बिमा समितिद्वारा पुँजीवृद्धिको योजना माग

काठमाडौं जेठ १२
विद्यमान पुँजीभन्दा १० गुणासम्म वृद्धि गरेर अर्थ मन्त्रालयमा बिमा ऐनको मस्यौदा पठाएको बिमा समितिले अर्थमन्त्रीको दबाबमा पुँजीवृद्धि सम्बन्धी राय दिन बिमा कम्पनीहरुलाई पत्राचार गरेको छ । बिमा व्यवसायीहरुले पुँजीवृद्धि अस्वभाविक बढाएर समितिले एकलौटी मस्यौदा बनाएको भन्दै यसमा पुनर्विचार गरिदिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई आग्रह गरेपछि उनको दबाबमा यो पुनरावलोकन गर्न लागिएको हो ।
'पुँजीवृद्धि कुन रुपमा गर्दा ठिक हुन्छ भनेर समितिले पत्र पठाएको छ,' एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हामीले यति धेरै पुँजीवृद्धि गर्दा बिमा व्यवसाय आर्थिक रुपमा सम्भाव्य हुँदैन भनेका थियौं । आज आएर बल्ल समितिले पुनर्विचार गर्न लागेजस्तो छ । '
बिमा समितले अन्तिम रुप दिएर अर्थ मन्त्रालय पठाएको बिमा ऐनको मस्यौदामा जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको पुँजी १ अर्ब पुर् याउनुपर्ने उल्लेख । विद्यमान ऐनम जीवन बिमा कम्पनीको २५ करोड र निर्जीवनको १० करोड पुँजी हुनुपर्ने व्यवस्था छ ।
गत साता मागिएको राय कम्पनीहरुले आगामी साता समितिलाई बुझाई सक्नुपर्छ । बिहीबार पुँजीवृद्धि कसरी गर्दा ठिक हुन्छ भनेर जीवन र निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारीहरुको बेग्लाबेग्लै छलफलसमेत भएको छ । 'हामीले पाँच वर्षभित्र क्रमिक रुपमा पुँजी बढाएर ५० करोड पुर् याउने राय तयार पारेका छौं,' एक जीवन बिमा कम्पनीका प्रमुख कार्यकारीले भने, 'राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पुँजीवृद्धि गर्न जुन रुपमा समय दिएको थियो त्यहीअनुसार समितिले पनि दिनुपर्छ । एकैचोटी ह्वात्तै पैसा हाल्न गाह्रो हुन्छ ।'
निर्जीवन बिमा कम्पनीहरुले चुक्ता पुँजी बढाउँदै लगेर २५ करोड पुर् याउनुपर्ने राय तयार पारेका छन् । एकैचोटी पुँजीवृद्धि गर्न नसकिने भन्दै उनीहरुले केही समय दिएर पुँजी २५ करोडसम्म पुर् याउन सकिनै एक प्रमुख कार्यकारीले जानकारी दिए ।
बिमा समितिले भने ऐन पारित हुन समय लाग्ने देखिएकाले तत्कालका लागि पुँजीको योजना मागिएको जनाएको छ । 'पुँजीवृद्धि कुन रुपमा गर्ने हो भनेर योजना मागेका हौं,' समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने, 'योजना अनुसार पुँजीवृद्धि गर्दा कम्पनीहरुलाई पनि सजिलो र समितिलाई पनि उनीहरुको योजना अनुसार कार्यान्वयन गरे नगरेको हेर्न सजिलो हुन्छ ।'

No comments:

Post a Comment

thanks for comment