समस्यामा रहेका संस्थामा डुवेको रकमको नोक्शानी व्यवस्था गर्न नपर्ने

काठमाडौं, भदौ २३
नेपाल राष्ट्र बैंकले गत बर्षको वासलातमा समस्यामा रहेका बैंक तथा वित्तीय संस्थामा गरेको अन्तर बैंक सापटी, निक्षेप तथा अन्य दावीमा नोक्शानी व्यवस्था गर्न नपर्ने व्यवस्था गरेको छ। नोक्शानी व्यवस्था गर्नु नपरेपछि बैंक तथा वित्तीय संस्थाले गत बर्षको नाफाबाट लाभांस दिन पाउने भएका छन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि शंशोधन गर्दै अन्तर बैंक सापटी, निक्षेप, कर्जा वा अन्य दावी वापत सुरक्षणमा भएको धितो विक्री गर्न राष्ट्र बैंकले बन्देज लगाएको वा त्यस्तो सम्पत्ति रोक्का राखेको अवस्थामा भने रोक्का बन्देज लगाएको अवधिसम्मका लागि थप नोक्सानी व्यवस्था गर्न नपर्ने व्यवस्था गरेको हो। 
राष्ट्र बैंकले धितो विक्री गर्न बन्देज लगाएको वा त्यस्तो सम्पत्ति रोक्का राखेको अवस्थामा सम्बन्धित संस्थाले विक्री गर्न तथा रोक्का फुकुवा गर्न पहल नगरेमा त्यस्तो धितो रहेको रकम आउँदो असोज मसान्तदेखि नोक्शानी व्यवस्थामा राख्नु पर्ने समेत व्यवस्था गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार असोज मसान्तसम्म कम्तिमा २५ प्रतिशत, पुस मसान्तसम्म कम्तिमा ५० प्रतिशत र २०७१ असार मसान्तसम्म सत् प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नु पर्ने हुन्छ। 
गत आर्थिक वर्षमा नोक्सानी व्यवस्था कायम गरिसकेको अवस्थामा त्यस्तो कर्जा असुल नहुन्जेलसम्म नोक्सानी व्यवस्था फिर्ता गर्न नपाईने समेत व्यवस्था गरिएको छ। राष्ट्र बैंकको नयाँ निर्देशनपछि बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांस वितरणमा सहज भएको छ। 

बाणिज्य बैंकले लाभांस घोषणा गर्न थाले

काठमाडौं, भदौ २२
खुद नाफा ४० प्रतिशतभन्दा वढीले बृद्धि गरेका बाणिज्य बैंकहरुले सेयर लगानीकर्ताका लागि उच्च प्रतिफल घोषणा गर्न थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आकर्षक लाभांस घोषणा गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा वढी लाभांस नबिल बैंकले घोषणा गरेको छ। दुई अर्ब २३ करोड रुपैयाँ नाफा गरेको बैंकले ६५ प्रतिशत लाभांस घोषणा गरेको हो। बैंकले यसमध्ये ४० प्रतिशत नगद र २५ प्रतिशत वोनस सेयर वितरण गर्ने भएकोे हो। गत बर्ष बैंकले ६० प्रतिशत लाभांस घोषणा गरेको थियो। यसपछि एभरेष्ट बैंक लिमिटेडले बढी लाभांस घोषणा गरेको छ। बैंकले ५० प्रतिशत नगद र १० प्रतित वोनस सेयर घोषणा गरेको हो।

दसैंमा ३० अर्बको नयाँ नोट वितरण गरिँदै

काठमाडौं, भदौ १९
आउँदो दसैंमा नयाँ नोटको अवाभ हुन नदिन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ। असोज पहिलो साताबाट नयाँ नोट बजारमा ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकले सानो दरका नोट बढी वितरण गर्ने भएको छ।
'दसैंमा नयाँ नोटको अभाव हुन नदिन प्रशस्त मौज्दात राखेका छौं,' राष्ट्र बैंकका प्रबक्ता भास्करमणि ज्ञवालीले बिहीबार नागरिकसँग भने, '३० अर्ब छुट्याएका छौं यसले पनि नपुग्ने देखिए थप नोट वितरण गर्ने छौं।'
राष्ट्र बैंकले नयाँसहित एक पटक प्रयोग भइसकेको सफा तथा सुकिला नोटहरु पनि वितरण गर्ने छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकार अनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउने योजना बनाएको छ। 
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउने छन् भने विकास बैंक, फाइनान्स कम्पनीहरुले योभन्दा कम नोट पाउने छन्। गत बर्ष बैंक तथा वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो। गत बर्षको गुनासोलाई पनि शंवोधन गर्ने गरी राष्ट्र बैंकले नोट वितरण गर्ने योजना बनाएको जनाएको छ। 
राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिने ज्ञवालीले जानकारी दिए। राष्ट्र बैंकले थपाथलीमा आधा दर्जनको हाराहारीमा सटही काउन्टरबाट नोट वितरण गर्ने छ। 

सानिमा माइलाई सर्वसाधारणमा २१ करोडको सेयर जारी गर्न स्वीकृति

काठमाडौं, भदौ १९ 
नेपाल धितो पत्र वोर्डले सानिमा माइ हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका नौं वटा गाविसका वासिन्दालाई सेयर जारी गरेको थियो। 
सानिमाइ माइसँगै कालिका माइक्रो त्रे्कडिट र मुक्तिनाथ लघुवित्त विकास बैंकले पनि सेयर जारी गर्न स्वीकृति पाएका छन्। कालिकाले प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको हो भने मुक्तिनाथले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो। सेयर जारी गर्न स्वीकृति पाएका तीन वटै कम्पनीले दुई महिनाभित्र निस्कासन गरिसक्नु पर्ने प्रावधान छ। 
वोर्डका अनुसार, सानिमा माइले २१ करोड १० लाख रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको छ। कालिका माइले २ करोड रुपैयाँ र मुक्तिनाथले प्रति सेयर १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएका छन्। 

पाँच अर्बको रिभर्स रिपोमा ३० अर्बको आवेदन

काठमाडौं, भदौ १९ 
नेपाल राष्ट्र बैंकले जारी गरेको पाँच अर्बको रिभर्स रिपोका लागि ३० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ। बैंकिङ प्रणालीमा अत्याधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएर निक्षेपको ब्याज दर घट्न थालेपछि नेपाल राष्ट्र बैंकले तरलता आफूसँग तान्न बुधबार रिभर्स रिपो जारी गरेको थियो। बिहीबार रिभर्स रिपो वाँडफाँड गरिएको छ।
राष्ट्र बैंकको प्रवक्ता भास्करमणि ज्ञवालीले रिभर्स रिपोका लागि २८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाएको जानकारी दिए। 'रिभर्स रिपोको औषत भारित ब्याज दर ०.०७५ प्रतिशत निर्धारण भएको छ,' उनले भने। 
पहिले नै जारी भइसकेको टे्रजरी विल (सरकारी ऋणपत्र) लाई राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई रिभर्स रिपो नाम दिएर विक्री गर्छ। बजारमा पर्याप्त तरलता भएका बेला रिभर्स रिपो जारि गरिन्छ। यसअघि दुई बर्ष पहिले रिभर्स रिपो जारी गरिएको थियो।
बाणिज्य बैंकहरुसँग निक्षेप बढेको अनुपातमा ऋण लगानी हुन नसकेपछि बजारमा तरलता बृद्धि भएको छ। अनिवार्य तरलता अनुपात (सिआरआर) घटाएपछि त्यो रकम पनि बजारमा आएको छ। डलरको बृद्धिसँगै दसैं तिहार नजिकिएकाले रेमिटेन्स् पठाउने क्रम बढेर तरलतामा बृद्धि भएको छ। 

एभरेष्ट इन्स्योरेन्स युनियनद्वारा आफै प्रमुख कार्यकारी सिफारिस

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १८ 
सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा बसेका एभरेष्ट इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले सहायक महाप्रबन्धकलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सञ्चालक समितिमा सिफारिस गरेका छन्। वर्तमान प्रमुख कार्यकारी अधिकृतले समस्या सुल्झाउन पहल नगरेको भन्दै कर्मचारी युनियनको अगुवाइमा नयाँ प्रमुख कार्यकारी अधिकृतको सिफारिस गरिएको हो। 
युनियनले नयाँ प्रमुख कार्यकारीमा वित्त विभाग प्रमुख तथा सहायक महाप्रबन्धक अनिल ढुङगेललाई नियुक्तीका लागि सिफारिस गरेको छ। बर्तमान प्रमुख कार्यकारी केवलकृष्ण श्रेष्ठले नियामक निकाय बिमा समितिसँगको सम्वन्ध विगारेका कारण समस्या सुल्झनुको साटो बिग्रिएको भन्दै कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी नियुक्त गर्न सिफारिस गरेको बताएका छन्। केही दिनमै बस्ने कम्पनीको सञ्चालक समितिको वैठककमा नयाँ प्रमुख कार्यकारीको नाम अनुमोदन गराउन दवाव दिने पक्षमा युनियन छ। 
'कम्पनी सञ्चालन हुनु पर्छ भन्ने मान्यताले अहिले सबै कर्मचारी एक भएका छन्। बर्तमान प्रमुख कार्यकारी श्रेष्ठ एकातिर छन् बाँकी कर्मचारी अर्कातिर भएको अवस्था छ,' युनियनका अध्यक्ष शम्शेर रोकाले मंगलबार नागरिकसँग भने, 'त्यही भएर संस्था चलाउनका लागि नयाँ प्रमुख कार्यकारीको नाम सिफारिस गरेका हौं।'
कम्पनीमा समस्या हुनु पूर्व एभरेष्टमा ढुङगेलसहित तीन जना सहायक महाप्रबन्धक छन्। कम्पनी बन्दतर्फ लागेपछि यसमध्ये रमा दाहालले राजिनामा गरिसकेकी छन् । 

मुद्रा र पुँजी बजार सुधार्न एडिबीको सहयोगमा तीन प्रोजेक्ट

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १७
नेपालको पुँजी तथा मुद्रा बजारलाई व्यवस्थित गर्दै सार्वजनिक निजी साझेदारी सेल गठन गर्न सरकारले अध्ययन सुरु गरेको छ। पुँजी बजार तथा भौतिक पूर्वाधार क्षमता सहायता योजना (क्यापिटल मार्केट एन्ड इन्फ्रास्ट्रक्चर क्यापसिटी सर्पोट प्रोजेक्ट) अन्तर्गत तीन वटा योजनाको काम अगाडि बढेको हो।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा सरकारले अध्ययन अगाडि बढाएको छ। २०१५ नोभेम्बरसम्म पुरा हुने लक्ष्य राखिएको यो योजनामा एडिबी र सरकारले ६ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ लगानी गर्ने छन्।
एडिबीले पाँच करोड डलर (सोमबारको बिनिमय दर अनुसार, पाँच अर्ब २७ करोड १५ लाख रुपैयाँ) सहयोग गरेको छ। सरकारले आफ्नो तर्फबाट एक करोड २५ लाख डलर (एक अर्ब ३१ करोड ७८ लाख ७५ हजार रुपैयाँ) लगानी गर्ने छ। 
'नेपालको ऋणपत्र बजार व्यवस्थित नभएकाले यसलाई सुधार गर्नका लागि रकम खर्च हुने छ,' अर्थमन्त्रालयका सहसचिव नवराज भन्डारीले नागरिकसँग भने, 'यस बाहेक सार्वजनिक निजी साझेदारी सेलको गठन लगायतका कार्यहरु हुने छन्।'

नेप्सेमा अर्बको सेयर कारोबार : एनबी समूहको साढे ७५ करोडको सेयर आइएफआइसीको स्वामित्वमा

काठमाडौं, भदौ १६
एनबी समूहअन्तर्गतको नेपाल बंगलादेश (एनबी) बैंकको प्रवर्द्धक सेयर बंगलादेशी साझेदारको नाममा नामसारी भएको छ। आइतबार एनबी समूहअन्तर्गत रहेको २९ लाख १४ हजार १२ कित्ता सेयर बंगलादेशी आइएफआइसी बैंकको स्वामित्वमा गएको हो।
प्रति कित्ता २ सय ६० रुपैयाँका दरले सेयर नामसारी भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित कारोबार समय (दिउँसो १२ बजेदेखि ३ बजेसम्म) पछाडि भएको नामसारीपछि एनबी समूहको स्वामित्व एनबी बैंकबाट लगभग सकिएको छ। 
'बिहान १० बजेदेखि आफूसहित बैंकको टिम लागेर सेयर नामसारी गराइएको छ,' बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङगानाले आइतबार साँझ नागरिकसँग भने, 'अब  वाँकी सेयर नामसारी गर्न पनि बाटो खुलेको छ।' एनबी समूहका सदस्यहरु सञ्चालक रहेको सेयर र अर्को साझेदार बैंक एसियाको प्रबर्द्धक सेयर नामसारीपछि एनबी बैंकमा आइएफआइसीको स्वामित्व ५१ प्रतिशत पुग्ने छ।
नेप्सेमा २६० रुपैयाँका दरले एनबी बैंकको २९ लाख कित्ताभन्दा वढी सेयर नामसारी भएपछि कुल कारोबार रकम एक अर्ब तीन करोड ४१ लाख रुपैयाँ नाघेको छ। एनबी बैंकको ७५ करोड ७६ लाख ४३ हजार रुपैयाँभन्दा बढीको प्रबर्द्धक सेयर कारोबार भएको छ। बाँकी नियमित कारोबार अन्तर्गत २७ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

स्थानीय मुद्रामा ऋणपत्र : आइएफसी र एडिबीलाई ऋणपत्र जारी गर्न दिन निर्देशिका बनाइँदै

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १६ 
दातृ निकायहरुलाई स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न खुला गरेको सरकारले आवश्यक पुर्वाधार, प्रकृया र सर्तहरुका बारेमा वेग्लै निर्देशिका तयार गर्न सुरु गरेको छ। नेपाल धितोपत्र ऐनमा टेकेर सरकारले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न दिने निर्देशिका तयार पार्न लागेको हो।
'नेपाली मुद्रामा विदेशी निकायहरुले ऋणपत्र जारी गर्न इच्छा देखाएकाले उनीहरुलाई सहजीकरण गर्न निर्देशिका बनाउने काम सुरु भएको छ,' अर्थमन्त्रालयका सहसचिव नवराज भन्डारीले आइतबार नागरिकसँग भने,'उनीहरुले कानुनी पाटो चाँडो सकेर बाटो खोलिदिन आग्रह गरिरहेका छन्। हामी चाँडै व्यवस्था मिलाउँदैछौं।' 
नेपाली मुद्रामा ऋणपत्र जारी गर्न विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएका हुन्। उनीहरुले नेपाली मुद्रामा ऋणपत्र जारी गरी पुँजी संकलन गर्ने छन्। यो रकम नेपालकै आन्तरिक विकासमा खर्च हुने छ। 

डलरको मूल्य अहिलेसम्मकै महँगो, मूल्य १०८.९० रुपैयाँ पुग्यो

काठमाडौं, भदौ १३
अमेरिकी डलरको मूल्य बिहीबार एकैदिन तीन रुपैयाँ ५५ पैसाले बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार भारतीय मुद्रा तिब्र रुपमा कमजोर भएपनि मूल्य समायोजन गरेको थिएन। सात दिनमा एक डलरको मूल्य सात रुपैयाँ ४३ पैसाले बढिसकेको छ।
बिहीबार विहानै तीन रुपैयाँ ५५ पैसा बढाएर मूल्य समायोजन गरेको हो। बाणिज्य बैंकहरुले बिहान एक सय १० रुपैयाँसम्म कारोबार गरेपनि दिउँसो १०८ रुपैयाँको हाराहारीमा कारोबार थालेका थिए। 
राष्ट्र बैंकले बिहीबार कार्यालय नखुल्दै आकस्मिक विज्ञप्ति जारी गर्दै मूल्य बढाएको सार्वजनिक गरेको थियो। राष्ट्र बैंकले एक अमेरिकी डलरको मूल्य एक सय आठ रुपैयाँ ९० पैसा तोकेको छ। बुधबार बेलुका राष्ट्र बैंकले अघिल्लो दिनकोभन्दा चार पैसाले मूल्य बढाएर १०५ रुपैयाँ ३५ पैसा तोकेको थियो। बढेको मूल्य अहिलेसम्मकै महँगो हो। 
भारतीय सञ्चार माध्यमहरुले डलरको बृद्धिलाई तत्काल रोक्न नसकिने जनाएका छन्। भारतसँगको स्थिर बिनिमय दरका कारण नेपाली मुद्रा थप कमजोर हुँदै जाने छ। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ। 

घर र गाडी कर्जाको ब्याज घट्न थाल्यो

काठमाडौं, भदौ ११
बैंकबाट ऋण लिएर घर र गाडी जोड्न खोज्नेहरुले सस्तो ब्याजमै पैसा पाउन थालेका छन्। बैंकहरुले अन्य ऋणको तुलनामा घर र गाडीको ब्याज घटाएका कारण उपभोक्ताले सस्तो ब्याजमा पैसा पाउने भएका हुन्। 
बैंक तथा वित्तीय संस्थाले घर र गाडी किन्न नियमित र राम्रो आम्दानी भएका ग्राहकलाई …स्किम' मार्फत सस्तोमा कर्जा दिन थालेका हुन्। बैंकसँग ब्याज तिर्नुपर्ने निक्षेप बढिरहँदा त्यस अनुपातमा लगानी नभएपछि उनीहरुले सजिलै घर र गाडीमा ऋण बढाउन थालेका हुन्। 
'बैंकहरुसँग तरलता बढेका कारण ब्याज दर घट्दै गएको छ। दसैंपछि यो अझ घट्छ,' कमर्ज एन्ड ट्रस्ट बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले मंगलबार नागरिकसँग भने, 'घर, गाडीका साथै कर्पोरेट ऋणको ब्याज पनि घटेको छ।'
बैंकले एक करोडभन्दा कम मूल्यको घर तथा जग्गा किन्न ऋण दिन थालेका हुन्। यस्तो ऋणमा जोखिम कम हुने भएकाले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै बैंकहरुले सानो–सानो आकारमा ऋण विस्तार गर्न ब्याज घटाएका हुन्। 
'दसैंमा अल्पकालिन ऋणको माग वढ्छ, यसले गर्दा ब्याज दर दुई महिना सामान्य मात्र घट्छ,' भट्टराईले भने, 'अल्पकालिन माग सकिएपछि बैंकसँग लगानी गर्ने सीमित ठाउँ हुने भएकाले घर, गाडी, अपार्टमेन्टमा जाने कर्जाको ब्याज अझ घट्ने छ।'

गैरसरकारी संस्थालाई लघुवित्त बैंकमा परिणत गरिँदै

काठमाडौं, भदौ १०
नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाहरुलाई लघुवित्त विकास बैंकमा परिणत गर्ने भएको छ। लघु कर्जा प्रवाह गर्दै आएका २२ वटा संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो। 
२२ वटा लघुवित्त संस्थाहरुले विपन्न वर्गमा लगानी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृति लिएका थिए। २०५७ देखि २०६० को बीचमा अनुमति लिएका यि संस्थाहरुले विपन्न क्षेत्रमा नै लगानी गर्ने भएकाले राष्ट्र बैंकले 'घ' वर्गमा स्तरोन्नति प्रकृया अगाडि बढाएको हो। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा पनि यि संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्ने उल्लेख गरेको छ।
'एउटै प्रकृतिको काम गर्ने भएकाले लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो,' राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग स्रोतले भन्यो, 'आवश्यक प्रकृया पुर्‍याएर लघुवित्त विकास बैंक बन्न लगाइने छ।' राष्ट्र बैंकले आगामी असार मसान्तभित्र 'घ' वर्गमा परिणत गरिसक्ने लक्ष्य लिएको छ।

कम्पनीहरुले लाभांस घोषणा गर्न थाले

काठमाडौं, भदौ ८
बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीहरुले नाफा बृद्धि गरेपछि लगानीकर्तालाई दिने लाभांस घोषणा गर्न थालेका छन्। एक उत्पादनमूलक, एक जलविद्युत कम्पनीसहित सात कम्पनीहरुले गत बर्षको नाफाबाट लाभांस घोषणा गरिसकेका छन्। 
बाणिज्य बैंकहरुले भने सार्वजनिक रुपमा घोषणा नगरेपनि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्न थालेका छन्। एभरेष्ट, सिटिजन्स्लगायतका बैंकले राष्ट्र बैंकसँग लाभांस स्वीकृतिका लागि माग गरेका छन्। नाफा ४० प्रतिशतभन्दा बढी भएका कारण बाणिज्य बैंकहरुको लाभांस बृद्धि भएको छ।
गत बर्षको नाफाबाट सबैभन्दा पहिले लाभांस अरुण भ्याली जलविद्युत विकास कम्पनीले वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले १५ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांस वितरण गर्ने जनाएको छ। उत्पादनमूलक कम्पनी युनिलिभर नेपाल लिमिटेडले ७६० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। गत बर्ष पनि उच्च लाभांस युनिलिभरले घोषणा गरेको थियो।
यसपछि महालक्ष्मी फाइनान्सले १३ प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ। युनिक फाइनान्सले १२ प्रतिशत, युनाइटेड फाइनान्सले १२.५ प्रतिशत नगद लाभांस घोषणा गरेका छन्। मितेरी डेभलपमेन्ट बैंकले २० प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ भने सिटी डेभलपमेन्ट बैंकले २१.३८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.१२ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 
बाणिज्य बैंकहरुको लाभांस पनि यस पटक आकर्षक हुने छ। बैंकिङ क्षेत्रको औषत नाफा ४० प्रतिशतले बृद्धि भएकाले अधिकांस बैंकको  लाभांस बढ्ने छ। यसपाली दुई बैंकले नाफा दुई अर्ब कटाएका छन् भने सात बैंकको नाफा एक अर्ब रुपैयाँ कटेको छ। चुक्ता पुँजी र पुँजी कोष बृद्धि गर्नु पर्ने कारणले केही बैंकको वोनस सेयर बढ्ने छ। अधिकांस बैंकले नगद र वोनस सेयर मिसाएर लाभांस दिने छन्। 
नाफामा गएका विकास बैंक र फाइनान्स कम्पनीले पनि लाभांस दिने छन्। अधिकांस लघुवित्त विकास बैंकको नाफा उच्च रहेकाले लाभांस पोहोरको भन्दा बृद्धि हुने छ। 

डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा पुग्यो

काठमाडौं, भदौ ६ 
अमेरिकी डलरको मूल्य १०३ रुपैयाँ ५० पैसा पुगेको छ। मंगलबार १०२ रुपैयाँ ५ पैसा पुगेर बुधबार घटेको डलरको मूल्य बिहीबार फेरी बढेको हो। बिहीबार भारु कमजोर भएपछि राष्ट्र बैंकले त्यसैको आधारमा समायोजन गर्दै शुक्रबारका लागि एक डलरको मूल्इ १०३ रुपैयाँ ५० पैसा तोकेको हो।
गत बर्षको असार ९ गते एक डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता निरन्तर बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ किर्तिमान राख्दै आएको थियो। सोमबार भने डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो।
भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ। 

बर्डफ्लु संक्रमणको प्रभाव : २५ अर्ब लगानी जोखिममा

सुदर्शन सापकोटा
काठमाडौं, भदौ ६
बर्डफ्लु संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका कुखुरा धमाधम मारिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तय संस्थाहरूले कुखुरापालन र दाना उद्योगमा न्यूनतम ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका छन्। सबै जोड्दा झन्डै २५ अर्ब हुन्छ। बर्डफ्लुले कुखुराको मासु र अन्डा व्यवसाय चौपट भएपछि बैंकहरूको लगानी जोखिममा परेको हो।
'सबैभन्दा बढी अप्ठेरो त किसानलाई नै परेको छ, बैंकहरूको ठूलो लगानी फसेकाले किसानले ऋण तिर्न नसक्दा बैंकहरू पनि अप्ठेरोमा पर्छन्,' कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढाथोकीले बिहीबार नागरिकसँग भने,'यसमा राज्यले केही राहत दिनुपर्छ।'
नयाँ बैंकहरूले कुखुरा उद्योगमा ५० करोडभन्दा बढी लगानी गरेका छन्। पुराना र ठूला बैंकको लगानी डेढ अर्बभन्दा माथि छ। कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न खुलेको कृषि विकास बैंकको कुखरा तथा दाना उद्योगमा करिब दुई अर्बको हाराहारीमा ऋण छ। बैंकले आफ्ना अधिकांश शाखाबाट यो क्षेत्रमा ऋण दिएको छ।
निजी क्षेत्रका वाणिज्य बैंकले पनि काठमाडौं वरपर, मकवानपुर, चितवनमा बढी ऋण लगानी गरेका छन्। सरकारले अहिले यिनै क्षेत्रका कुखुरा भटाभट मारिरहेको छ। 
बैंक तथा वित्तीय संस्थाले पछिल्लो पाँच वर्षयता कृषि क्षेत्रअन्तर्गत कुखुरापालन र दाना उद्योगमा लगानी बढाएका हुन्। ऋण दिएको केही समयमै उत्पादन बिक्री गरेर कृषकहरूले पैसा तिर्ने हुँदा बैंकहरूले यसलाई सजिलो लगानी क्षेत्रका रूपमा लिँदै आएका थिए।
राष्ट्र बैंकले कृषि र ऊर्जामा १० प्रतिशत लगानी पुर्‍याउनुपर्ने अनिवार्य व्यवस्था गरेपछि कुखुरापालन उद्योगमा लगानी अझ बढेको थियो। बर्डफ्लु संक्रमणका कारण साउनयता काठमाडौं उपत्यकामा मात्र दस लाख कुखुरा मारिसकेको सरकारी तथ्यांक छ। 

भारूसँगको विनिमय दर परिवर्तन नहुने

सुदर्शन सापकोटा
काठमाडौं, भदौ ५ 
एक अमेरिकी डलरको मूल्य १०२ रुपैयाँ पुगेर बजार भाउ चुलिँदै गए पनि केन्द्रीय बैंक तुरुन्तै यो अवस्था सुधार गर्नसक्ने स्थितिमा छैन।  
अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन आयात–निर्यातको परिमाणले भन्दा भारतसँगको स्थिर सटही दरका कारण भएको हो। यो परिस्थितिबाट मुक्ति पाउन भारतीय मुद्रासँगको सटही दर परिवर्तन गर्नुपर्ने हुन्छ, जुन नेपालका लागि लाभदायक नभएको विज्ञहरू बताउँछन्। 
'अहिले जे छ त्यसलाई स्वीकार्नुबाहेक हामीसँग अर्को विकल्प छैन,' नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले बुधबार नागरिकसँग भने, 'तैपनि हामी विनिमय दरबारे छलफल गरिरहेका छौं।' उनका अनुसार अहिल्यै परिवर्तनको गुन्जायस भने छैन। 
नेपाली मुद्राको क्रयशक्ति घट्दा आयात घट्ने र निर्यात बढ्ने सम्भावना हुन्छ। अहिले नेपालको निर्यात आयातभन्दा करिब आठ गुना कम भएकाले बढ्दो डलर भाउले निर्यातलाई सहयोग गर्ने अर्थविद्हरू बताउँछन्। 

एक डलरको मूल्य १००.६० रुपैयाँ

काठमाडौं, भदौ ३
अमेरिकी डलरको मूल्य सय रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको मूल्य एक सय रुपैयाँ ६० पैसा तोकेको छ। सोमबार बैंकहरुले डलर एक सय रुपैयाँ ९० पैसासम्म कारोबार गरेका थिए। 
राष्ट्र बैंकले सोमबारका लागि एक डलरको मूल्य ९८ रुपैयाँ ९५ पैसा तोकेपनि बिहान बजार खुल्ने वित्तकै बैंकहरुले मूल्य बढाएर कारोबार सुरु गरेका हुन्। बैंकहरुले पहिलो कारोबार नै एक सय रुपैयाँमा गरेका थिए। त्यसपछि पनि पटक पटक मूल्य परिवर्तन गर्दै कारोबार भएको थियो।
गत बर्षको असार ९ गते एक डलरको मूल्य अहिलेसम्मकै महँगो ९१ रुपैयाँ ८८ पैसा पुगेको थियो। त्यसपछि घट्न थालेको डलरको मूल्य चार महिनायता निरन्तर बढिरहेको छ। दुई महिनायता डलरले हरेक साताजस्तो नयाँ किर्तिमान राख्दै आएको थियो। सोमबार भने डलर पहिलो पटक एक सय रुपैयाँ माथि पुगेको हो।
भारतीय मुद्रा कमजोर भएपछि डलरको भाउ बढेको हो। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ। 
डलरको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतीय वित्त मन्त्री र रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) का गभर्नरले नीतिगत पहल गर्ने बताएपनि सुधारको संकेत देखिएको छैन। भारतीय सञ्चार माध्यमहरुका अनुसार, आरबिआइले माग अनुसार डलर पुर्‍याउन सकेको छैन। 
अमेरिकी डलर वलियो भएसँगै एसियाली बजारका मुद्राहरुमा पनि चाप परेको छ। डलरसँगै अन्य विदेशी मुद्राको मूल्य पनि बढेको छ। कतारी रियाल, मलेसियन रिंगिटलगायत पनि बढेका छन्।
डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रलाई भने ठूलो असर गर्छ। मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष चार सय ३४ अर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। 

ठूला लगानीकर्ताले मूल्य बढाएर सेयर बेच्न थाले

सुदर्शन सापकोटा
काठमाडौं, भदौ २
नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीहरुले सम्पति बढाउनु पर्ने निर्देशन दिएपछि नगद लाभांस नपाइने भन्दै ठूला लगानीकर्ताले धमाधम सेयर विक्री गर्न थालेका छन्। पछिल्लो एक साता यता प्रत्येक दिन जीवन बिमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बृद्धि भएर किनबेच भइरहेको छ।
समितिले साउन १ गतेबाटै कार्यान्वयमा ल्याइसकेको व्यवस्थालाई सार्वजनिक गरिसकेको छैन। अन्य निर्देशन तथा परिपत्रहरु आफ्नो आफ्नो वेव साइटमा राख्दै आएको समितिले यो निर्देशन भने वेव साइटमा राखेको छैन। यसैको फाइदा पहुँचवाला लगानीकर्ताले उठाइरहेका छन्।
समितिले जीवन बिमा कम्पनीहरुलाई कुल दायित्वको १.५ गुणा सम्पति हुनु पर्ने भन्दै निर्देशन दिएको छ। समितिको निर्देशनपछि जीवन बिमा कम्पनीहरुले नाफाको ठूलो हिस्सा सम्पति बृद्धिका लागि जगेडा कोषमा राख्नु पर्छ। जसले गर्दा गत आर्थिक बर्ष उच्च नाफा कमाएका बिमा कम्पनीहरुले लगानीकर्ताहरुलाई मुस्किलले लाभांस वाँड्न पाउँछन्।
'दायित्वलाई पुर्ति गर्न कम्पनीहरु सक्षम हुनु पर्छ भन्ने मान्यता अनुसार निर्देशन दिएका हौं,' समितिका अध्यक्ष फत्तवहादुर केसीले आइतबार नागरिकसँग भने, 'निर्देशनपछि बिमा कम्पनीहरुले आफ्नो सम्पति बृद्धि गर्न जगेडा कोषलाई बलियो बनाउनु पर्छ।' 

बैंकको नाफा ४३ प्रतिशतले बढ्यो

सुदर्शन सापकोटा
काठमाडौं, भदौ १ 
बाणिज्य बैंकहरुले एक बर्षमा नाफा ४३ प्रतिशतले बढाएका छन्। लिने र दिने ब्याजको अन्तर फराकिलो पारेका कारण गत आर्थिक बर्षको सुरुवातदेखि नै बैंकहरुले उच्च नाफा कमाउँदै आएका हुन्। 
सञ्चालनमा रहेका ३१ बाणिज्य बैंकमध्ये ३० वटाले सार्वजनिक गरेको वासलात (ब्यालेन्सिट) अनुसार, नाफा १९ अर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष नाफा १३ अर्ब ३६ करोड रुपैयाँ गरेका थिए। यो बर्ष दुई बैंकले नाफा दुई अर्ब रुपैयाँ नघाएका छन्। कृषि विकास बैंक र नबिल बैंक लिमिटेडको नाफा दुई अर्ब रुपैयाँ नाघेको हो।
नबिल बैंकले २ अर्ब २३ करोड र कृषि विकास बैंकले दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा गरेको छ। यसपछि उच्च नाफा नेपाल इन्भेष्टेमेन्ट बैंकले गरेको छ। बैंकले एक अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ। एक अर्ब रुपैयाँ नाफा एभरेष्ट बैंक, राष्ट्रिय बाणिज्य बैंक र स्ट्यार्न्डर्ड चार्टर्ड बैंक नेपालले कटाएका छन्। अघिल्लो बर्ष एक अर्ब रुपैयाँ नाफा कटाएको हिमालयन बैंकले अझैसम्म वासलात सार्वजनिक गरिसकेको छैन। 
घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुको नाफा भने बढ्दै गएको हो। गत आर्थिक बर्षको पहिलो त्रैमास असोज मसान्तमा वाणिज्य बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो। दोस्रो त्रैमास पुसमा ५० प्रतिशत र तेस्रो त्रैमास त्रैत मसान्तमा नाफा ४५ प्रतिशतले बढेको थियो। चौथो त्रैमासमा पनि नाफा ४० प्रतिशतभन्दा माथि छ। 
'यसपाली विदेशी मुद्रा किनबेच, छुट तथा कमिसनमा आधारित आम्दानी बैंकहरुको बढेको छ,' एक बैंकरले भने, 'कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर फराकिलो भएका कारण बैंकको नाफामा सुधार आएको हो।'
गत आर्थिक बर्ष दुई बैंकको नाफा घटेको छ भने एक बैंक घाटामा गएको छ। लुम्बिनी बैंक र नेपाल बंगलादेश (एनबी) बैंकको नाफा घटेको छ। किस्ट बैंक घाटामा गएको छ। तर बैंकको सञ्चालन मुनाफा भने उच्च छ। बैंकले केही ऋणको ब्याज नउठेर नोक्शानी व्यवस्थामा ठूलो  रकम छुट्याएकाले खुद नाफा प्रभावित बनेको हो। 

बर्षभरीको मूल्य बृद्धि ९.९ प्रतिशत

काठमाडौं, साउन ३१
मूल्य बृद्धि सरकारी लक्ष्यभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको गत बर्षको देशको आर्थिक विवरण अनुसार, मूल्य बृद्धि ९.९ प्रतिशत रहेको पुगेको हो। राष्ट्र बैंकले मूल्य बृद्धि साढे नौं प्रतिशतमा राख्ने प्रक्षेपण गरेको थियो।
सबैभन्दा बढी मूल्य बृद्धि तराईमा बढेको छ। तराईको मूल्य बृद्धि १०.२ प्रतिशत छ। काठमाडौं उपत्यकाको मूल्य बृद्धि ९.७ प्रतिशत छ भने पहाडमा ९.५ प्रतिशत मूल्य बृद्धि भएको छ। अघिल्लो बर्ष तराईमा ८.१, काठमाडौंमा ७.४ र पहाडमा ९.७ प्रतिशतले मूल्य बृद्धि भएको थियो।
एक बर्षमा निर्यात ३.६ प्रशितले बढेको छ भने आयात २०.६ पतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार बर्षभरीमा निर्यात ७६ अर्ब ९२ करोड रुपैयाँ भएको छ, जबकी आयात भने ५ सय ५६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो बर्ष आयात चार सय ६१ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। 
कुल बस्तु निर्यातमध्ये भारततर्फको २.८ प्रतिशतले बढेको छ भने अन्य मुलुकतर्फको ५.२ प्रतिशतले बढेको छ। आयात पनि भारततर्फको २२.६ प्रतिशत र अन्य मुलुकतर्फको १६.९ प्रतिशतले बढेको छ। सबैभन्दा वढी बस्तु निर्यात जिआइ पाइप, जिङ्क सिट, जुटको बोरा, पोलिस्टारको धागो, अदुवा भएको छ। आयात भने पेट्रोलियम पदार्थ, यातायातको साधन तथा पार्टपुर्जा, सिमेन्ट, चामल, रासायनिक मल भएको छ।
निर्यातको तुलनामा आयात ब्यापक बढेपछि ब्यापार घाटा थप फराकिलो भएको छ। बस्तु व्यापार घाटा २३.९ प्रतिशतले बढेर ४ सय ७९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। कुल ब्यापार घाटामध्ये भारततर्फको  २६.५ प्रतिशत र अन्य मुलुकतर्फको १९ प्रतिशतले बढेको छ।