तीन वर्षपिछ नेप्से पाँच सय तल

सुदर्शन सापकोटा
काठमाडौं माघ २४
सेयर बजारको कारोबार मापन गर्ने परिसूचक नेप्से आइतबार तीन वर्षमै पहिलोचोटि पाँच सय विन्दुभन्दा तल झरेको छ ।

अर्थतन्त्रका अधिकांश परिसूचक नकारात्मक अवस्थामा रहनु र बजारमा नगद अभावसमेत देखिनुले सेयर बजार प्रभावित भएको हो ।

ुसेयर बजार भनेको अर्थतन्त्रको ऐना होु धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौडेलले आइतबार नागरिकसँग भने ुअर्थतन्त्रमा देखिएको नकारात्मक स्थितिको प्रभाव नै अहिले सेयर बजारमा देखिएको हो ।ु

आइतबार पाँच सय एक विन्दुबाट सुरु भएको नेप्से तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा ४ सय ९७ दशमलव ३४ विन्दुमा झरेको थियो । यसबीच दिनभर सेयर परिसूचक तल्लो तहमै रह्यो । करिब सवा दुई बजेतिर ४ सय ९२ विन्दुसम्म ओर्लियो ।

यसअघि २०६४ वैशाख २ गते नेप्से परिसूचक चार सय ९७ दशमलव ७३ अंकमा थियो । त्यसपछि सेयर बजार क्रमिक रुपमा उकालो लाग्दै २०६५ भदौ १५ गते एक हजार एक सय ७५ अंंकसम्म पुगेको थियो । त्यसपछि फेरि विस्तारै तल झर्न थाल्यो । गत वर्ष असोजदेखि भने तीव्र गतिले घटिरहेको छ ।

विश्लेषकहरुले बजारको नगद अभाव पुँजी पलायनलगायत कारणले सेयर बजार घटेको निष्कर्ष निकालेका छन् । उनीहरुका अनुसार बजारमा सेयरको मागभन्दा आपूर्ति बढी छ ।

ुबजार घट्नुका दुई कारण छन् - पहिलो सर्वसाधारणसँग पैसा छैन । दोस्रो घट्दो कारोबारका कारण पैसा भएकाहरु पनि लगानी गर्न हिच्किचाइरहेका छन्ु सेयर विश्लेषक कम्पनी ज्याम्ब टेक्नोलोजिजका विकास चौधरीले भने ।

उनका अनुसार पछिल्लो समय विभिन्न कम्पनीबाट साधारण सेयर हकप्रद र बोनस सेयर जारी गर्ने क्रम बढेको छ । यसलाई धान्नसक्ने तरलता बजारमा छैन । ुथोरै पैसाले धेरै सेयर किन्नुपर्ने अवस्था छ । नेप्से लगातार घट्नुको कारण यही हो ।ु

गत वर्षदेखि ठूलो परिमाणमा साधारण सेयर निष्कासन हुनुले पनि लगानीकर्ता दोस्रो बजारभन्दा त्यतातिर आकर्षित भएको उनले बताए । ुप्राथमिक बजारमा सय रुपैयाँमै एक सेयर किन्न पाइने भएपछि साधारण लगानीकर्ताहरु दोस्रो बजारमा बढी मूल्य हालेर सेयर किन्न आउँदैनन्ु उनले भने ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २० अर्ब रुपैयाँ बराबर सेयर निष्कासन भएको थियो । चालू वर्षको पुस मसान्तसम्म ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर बजारमा आइसकेको छ । ६ अर्ब रुपैयाँको सेयर निष्कासनको तयारीमा छ ।

ुलगानी नबढ्ने तर सेयर संख्या मात्र बढ्ने गरेकाले बजार ओरालो लागेको होु चौधरीले भने ।

यसबाहेक सरकारले रियलस्टेट सुनलगायत क्षेत्रमा लगानी कडा गर्ने नीति लिनु पनि बजार घट्नुको कारण भएको विश्लेषकहरु बताउँछन् । रियलस्टेट सुनजस्ता क्षेत्रमा गएको पैसा पछि कुनै न कुनै समय स्वाभाविक रुपमा सेयर कारोबारमा फर्किने आस गरिएको थियो ।

सरकारले त्यस्ता अनुत्पादक क्षेत्रमा बढी पैसा फसेको भन्दै लगानीमा कडा नीति लिएपछि त्यो पैसा सेयर बजारमा फर्किनुको सट्टा सुरक्षित स्थानको खोजीमा विदेशतिर पलायन भएको उनीहरुको विश्लेषण छ ।

ुबजारमा तरलता अभाव भइरहेकाबेला पुँजी पलायन हुनुले सेयर कारोबारमा थप असर पार् योु सेयर विश्लेषक कम्पनी बिड इन्भेष्टमेन्टका प्रमुख कार्यकारी सुमन रायमाझीले भने ुपहिले दिनको १५ करोड रुपैयाँसम्म कारोबार हुन्थ्यो अहिले तीन करोडभन्दा बढी हुँदैन । यसले पनि बजारमा तरलता नभएको पुष्टि हुन्छ ।ु

ुरियलस्टेटमा कडाइ गरिएपछि त्यहाँका लगानीकर्ता सेयर बजारमा फर्किने आस थियो । सुनमा गरिएको कडाइले पनि सेयर बजार बढ्ने आस बलियो भएको थियो । तर लगानी सुरक्षाको वातावरण नभएकाले लगानीकर्ता सेयरमा नआएर पुँजी पलायन भएको छु उनले भने । सुरक्षाको वातावरण नबनुन्जेल बजार उकालो नलाग्ने उनको दाबी छ ।

लगानीकर्ता राजकुमार तिमल्सेनाले भने व्यापार घाटा बढेको निर्यातको तुलनामा आयात उच्च भई शोधनान्तर स्थिति नकारात्मक भएको र रेमिट्यान्सको वृद्धिदर घटेकाले पनि त्यसको असर बजारमा परेको बताए । ुसमग्र आर्थिक स्थिति सुधार नभएसम्म बजार माथि लाग्ने सम्भावना देखिन्नु उनले भने ।

सेयर विश्लेषक तथा लगानीकर्ता कारोबारमा लगातार आइरहेको गिरावट रोक्न धितोपत्र बोर्डले तत्काल नियमनकारी भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

ुबजार बढ्दा डम्फू पिट्ने बोर्ड घट्दा भने चुप लागेर बसेको छ । नियमन निकायले निर्वाह गर्नुपर्ने जिम्मेवारीपूर्ण भूमिका उसले देखाउन सकेको छैनु तिमल्सेनाले गुनासो गरे ।

बोर्डका अध्यक्ष शुरवीर पौडेल भने यसलाई मान्दैनन् । ुबजार बढाउन बोर्डले तत्काल केही गर्नसक्ने अवस्था छैनु उनले भने ुअर्थतन्त्रका सबै परिसूचक नकारात्मक भएका बेला सेयर बजार मात्र बढ्दैन ।ु

अब के हुन्छ
विश्लेषकहरुको भनाइ मान्ने हो भने अझै केही महिना सेयर कारोबार तल झर्छ । तरलताको समस्या पूर्ण समाधान भइनसकेको र शोधनान्तर स्थिति घाटामै रहेकाले सेयर बजारमा तत्काल सुधार आउने अवस्था नभएको विश्लेषकहरु बताउँछन् ।

चालू वर्षको चैत मसान्तपछि कम्पनीहरुको वास्तविक आर्थिक अवस्था थाहा हुने भएकाले त्यसले दिने प्रतिफल यकिन हुन्छ । त्यतिखेर बढी नाफा देखेर बढी लगानीकर्ता सेयर बजारमा आउनसक्ने अनुमान पनि गरिएको छ । अहिले दोस्रो त्रैमासिक पूरा भएको छ । ६ महिनाकै तथ्यांकका आधारमा आर्थिक वर्ष सकिएपछि कम्पनीले कस्तो प्रतिफल दिन्छ भनी अनुमान गर्न सकिँदैन । ुधेरै लगानीकर्ता त्यही समयको पर्खाइमा छन्ु सेयर विश्लेषक चौधरीले भने ।

वाणिज्य बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिने कर्जा मार्जिन लेन्डिङ को व्याज दर बढी भएकाले पनि लगानीकर्ता सेयर कारोबारतर्फ आकर्षित हुन सकेका छैनन् । यस्तो कर्जाको व्याज दर घटाउनुपर्छ भन्ने लगानीकर्ताको माग छ ।

यसबीच धितोपत्र बोर्डले बजार बढाउन सेयर दलाललाई उपत्यकाबाहिर पठाउने तयारी भइरहेको जनाएको छ । केन्द्रीय निक्षेप प्रणाली सिडिएस स्थापनाको कार्य पनि सुरु भइसकेको बोर्डका अध्यक्ष पौडेलले जानकारी दिए ।

ुबजार बढाउन लगानीकर्ताको संख्या बढ्नुपर्छु उनले भने ुसिडिएस स्थापनापछि एकैदिनमा धेरै कारोबार गर्न सकिन्छ उपत्यकाबाहिरबाट पनि कारोबार गर्न सकिन्छ । यसले स्वाभाविक रुपमा धेरै लगानीकर्ता आउनेछन् ।ु

पौडेलले पुँजी बजारबाट दीर्घकालमा कसैलाई नोक्सान नहुने विश्वास दिलाउँदै तत्काल सेयर बिक्री नगर्न लगानीकर्तासँग आग्रह पनि गरेका छन् । ुअहिले सेयर किन्ने बेला होु उनले भने ुबिक्री गर्ने होइन ।ु

No comments:

Post a Comment

thanks for comment