किस्ट र भिवोर गाभिन सम्झौता: असोजमा एकिकृत वासलात
सुदर्शन सापकोटा
काठमाडौं, चैत ८
किस्ट बैंक र भिवोर विकास बैंक ६ महिनाभित्र आसमा गाभिन सम्झौता गरेका छन्। फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको किस्ट र भिवोरबीच मर्जरमा जान बिहीबार औपचारिक सम्झौता भएको हो।
आपसमा गाभिने सम्झौतापत्रमा किस्टका प्रबन्ध निर्देशक कमलप्रसाद ज्ञवाली र भिवोरका सञ्चालक रुप ज्योतिले हस्ताक्षर गरेका छन्। भिवोर गाभिए पनि नयाँ बैंकको नाम किस्ट नै रहने छ। नयाँ बैंकमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी किस्ट बैंकले नै पाउने छ।
'गाभिएपछि हामी सशक्त र सवल बैंकमा रुपमा अगाडि वढ्ने छौं,' किस्टका ज्ञवालीले भने, 'यसबाट लगानीकर्ता, ग्राहक र सरकारलाई पनि फाइदा पुग्ने छ।' ६ महिनाभित्र मर्जर प्रकृया सकेर असोजबाट एकिकृत वासलात (व्यालेन्सिट) निकाल्ने दुवैको तयारी छ।
दुवै बैंकको खराव कर्जा अनुपात राष्ट्र बैंकले तोकेको ५ प्रतिशतको सीमाभन्दा माथि छ। गाभिनुअघि नै खराव कर्जा ५ प्रतिशतभन्दा कममा झार्नु पर्ने सर्तसहित दुवै कम्पनीले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन्। भिवोरले मर्जरअघि आफ्नो स्वामित्वमा रहेको भिवोर प्रोपर्टी कम्पनी विक्री गरिसक्नु पर्ने सर्त पनि राखिएको छ। भिवारे प्रोपर्टी घरजग्गामा लगानी गर्न खोलिएको कम्पनी हो।
घरजग्गामा गरेका ऋण उठाउन नसकेकाले दुवै बैंक घाटामा छन्। डुवेको ऋण बराबरको रकम नोक्सानी व्यवस्थामा राखिएकाले त्यो पैसा उठे दुवै बैंक नाफामा जाने छन्। पुसमा किस्ट ६ करोड ९५ लाख र भिवोर ११ करोड ५१ लाख घाटामा छन्।
केही सयमअघि विभोरमा ज्योति समुहद्वारा प्रवद्धित भाजुरत्न फाइनान्स गाभिएको थियो। ३ करोड ८५ लाख रुपैयाँ पुँजीसहित गाभिएको भिवोरमा ज्योति समूहले थप लगानी गरेको थियो। गाभिनुअघि भिवोरको चुक्ता पुँजी ६८ करोड १७ लाख रुपैयाँ थियो।
नयाँ बैंकमा ज्योति समूह प्रमुख संस्थापक सेयरधनीका रुपमा रहने छ। सेयर खरिदबाट मात्रै ज्योति समूहको किस्टमा सेयर स्वामित्व ३० प्रतिशत पुग्ने छ। व्यक्तिगत, समूह र सर्वसाधारणसहित किस्टमा उनले सेयर लगानी गरेका हुन्। मर्जरपछि भिवोरको सेयर पनि नयाँ बैंकमा सर्ने छ। कानुनी रुपमा एकाघर परिवार र समूहले १५ प्रतिशतभन्दा वढी लगानी गर्न पाइदैन।
मर्जर सम्झौता कार्यक्रममा भिवोरका सञ्चालक ज्योतिले बैंकको अवस्था सुदृढ वनाउन आवश्यक परे थप रकम लगानी गर्ने बताए। 'दुवै बैंक गाभिने मात्र होइन ज्योति समूहका तर्फबाट आवश्य सहयोग पनि रहने छ,' उनले भने,'दुवै पक्षको समझदारी अनुसार थप लगानी गर्छौं।'
किस्टको यसअघि पनि मर्जरको चर्चा चलेको थियो। पञ्जाव नेसनल बैंकको संयुक्त लगानीको एभरेष्ट बैंकसँग गाभिने प्रकृया अन्तिम समयमा पुगेका बेला किस्टकोम मर्जर भाँडिएको थियो। किस्टमा अन्य साना विकास बैंक र फाइनान्स कम्पनीहरु गाभिने पनि चर्चा चलेको थियो।
दुवै बैंक सम्पति तथा दायित्वको मूल्यांकन गराएर त्यसका आधारमा गाभिने छन्। दुवै बैंकले तुरुन्त सम्पति र दायित्वको मूल्यांकन गराउने तयारी गरेका छन्। बराबरी हैसियतमा गाभिए नयाँ बैंकको पुँजी २ अर्ब ९१ करोड रुपैयाँ पुग्ने छ।