सम्भावित नोक्सानी व्यवस्था ४९ प्रतिशत बढ्यो

घरजग्गा तथा निर्माण क्षेत्रको कर्जाको व्याज किस्ता उठ्न छाड्यो
सुदर्शन सापकोटा
काठमाडौं जॆठ १०
घरजग्गा तथा निर्माण क्षेत्रमा लगानी भएको कर्जाको साँवा ब्याज नउठ्दा बैंक तथा वित्तीय संस्थाको सम्भावित नोक्सानी व्यवस्था ४९ प्रतिशतले बढेको छ ।
बैंकहरुले हालै प्रकाशित गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा कर्जाको ब्याज र किस्ता उठ्न छाडेपछि गर्नुपर्ने सम्भावित नोक्सानी व्यवस्थाको रकम ४९ प्रतिशतले बढेको हो । यसले यो क्षेत्रमा गएको कर्जा समस्यामा परेको संकेत गरेको छ ।
सम्भावित नोक्सानीको 
रकम अस्वभाविक रुपमा 
वढ्नुले कर्जाको गुणस्तर 
खस्केको हो भन्ने संकेत गर्छ
 पछिल्लो माघ फागुन र चैत तीन महिनामा कर्जा ४ दशमवल ८७ ले घटेको बेला नोक्सानी व्यवस्था २ अर्ब ४४ करोडबाट बढेर ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार दोस्रो त्रैमासिक अर्थात पुस मसान्तभन्दा कुल कर्जा ४ दशमलव ८७ प्रतिशत अर्थात २४ अर्ब ५५ करोडले घटेको छ ।
'बैंकहरुले घरजग्गामा लगानी गरेको कर्जाले ब्याज ख्वाउन छाडेको छ,' बैंकस्र संघका अध्यक्ष अशोक राणाले मंगलबार नागरिकसँग भने, 'यसले नोक्सानी व्यवस्था बढेको हो ।' पहिले किस्ता नउठ्दा मात्रै नोक्सानी व्यवस्था गर्नुपर्ने नीतिलाई परिमार्जन गर्दै केही समयअघि राष्ट्र बैंकले ब्याज नआउँदा पनि नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको थियो ।
'सम्भावित नोक्सानीको रकम अस्वभाविक रुपमा वढ्नुले कर्जाको गुणस्तर खस्केको हो भन्ने संकेत गर्छ,' बैंकस्र संघका उपाध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारीले भने । बैंकहरुले कर्जा प्रवाह गरेकै दिन त्यसको १ प्रतिशत नोक्सानी व्यवस्थामा छुट्याउनुपर्छ । तीन महिनामा किस्ता तथा ब्याज नउठे २५ प्रतिशत ६ महिनामा ५० प्रतिशत र एक वर्षपछि सत् प्रतिशत व्यवस्था गर्नुपर्छ । खासगरी रियलस्टेटको मार्के ह्वात्तै बिगि्रँदा बैंकको ठूलो लगानी समस्यामा परेको एक बैंकरले बताए । 'दीर्घकालिन सोच नबनाई एकैचोटी ब्रेक लगाई दिँदा अहिले समस्या एकदमै ठूलो भएर आएको हो,' ती बैंकरले भने, 'विस्तारैविस्तारै कडाइ गर्दै लगिएको भए असर नदेखिकनै समस्या समाधान भइसक्थ्यो ।' 
बैंकरका अनुसार अर्थ मन्त्रालय र राष्ट्रबैंकको नीतिका कारण करोडौं ऋण लिएर घरजग्गा र प्लटिङ व्यवसायमा लगानी गरेका व्यवसायीले ऋण तिर्न नसक्दा बैंक कर्जा समस्यामा पर्न थालेको उनीहरुको ठहर छ । अहिले घरजग्गा किनबेच ठप्प भएको र मूल्य पनि ३० प्रतिशतसम्म घटेकाले व्यवसायी कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । किन्नेले मूल्य घटेको भन्दै सस्तोमा खोज्ने र चर्को बैंक ब्याजका कारण वेच्नेले थप घटेर वेच्न नसक्ने भएकाले कारोबार ठप्प भएको हो । 'कारोबार छैन त्यही भएर उठ्ने खालको कर्जाबाट पनि ब्याज आउन छाडेको छ,' राणाले भने, 'यसले बैंकिङ क्षेत्रलाई अलिकति समस्या पारेको छ ।'
चालु वर्षको पहिलो महिनादेखि नै अधिकांश वाणिज्य बैंकको घरजग्गामा गएको कर्जा किस्ता उठ्न छाडेपछि उनीहरुले नउठेको कर्जाको २५ प्रतिशत रकम सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्टुउन थालेका थिए । पछिल्लो समयमा कर्जाको किस्ता नतिर्ने ऋणी अझ थपिएका हुन् ।
वाणिज्य बैंकहरुले चैत मसान्तसम्म ५ खर्ब १६ अर्ब ४४ करोड रुपैयाँ कुल कर्जा लगानी गरेका छन् । यसमध्ये घरजग्गामा मात्र करिब ८० अर्ब रुपैयाँ लगानी छ । ६ अर्ब रुपैयाँ क्रसरमा छ । 'अर्थतन्त्रको चौतर्फी असर बैंकको कर्जामा देखिएको हो,' किस्ट बैंकका प्रबन्ध साचालक कमल ज्ञवालीले भने, 'सबैतिरको मन्दीले बैंकको किस्ता र ब्याज उठ्न समस्या भएको हो ।' उनले खासगरी अहिले क्रसर रियलस्टेट र हायरपर्चेजमा गएको कर्जाले ब्याज ख्वाउन छाडेको बताए ।
अधिकांश बैंकले नोक्सानी व्यवस्थाबाट जोगाउन केही राम्रा ऋणीलाई ओभरड्राफ्टमार्फत बैंकको ब्याज र किस्ता तिर्न थप कर्जा पनि दिएका थिए । यस्तो खालको कर्जा सबैलाई दिन नसकिने भएकाले अधिकांश ठूला कर्जाबाट ब्याज आउन छाडेको ती बैंकरले जानकारी दिए । किस्ट बैंकका ज्ञवालीले भने पहिले धेरै नाफा कमाएका रियलस्टेटका व्यवसायीले भने त्यही नाफाबाट ब्याज भुक्तानी गरिरहेको जानकारी दिए । 'त्यसबेला कमाएका व्यवसायीले पैसा जोगाएर राखेकाले ब्याज तिरिरहेका छन्,' उनले भने ।
पुसबाट चैतसम्म आउँदा बैंकको निक्षेप पनि ५.२२ अर्थात ३२ अर्ब ७६ करोड रुपैयाँले घटेको छ । यो अवधिमा समग्र वासलातको आकार नै ५.४२ प्रतिशत अर्थात ४२ अर्बले घटेको छ । यद्यपि नाफा भने २ अर्ब ५६ करोडले बढेर १० अर्ब रुपैयाँ पुगेको छ ।


No comments:

Post a Comment

thanks for comment