निर्देशन पालना नगरेपछि मंगलबार लिखित निर्देशन दिइएको हो ।
गोरखामा भट्टराई र उप्रेती
गोरखा विकास बैंकको साचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा कृष्णकुमार भट्टराईलाई नियुक्त गर्न राष्ट्र बैंकसँग स्वीकृति मागेको छ । कन्सल्ट्यान्ट एडभाइजरमा तुलसी उप्रेतीलाई नियुक्तिका लागि बैंकले स्वीकृति माग्दै मंगलबार पत्र पठाएको छ ।
समस्याग्रस्त घोषित बैंकले राष्ट्र बैंकको स्वीकृतिमा मात्रै कर्मचारी नियुक्त गर्न सक्छ । 'यही व्यवस्थाअनुरुप राष्ट्र बैंकसँग स्वीकृति मागिएको हो,'  अध्यक्ष बेघाले भने ।


No comments:

Post a Comment

thanks for comment