सुदर्शन सापकोटा
काठमाडौं, कात्तिक ८
नेपाल राष्ट्र बैंकले लामो समयदेखि समस्याग्रस्त घोषणा गरिएका वित्तीय संस्थाहरुमा सुधारको संकेत नदेखिएपछि व्यवसायिक व्यवस्थापन समूह नियुक्त गरेर सुधार प्रकृया थाल्ने भएको छ। राष्ट्र बैंकले बजारमा व्यवसायिक ख्याति कमाएका तथा विज्ञहरुको समूह बनाएर संस्था सुधार गर्ने योजना बनाएको हो।
राष्ट्र बैंकले ६ महिनामा सुधार गर्ने गरी समस्याग्रस्त घोषणा गरिएका संस्थाहरु अढाइ बर्षसम्म पनि सुधार हुन नसकेपछि अन्तिम विकल्पका रुपमा व्यवसायिक समूह पठाएर सुधारको प्रयत्न गर्न लागेको हो।
…विग्रिएका संस्थाका दोशीहरुलाई कारवाही गरिएपनि उनीहरुकै मानिसहरुले व्यवस्थापन चलाएकाले संस्था सुध्रन सकेका छैनन्,' राष्ट्र बैंकका एक अधिकारीले भने, …अन्तिम प्रयासका रुपमा वाहिरका व्यवसायिक व्यक्तिहरुलाई पठाएर सुधार्ने विकल्पमा जाँदैछौं।' राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुलाई अवस्था नसुधि्रएको र सुधारको प्रकृया अविलम्ब नथाले कारवाही गर्ने चेतावनीसहित पत्र पठाइसकेको छ। राष्ट्र बैंकले समस्याग्रस्त संस्थाहरुको वास्तविक अवस्था वुझ्न धमाधम सम्पूर्ण सम्पति तथा दायित्वहरुको मूल्यांकन (डिडिए) पनि गराइसकेको छ।
…विज्ञापन गरेर प्रतिस्पर्धामार्फत व्यवस्थापन समूह छान्छौं,' ती अधिकारीले भने, …छानिएका व्यवसायिक जनशक्तिलाई सञ्चालक समिति र व्यवस्थापन दुवै जिम्मा दिएर सुधार गर्न लगाउँछौं।' उनले राष्ट्र बैंकको सम्वन्धित विभाग र सञ्चालक समितिले निर्णय गरेपछि प्रकृया अगाडि वढ्ने जानकारी दिए।
राष्ट्र बैंकले नयाँ व्यवस्थापन समूह पठाउनु पूर्व सम्वन्धित संस्थाका अधिकारीहरुलाई सुधारका प्रयत्नका बारेमा जानकारी माग गर्ने छ। आवश्यक ठाउँमा स्पष्टीकरण पनि सोध्ने छ। आवश्यक कानुनी प्रकृया सबै सकेपछि मात्र राष्ट्र बैंकले व्यवस्थापन समूह पठाउने निर्णय गर्ने छ। …पुससम्म हामी सबै प्रकृया सक्छौं,' ती अधिकारीले भने, …अहिलेकै प्रकृयाबाट सुधारमा गएका संस्थाहरुलाई मौका दिने छौं। सुधार नभएकामा व्यवस्थापन समूह पठाउने छौं।'