सुदर्शन सापकोटा
काठमाडौं, पुस ४
इनरुवाका रामचन्द्र अधिकारीले आधा दर्जन लघुवित्त विकास बैंकसँग ऋण लिएका छन्। उनले यो पैसा कुनै व्यवसाय तथा उद्यम गर्न लिएका होइनन्, बिना धितो पाइने भएकाले ढुकुटी खेल्नका लागि लिएका हुन्।
बिना धितो सानो रकम ऋण दिई गरिबको जीवनस्तर उकास्ने उद्देश्यले खुलेका लघुवित्त संस्थाले मर्म अनुसार ऋण नदिँदा विकृति बढ्दै गएको छ। एउटै व्यक्ति तथा परिवारलाई धेरै वटा संस्थाले लगानी गर्दा ऋणको दुरुपयोग भएको यो सानो नमुना मात्र हो।
बंगलादेशको ग्रामीण विकास बैंकको ढाँचामा खुलेका लघुवित्त संस्था विगतमा निकै सफल मानिएका थिए। तर, विपन्न वर्गमा लगानी गर्ने उद्देश्यले खुलेका लघुवित्त बैंकहरुले सामाजिक दायित्वभन्दा पर गएर उच्च नाफा गर्न थालेपछि वास्तविक गरिवले ऋण पाउन त छाडेकै छन्, एउटै व्यक्तिलाई धेरै संस्थाले लगानी गर्दा ऋण डुब्न पनि थालेको छ।
मोरङका रामजी खवासले लघुवित्त समूहका १२ जना सदस्यको नामबाट १२ लाख रुपैयाँ ऋण लिएका थिए। व्यवसाय बिग्रेर रामजीले ऋण तिर्न नसक्ने भएपछि आफ्नो नामबाट ऋण दिएका समूहका ५ जना सदस्य भारत जान वाध्य भए। यसरी ऋण दिनु लघुवित्त संस्थाको उद्देश्य विपरीत थियो।
झापामा एक लघुवित्त केन्द्र प्रमुख छायाँ दासको उदाहरण पनि यस्तै छ। नौ वटा संस्थाबाट ऋण लिएर वाहिरका मानिसलाई चलाउन दिइन्। लघु वित्तबाट ऋण लिएर त्यो बढी ब्याज आम्दानी गर्ने लालचले वाहिर दिएको ऋण फिर्ता नभएपछि उनी अहिले थातथलो छाडेर हिँडेकी छन्।
एक लघुवित्त संस्थाले आन्तरिक प्रयोजनका लागि गरेको अनुसन्धानका क्रममा भेटिएका यि तथ्यहरुले घरदैलोमा पुगेर बिनाधितो ऋण दिने अवधारणा अनुसार चल्न नसक्दा लघुवित्त संस्थामा समस्या आएको देखिन्छ।
*****
लघुवित्त संघका अध्यक्ष तथा पश्चिमाञ्चल ग्रामीण विकास बैंकका धर्मराज पाण्डे ग्र्राहक संख्या बढेपछि लघुवित्त क्षेत्रमा केही विकृतिहरु सँगसँगै देखिएको बताउँछन्। उनले यस्ता समस्याहरु हटाउन संघले संस्थागत रुपमै सुधारको प्रकृया थालेको जानकारी दिए।
'लघुवित्तका मूख्य ग्राहक विपन्न व्यक्ति तथा परिवार नै हुन्,' पाण्डेले बिहीबार नागरिकसँग भने, 'ग्राहकको संख्या बढ्दा केही गैरविपन्न व्यक्तिले ऋण पाएको हुन सक्छ।' उनले साना ऋणीहरुले कारोबार विस्तार गर्दै लगएर ठूलो बनाएकाले पनि वाहिरबाट हेर्दा गैरविपन्नले ऋण पाएजस्तो देखिने गरको बताए।
लघुवित्त संस्थाहरुका अनुसार अहिलेसम्म करिव १३ लाख जनाले विपन्न व्यक्ति तथा परिवारले ऋण लगेका छन्। दोहोरिएको तथा दुरुपयोग भएको ऋणलाई गणना नगर्ने हो भने यो संख्या करिव १० लाख मात्र रहेको लघुवित्तका क्षेत्रमा काम गरिरहेकाहरु बताउँछन्।
लघुवित्त संस्थाले एक व्यक्तिलाई पहिलो पटकमा बढीमा १५ देखि २० हजार रुपैयाँसम्म ऋण दिन्छन्। तर, संस्थाको संख्या बढेसँगै ग्राहकको माग पनि बढेकाले ऋण सीमामा समेत प्रतिस्पर्धा हुने गरेको छ। संस्थाले एकैपटक अधिकतम सीमा एक लाख ५० हजारसम्म ऋण दिइरहेका छन्।
एउटै ग्राहकलाई धेरै संस्थाले ऋण लिँदा बैंकलाई तिर्नुपर्ने किस्ता ठूलो हुन्छ। ऋणीले लिएको सबै रकम आय आर्जनमा उपयोग हुँदैन। तर, सबै ऋणको ब्याज तिर्नुपर्ने हुन्छ। यसले गर्दा लघुवित्तमा कर्जा डुब्ने खतरा पनि बढ्दै गएको छ। राष्ट्र बैंकका अनुसार, हाल लघुवित्त संस्थाको कर्जा असुली दर ९८ प्रतिशतको हाराहारीमा रहेको छ।
'लघुवित्त संस्थाका लागि एउटै व्यक्तिलाई धेरै वटाले ऋण दिनु समस्या हो,' संघका उपाध्यक्ष तथा छिमेक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीले भने 'यसलाई सच्याउन हामीले कर्जा सुचना केन्द्रसँग मिलेर प्रवाह भएका प्रत्येक ऋणको सुचना आदन प्रदान गर्ने तयारी गरेका छौं।' उनले कर्जाको सुचना आदन प्रदान गर्ने सफ्टवेयर तयार भइसकेको जानकारी दिँदै राष्ट्र बैंकले मार्गदर्शन तयार पारेर निर्देशन दिएपछि कार्यान्वयनमा जाने बताए।
'५० हजारभन्दा माथिका कर्जाको सुचना आदन प्रदान हुन थालेपछि ऋण दोहोरिने तथा वास्तविक विपन्नले नपाउने समस्या आफै नियन्त्रण भएर जाने छ,' जोशीले भने। उनले पछिल्लो पटक ठूलो आकारका ऋणहरु साना ग्राहकको क्षमताले नभ्याउने कारणले पनि गैरविपन्नहरु लघुवित्तको घेरामा आएको बताए।
लघुवित्तका विज्ञहरु केही संस्थामा नाफामुखी प्रवृत्ति बढेसँगै ग्राहकको महŒवाकांक्षामा समेत वृद्धि भएकाले धेरै वटा संस्थाले एउटैलाई ऋण दिने प्रवृत्ति मौलाएको बताउँछन्। उनीहरुका अनुसार, ऋण रकम सानो हुने भएकाले धेरै वटा संस्थासँग पैसा लिनु ग्राहकको वाध्यता पनि हो।
एक लघुवित्तकर्मीका अनुसार, अहिलेको बजार भाउमा एउटा भैंसी किन्न करिब एक लाख रुपैयाँ चाहिन्छ। तर, लघुवित्त संस्थाले नियम अनुसार एक पटकमा बढीमा २० हजार रुपैयाँ मात्रै दिन सक्छन्। 'त्यही भएर एउटा भैसी किन्नका लागि धेरै वटा संस्थासँग ऋण लिनु वाध्यता हो,' ती लघुवित्तकर्मीले भने।
लघुवित्तका संलग्नका अनुसार पहाडी क्षेत्रभन्दा तराईमा कर्जा खपत बढी छ। पहाडमा बस्ने ऋण लिन डराउने स्वभावका हुन्छन् तर तराईमा सजिलै ऋण पाइने भएपछि जसले पनि लिइदिने गरेका छन्।
यातायात तथा अन्य भौतिक पूर्वाधार पुगिसकेकाले तराईमा काम गर्न सजिलो हुने भएकाले पनि लघुवित्त विकास बैंकहरु तराई केन्द्रित भएका हुन्। पछिल्लो समय एकैचोटी लघुवित्त विकास बैंकहरु खुल्ने क्रम मौलाएपछि प्रतिस्पर्धाले एउटै व्यक्तिमा ऋण दोहोरिन थालेको हो।
चार बर्षअघि सरकारी पाँच लघुवित्त विकास बैंक र निजी क्षेत्रका स्वावलम्बन, छिमेक, डिप्रोक्स र निर्धन उत्थान लघुवित्त विकास बैंक सञ्चलनमा थिए। राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्था खोल्न रोक लगाएसँगै लघुवित्त विकास बैंक खोल्ने क्रमले तिब्रता पायो। अहिले लघुवित्त बैंकको संख्या ३५ पुगेको छ।
ऋण दिने तरिका
लघुवित्त संस्थाहरुले गरिब बढी भएको क्षेत्र छानेर त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विवरण संकलन गर्छन्। संस्थाले संकलन गरेको विवरणमध्ये सबैभन्दा गरिब बस्ने वस्तीमा पहिलो समूह तयार गरिन्छ।
प्राय संस्थाले पहिचान गरेको गरिब समुदायलाई सात दिने तालिम दिइन्छ। नेपालमा सञ्चालित लघुवित्त कार्यक्रमले महिलालाई मात्र सेवा दिइरहेको हुनाले गरिव परिवारका महिला सदस्यहरु यस्तो तालिममा सहभागी हुन्छन्। तालिममा पनि सबैभन्दा पहिले नाम र थर लेख्न सिकाइन्छ।
सात दिने तालिम अवधिमा हरेक दिन एक सदस्य बराबर १० रुपैयाँ बचतका लागि ल्याउन लगाइन्छ। करिब २० जना सदस्य बराबर सात दिनमा २ हजार ८ सय रुपैयाँ संकलन हुन्छ। उनीहरुलाई उदाहरणसहित बचत संकलन गर्दा के हुन्छ भनेर सिकाइन्छ। त्यसपछि उनीहरुको आवश्यकता पहिचान गरेर आवश्यक कर्जा दिने गरिन्छ।
गरिव पहिचान गर्ने विधि, ऋण दिने प्रकृया, तालिमलगायत लघुवित्तका आधारभुत सिद्धान्तहरु पालना नगरी अहिले लगानी गर्ने प्रवृत्ति बढेको छ। संस्थाहरुले ग्राहकलाई यि प्रकृयाहरु पुरा नगरी सोझै ऋण दिने गरेका छन्। जसले गर्दा ऋणी दोहोरिने र गैरविपन्नले ऋण पाउने गरेका छन्।
एकै ठाउँमा किन?
एउटा संस्था गइसकेको ठाउँमा जाँदा लघुवित्तका बारेमा बुझाइरहनु नपर्ने र तयार भइसकेका ऋणीमा तत्काल लगानी गरेर ब्याज आर्जन गरिहाल्न संस्थाहरु एकै ठाउँमा गएका हुन्। तराईका केही जिल्ला र गाविसमा कम्तीमा चारदेखि १२ वटा संस्था कार्यरत छन्।
अलिकति पुँजी लगाएर संस्था खोल्ने अनि आक्रमक लगानी गरेर नाफा खाइहाल्ने प्रवृत्ति लघुवित्त लगानीकर्तामा आएको छ। जोखिम कम र आकर्षक नाफाको कारणले पनि अहिले लघुवित्त विकास बैंकहरुको सेयरलाई 'ब्लुचिप' मानिन्छ। थोरै लगानीमा उच्च नाफा आर्जन गर्न सकिने भएकाले पछिल्लो समय खुलेका कतिपय लघुवित्त संस्थाहरु बढी नै व्यवसायिक भएर लगानी विस्तारमा आक्रमक देखिएका छन्। यही कारण कतिपय लघुवित्त संस्थाहरुले कारोबार र नाफामा कयौं गुणा अगाडि रहेका बाणिज्य बैंकहरुभन्दा वढी लाभांस वितरण गरेका छन्।
लघुवित्त संस्थाले जति बढीलाई कर्जा दियो त्यति नै धेरै कार्यसम्पादन गरेको देखिन्छ। र नाफा पनि राम्रो हुन्छ। उनीहरुले स्थानीयस्तरमा कार्यक्रम सञ्चालन गर्ने लघुवित्तकर्मीलाई ग्राहक संख्या र ऋण वढाउने लक्ष्य दिएका हुन्छन्। स्थानीयस्तरमा काम गर्ने लघुवित्त कर्मीले सजिलो बाटो रोज्दै अन्य संस्थाका सदस्यलाई ऋण दिने गरे।
वाणिज्य बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको साढे २ प्रतिशतदेखि साढे तीन प्रतिशतसम्म विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्ने वाध्यात्मक प्रावधान छ। अधिकांस बैंक तथा वित्तीय संस्थाहरु आफू सिधै लगानी नगरी लघुवित्त संस्थामार्फत जान्छन्। जुन लघुवित्त संस्थाले धेरै लगानी गरेको हुन्छ उनीहरुलाई नै बैंक तथा वित्तीय संस्थाले पनि पत्याउने गरेका छन्। पछिल्लो समय भने केही बैंकहरु आफैले सहायक कम्पनीका रुपमा लघुवित्त संस्थाहरु खोल्न थालेका छन्।