तरलता अभाव समाधान गर्न आग्रह


काठमाडौं जेठ १
तरलता अभाव लम्बिदै गएपछि यसको समाधानका लागि पहल गर्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले राष्ट्र बैंकलाई अनुरोध गरेका छन् ।
बैंकस्र संघको कार्यसमितिले आइतबार डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई भेटेर तरलता अभाव कम गर्नका लागि रिपो सरकारी ऋण पत्रको धितोमा उपलब्ध कर्जा लाई सहजीकरण गर्न आग्रह गरेका हुन् ।
यसका लागि बैंकरहरुले रिपो र रिभस्र रिपोको दर तोकेर साताको दुई-तीन दिनका दरले नियमित पैसा उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन् । उनीहरुले बोलकबोलमार्फत रिपो सुविधा उपलब्ध हुँदा यसले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै निश्चित दर तोकेर पैसा उपलब्ध गराउँदा तरलता अभाव नियन्त्रणमा आउने बताएका हुन् । बैंकरहरुले रिपोमात्र उपलब्ध गराएर तरलता अभाव समाधान नहुने भएकाले यसलाई सहजीकरण र व्यवस्थित गर्न आग्रह गरेका हुन् । भारतमा पनि बैंकहरुलाई निश्चित दर तोकेर सातामा दुई-तीन पटक रिपो उपलब्ध गराइन्छ ।
बैंकरले पुनर्कर्जाको सहजीकरण गर्न पनि राष्ट्र बैंकलाई आग्रह गरे । अहिले पुनर्कर्जा लिनका लागि लामो समय पर्खिनु परेको भन्दै उनीहरुले यसलाई सहज पार्न आग्रह गरे । बैंकरहरुले असल कर्जामा वाणिज्य बैंकलाई ऋण दिँदा सबै खातापाता पल्टाउँदा समय लाग्ने गरेको बताए । 'सबै खाता पल्टाउन आवश्यक छैन,' भेटपछि एक बैंकरले भने, 'पुनर्कर्जा बैंकले जोखिम उठाएर लिने भएकाले राष्ट्र बैंकले सजिलै दिदा फरक पर्दैन ।'
बैंकरको सुझावपछि डेपुटी गभर्नरद्वयले तरलता अभाव समाधान गर्न राष्ट्र बैंकले पनि आवश्यक भूमिका खेल्ने बताए । 'हामी पनि यसमा गम्भिर छौं,' अधिकारीलाई उद्धृत गर्दै ती बैंकरले भने, 'यसमा अध्ययन गरेर के गर्न सकिन्छ गरौंला ।' राष्ट्र बैंकले पुनर्कर्जा खुकुलो र सहजीकरण गरिनेसमेत आश्वासन दिएको छ ।

No comments:

Post a Comment

thanks for comment