सुदर्शन सापकोटा
काठमाडौं, भदौ ६
बर्डफ्लु संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका कुखुरा धमाधम मारिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तय संस्थाहरूले कुखुरापालन र दाना उद्योगमा न्यूनतम ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका छन्। सबै जोड्दा झन्डै २५ अर्ब हुन्छ। बर्डफ्लुले कुखुराको मासु र अन्डा व्यवसाय चौपट भएपछि बैंकहरूको लगानी जोखिममा परेको हो।
'सबैभन्दा बढी अप्ठेरो त किसानलाई नै परेको छ, बैंकहरूको ठूलो लगानी फसेकाले किसानले ऋण तिर्न नसक्दा बैंकहरू पनि अप्ठेरोमा पर्छन्,' कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढाथोकीले बिहीबार नागरिकसँग भने,'यसमा राज्यले केही राहत दिनुपर्छ।'
नयाँ बैंकहरूले कुखुरा उद्योगमा ५० करोडभन्दा बढी लगानी गरेका छन्। पुराना र ठूला बैंकको लगानी डेढ अर्बभन्दा माथि छ। कृषि क्षेत्रलाई प्रबर्द्धन गर्न खुलेको कृषि विकास बैंकको कुखरा तथा दाना उद्योगमा करिब दुई अर्बको हाराहारीमा ऋण छ। बैंकले आफ्ना अधिकांश शाखाबाट यो क्षेत्रमा ऋण दिएको छ।
निजी क्षेत्रका वाणिज्य बैंकले पनि काठमाडौं वरपर, मकवानपुर, चितवनमा बढी ऋण लगानी गरेका छन्। सरकारले अहिले यिनै क्षेत्रका कुखुरा भटाभट मारिरहेको छ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो पाँच वर्षयता कृषि क्षेत्रअन्तर्गत कुखुरापालन र दाना उद्योगमा लगानी बढाएका हुन्। ऋण दिएको केही समयमै उत्पादन बिक्री गरेर कृषकहरूले पैसा तिर्ने हुँदा बैंकहरूले यसलाई सजिलो लगानी क्षेत्रका रूपमा लिँदै आएका थिए।
राष्ट्र बैंकले कृषि र ऊर्जामा १० प्रतिशत लगानी पुर्याउनुपर्ने अनिवार्य व्यवस्था गरेपछि कुखुरापालन उद्योगमा लगानी अझ बढेको थियो। बर्डफ्लु संक्रमणका कारण साउनयता काठमाडौं उपत्यकामा मात्र दस लाख कुखुरा मारिसकेको सरकारी तथ्यांक छ।





